दुरी कायम गर्न विमानस्थलमा कार्यपालिकाको बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुरी कायम गर्न विमानस्थलमा कार्यपालिकाको बैठक


२५ चैत्र २०७६, मंगलबार


डोल्पा । डोल्पाको एक नगरपालिकाले कार्यपालिकाको बैठक विमानस्थलमा गरेको छ । जिल्लाको ठुली भेरी नगरपालिकाले नगर कार्यपालिकाको बैठक जुफाल विमानस्थलमा गरेको हो ।

कोरोना भाइरस(कोभिड–१९) बाट सुरक्षित रहन भन्दै दुरी कायम गर्न नगरपालिकाको केन्द्रमा रहेको जुफाल विमानस्थलमा कार्यपालिकाको बैठक बसेको वडा नम्बर ९ का अध्यक्ष बिरमलकुमार भण्डारीले जानकारी दिए ।

उनले भने ‘हामीसँग सभा हल छैन, पहिला जस्तो यति बेला खचाखच बस्न मिल्दैन, त्यसैले दुरी कायम राख्न विमानस्थलको धावनमार्ग प्रयोग गर्नु परेको हो ।’

नगर कार्यपालिकाको आपतकालिन बैठक दुरी कायम गरेर विभिन्न निर्णय गर्दै विमानस्थलको धावन मार्गमा बसेको वडा अध्यक्ष भण्डारीले बताए ।

नगर कार्यपालिकाको बैठकले सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन नगरपालिकाका सबै नाकाहरूमा पूर्णरुपमा रोक लगाउने, राहत सम्बन्धी मापदण्ड स्वीकृत, बिपत व्यवस्थापन कोष सञ्चालन,सबै वडामा राहत वितरणका लागि तथ्याङ्क सङ्कलन र क्वारेन्टिन सञ्चालन र व्यवस्थापन गर्ने बारे महत्त्वपूर्ण निर्णय भएको नगरप्रमुख गणेशबहादुर शाहीले बताए ।

त्यसै गरी नगरपालिकाले तत्काल नगरपालिकाको राहत कोषमा दश लाख रकम जम्मा गरी अन्य सबै क्षेत्रबाट एकीकृत तथा एकद्धार प्रणालीबाट राहत सङ्कलन गर्ने निर्णय पनि गरेको नगरप्रमुख शाहीको भनाई छ ।

विमानस्थलमा बसेको कार्यपालिकाको बैठकले क्वारेन्टिन व्यवस्थापन, औषधि तथा सामाग्रीहरू वितरण र स्वास्थ्यकर्मिहरु र स्थानीय सरकारसँग सहकार्य गर्न भन्दै वडा नम्बर ६ का अध्यक्ष धर्मलाल बुढाको संयोजकत्वमा स्वास्थ्य व्यवस्था समिति पनि गठन भएको अध्यक्ष बिरमल भण्डारीले जानकारी दिए ।

ठुलो भूगोलमा रहेको ठुली भेरी नगरपालिकामा अन्य स्थानीयतहबाट आउन रोक लगाइएको छ भने एक वडाबाट अर्को वडामा जान पनि रोक लगाउने भएको छ ।

नगरपालिकाले कोरोना भाइरससँग लड्न भन्दै मास्क, स्यानिटाइजर,औषधि र अन्य उपकरण तथा सामाग्रीहरू खरिद गरेर सबै वडा स्तर सम्म पुर्‍याउने तयारी रहेको स्वास्थ्य व्यवस्था समितिका संयोजक अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए । उनले भने ‘हामी जनताको साथमा छौ आत्तिनु पर्दैन ढुक्क हुनुस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस