मानवीय अस्तित्व खतरामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मानवीय अस्तित्व खतरामा


१४ फाल्गुन २०७६, बुधबार


मानव सभ्यताको इतिहास वर्ग संर्घषको इतिहास हो । कहिले सरलबाट जटिल त कहिले जटिलबाट झन् जटिल तिर यो इतिहास मोडिदै आएको छ । त्यसोत संर्घषकै परिणाम स्वरूप मानव सभ्यताको विकासमा नयाँ नयाँ आयामहरू थपिँदै पनि गएका छन् भने समाजको आमूल परिवर्तन पनि सम्भव भएको छ । मानव सभ्यताकै इतिहासको उत्खनन गरेर विश्लेषण गर्ने हो भने इतिहासको अन्त्य नहुने निश्चित छ । तर पनि वर्तमान समयमा मानव अस्तित्व लाइनै खतरा पुग्ने गरी मानवीय आविष्कार (अ) विकासले गति लिएको र यसले विभिन्न डिस्कोर्स जन्माएको विज्ञहरूको भनाइ रहँदै आएको छ । आजको विश्वको प्रमुख समस्या एवं चुनौतीको रूपमा पर्यावरणीय सङ्कट प्रमुख हो । यसै गरी आणविक युद्ध‚ प्रविधिले निम्त्याउने विनाश र पुँजीवादको शोषण मानवीय अस्तित्वको विनाशका लागि उद्धत छन् ।

पर्यावरणीय सङ्कट
अन्तर्राष्ट्रिय मञ्चमा पर्यावरण सम्बन्धी मुद्दा बढी चिन्ताको विषय हो किनकि यसले पारिस्थितिक प्रणालीको आधार परिवर्तन गरिरहेको छ‚ जलवायुमा परिवर्तन भइरहेको छ । प्राकृतिक संसाधनमा पर्यावरणको स्थायी प्रबन्ध सुनिश्चित गर्नु आजको प्रमुख चुनौती हो । विश्वमा एक प्राकृतिक सन्तुलन छ जसको अङ्ग मानव एवं प्राणी‚ धरती‚ जल तथा वातावरण हो । जब कुनै पनि अङ्गमा प्राकृतिक वा अप्राकृतिक कारणबाट परिवर्तन आएमा असन्तुलनको स्थिति उत्पन्न हुन जान्छ र सङ्कट निम्तने गर्दछ ।

प्राचीन समयमा पनि पर्यावरण असन्तुलनकै कारण धेरै प्राचीन सभ्यताहरूको अन्त्य भएको थियो । आजको सभ्यता प्रकृतिको विनाशमा आधारित छ । मानिसको घोर लालची प्रवृत्ति‚ तीव्र अन्धाधुन्धको औधोगिकरण‚ प्राकृतिक संसाधनको क्रूर दोहन‚ छोटो समयमै अधिक उत्पादनमा होड‚ उपभोक्तावादी संस्कृति यी सबै कारणले प्रकृतिको मूल संरचना विकृत भएको छ/ हुँदै गएको छ । हामी यति चम्किलो दुनियाँमा अग्रसर भइरहेका छौँ जहाँ उन्नति/समृद्धिको बेसुहरा दौडमा प्रकृतिका बहुमूल्य स्रोत साधनहरूको निर्ममता पूर्वक अपव्यय भइरहेको छ/पर्यावरणीय सङ्कट चारै तर्फ व्याप्त छ । विश्वका सम्पन्न एवं शक्तिशाली राष्ट्रहरुद्धारा प्रथम हुने होडमा ऊर्जा स्रोतको तीव्र दोहनबाट ऊर्जा भण्डार रित्तिँदै गइरहेको छ । जनसङ्ख्या र खाद्यान्नको असन्तुलन बढिरहेको छ । भोक तथा अकाल मृत्युको विभिषिका दुःस्वप्नको तरह मडारी रहेको छ । स्थिति थप दयनीय भइरहेको छ किनकि उन्नतिको दुर्व्यसनमा फसेको समाज जसरी भए पनि प्रगति चाहन्छ त्यहाँ विकासको नाममा विनाश नै किन नहोस् ।

हामीले हाम्रो आर्थिक विकासको व्यूहरचना विकसित देशबाट प्राप्त गर्‍यौ जबकि उनीहरूको विकासनीतिनै कमजोर राष्ट्रको शोषणमा आधारित छ । उनीहरूको विकासको आधार नै प्रकृतिको एउटा बस्तु मानेर मानिसको भोगलिप्साका लागि उसको शोषण गर्नु हो जबकि हाम्रो उद्देश्य प्रकृतिको संरक्षण गर्नु हो । प्रकृतिको प्रत्येक बस्तु मानवको प्रयोगका लागि मात्र हो भन्ने मानिसहरूको निरर्थक सोचबाट पर्यावरणलाई लिनु मानव समाजको दुर्गति हो । प्रकृतिको उदारता‚ दानशिलता वा प्रचुरतालाइ मानिसले आफ्नो नैसर्गिक अधिकार सम्झियो । मानवको यही शोषणवादी सङ्कीर्ण मानसिकताकै कारण पर्यावरण असन्तुलनको भयावह स्वरूप निर्मित भयो । प्रकृतिमाथि लामो समय देखिनै भइरहेको दोहनले पर्यावरणमा क्षति पुग्दा त्यसको दुष्परिणाम बाढी‚ भूकम्प‚ जलवायु परिवर्तन‚ सुखापन‚ पृथ्वीको तापक्रम वृद्धि‚ ओजन तहको विनाश‚ अम्लीय वर्षा‚ अतिवृष्टि‚ हिमताल सुक्ने‚ हिमालमा हिउँको मात्रा घट्ने‚ सामुन्द्रिक तह बढ्दै जाने‚ बढ्दो मरुभुमिकरण‚ जीवहरूको अस्तित्व सङ्कट‚ दूषित पानी‚ पारिस्थितिक प्रणालीमा ह्रास जस्ता अनेक रूपमा परीलक्षित भइरहेको छ । कृषिमा नयाँ नयाँ किराहरूको आगमन‚ झारहरूको आक्रमणले बाली नाली नष्ट गरेको‚ उत्पादन घटाएको‚ प्रजनन प्रक्रियामा फेरबदल भई फसलको उत्पादन क्षमतामानै ठेस पुर्‍याउँदा खाद्य सुरक्षा सङ्कट निम्तने खतरा बढ्दै गएको छ । नयाँ नयाँ भाइरस‚ हैजा‚ महामारी देखिँदै गएकोले मानव स्वास्थ्यमा गम्भीर खतरा देखा परेको छ । माटोको उर्वराशक्ति‚ पानीको मुहान सुकी निरन्तर प्रवाह शक्ति‚ अक्सिजन दिने स्रोतहरूको क्षमता एवं स्वच्छ वातावरण निर्माण गर्ने स्रोतहरूमा दिनानु दिन ह्रास आइ प्राकृतिक स्रोतसाधनहरूको आन्तरिक शक्तिमा क्षय भइरहेको छ । पिउने पानी‚ इकोसिस्टम‚ खाद्य प्रणाली‚ सामुन्द्रिक तट तथा मानवीय स्वस्थ्य समेतमा असर देखापर्नु एवं विपद्/प्रकोप बढ्दै जानुले मानवीय अस्तित्वमै खतरा उत्पन्न भइरहेको छ ।

प्रकृतिको दोहन होइन सन्तुलित उपयोगको नीति लिनुपर्ने‚ ठुलठुला बाँध एवं परियोजना भन्दा लघु वित्त सिँचाइ परियोजनामा जोड दिनुपर्ने‚ रासायनिक मलको ठाउँमा कम्पोष्ट मल प्रयोग गर्नुपर्ने‚ विदेशी ठुला औद्योगिक भन्दा ग्रामीण औद्योगिक उत्पादनलाई उपयोग गर्नुपर्ने‚ प्रदूषण फैलाउने सवारीजन्य साधनहरूलाई नियन्त्रण गर्नुपर्ने‚ विना सिँचाइ वा कम सिँचाइमा सप्रने बालीनालीमा जोड गर्नुपर्ने‚ विकेन्द्रित उर्जानीति जसमा मानव शक्ति‚ पशुशक्ति‚ वायो ग्याँस‚ सौर्य ऊर्जा‚ पवन ऊर्जा‚ जलशक्तिमा जोड दिनुपर्ने‚ प्लास्टिकका झोलाहरूको प्रयोग नगर्ने‚ विद्युतीय शव गृहको प्रयोग‚ खुला शौचको ठाउँमा सुलभ शौचालयको व्यवस्था‚ पैदलै हिँड्ने बानीको विकास‚ साइकलको प्रयोग‚ सार्वजनिक सवारी साधनको प्रयोग गर्ने वानीको विकास गर्न सकिने जस्ता स-साना कामहरूमा ध्यान नदिएकै कारण आजको अवस्था आएको हो ।

पर्यावरण असन्तुलन गर्ने अनेक कारकहरू छन् त्यसमा ध्यान दिन जरुरी छ । वस्तुतः विकास त्यही हो जसमा हामी प्रकृतिको मूल सम्पदाको बचाउँछौ र आफ्नो उपयोगिता (काम) पनि चलाउँछौ । अथवा आगामी पुस्ताको लागि पनि प्रकृतिको अनमोल धरोहरको संरक्षण गर्छौ । भावी पीडितको चिन्ता नगर्नु भनेको उनीहरू माथि अन्याय हो । हामीले प्रतिबद्धता गर्नै पर्दछ यदि आर्थिक विकास प्रकृतिको विविधतामा एकतालाई ध्यानमा राखेर गरियो भने पर्यावरण असन्तुलित हुँदैन ।

आणविक युद्ध
हामीले चिन्ता बन्द गरेर आणविक हतियारसँग प्रेम गर्न सिके पनि के बिर्सन हुँदैन भने यसले हामीलाई कहिल्यै प्रेम गर्नेछैन । हामीले आणविक हतियारको चिन्ता गर्न जरुरी छ । यी हतियार यही विश्वमा छन् । अधिकांश हतियारले अहिले पनि अकल्पनीय विध्वंस मच्चाउन सक्छन् ।- जर्ज मासन विश्वविद्यालयका अर्थ शास्त्रका प्रोफेसर टेलर कोवेन

माथिको उद्धगार बाट नै प्रस्ट हुन्छ आज विश्वको गम्भीर र पेचिलो समस्या हो आणविक युद्ध । आज हरेक शक्तिशाली मुलुक पहिलो हुने होडमा आणविक युद्धको चेतावनी दिइ रहेको अनुभूति हुन्छ । पक्कै पनि मानवीय अस्तित्वको लागि दोस्रो विश्वयुद्ध सुखद थिएन । आणविक युद्धको खतरा अन्त्य भएको घोषणासँगै लाखौँको चिहान माथि फेरी नयाँ शताब्दीसँगै नयाँ नयाँ आणविक चेतावनीका घोषणा हुन थालेका छन् । तेस्रो विश्व युद्ध कहाँबाट सुरु हुने हो त्यो त बताउन नसकिएला तर आजका शक्तिशालीहरूको चेतावनीको भाषा हेर्ने/सुन्ने हो भने त्यो आणविक युद्ध हुनेमा कुनै दुई मत छैन ।

इतिहासलाई हेर्ने हो भने सन् १९४५ यता आणविक हतियार मानव विरुद्ध प्रयोगमा आएको छैन । हामी आज यस्ता हतियार अबको इतिहासमा निष्क्रिय रहने अनुमान गर्दै छौँ तर हामी यस्तो हतियारको प्रेम पूर्ण प्रतिस्पर्धामा छौँ । करोडौँ क्षति पुग्ने र सजिलै मार हान्न सक्ने भन्दै प्रयोगशालामा हरेक दिन हाम्रा परमाणु वैज्ञानिकहरूको विफ्रिङ सुनेर लाग्छ यो हतियार प्रेमबाट उम्कन नयाँ युद्ध नभई प्राय असम्भव छ । आजको दिनमा यी हतियारको निर्माण सहज र सस्तो हुँदै छ । शक्तिराष्ट्रहरुको परिचय/पहिचाननै कोसँग कति हतियार छन् भन्नेमा गणना भइरहेको छ । यो अवस्था पक्कै पनि सुखद होइन किनकि ढिलो वा चाँडो मानिसले जतिसुकै सकारात्मक सोच राखे पनि मानिस आफैले भण्डारण गरेको हतियारले मानवीय अस्तित्वलाई खतरा पैदा गर्नेछ । आणविक हतियार आजको यहीँ विश्वमा छन् यसको प्रतिस्पर्धा छ र यसले आजको जुनसुकै समयमा अकल्पनीय विध्वंस मच्चाउन सक्छन् । यस्ता आणविक हतियारहरूले नेतृत्वको सनक बढाइदिन्छन्‚ उन्माद थपिदिन्छन् र नयाँ तानाशाह जन्माइ दिन्छन् । यो शताब्दीको हरेक मानिस आणविक युद्धलाई लिएर त्यति साह्रो चिन्तित भएको पाइँदैन बरु विज्ञानको प्रतिस्पर्धी भएको देखिन्छ जुन एकदमै घातक हुन सक्छ । त्यसैले आणविक हतियारको चिन्ता गर्न जरुरी छ ।जलवायु परिवर्तन जस्तै आणविक युद्धको खतरा आज ठुलो चिन्ताको विषय हो जसले मानवीय अस्तित्वमै खतरा उत्पन्न गरिरहेको छ ।

प्रविधिले निम्त्याउने विनाश
आजको विश्वमा प्रविधि यस्तो चिज हो जुन बाहेकको विश्वको कल्पना पनि हुन सक्दैन । मानव जीवनको आधारभूत अर्थ र आवश्यकता भएको छ प्रविधि । जहाँ मानव छ त्यहाँ प्रविधि छ । जहाँ मानव छैन त्यहाँ पनि प्रविधि छ । प्रविधिको विकासले हरेक कुराहरूको अर्थ/परिभाषा नै परिवर्तन गरिदिएको छ । प्रविधिले डिएनएसँग खेलिरहेको छ‚ परिवर्तन एवं आविष्कारको नाममा नयाँ नयाँ कामहरू परिमार्जन गरिरहेको छ‚ पुराना कामहरू हराएका छन् । असान्दर्भिक हुँदै गएका छन् । प्रविधिले मानवीय जीवनको अर्थ नै बदलिदिन सक्छ । प्रविधिले निम्त्याउने विनाशबारे इतिहासकार एवं दार्शनिक युभल नोह हरारी भन्छनः प्रविधिले विश्वव्यापी रूपमा एउटा विशाल प्रयोजनविहीन वर्ग निर्माण गर्न सक्छ र डाटा उपनिवेशवाद तथा डिजिटल अधिनायकवादको खतरा निम्त्याउन सक्छ । प्रविधिका कारण सामाजिक आर्थिक उथलपुथल सामना गर्नु पर्ने हुन सक्छ ।

प्रविधिले निम्त्याउने विनाशले मानव जातीको अस्तित्व समाप्त पार्न सक्छ । हामी भन्दा अघिका मानिसले शोषण विरुद्ध सङ्घर्ष गरेका थिए । तर एक्काइसौँ शताब्दीमा प्रयोजनविहीन/असान्दर्भिक हुनबाट बच्न मानिसले साँच्चीकै ठुलो संर्घष गर्नुपर्ने हुन्छ ।

स्वचालित प्रविधिले लाखौँ मानिसको रोजगारी खोस्न सक्छ । विकास समृद्धको नाममा अविकास र विनाश निम्त्याउन सक्छ । ठुला ठुला कम्पनीहरूलाई डुबाउन सक्छ । मानवीय क्षमताको ह्रास गर्न सक्छ । आत्म सम्मान तथा व्यक्तिगत गोपनीयताको धज्जी उडाउन सक्छ । समाजलाई डिप्रेसनको सिकार बनाउँन सक्छ । आर्थिक कारोवारहरुलाइ ध्वस्त गर्न सक्छ । यो एउटा निरन्तर आइरहने भेल/बाढी जस्तै हो । एउटा परिवर्तनलाई पछ्याउँदै अर्को अझ ठुलो परिवर्तन आइरहेको हुन्छ । सामान्य रूपमै हेर्ने हो भने पनि आज सोनी‚ नोकिया‚ कोडाक जस्ता कम्पनी लोप हुन लागि सके । रेडियो‚ टेलिभिजन‚ क्यामरा‚ भिडियो यन्त्र जस्ता चीजहरू सामान्य मोबाइलमा कैद भइसकेका छन् । सामाजिक सञ्जालहरूले मानिसको व्यवहार‚ चेतना‚ ज्ञानको तह नापिरहेका छन् । विश्वलाई एक गाउँको रूपमा रूपान्तरण गरेर विश्व व्यापी घटनाहरूलाई शक्तिकेन्द्रका पहुँचमा खिचिरहेका छन् । समाजको लेखाजोखा फेसबुक र ट्विटरहरूले गरिरहेका छन् । मानिसलाई सफ्टवेयरले चलाइरहेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (अप्राकृतिक बौद्धिकता) को विकासले उचाइ लिइरहेको छ । मानिसको कामहरू रोबर्टले गरिरहेको छ । यो झन् भन्दा झन् एडभान्स हुँदै जाने पक्का छ । परिणाम स्वरूप मानिसहरूको पूर्ण क्षमतामा ह्रास आउने छ । नयाँ कामहरू सृजना हुने छन् । पुराना कामहरू हराउँदै जाँदा ठुलो मानवीय रोजगारी गुम्ने छ । युगल नोह हरारीले भनेझैँ एउटा विशाल प्रयोजनविहीन वर्गको उदय हुने छ । यो बेरोजगार प्रयोजनविहीन वर्ग र कृतम अब्बलताको शक्तिशाली वर्ग बिच तीव्र घर्षण पैदा हुनेछ र त्यसले विशाल असमानता खडा गर्ने छ । अप्राकृतिक बौद्धिकतायुक्त हतियारले निम्त्याउने असमानता‚ शोषणको परिणाम आजको मानिसले कल्पना गरे भन्दा पनि भयावह हुने निश्चित छ । यसको प्रतिस्पर्धाले शक्तिशाली राष्ट्रहरूको हातमा तेस्रो विश्वका देशहरूको सामाजिक आर्थिक भविष्य निर्धारित हुने र कतिपय देशहरू टाट पल्टने सम्भावना छ । गरिब मुलुकको सामाजिक आर्थिक योजना‚ रणनीति‚ नागरिकहरूको प्रोफाइल‚ व्यक्तिगत जीवन‚ सामाजिक एवं सांस्कृतिक व्यवहार‚ राजनीतिक प्रणाली‚ सुरक्षा प्रबन्धको सम्पूर्ण जानकारीको डाटा शक्तिशाली राष्ट्रहरूको चिप्समा सीमित हुने छ । एउटा स्वतन्त्र देशको सम्पूर्ण डाटा (सूचना) अर्को शक्तिशाली देशसँग हुँदा त्यो देश स्वधिन र स्वतन्त्र रहन सक्दैन । एउटा देश अर्को देशको निगरानीमा रहँदा‚ एउटा समाज अर्को समाजको निगरानीमा रहँदा त्यसले डिजिटल तानाशाहीपन निम्त्याउन सक्छ । डाटा उपनिवेशमा परिणत हुन सक्छ ।

युवल नोह हरारीले अर्को एक प्रसंगमा भने जस्तो जैविक ज्ञान‚ कम्प्युटरको शक्ति र डाटा एकर्कामा गुणन गर्दा मान्छेलाई ह्याक गर्न सक्ने क्षमता बन्छ । तपाइसँग प्रशस्त जैविक ज्ञान छ‚ कम्प्युटरको शक्ति छ र आवश्यक डाटा छ भने मेरो शरीरलाई ह्याक गर्न सक्नु हुन्छ‚ मेरो दिमाग र सिगों जीवनलाई ह्याक गर्न सक्नुहुन्छ । त्यस पछि मेरो व्यक्तित्व‚ राजनीतिक दृष्टिकोण‚ यौन चरित्र‚ मानसिक कमजोरी‚ मेरो सबै भन्दा ठुलो डर र आशाबारे तपाईँलाई थाहा हुनेछ । तपाइ मलाइ आफूले बुझे भन्दा धेरै राम्रोसँग बुझ्न सक्नु हुन्छ र यस्तो तपाइले मसँग मात्र होइन अरू जो कोहीसँग गर्न सक्नुहुन्छ । यसरी एक मानिसले अर्को मानिसलाई योजनाबद्ध ह्याक गर्न सफल हुनेछ । मानिस एउटा रहस्यमय प्राणी रहने छैन । जसले मानिस ह्याक गर्न मिल्ने जनावर हो भन्नेमा विश्वास गर्नुपर्नेछ । अहिले हामी बाँचिरहेको युगमा युद्धको कारण भन्दा आत्महत्याको कारण बढी मानिस मरिरहेका छन् । हाम्रो वास्तविकता यही हो ।

यसैले रोबोट र मानवबिच तनाव सृजना हुने छ । रोवर्टले मानिसहरूको रोजगारी खोस्दै जानेछ र श्रम बजारमा नयाँ चुनौती देखापर्ने छ । मानवीय मस्तिष्क भन्दा अप्राकृतिक बौद्धिकताको दबदबा बढ्दै जाँदा मानिसको निर्णय गर्ने अधिकार नष्ट हुन्छ । स्वतन्त्रता हनन हुन्छ । स्वतन्त्रताको लडाइमा मानव होमिने अवस्थाले फेरी एउटा मन युद्ध सुरु गर्नेछ र त्यो हाम्रो कल्पना भन्दा भयावह हुनेछ । यसैले यसतर्फ आजको विश्वले नसोच्ने हो भने निश्चय नै कुनै प्रविधिजन्य भाइरसको महामारी फैली नसक्ने छ र त्यसले मानवीय अस्तित्व नै सखाप पार्ने छ ।

पुँजीवादको शोषण
२० औँ शताब्दीमा तीन वटा दर्शनले विश्वमा नयाँ डिस्कोर्स चलायो । पुँजीवाद, समाजवाद र साम्यवाद । यो सामाजिक, सांस्कृतिक‚ आर्थिक र राजनीतिक विचारधारामा आधारित छ र यसलाई संसारका विभिन्न देशले अलग अलग तरिकाले व्याख्या र लागू गर्दै आएको पाइन्छ । आजको विश्व पुँजीवादको राप तापिरहेको छ । हुने खाने र हुँदा खानेबिचको असमानताको खाडलबाट जन्मिएको दर्शन एवं भोलि के खाने भन्ने सोचको विकाससँगै यो व्यवस्था आएको हो ।

कुनै पनि आर्थिक व्यवस्थाले उत्पादन गर्छ । पुँजीवादमा उत्पादन सरकारको अधीनमा हुँदैन, व्यक्तिको हातमा हुन्छ । यसमा मालिक हुन्छ वा त्यो मालिकले कसरी व्यापार गर्ने, त्यो उसलाई छुट हुन्छ । त्यसमा उसको मनोमानी हुन्छ । राजनीतिक, सामाजिक र आर्थिक प्रणाली उत्पादन र बजार प्रणालीको माध्यम निजी स्वामित्वमा आधारित हुन्छ । यो नाफाको दृष्टिले परिचालित हुन्छ । पुँजीवादी व्यवस्थामा बजारलाई प्रतिस्पर्धामा छोडिएको हुन्छ । बजारका अदृश्य हातहरूले समग्र बजार प्रणालीलाई चलाइरहेका हुन्छन् । कुनै पनि व्यक्तिले वस्तु किन्न पनि सक्छ, तुरुन्त बेच्न पनि सक्छ । पैसाबाट बस्तु खरिद गरेर पुनः पैसामै रूपान्तरण गर्ने चरित्र हो पुँजीवादको । पुँजीवादले तीव्र नाफामा ध्यान दिन्छ । नाफाकै जोड घटाउला पुँजीवादको गणित टिक्ने गर्दछ ।

यसै गरी विश्वको इतिहासमा सबैभन्दा बढी प्रयोग हुँदै आएको दर्शन पुँजीवादी दर्शन हो । यो व्यवस्थामा मजदुर धरै हुन्छन् । मालिक भने कम हुन्छन् । बिल गेट्स, स्लिम हेलु‚ मार्क जुकरबर्ग‚ अलिवावा जस्ता सबै पुँजीवादी व्यवस्थाले जन्माएका मालिक हुन् । सन् १७७६ मा एडम स्मिथले ‘द वेल्थ अफ नेसन्स’ नामक पुस्तक लेखेर पुँजीवादी व्यवस्थाको वकालत गर्दै उनले व्यक्तिले समाजमा बसेर आय आर्जन गर्छ । नाफा कमाउँछ‚ मानिसले पैसा कमाउँदैन भने ऊ जङ्गलमा गएर बसे हुन्छ भन्ने जस्ता तर्क दिए ।

यसले मानवीय जीवनलाई पैसामा तुलना गर्‍यो र आज उप्रान्त गरिरहेको छ । पैसाकै लागि आज मानव बेचबिखन हुन्छ‚ लागू औषध जस्तो घातक बस्तुको व्यापारिक सञ्जाल विश्वव्यापी हुन्छ‚ भ्रष्टाचारको प्रकृति नीतिगत हुन्छ । मुख्य कुरा त आमविनासकारी हतियारको सबैभन्दा ठुलो कारोवारलेनै शक्तिशाली मुलुकहरूको अर्थतन्त्र धानेको हुन्छ । नाफाकै लागि युद्धको घोषणा हुन्छ‚ नाकाबन्दी हुन्छ‚ कार्टेलिङ हुन्छ । व्यापारकै लागि सिन्डिकेट हुन्छ‚ कालोबजारी हुन्छ‚ अपराध हुन्छ‚ हिंसा हुन्छ । आज शक्तिशाली मुलुकहरू नाफाका लागि एक देशबाट अर्को देशको स्वाधीनतामा धावा पोलिरहेको पाइन्छ । तीव्र आर्थिक विकास गर्ने बहानामा सैन्य हस्तक्षेप बढाएको पाइन्छ । पुँजीवादकै परिणाम स्वरूप मानव आज उपभोगको साधन भएको छ‚ मानवीय मूल्य तथा मानवीयता हराएको छ । मानवीय संस्कृतिमा अतिक्रमण भएको छ । मानवीय ज्ञान‚ चेतना‚ विचार‚ मान्यता‚ धारणा‚ काम गर्ने सामर्थ्य सबै बजारमा बिक्रीका लागि राखिएका छन् ।

नेपाल जस्तो गरिब मुलुकका हामी बाँझो जमिन राखेर महँगो‚ प्याज‚ लसुन आयात गरिरहेका छौँ त्यति मात्र होइन हाम्रो काम गर्ने क्षमतामा अल्छीपनको विकास पुँजीवादले गरेकै कारण अर्बैंको कृषि जन्य पदार्थ आयात भइरहेको छ । कतिपय बज्रस्वाठ हामी बिचौलियाको भूमिकामा परिणत भएका छौँ । कमिशनको चक्करमा विकासका सपनाको व्यापार गरिरहेका छौँ । पुँजीवादको प्रत्यक्ष असर हाम्रा दिमागका छाउगोठहरूमा देखिन्छ । परिणाम स्वरूप तीव्र शोषण बढेको छ । गरिब र धनीको खाडल झन् झन् बढ्दै गएको छ । असमानता बढेको छ । मानिस पैसाकै लागि मर्न र मार्न तयार छ । पुँजीवादले मानव अस्तित्वका लागि खतरा पैदा गरिरहेको छ । लाग्छ पुँजीवादले आफ्नो चिहान आफै खनिरहेको छ र त्यो चिहानमा एक दिन उ स्वयम त पर्ने नै छ र सारा शोषित वर्गको मानवीय अस्तित्वलाई पनि पार्ने छ । त्यो निकै सङ्कटको अवस्था हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस