महत्त्वपूर्ण संरचनाको जिम्मा सेनालाई, प्रहरीलाई सीमामा पठाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महत्त्वपूर्ण संरचनाको जिम्मा सेनालाई, प्रहरीलाई सीमामा पठाइने


२१ बैशाख २०७७, आइतबार


काठमाडौँ । सरकारले कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचना सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा पठाउने भएको छ ।

आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकमा महत्त्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर प्रहरीलाई कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सीमा नाकामा खटाउने निर्णय भएको हो ।

बैठकमा गृहमन्त्री बादलले कोरोना सङ्क्रमणको केन्द्र चीन, युरोप अमेरिका हुँदै दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सीमा रहेका कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिए ।

थापाले सीमावर्ती जिल्लामा सुरक्षा कर्मीको समन्वयमा सबै वडा स्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिए ।

बैठकमा गृह सचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथी प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस