लकडाउनका सात लाभहरू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लकडाउनका सात लाभहरू


२८ चैत्र २०७६, शुक्रबार


कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण विश्व नै अहिले असामान्य अवस्थाबाट गुज्रिरहेको छ । विश्वका अधिकांश देशहरूले लामो समयका लागि लकडाउनको नीति अपनाई नागरिकहरूलाई सामाजिक दुरी कायम गर्न अपिल गरेका छन् भने छिमेकीमूलक भारत लगायत कतिपय देशहरूले विभिन्न सहरमा कर्फ्यु नै लागू गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदन अध्ययन गर्दा संक्रमनदर र मृत्युदर गतिशील रूपमा बढिरहेको देखिएको छ । पहिलो र दोस्रो विश्वयुद्धका बखत पनि विश्वका कतिपय राष्ट्रहरू त्यसको प्रभावबाट अछुतो रहन सफल भएको थियो तर यो महामारीका कारण शायदै विश्वका कुनै पनि कुना अछुतो रहन सफल भएका होलान् । एक किसिमले विश्वयुद्धको स्थिति निम्तिएको जस्तो छ । जहाँ स्वास्थ्य कर्मीहरू हात, खुट्टा र शरीर नभएको तथा नाङ्गो आँखाले देख्न नसकिने शत्रुसँग सैनिकका रूपमा लडिरहेका एवम् मास्क, स्यानिटाइजर, भेन्टिलेटर, पीपीइ लगायत स्वास्थ्य सामग्रीहरू अस्पतालरूपी कुरुक्षेत्रमा हतियारको रूपमा प्रयोग भई रहेको देख्न सकिन्छ ।

नेपालमा कोरोना भाइरस तीव्र रूपमा फैलिन नदिन सरकारले देशभरिकै लागि घोषणा गरेको लकडाउनको अवधि वैशाख ३ गतेसम्मका लागि थप गरेको छ । विगत दुइ सातादेखि देशभरिको सरकारी तथा निजी कार्यालय, विश्वविद्यालय, स्कुल, कलेज, अस्पतालहरू बन्द छन् भने लकडाउनले गर्दा सरकारी र निजी क्षेत्रका कर्मचारी, विद्यार्थी, मजदुर लगायत सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएका छन् । मानिसहरूमा अहिले एकातिर कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने चुनौती छ भने अर्कोतर्फ यो अवधिमा आफूमा हतासा, निराशा वा मानसिक कमजोरी हाबी हुन नदिन सतर्क रहनुपर्ने देखिन्छ । तसर्थ ‘खाली दिमाग, सैतानको बास’ भन्ने उखानलाई व्यवहारिक रूपमा चरितार्थ हुन नदिन र आफूलाई स्वास्थ्य, स्फूर्त, खुसी र प्रेरित राख्न यो अवधिलाई सुनौलो समयको रूपमा लिई तपसिल बमोजिमका कार्यहरू मार्फत यस अवधिको सदुपयोग गरी लकडाउनबाट यी सात(७) फाइदाहरू उठाउन सकिन्छ ।

१) योग, प्राणायाम र ध्यान
अहिलेको परिवेशमा मानिसहरूलाई योग, प्राणायाम र ध्यानको लाभ बताई रहनु पर्दैन । तर, यसका फाइदाका बारेमा मानिसलाई जानकारी हुँदाहुँदै समेत दैनिक जीवनमा निरन्तर रूपमा कमैले गरिरहेका हुन्छन् । शरिरलाई स्वास्थ्य, मनलाई शान्त र हृदयलाई करुणायुक्त बनाइ राख्नका लागि यस अवधिमा बिहान र बेलुका दुवै समयमा निरन्तर योग, प्राणायाम र ध्यान गर्नुहोस् । योगका सयौँ आसनहरू छन् । विभिन्न आसनहरूमध्ये निरन्तर अभ्यास मार्फत केही आसनमा आफूलाई यही समयमा निपुण बनाउन सकिन्छ । यदि तपाई योग गर्न निरन्तर कुनै योग केन्द्रमा धाइरहनु भएको थियो र लकडाउनले गर्दा योग केन्द्र बन्द रहेको छ भने युट्युबमा योग सम्बन्धी प्रशस्तै सामग्रीहरू भेटिन्छन् जहाँबाट योगका नव आसनहरू सिक्न सक्नुहुन्छ । योग नगर्नेहरूका लागि पनि योग गर्न सुरुवात गर्ने यो अत्यन्तै राम्रो अवसर हो । अनावश्यक रूपमा दिनभरि सामाजिक सञ्जालमा समय व्यतीत गर्नुभन्दा इन्टरनेटको उचित प्रयोग गरी योग र प्रणाम सिक्नु जीवनोपयोगी हुनेछ ।

मनको उर्जालाई एकत्रित गरी आफ्नो कर्म र ज्ञानलाई उच्च कोटीमा पुर्‍याउन ध्यान बाहके अरू कुनै माध्यम छैन । ध्यान नै शान्तिको सम्पूर्ण श्रोत हो । गौतम बुद्ध भन्नुहुन्छ “शान्ति हाम्रो भित्रबाट नै आउँछ । यसलाई बाहिर खोज्ने प्रयास नगरौँ” । यो खाली समयमा हाम्रो मनमा व्यस्त जीवनको तुलनामा लाखौँ अनावश्यक विचारहरू उत्पन्न हुन्छ । यी विचारहरूले मनमा चिन्ता र निराशा उत्पन्न गर्छ । जसले व्यक्तिलाई पीडा बाहेक अरू केही दिँदैन । “आँखा बन्द गर्नुस् र मनको विचारलाई दृष्टा बनेर हेर्नुस् । हेर्दै जानुस् । हेर्दै जानुस् । यो स्वतः समाप्त भएर जान्छ” भनी ओशोको भनाइले पनि मानव जीवनमा ध्यानको अपरिहार्यतालाई झल्काउँदछ । तसर्थः लकडाउनको यस अवधिमा ध्यान साधनाको यो अवसरलाई त्यतिकै खेर नजान दिनुहोला । निरन्तरको योग, प्राणायाम र ध्यानले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्दछ ।

२) पुस्तकको अध्ययन
भनिन्छ कुनै बुद्धिजीवीको बौद्धिकता परीक्षण गर्नुछ भने उसले आफ्नो जीवन कालमा कुन-कुन पुस्तकहरूको अध्ययन गरेको छ भनी सोध्नुहोस् । मनोविदहरूले भन्ने गरेका छन् यदि कुनै निर्जीव वस्तुसँग संवाद गर्नु छ भने पुस्तकको अध्ययन गर्नुहोस् । पुस्तकले व्यक्तिको एक्लोपना दूर गर्दछ । मानव जीवनमा पुस्तक अध्ययनलाई उच्च महत्त्व दिँदै अमेरिकी लेखक अर्नेष्ट मिलर हेमिंगवेले भनेका छन् “पुस्तक भन्दा इमान्दार मित्र अरू कोही हुन सक्दैन”।

जीवनको अस्तव्यस्तताले गर्दा तपाइले पुस्तक अध्ययन गर्न छुटाएको हुन सक्छ वा अध्ययन गरिरहेको पुस्तक बीचैमै छोडेको वा अध्ययन अपुरो रहेको हुन सक्छ । तपाईले अध्ययन गर्न छुटाउनु भएको वा अध्ययन अपुरो रहेको पुस्तक पढ्ने यस्तो अवसर सधैँ प्राप्त गर्नु हुन्न । कसैलाई पुस्तक अध्ययन गर्ने वाणी नै छैन भने यसै अवधिमा वाणी बसाल्ने मौका पाउनु भएको छ । विश्वस्तरीय र आफूलार्इ मन परेको साहित्यिक, दार्शनिक, आध्यात्मिक वा अन्य किसिमका पुस्तकहरू अध्ययन गरी आफ्नो बौद्धिक क्षमता अभिवृद्धि गर्ने अवसर हो यो । विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा लोक सेवाको तयारी गरिरहेका विद्यार्थीहरूले यो अवधिको फार्इदा उठाउँदै आफ्नो कोर्सको तयारी दुर्इ दूगुना गर्न सक्छन् । कोर्स अफ स्टडी बाहेकका पुस्तकहरू पढ्ने मौका पाउनु भएको थिएन भने लकडाउन अवधिलाई त्यसका लागि सदुपयोग गर्नुहोस् ।

३) सृजनात्मक कार्य
प्रत्येक व्यक्तिमा मौलिक चिन्तन गर्ने क्षमता हुन्छ । मौलिक चिन्तनले नव रचनाको जन्म दिन्छ । तर, त्यसका लागि उपयुक्त वातावरण र सकारात्मक मनोदशा पूर्वशर्तको रूपमा रहेको हुन्छ । आफ्नै जीवन, वरिपरिको वातावरण, आकाशको बादल, सूर्य, चन्द्रमा, ताराहरू, हावा सँग हाम्रो जीवन प्रत्यक्ष रूपमा जोडिएको रहेता पनि हामीले कहिल्यै पनि होसपूर्वक अवलोकन गरेका हुँदैनौ । लकडाउनको अवधिमा अनेक क्रियाकलापहरूबाट छुटकारा पाई जीवनमूल्यलाई नजिकबाट नियाल्न अनौंठो समय प्राप्त गर्नु भएको छ । आफ्नो जीवनका आयाम र यसका आधारभूत तत्वहरूलाई नजिकबाट नियाली मनोदशामा सकारात्मकताको वृद्धि गरी सकारात्मकतालाई सृजनामा बदल्नुहोस् । आफ्नो मौलिक चिन्तनको क्षमतालाई विस्तार गरी गजल, कविता, कथा, गीत, उपन्यास रचना लगायतका सृजनात्मक कार्य गरी यस लकडाउनको अभूतपूर्व फाईदा उठाउनुहोस् ।

४) पारिवारिक घनिष्ठतामा वृद्धि
संसारमा व्यक्तिको साथी, प्रशंसक र सहयोगी जति सङ्ख्यामा भएता पनि परिवारको स्थान कसैले पनि लिन सक्दैनन् । परिवारमा तपाई जुनसुकै भूमिकामा रहेता पनि परिवारका सदस्यहरूका लागि तपाईको समय मूल्यवान् हुन्छ । जागिर, अध्ययन, व्यापार वा अन्य प्रयोजनले कतिपय अवस्थामा घर परिवारबाट टाढा बस्नुपर्ने हुन्छ वा घर पायक रहेता पनि कार्यवयस्तताका कारण श्रीमती, छोराछोरी, आमा बुवा लगायत परिवारका सदस्यहरूलाई पर्याप्त समय दिन कठिनाइ हुन सक्छ । वर्तमान युगमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण परिवारमा बसेर पनि मानिसहरूको बढी भन्दा बढी ध्यान अवास्तविक संसारमा केन्द्रित हुने गरेको उदाहरण प्रशस्तै भेटिन्छ । यसले पारिवारिक सम्बन्धमा नकारात्मक असर पर्ने गर्दछ ।

तसर्थ लकडाउनको यस अवधि आफ्नो परिवार सँग उत्सव झैँ बिताउनुहोस् । तपाई विवाहित हुनुहुन्छ भने श्रीमतिलाई घरको कामकाजमा सघाउनु । छोराछोरीको पढाईको अवस्था आकलन गरी अध्ययन अध्यापनमा सहयोग पुर्‍याउनु । कोर्स अफ स्टडी बाहेक सन्तानलाई सामाजिक र व्यवहारिक ज्ञान प्रदान गर्नु । बुवा आमासँग बसी उनीहरूको समस्या सुन्नु । वहाँहरूको जीवनोपयोगी अनुभव बारे जानकार हुनु । आफू भन्दा सानाहरू सँग प्रभावकारी सञ्चार गर्नु । परिवारका प्रत्येक सदस्यहरू सँग दुरी कायम गरी एक साथ बसी भावना तथा सोचहरू साझा गर्नु। मजबुत पारिवारिक सम्बन्ध कायम गर्न यो समय अत्यन्त उपयुक्त रहेको छ ।

५) व्यसन/लत त्याग्ने अवसर
असल होस वा खराब कुनै पनि कुराको व्यसन वा लत जीवनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नोक्सान पुर्याइ रहेकै हुन्छ । त्यसैले त भनिन्छ कुनै पनि कुराको बानी आफैमा नराम्रो बानी हो । यदि तपाईमा धूम्रपान वा मद्यपान जस्तो नराम्रो बानी छ र लामो समय देखि त्यस्ता लत त्याग्न प्रयत्नरत रहे तापनि छोड्न सक्नु भएको छैन भने तपाइको लागि त्यस्ता व्यसन वा लत त्याग गर्ने राम्रो अवसर हो लकडाउन । अहिले बजारहरू बन्द छन् । घर बाहिर निस्कन रोक लगाइएको छ । अरू अवस्थामा सामान्य रूपमा उपलब्ध हुने खैनी, गुट्खा, चुरोट र रक्सीको अहिले व्यापार व्यवसाय बन्द भएका कारण उपलब्धतामा कठिनाई समेत देखिएकोले यो अवसरको सदुपयोग गरी दुर्व्यसन र लतबाट छुटकारा पाउन भरमग्दुर प्रयास गर्नुहोस् ।

६) मनोरञ्जन
सुखद जीवनको लागि चाहिने अत्यावश्यक तत्त्वहरूमध्ये मनोरञ्जन पनि एक हो । मनोरञ्जनले केही समयका लागि भए पनि चिन्ता बिर्साउँदछ । यसले मस्तिष्कलाई ताजकी प्रदान गर्दछ भने मनमा खुसीको सञ्चार गर्दछ । वर्तमान युगमा मनोरञ्जन प्राप्त गर्न सकिने पर्याप्त साधन र माध्यमहरू उपलब्ध छन् । व्यक्तिहरूको मनोरञ्जन प्राप्त गर्ने तरिका र श्रोतहरू फरक हुन सक्दछन् । मनोरञ्जन व्यक्तिको रुचिमा पनि भर पर्ने कुरा हो । तसर्थ लकडाउनको यस खाली समयमा मनमा निराशा उत्पन्न हुन नदिन र विगतमा चाहेर पनि गर्न वा पाउन नसकेको मनोरञ्जनात्मक कुराहरू अहिले गर्ने वा पाउने अवसर रहेको छ । त्यसैले चलचित्र मन पराउनेले मन परेको चलचित्र हेर्नु, टेलिभिजनमा मन पर्ने धारावाहिक कथा हेर्नु, रुचि अनुसारको सङ्गीत सुन्नु, वाद्यवादन बजाउनु/बजाउने अभ्यास गर्नु/बजाउन नजान्नेले सिक्नु, चित्र कोर्नु, कमेडियनहरूले कमेडी भिडियो बनाई साझा गर्नु, नृत्य गर्नु, साथी र प्रियजन सँग स्नेहयुक्त सन्देश आदान प्रदान गर्नु । यस्ता क्रियाकलापहरूले तपाइमा आत्मविश्वास जगाउँदछ । आत्मविश्वास वृद्धि भए रोग प्रतिरोधक क्षमतामा समेत वृद्धि हुन्छ ।

७) तपाईको आफ्नै खोज
भगवान् बुद्ध भन्नुहुन्छ कुनै ज्ञानी वा विद्वान व्यक्ति जोसुकै किन नहोस् कसैले भनेको कुरा आफूले अभ्यास गरी अनुभूति नगरुन्जेलसम्म सरल र सहज रूपमा स्वीकार नगर्नु । आफ्नो जीवनको मार्ग आफै खोज्नु । मैले त तपाईको लकडाउनको अवधिलाई हताश र निराश मनोदशाबाट मुक्त गरी कोरोना भाइरस (कोभिड-१९)को कारण सृजित विश्वव्यापी महामारीका बखत यस अवधिलाई आनन्दमय बनाई रोग प्रतिरोधात्मक क्षमता कसरी अभिवृद्धि गर्न सकिन्छ भनी केही तरिकाहरू साझा गरे । उल्लेखित तरिकाहरू बाहेक तपाईहरू थप रचनात्मक र उपयोगी तरिकाहरूको खोजी गरी आफ्ना परिवार, साथीभाइ लगायतकाहरूसँग साझा गर्न सक्नुहुन्छ । जसरी मैले लकडाउनको यो समयलाई सदुपयोग गर्दै यो लेख लेखेँ र आफ्ना केही समयलाई सृजनात्मक बनाए जसबाट तपाईहरूलाई समेत फाईदा पुग्ने अपेक्षा गरेको छु । त्यसरी नै यो समयमा अझै उपयोगी चीज के गर्न सकिन्छ भनी तपाईको खोजको धेरैले प्रतीक्षा गरिरहेको हुन सक्छन् । तसर्थ प्रकृतिले दिएको मौलिक शक्तिको अद्भुत क्षमतालाई प्रदर्शन गर्नुहोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस