नाम्लोले बोकेर ऋणको गर्हुङो भारी
भट्टीमा पोल्न तयार पार्दै छु म
मेरा हजारौं सपनाका कोमल टुक्राहरु ।
रापिनेछ भट्टिको अग्निगर्भमा
मेरो एक एक टुक्रा अस्तित्व
र निस्कनेछ्न् फौलाद भएर मेरा सपना ।
मलाई बोकाईदिनु छ त्यही अब्बल इटारुपी सपनाको भारी
मेरा सन्तानको पिठ्यूमा
र बनाउनुछ यो देश सिंगापुर ।
तपाइँ सोध्नुहोला,
कलिला सन्तानको शिरमा बोकाइदिंदा यत्रो भारी
काम्दैनन् तिम्रा हात ?
झर्दैनन तिम्रा आँशु ?
हो हजुर, काम्दैनन यी बुढा हात
रसाउँदैनन सुख्खा आँखा
किनकी , यो देशको सबैभन्दा आशावादी मान्छे मै हुँ ।