कोभिड-१९ : लकडाउन, सोच र अवस्था « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोभिड-१९ : लकडाउन, सोच र अवस्था


१३ बैशाख २०७७, शनिबार


डिसेम्बर १५, २०१९ मा चीनमा देखिएको कोरोना भाइरस २५ डिसेम्बरसम्म पुग्दा नपुग्दै महामारीको रूप लियो । सो समयमा नयाँ वर्ष मनाउन हिँडेका चिनियाँहरू हुन् वा चीनबाट फर्केका अन्य देशका नागरिकहरूमार्फत विभिन्न मुलुकमा कोभिड–१९ ले सङ्क्रमण फैलायो । विश्वका शक्तिशाली राष्ट्रहरू पनि यो भाइरसबाट आत्तिएका छन् । सम्पूर्ण विश्वका वैज्ञानिकहरू कोभिड १९ को उपचारको लागी खोप बनाउने कार्यमा लागी रहेका छन् तर सफलता पाउन सकिरहेका छैनन् ।

विश्व समुदाय विश्वयुद्ध भन्दा बढी गम्भीर बनेर लागी रहेको छ । विश्वमा डिसेम्बर पश्चात् आजको मितिसम्म २८ लाखको नजिक यसै भाइरसका कारण सङ्क्रमित भएका छन् । २ लाखको नजिक मान्छे मृत्यु भएको देखिन्छ भने साढे सात लाख सङ्क्रमित व्यक्तिहरू उपचार पछि घर फर्किसकेका छन् । सम्पूर्ण नागरिकको ध्यान नै यसै भाइरसतर्फ उन्मुख भइरहेको छ । सामाजिक दुरी कायम गर्ने र जो जहाँ छ त्यही नै बस्ने भन्ने नै यसको मूल मन्त्रको रूपमा लिइएको छ । विश्वले आफ्ना नागरिकहरूको ज्यान बचाउन कोभिड–१९ मै ध्यान केन्द्रित गरेको छ र यसको सबैभन्दा राम्रो उपचार विधि भनेकै बन्दाबन्दी नै हो भन्ने कुरामा ध्यान केन्द्रित गराएको छ । तर त्यो बन्दाबन्दी कुन हद र तहसम्म हो अर्को विश्लेषणको पाटो बनेको छ ।

विश्व कतातिर ?
अहिले बन्दाबन्दी बस्नु मात्र उपचार विधि होइन, त्यसको साथसाथै रोगको परीक्षण विधि पनि अर्को पक्ष हो । वर्तमान अवस्थामा जर्मनीले एक हप्तामा झन्डै साढे तीन लाख व्यक्तिलाई परीक्षण गर्न सक्ने अवस्थामा पुगेको छ त्यसको साथै स्वास्थ्य सामाग्रीहरूको उत्पादनकै लागी पनि त्यहाँका कम्पनीहरूलाई आवश्यक सहयोग गरिरहेको छ भने कोरोना नियन्त्रणकै लागी त्यहाँका कम्पनीहरूले सरकारलाई सहयोग गरेका छन् । परिणामतः अन्य युरोपियन मुलुकहरूले भन्दा कमै मात्रामा मानवीय क्षति भएको छ भने उपचार पछि निको भएर जाने व्यक्तिहरू पनि बढी नै देखिन्छ ।

भारतले आफ्ना नागरिकहरूलाई बन्दाबन्दीमै बस्न आग्रह गरेको छ । झन्डै ८० खर्व रुपैयाँ सामान्य नागरिकहरूको. हातमुख जोर्नका लागी रकम छुट्टाइएको छ । अमेरिकाले पनि नागरिकहरूको परीक्षणको अवस्थालाई व्यापक बनाएको छ । अहिले कुनै पनि विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न रोकेको छ । मलेरियाको लागी दिने भ्याक्सिनहरू भारतबाट लिएको छ । शीतयुद्ध जस्तो गरेको चीनसँग १००० थान भेन्टिलेटर लिएर गएको छ । देशका उद्योगपति एवं कम्पनीहरूलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन अनुरोध गरेको छ तर पनि अहिले सबैभन्दा बढी सङ्क्रमित हुने र मृत्युको सङ्ख्या पनि अमेरिकामा नै छ । त्यसका अलावा सावधानीमा हेलचेक्र्याइका कारण अमेरिका, स्पेन, इटाली, फ्रान्स, बेलायत जस्ता मुलुकहरू यसै भाइरसका कारण अत्तालिएका छन् । यसबाट पनि के सिक्नु पर्ने हो भने रोगलाई हेलचेक्र्याइको दृष्टिकोणले हेर्नु नै गलत साबित भयो । सायद भोलिका दिनमा महाशक्ति बन्ने सोच र अवस्थामा पनि परिवर्तन हुन बेर लाग्ने छैन ।

हामी कहाँ छौ ?
विश्वका अत्यधिक जनसङ्ख्या भएका दुइटा मुलुकको बिचमा छौँ । कोभिडको उद्गमस्थल वुहान प्रान्तमा अहिले सामान्यीकरण भइसकेको छ । भारतमा यसलाई नियन्त्रण गर्न हम्मे–हम्मे छ । भारतसँगको खुला सिमानाको कारण नेपालले पनि सङ्क्रमणको अवस्था भोगी रहेको छ । एक व्यक्तिबाट अर्कोमा सर्ने भएकै कारण एक अर्कासँग सम्पर्क नगर्नु नै यसको उपचार हो भनिएको छ ।

अहिले भारत लगायत विश्वमा छरिएर रहेका नेपालीहरू ९० लाखको हाराहारीमा छन् भनिन्छ । अहिले विभिन्न खाले मजदुरी गर्न छरिएर रहेका नेपालीहरू आफ्नो देशमा फर्कन चाहेका छन् । हिजो उनले पठाएर घरमा खाने वर्गहरू अहिले घरमा खान आउँदै छन् । कमाउने श्रोत बन्द भइरहेको छ । देशको जमिन बाँझो छ । उद्योग कलकारखाना खुलेका छैनन् । खुलेका पनि बन्द छन् । रोजगारीको अवसर सिर्जना भएका छैनन् । बिश्वबैंकको आँकडा अनुसार १.५ प्रतिशतले वार्षिक वृद्धिदर हुँदै छ । राष्ट्रिय ढुकुटी दिनप्रतिदिन रित्तिइरहेको छ । राजश्व सङ्कलन शून्य प्रायः हुँदै छ । राज्यका सबै संयन्त्र लकडाउन जस्तै भएका छन् ।

खाद्यान्न, अति आवश्यक चिज बस्तुको पनि उत्पादन हुन सकिरहेको छैन । लकडाउनको कारण खान बस्न नपाएकै कारण १४–१५ दिन हिँडेर आफ्नो घर फर्किरहेका छन् । सरकारले गरेको भाषणले उनीहरूको पेट भरिएको छैन । उनीहरूको यात्रा सुरक्षित छैन । बालक, बृद्धा गर्भवती पनि पैदलै हिँडेर घरतिर गइरहेका छन् । दैनिक ज्यालादारी मजदुर, अपाङ्ग, अशक्तहरूले आफ्नो अभिभावक पाउन सकिरहेका छैनन् । कृषिसँग सम्बन्धित र घरपालुवा जीवजन्तु, चराचुरुङ्गी, सडक मानवसँग सम्बन्ध राख्ने अन्य जीवजन्तु यसको मारमा छन् । स्वास्थ्यसँग सम्बन्धित औषधीहरूको कच्चा पदार्थको जोहो हुन सकिरहेको छैन ।

के हुनु पर्दथ्यो ?
देशमा अहिले तीन तहको सरकार छ । एउटा सरकारले अर्को सरकारको मुख नताकी आफ्नो क्षेत्रभित्र उत्पादन, वितरण र उपभोगको लागी कार्य योजना बनाउनु पर्दथ्यो । जसरी नेपालमा अलपत्र परिरहेका नागरिकलाई आफ्नै देशमा सुरक्षित रूपमा लिएर गइरहेका छन् त्यसरी नै नेपालले पनि आफ्नो घर आउन चाहनेलाई सुरक्षित रूपमा देशमा ल्याउनु पर्दथ्यो । देशको विभिन्न स्थानमा उत्पादित कृषि उपजका सामाग्रीहरूको सङ्कलन, ढुवानी र वितरणको व्यवस्थालाई व्यवस्थित गर्नु पर्दथ्यो ।

अत्यावश्यक विभिन्न उद्योग कलकारखानामा कार्यरत मजदुरहरूलाई उनकै कलकारखानामा क्वारेन्टाइन राखी उद्योग सञ्चालन गर्नु पर्दथ्यो । देशका ठुला आयोजनाहरूको स्वास्थ्य प्राविधिककै निगरानीमा क्वारेन्टिनको शैलीमा सञ्चालन गर्न सक्नुपर्दथ्यो जसको लागी स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले कामको बाँडफाँड गरी कार्य सुचारु गर्न सक्नु पर्दथ्यो ।

चीनमा रोग फैलँदै गर्दा चीनबाट १७५ जना नागरिकलाई ल्याएकै समयमा स्वास्थ्य सामाग्री र क्वारेन्टिनको व्यवस्थालाई व्यवस्थित गर्न सक्नु पर्दथ्यो । भुसको आगो झैँ विश्वमा सल्किरहेको कोभिड–१९ सम्बन्धमा सचेत भई बेलैमा स्वास्थ्य सामाग्रीको जोहो गरी नेपाल भित्रिएका सबै नागरिकलाई परीक्षणको दायरा फराकिलो पार्नु पर्ने थियो । ढिलै भए पनि लकडाउन गरिसकेपछि क्वारेन्टिनको व्यवस्थापन र भरपर्दा किटको व्यवस्थापन र प्रयोगशालाको व्यवस्थापन द्रुततर गतिमा हुनु पर्दथ्यो ।

के के मा चुकिरहेको छ ?
कोरोनाको कहरले गत चैत्र ११ गते देखि देशभर नै लकडाउन छ । कोरोनाको प्रभाव नेपाललाई पर्दैन की भन्ने सोचले होला सरकार अगाडि बढ्न सकेन । स्वास्थ्य सामाग्री खरिद प्रकरण नै पहिलो चरणमै सरकार चुक्यो । खरिद भएका स्वास्थ्य सामाग्री गुणस्तरहीन देखियो, जसले गर्दा विभिन्न प्रदेशमा गरेको परीक्षणले राम्रो परिणाम देखाउन सकेन । ग्रामीण भेगसम्म पुग्ने स्वास्थ्य प्राविधिक र स्वास्थ्य सामाग्री उपलब्ध हुन सकेन । भएको सामाग्रीले सहर र सदरमुकाम केन्द्रित देखियो । राज्यका सबै सरकारको समन्वय, सहकारिताको अभाव देखियो ।

आजको दिनसम्म देशमा ४९ जनामा संक्रमण भएको पाइएको छ । भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिहरूको ट्राभल हिस्ट्री लिन र परीक्षण गर्न सकिरहेको छैन, जसले गर्दा देशको जुनसुकै स्थानबाट भयावहको स्थिति उत्पन्न हुने अवस्था छ । कृषि उपज एकातिर नष्ट भइरहेको छ । दुग्ध जन्य पदार्थहरू पुनः गाई भैँसीलाई नै खुवाउने अवस्था भइरहेको छ । तेस्रो मुलुकबाट आउन चाहने र भारतबाट आउन चाहनेहरूका लागी सरकारले उद्धार गर्न सकिरहेको छैन ।

देशको विभिन्न स्थानमा रहेका नागरिकहरूलाई आफ्नो घरमा जानको लागी सरकारले उद्धार गर्न सकिरहेको छैन नत त्यहाँ बस्ने रहनेको लागी यथेष्ट व्यवस्था गर्न सकेको छ । सरकारको सोच कोभिड–१९ लाई कसरी पराजित गर्न सकिन्छ भन्दा पनि आफ्नो सत्ता बलियो बनाउन के के गर्न सकिन्छ भन्ने तर्फ अग्रसर छ । प्रधानमन्त्री कै नेतृत्वमा अन्य दल फुटाउने र आफ्नो पार्टीमा समाहित गराउने तर्फ कदम चालिएको छ । शक्ति र सत्ताको डन्डा चलाउने सम्बन्धमा नै उद्यत देखिँदै छ जसले गर्दा राज्य सत्तामा प्रश्न उठी रहेको छ । आर्थिक पुनर्जीवन दिन के गर्न सकिन्छ भन्ने सम्बन्धमा कुनै खाका प्रस्तुत हुन सकेको छैन

चुनौतीलाई अवसरमा कसरी परिणत गर्ने ?
विभिन्न क्षेत्रबाट आफ्नो मातृभूमि भन्दै आएका सम्पूर्ण नागरिकलाई सम्बोधन गर्नु अहिलेको महत्त्वपूर्ण समय हो । ग्रामीण अर्थतन्त्रलाई माथि उकास्न साना कृषिजन्य उद्योग र व्यवस्थापनतर्फ अग्रसर हुन जरुरी देखिएको छ । हरेक मान्छेको सीप अनुभव र जाँगरलाई सम्बोधन हुने गरी तीनै तहको सरकारबाट सहकार्य, समन्वय र सहअस्तित्वको माध्यमबाट अगाडि बढेमा नै बिपदले थिलो–थिलो परेको आर्थिक सामाजिक र सांस्कृतिक अवस्थालाई माथि उठाउन सकिन्छ । बेरोजगार युवालाई रोजगारीको अवसर दिई आम युवा जमातलाई व्यवस्थापन गर्नु पनि हो । खेतीयोग्य र बाँझो जमिनलाई उपयोगको नीति ल्याउन जरुरी देखिएको छ । देशमा भित्रिएका युवा जमात र तिनको सीप कौशललाई उपयोग गर्न सकिएन भने राज्यले अर्को मूल्य चुकाउनु पर्ने हुन जान्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस