डोल्पामा पहिलो पटक यार्सागुम्बा सङ्कलनमा रोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोल्पामा पहिलो पटक यार्सागुम्बा सङ्कलनमा रोक


प्रशासन विशेष ब्युरो

९ बैशाख २०७७, मंगलबार


डोल्पा । डोल्पामा पहिलो पटक यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको छ । करिब २० वर्ष भन्दा धेरै पहिलाबाट सङ्कलन गर्दै आएको यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको हो ।

कोरोना भाइरस(कोभिड–१९) सँग लड्न झनै ठुलो चुनौती हुने भन्दै जिल्ला बिपत व्यवस्थापन समितिले डोल्पामा यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेको छ ।

कोभिड-१९का कारण देश नै लकडाउन रहेको अवस्थामा जिल्लामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनले झनै ठुलो विपत्ति ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखी भएको भन्दै यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएको जिल्ला बिपत व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

प्रजिअ सुनारले भने ‘ठुलो भूगोल भएको जिल्ला हो, सुरक्षा चुनौती छ, कोरोनाकै कारण पनि जिल्लामा भिडभाड गर्न दिने अवस्था छैन । हजारौँ मानिसहरू आउने भएकोले झनै जोखिम हुनेहुदा यस वर्ष रोक्का नै गर्ने निर्णय गरिएको छ’

जिल्लामा दुई किसिमका बन रहेकोले निकै ठुलो चुनौतीका रूपमा रहेको छ । डिभिजन बन कार्यालय अन्तरगत सामुदायिक बन र शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती सामुदायिक बनमा यार्सागुम्बा पाइने गर्दछ ।

जिल्लाका नागरिकको मुख्य आर्थिक आम्दानीको स्रोत भएको कारण जिल्ला बिपत व्यवस्थापन समितिले रोक्का गर्ने निर्णय गरे पनि बन र निकुञ्जसँग छलफल गरेर थप निर्णयहरू गर्ने जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले बताए ।

जिल्लामा यार्सागुम्बा पाउने बनहरूको करिब ७० प्रतिशत क्षेत्र शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्दछ । निकुञ्ज र बनले भने आधिकारिक रूपमा आफ्ना धारणाहरू बाहिर ल्याएका छैनन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको

भूगोल ठुलो भएको र जनशक्ति कम भएकोले यार्सागुम्बा सङ्कलनमा रोक लगाए पनि चोरी हुने खतरा भएकोले भोलिका दिनमा ठुलो समस्या पर्ने भएको हुँदा सोचेर निर्णय लिन धेरैले आग्रह गरेका छन् ।

निकुञ्ज क्षेत्रमा मात्रै हरेक वर्ष सरदर १० हजार भन्दा धेरै मानिसहरू यार्सागुम्बा सङ्कलनमा जाने गर्दछन् । जिल्लामा यार्सागुम्बा सङ्कलनमा रोक लगाए पनि चोरी हुने र स्थानीय मारमा पर्ने भन्दै केही स्थानीय तहले भने बन्द गर्न नहुने राय दिएका छन् ।

छिमेकी जिल्ला रुकुम,जाजरकोट,सल्यान,सुर्खेत,जुम्लाबाट हरेक वर्ष यार्सागुम्बा टिप्न आउने र आम्दानीको स्रोत बनाउनेहरूको भने यस वर्ष सबै सपनाहरू चकनाचुर भएका छन् ।

कोरोनाले महामारीको रूप लिएको बेलामा यार्सागुम्बा सङ्कलन खुल्ला गरे जुनसुकै बेलामा अप्रिय घटना घट्ने र ठुलो सङ्कट आउने भन्दै जिल्ला बिपन व्यवस्थापन समितिले रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए ।

अघिल्ला वर्षहरूमा जिल्ला बाहिरकालाइ ३ हजार, जिल्ला भित्रकालाई २ हजार र निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रका बासिन्दालाई पाच सय शुल्क लिएर यार्सागुम्बा सङ्कलनमा प्रवेश अनुमति दिने गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस