आवरणभित्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आवरणभित्र


१ पुस २०७६, मंगलबार


धेरै दिनको जाडो र झरीपछि आज घाम लाग्यो । सुब्बासाव आङनमा सानो गुन्द्री बिछ्याएर बसे ।

तातो घामको रापले गर्दा सुब्बासावको टाउको चिलाउन थाल्यो । टोपी झिकेर दुवै हातले कपाल कन्याउन थाले । ‘ए बुढी काइँयो ले ले ! यो चायाँले पनि हैरानै पारो ।’ बुढी आमै सानो ताप्केमा तताएको तेल लिएर आइन । ‘यो काठमाडौँ हाम्रो लागि बनेको हैन है, हामी उतै पहाडमा गएर बसम, सकुन्जेल एउटा भैँसी पालम्ला, दुई चार गोटा खसी कुखुरा पालम्ला भनेको हो कि हैन मैले ? बडो राजधानीमा बस्ने भन्दै सेखी गर्‍यौ । बल्ल ठिक भा’छ तिमी बुढालाई । ननुहाएको दश दिन भयो । अब टाउकोमा चायाँ मात्र हैन, कहाँ-कहाँ जुम्राले गुड पार्छ । कता कता कन्याउने हो यी दुइटा हातले ? पानी पनि नपाइने ठाउँ राजधानी रे ! अझ यस्तो फोहोरी बुढालाई पहाडका गाउँलेले ‘राजधानी सुब्बा’ नाम राख्न भ्याए ।’

यी हुन सुब्बा जोगमान । जोगमान श्रेष्ठ । यिनका पुर्खा भक्तपुरबाट पाल्पा आएका रे । प्रताप शमशेर राणा पाल्पाको बडाहाकिम हुँदा नयाँ दरबार निर्माण गर्न सिपालु डकर्मी झिकाएका थिए । जोगमानका बाजे तुयुमान डकर्मी काम गर्न आएका, तानसेनमै बसे । बाबु भुयुमान बिफरले थलिएर बल्लतल्ल बाँचेका थिए । उनी सिपालु कामदार हुन सकेनन्, जोगमान सानै हुँदा मरे । टुहुरा जोगमान पद्म पब्लिक हाइस्कूलमा पढ्दै थिए । कसरी बौघातिरबाट आमासँगै सालको पात बेच्न आउने जालमायासँग प्रेम बस्यो पत्तै भएन । जोगमान केही वर्ष ससुराली मगर गाउँमै हलो जोतेर बसे ।

जालमायाले सुब्बासावको हातखुट्टामा तेल लाइदिइन । सुब्बासावले भने ‘आब म तलाई तेल लाइदिन्छु ।’ जालमायाले भनिन् ‘आज पर्दैन । बिमार हुँदा लाइदिनु नि । तर तिमीले मलाई तेल लाइदिँदा त भित्रै बस्नु पर्छ नि । फेरि त्यो बाहुनी बजैले देख्यो भने हरे के देख्नु परो भन्न थाल्छ ।’

बदम बदम बदम ! एक जना बदाम व्यापारी गेट बाहिर करायो । सुब्बासावले दुई पोका बदाम किने । एक पोका अहिले बूढाबूढीको लागि, अर्को बुहारी र नातिहरूको लागि । बदाम लामा लामा धर्के कापीको पानामा जतनले पोको पारेको रहेछ । उनले पोको फुकाए । कापीका पानाको दुवैतर्फ टम्म भरिने गरी सुन्दर अक्षरहरू लेखिएका थिए । अहो ! सुब्बा झसङ्ग भए । उनले अर्को पोको पनि फुकाए । दुइटै पोका बदाम बेर्न प्रयोग भएका कागजहरू पाना नम्बर एक सय सतहत्तरदेखि एक सय चौरासीसम्म उल्लेख भएको थियो । उनले पानाहरू सोझो पार्दै पेज मिलाएर पढ्न थाले ।

पाना नम्बर एक सय सतहत्तर । शीर्षक थियो ‘सुन्दर आवरणभित्रको नग्न यथार्थ ।’ लेखिएको थियो ‘आज २०७३ साल असार तेह्र गते, मेरो जन्मदिन ! बिहानै छोराले पशुपतिनाथको दर्शन गरायो । नातिहरूले चकलेट दिए । बुहारीले ‘स्तुति सङ्ग्रह’ उपहार दिइन । विदेशबाट जेठो छोराले फोन गर्‍यो ।

दिउँसो छिमेकी धीर मर्दन भेट्न आए । बधाई दिए । उमेर सोधे । मैले आज सतहत्तर पूरा भैयो भन्दा जिब्रो टोके । सतहत्तर पुग्दा पनि कस्तो तेज भने । यो फगत औपचारिक मात्र थियो, सभ्यता प्रकट मात्र ! मेरो तेज उनी पनि जान्दथे र म पनि ।

मसँगै लोक सेवा दिएर फेल भएको साथी राजनीतिमा लागेर पछि मेरै विभागीय मन्त्री भएर मैलाई कारिन्दा बनाउन सफल भयो । सङ्गै एउटै कार्यक्रम जाँदा मेरै सामुन्ने कर्मचारी बदमास भए, कर्मचारीकै कारण देश पछाडि पर्‍यो भनेर भाषण गर्‍यो, उपस्थित जनताले पनि हो हो भन्दै थपडी बजाए ।

धीर मर्दन भन्दै थिए ‘मलाई छोराले साह्रै मान गर्छ । तपाईँका कस्ता छन् कुन्नि !’ मैले भनेँ ‘छोराले सम्मान नगरे कसले गर्छ त बाबुसाहेब ! मलाई पनि सम्मान गर्छन् । यी मज्जाले बसिबसी खान पाएको छु ।’ बाबुसाहेब गम्भीर भए । उनले एकोहोरो भित्तातिर हेर्न थाले । फेरि मतिर फर्के र लामो सास फेरे । उनी भन्दै गए ‘मसँग सबै छ सर । मसँग सबै छन् । मेरो बाहिरी छवि ‘भव्य र भाग्यमानी ठकुरी’ को रूपमा प्रख्यात छ ।’ उनी भन्दै गए ‘तर मन खुसी छैन, आनन्द छैन, बेचैन छुँ । म जवान हुँदा घरमा एउटा सुगा पालेका थियौँ । बडो मजाको थियो सुगा । आज्ञाकारी थियो, त्यसैले सबैको प्यारो । जे दियो त्यही खान्थ्यो, जे सिकायो त्यही बोल्थ्यो, अब भयो चुप लाग् भनेपछि चुप लाग्थ्यो । अब सुत् भनेपछि हस् भन्दै दुई खुट्टा उत्तानो पारेर सुत्थ्यो । सुगाको घर पनि चानचुने थिएन । चाँदीको घर थियो, राजदरबार जस्तो ।’ बाबुसाहेबले तुरुक्क आँसु झारे । मलमली रुमालले आँसु पुछ्दै यताउता हेरे, कोही थिएन । उनी भन्दै गए ‘म पनि त्यही सुगा हुँ । जे दियो खाने, जे सिकायो बोल्ने, जहाँ लग्यो जाने । कतै भन्न नहुने कुरा हो हजुर । इज्जत जान्छ । खानदानको कुरा छ । एक दिन गाउँबाट एक जना छिमेकी आएको थियो । उसले यताको जिन्दगानी कस्तो छ त बाबुसाहेब भनेर सोध्यो । मैले उताजस्तो त के हुन्थ्यो मात्र भनेको छोराले हुँकिहाल्यो । बुवाले आफ्नो प्रतिष्ठाको ख्याल गर्न छाडिस्यो, भन्दै अब देखि होस् पुर्‍याएर बोल्ने पाठ सिकायो ।’

धीरमर्दन अरू के के भन्ने सोचमा थिए कुन्नि, तर मेरी बुहारी अनामिका आइन । बुहारीले धीर मर्दनलाई कर्के नमस्कार गर्दै उता फर्केर सुस्तरी भनिन ‘भग्नावशेषहरू’ । सायद उनले सुने । उनी हस् त सर यस्तै हो भन्दै गए । उनी गएपछि अनामिकाले भनेकी थिइन ‘कस्तो कुरौटे साथी हजुरको । तमिज छैन । कुहेको मोजा लाएर आको । बैठकै गन्दा बनाएर गयो । यस्ता मानिसलाई लिफ्ट नदिस्यो है बुवा । आनन्दले भजन गाएर बस्ने बेलामा के जोरी पारी जम्मा गर्न मन लाग्या होला। मेरो बुवा त एक्लै चुपचाप बसिसिन्छ है ।’ मैले भनेको थिएँ ‘कहिल्यै आउँदैनथे । मेरो जन्मदिन भनेर विष गर्न मात्र आएका हुन । एक छिन बसे, गए । मैले त मोजा गनाएको थाहा पाइन त । सफा सुकिला मानिस हुन ।’ अनामिकाले भनिन ‘मन परेको मान्छेको त पाद पनि मङमङ बसाउँछ नि बुवा !’

सुब्बासाव गम्भीर भए । उनले बदाम खान बिर्से । जालमायाले ठट्टा गरिन ‘के हो सुब्बा ! केटीको चिठ्ठी हो कि क्या हो ? रुन थाल्यौ त ! चना चटपटे, जिरा, बदाम र कुखुराको खुट्टा बेरेको कागज पनि पढ्नुपर्ने , यो बुढेसमा ?’ जोगमानले भनेका थिए ‘यो कागजमा लेखिएको अक्षर मेरो हाकिम साम्बनाथको हो । उनको मृत्यु भएको डेढ महिना भयो । यी ठुलो डायरीका चार पाना मात्र हुन । डायरीभित्र हाम्रो समाजलाई काम लाग्ने धेरै ठुलो सामग्री थियो होला । तर उनको परिवारले पाना पल्टाएर पनि हेरेन । कृतघ्नहरूले कवाडीलाई बेचिदिएछन् । साम्बनाथ श्री ५ को सरकारको सचिव भएर अवकाश भएका योग्य र सज्जन व्यक्ति हुन् । उनलाई आफ्नै परिवारले त चिन्न सकेन, देशले के चिनोस् ! उनी मुटुको व्यथाले अकस्मात् मरे । उनको मरणसँगै उनका रचनाको पनि काल आएछ ।’

जोगमान अगाडि पढ्दै गए ‘एक दिनको कुरा हो । बिहानको समय, छ्याङ्ग घाम लागेको थियो । मेरो घरको छतबाट काठमाडौँ उपत्यका नजिकमा पर्ने जुगल हिमाल छर्लङ्ग देखिन्छ । मलाई हिमाल हेर्न मन लाग्यो । म माथि गएँ । हिमाल मलाई देखेर हाँस्यो, म पनि हाँसिरहेँ । हिमाल मेरो बाल सखा, किन नहाँसोस् ! मैले हिमालमा मेरा पूर्वज, मेरा दिवङ्गत मित्रहरू, मेरा बा आमा र मेरी जीवन सङ्गिनीलाई देखेँ । हिमालले मलाई अपूर्व सान्त्वना दियो । तर छतबाट तल झर्दा मेरो गोडा चिप्लियो । खुट्टा मर्क्यो । मलाई थाहा थियो, त्यो बेलुकी मेरो लागि सुखद हुनेवाला थिएन ।

म चुपचाप सुतेँ । छोरो आयो । सोध्यो ‘के भयो ? आज फेरि के उपद्रो गर्नु भो ?’ मैले याचकले जस्तो छोराको मुखमा हेरिरहेँ । मैले छोराको हेराइमा केही माया, केही सहानुभूति , केही हैरानी र धेरै आलोचनात्मक भाव देखेँ । मलाई मनमनै पछुतो पनि लाग्यो । तर जे हुनु भइसकेको थियो । मैले भनेँ ‘गल्ती भयो ।’ छोराले भन्यो ‘के खानुहुन्छ ? भोक लाग्यो होला ।’ म डराइरहेको थिएँ !, भनेँ ‘केही खान्न । खान मन छैन !’ ऊ गयो । मेरा आँखा कमजोर छन् । तर यी कानहरूले मलाई साह्रै दुःख दिए । कोही सानो आवाजमा बोलेको पनि सुन्छु । बरु केही सुन्नु नपरे इन्द्रियजनित एउटा दुःखबाट त मुक्ति मिल्दो हो । म सुतेको ढोका ढप्काएको थिएन । भान्सामा छोरो बुहारी र नातिहरू थिए । ठुलो नातिले भन्यो ‘हजुरबुवा खै ? ।’ अनामिकाले भनिन ‘तेरो हजुरबुवासँग नसकिने भयो । हिमाल हेर्नुपर्ने, जन्मेदेखि हिमाल हेरेर पनि कति नपुगेको होला । न इज्जतको मत्लव छ, नत परिवारलाई दुःख होला भन्ने चेत छ । कहिले लाखे नाच भनेको छ, कहिले गाईजात्रा भनेको छ, कहिले घोडे जात्रा भनेको छ, कहिले तीजमा पशुपतिमा केटी नाचेको हेर्न गाको छ, कहिले बसन्तपुरको टुँडाल हेर्न गाको छ, कहिले कौन बनेगा करोडपति हेरेको छ, कहिले सोले फिल्म हेरेको छ, कहिले बागवान् हेरेको छ । सिनेमा हेरेर केटाकेटी बिग्रेको त सुनिन्थ्यो, तर यहाँ त बुढाकै यो हाल छ । आज खुट्टो मर्काएर सुत्नु भएको छ । बुढो भएपछि त थपक्क मनमनै भजन गाएर बस्नु नि !’ नातिले भनेको थियो ” मम् ! लर्न टु रेस्पेक्ट द ओल्ड पिपुल ।” त्यसपछि कोही बोलेको सुनिएन ।

एक जना युवकले भन्यो ‘ओए बाजे यसरी सार्वजनिक स्थलमा खोकेर रोग सार्दै हिँड्ने ?’ मलाई लाग्यो, यो राज्य, यो समाज, यो सारा प्रबन्धलाई धिक्कार छ ! वृद्धवृद्धालाई सम्मान र संरक्षण दिन नसक्ने यो समयलाई धिक्कार छ ! यो युग, यो कथित समृद्धि, यो सारा प्रपञ्चलाई धिक्कार छ !

जाडोको दिन थियो । बिहानै छोराले भन्यो ‘बा आज घरमा सानो ग्यादरिङ्ग छ । साथीहरू आउँछन् ।’ मलाई खुसी लाग्यो । आज छोरा बुहारी दुवैले बडो माया गरिरहे । छोरी समिता पनि नातिनी लिएर आइपुगी । बेलुका पाँच बजे नै मेरो खाना तयार भएछ । मलाई खाना खान बोलाइयो । मैले भनेँ ‘म पनि सङ्गै खान्छु नि । सवैसँग सङ्गै खान रमाइलो हुन्छ । अहिलेका नयाँ नयाँ कुरा सुन्न पाइन्छ । तिमीहरूका साथीहरूलाई पनि देख्न पाउँछु । आफ्ना अनुभवहरू पनि सुनाउँला ।’ छोराले समितातिर हेर्‍यो । समिताले भनी ‘बा पनि । हजुर बुढो मान्छे खाना खाएर कोठामा जानुस् । यहाँ अनेक तरहका मानिस आउँछन् । हजुरलाई नमज्जा लाग्ला ।’ म चुपचाप सुत्न गएँ ।

यति सबेरै के नीद लागोस् । कृपालुको प्रवचन सुन्न थालेँ । बत्ती गयो । अझै पाहुना आएका थिएनन् । उता बैठक कोठामा खरो बहस भइरहेको छ । छोराले भन्यो ‘ए समिता आज बालाई पनि पार्टीमा राख्ने कि ? धेरै दुःख मान्नुहोला कि’

समिताले भनेकी थिई ‘भो दादा । बा अचेल धेरै कुरौटे हुनुभाछ । के बोल्ने के नबोल्ने होसै छैन । बा त ज्वाईंसङ्ग पनि अड्कलेर बोल्नुहुन्न । आफू फुस्केको थाहा नै पाउनुहुन्न । सन्चो बिसन्चो सोधेर चुप लागेर बस्नु नि बुढो मान्छे ।’ एक छिनपछि बुहारीले पशुपतितिर चालिस रुपैयाँमा किनेको माला ल्याएर हातमा राखिदिँदै भनिन ‘निद्रा नलागे यही जपेर बस्नुस् ।’

मैले जीवनमा धेरै पार्टी एटेण्ड गरेको छु । स्वदेशमा सयौँ र विदेशमा पचास साठी । स्वदेशमा राजा रानी, राजपरिवार, प्रधानमन्त्री, प्रधान न्यायाधीश, मन्त्रीहरू, राजदूतहरूको उपस्थितिमा हुने धेरै पार्टीमा सरिक भएको छु । विदेशमा राष्ट्रप्रमुख, सरकार प्रमुख, मन्त्रीहरू र यु एन एजेन्सीहरूले आयोजना गर्ने धेरै पार्टी एटेण्ड गरेको छु । तर आज आफ्नै घरमा यो के हुँदै छ ? फेरि बत्ती आयो टिभीमा कृपालु भन्दै थिए ‘ध्यान दो ! ये संसार है बडा स्वार्थी । देखो ! यहाँ सब आनन्द चाहते है । लेकिन किसीको कभी भी आनन्द मिला क्या ? नही ! यहाँ न किसिने आनन्द प्राप्त किया ना कोइ प्राप्त करेगा । ये सव माया है, हम सव इसी मायाके पिछे दौडे चले जा रहे है । यहाँ कोइ अपना नही है । सबके सब स्वार्थी हैं ।’

मेरो एक जना जर्मन मित्र भन्ने गर्दथ्यो – जो पनि लामो आयु चाहन्छ, तर बुढो हुन कोही चाहन्न । वृद्धावस्था भगवानको वरदान हो, किन्तु माया, करुणा र सम्मानको अभावमा यो अभिशाप हुन्छ । पश्चिमी समाजमा परिवारको माया त पाइँदैन, तर सरकारको संरक्षण पाइन्छ । हामी वृद्धवृद्धाको सच्चा साथी कि बालक हुन्छ कि वृद्ध नै । वृद्धावस्थामा युवा वर्गको ममता पाउन गाह्रो छ । त्यसैले मानिसहरू साथीको खोजीमा वृद्धाश्रममा बस्न मन पराउँछन् । हामी वास्तविकतालाई स्वीकार गर्दै यसलाई जीवनको कटु सत्य मान्दछौ, तिमी दक्षिण एसियालीहरू जीवनको नग्न यथार्थलाई आवरणले ढाक्न खोज्दछौ ।

मेरो घरका अभिन्न मित्रहरू मेरा नातिहरू हुन । तर अहिलेका बालबालिकाहरूलाई हाम्रो समाजले अन्याय गरिरहेको छ । अहिलेका बच्चाहरूको बालापन समाज र परिवारले जवर्जस्ती खोसेको छ । हाम्रो राज्य पनि बालबालिकाको लागि क्रूर हुँदै गएको छ । मेरा नातिहरूलाई कहिल्यै फुर्सद छैन । झूटो प्रतिस्पर्धाले उनीहरूलाई यन्त्र बनाएको छ । उनीहरूको काम भनेकै हमेसा पाठ घोक्नुमा सीमित छ ।

बुद्ध, गान्धी, विवेकानन्द आदिले जुन त्याग गरे, युवावस्थामै गरे । वृद्धावस्थामा मात्र सारा त्याग गर्नुपर्छ भन्नु स्वार्थी युवाहरूको चालबाजी मात्र हो ।

बसन्तपन्चमीको दिन थियो । विद्यालय बन्द थिए । तर अरू अफिसहरू खुल्ने हुँदा छोरा बुहारी अफिस गएका थिए । आज सौभाग्यले मेरा नातिहरू मेरै मात्र थिए । सानो नातिले सोधेको थियो ‘मेलो बाबा म जत्लै हुँदा हजुरले बाबालाई खेल्न दिसिन्थ्यो कि नाई ?’ ठुलो नातिले सोध्यो ‘मेरो बाबा म जत्रो हुँदा हजुरले घुम्न लानुहुन्थ्यो कि नाई ? बाबाको होम वर्क पनि धेरै हुन्थ्यो ? मेरो बाबाले मलाई भन्नुहुन्छ नि, म बुढो हुँदा मलाई धेरै माया गर्नु है भनेर । हजुर पनि त्यस्तै भनिसिन्थ्यो ? बाबा भन्नुहुन्छ म बुढो भएपछि मलाई घुमाउन लानु है ! अनि मैले के भनेको थाहा छ ? मैले भनेँ हजुरले हजुरबुवालाई सङ्गै घुमाउन लानुस् न ! हजुरले हजुरबुवालाई पार्टीमा सङ्गै बस्न दिनु भएन क्यारे, म पनि हजुर बुढो भएपछि कोठामा थुनेर पार्टी खान्छु । बाबाले मलाई ट्वाल्ल परेर हेर्दै भन्नुभयो ‘सरी।’ त्यो दिन मेरो लागि सुनौलो थियो । दिनभरि मैले मलाई माया गर्ने मनहरूको साथ पाइरहेँ । हामी एक छिन पिङ खेल्यौँ, लुडो खेल्यौँ, चकलेट बाँडेर खायौँ लुकामारी र तासको जुट पत्ती खेल्यौँ । बेलुका सानो नातिले खुसी हुँदै सबै कुरा आफ्नो ममीलाई भन्यो । बुहारीले भनेकी थिइन ‘अव नातिहरूलाई जुवा खेल्न सिकाउन थाल्नुभयो हैन ?’ किन्तु मेरो लागि यो बचन बाणको घाउ सानो थियो । दिनभरि पाएको सुखलाई यसले जित्ने सम्भावना थिएन ।

जिन्दगी पनि क्या विचित्र छ ! रहर मर्दैन, इच्छा मर्दैन, आशा मर्दैन, आकाङ्क्षा सधैँ जीवन्त रहन्छन् । बुढा जतिको काम रामनाम गाउनु हो भन्छन् अरू । हो, वृद्धावस्थामा भजन गाउनु पर्छ, शान्त रहनु पर्छ, इच्छाहरूलाई लगाम लगाउनु पर्छ, पथ्य आहार गर्नुपर्छ, कम बोल्नु पर्छ र कम यात्रा गर्नु पर्छ । तथापि स्वाभाविक मानवीय इच्छा त्याग्न कहाँ सकिन्छ ? ठुला ठुला त्यागी महात्माहरूले त्याग गरेको वृद्धावस्थामा हैन । त्याग गर्नेले त वृद्धावस्था कुरेर बस्दै बस्दैन । बुद्ध, गान्धी, विवेकानन्द आदिले जुन त्याग गरे, युवावस्थामै गरे । वृद्धावस्थामा मात्र सारा त्याग गर्नुपर्छ भन्नु स्वार्थी युवाहरूको चालबाजी मात्र हो ।

मेरा धेरै साथीहरू मरिसके । केही थला परेका छन्, ती विवशहरू क्रूर कालको विलम्बप्रति क्षोभ प्रकट गर्दै दिन पर्खेर बसिरहेछन् । कोही म जस्तै सुनौलो आवरणभित्रको कुरूप जीवन जिउँदै छन् । कोही झन् बीभत्स हालतमा छन् I सायद कोही कोही थोरै सुखी पनि होलान् ।

एक दिन एउटा पुरानो सहकर्मी बिरामी परेको सुनेँ । साह्रै भेट्न मन लाग्यो । छोरालाई भनौँ फुर्सद छैन । बसमा सिट पाइएन । डेढ गन्टा हिँडेर पुगेँ । साथी कमजोर भएछ । थोत्रो सोफामा अडेस लाएर बसेको । लामो कपाल च्यास्स बढेको दारी, नाकभित्रका रौँहरू छरपस्ट । मैलो जर्सी र पुरानो प्याण्ट । इनार जस्तै गहिरा आँखा । हरे राम ! मलाई देखेर मुसुक्क हाँस्यो । हातको इसाराले बस्न भन्यो । ऊ बिस्तारै अलि वर सर्‍यो, केही बेर खोक्यो र भन्यो ‘के केन होला भनेर सरकारी जागिर खाइयो । आफ्नो औकात भुलेर काठमाडौँमा घर बनाइयो । मधेस पहाड सबै बेचेर तला थपियो । छोराहरू कुलङ्गार निस्के । कुनैले पनि केही गर्न सकेनन् । झगडा गरे । ‘टन्न कमाएर राखेको भए मोज गर्दा हौ बा, दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले’ भन्दै यही घर पनि बैङ्कमा राखेर पैसा निकाले । बाँडीचुडी खाएर कोही कता कोही कता लागे । बुढी पनि कमजोर छ, रोइरहन्छे । वीर अस्पतालमा देखाएको कडा रोग लागेको छ, यहाँ हुँदैन, दिल्ली जानुपर्छ भनेर फर्काइदियो । इष्टमित्र सबै बिराना भए । न कतै जाने ठाउँ छ, न कतै माग्ने ठाउँ छ । यस्तै छ साथी मेरो हाल । बस ! अव कालको प्रतीक्षामा छु ।’ साथीलाई फलफूल खानु है भनेर पाँच हजार दिएँ । साथी बलिन्द्रधारा रोयो । फर्केर आउँदा हिँड्ने शक्ति भएन । बस चढ्नु पर्‍यो भनेर गएको छिटो छिटो भन्दै खलासीले जोडले भित्र धकेल्यो, पछारिएर नाथ्रो फुट्यो । बस हिँड्यो । सिट थिएन । ‘महिला सिट’ मा एक जना युवती बसेर मोबाइल खेलाउँदै थिई । धूलो र धुवाँले गर्दा मलाई खोकी लाग्यो । एक जना युवकले भन्यो ‘ओए बाजे यसरी सार्वजनिक स्थलमा खोकेर रोग सार्दै हिँड्ने ?’ मलाई लाग्यो, यो राज्य, यो समाज, यो सारा प्रबन्धलाई धिक्कार छ ! वृद्धवृद्धालाई सम्मान र संरक्षण दिन नसक्ने यो समयलाई धिक्कार छ ! यो युग, यो कथित समृद्धि, यो सारा प्रपञ्चलाई धिक्कार छ !

घर पुगेपछि चुपचाप बाथरुम गएर नाकमा कटकटिएको रगत पखालेर सुतेँ । तन्द्रा लागे जस्तो भयो । म आफ्नो अतीतमा पुगेछु । पचास वर्षअघि युवावस्थामै श्री ५ को सरकारको अफिसर हुनु चानचुने कुरा थिएन । म पहाडमा जन्मे हुर्केको निम्न मध्यम वर्गको केटो । आफ्नै परिश्रमले सरकारी जागिरमा घुसेँ । मसँगै लोक सेवा दिएर फेल भएको साथी राजनीतिमा लागेर पछि मेरै विभागीय मन्त्री भएर मैलाई कारिन्दा बनाउन सफल भयो । सङ्गै एउटै कार्यक्रम जाँदा मेरै सामुन्ने कर्मचारी बदमास भए, कर्मचारीकै कारण देश पछाडि पर्‍यो भनेर भाषण गर्‍यो, उपस्थित जनताले पनि हो हो भन्दै थपडी बजाए । म रिटायर्ड भएर घर बसेको बिस वर्ष हुन थाल्यो । तर मेरो साथी अझै राजनीतिमै छ । बडो फुर्तिलो र जब्बर छ, जोसिलो छ, बेजोड भाषण गर्दै हिँड्छ । दुःख बिमारमा राज्यको सहयोग पाएकै छ । परिवार, मित्रहरू, नाता कुटुम्ब सबैले साथ र सहयोग दिन्छन् । भेट हुँदा भन्ने गर्छ, ‘हेर्नुस् त सचिवजी, धन्न लोक सेवा फेल भइएछ गाँठे ! राजनीति त बडो मलिलो जिनिस पो रहेछ । यहाँ कुनै बुढो नेताले राजनीति छाड्ने वाला छैन, बुझ्नु भो ?’

बिहानै उठ्छु । नुहाएर एक अध्याय गीता पाठ गर्छु । विष्णुसहस्रनाम पाठ गर्छु । म एक्लै करेसा बारीमा काम गर्छु । गमला सिँगार्छु, फूल रोप्छु, तरकारी रोप्छु । मलाई आफ्नो पौरखको प्रशंसा सुन्न मन लाग्यो । अनि लसुन, भिन्डीका पाकेका कोसा र फर्सीका बीजहरू जम्मा गरेर लसुन र भिन्डीको कोसा भित्तामा किला ठोकेर झुन्ड्याएँ । छोराबुहारी खुसी होलान् भनेको त उल्टा पो भयो । ‘हेर यो फोहोरो’ भन्दै हकारे । एक दिन एउटा पुरानो मित्र सोधखोज गर्दै आयो । घरमा कोही थिएन । एक कप चिया त ख्वाएर पठाउनु पर्‍यो भनेर चिया पकाउन थालेको, होस नपुगेर थोरै दूध उम्लेर गयो । बेलुका बुहारीले थाहा पाइहालिन । ‘ढङ्ग नहुनेले किन चिया पकाउनु ? त्यस्ता फोकटका मान्छेलाई चिया ख्वाएरै पठाउनु पर्छ ? कसैले एउटा कोसो केरा लिएर आउँदैन । त्यस्ता भातमारा पनि साथी हुन्छन् ?’ मैले पनि ‘भो भो धेरै कराउनु पर्दैन, मेरै सम्पत्ति खाएर बसेको छु’ भनेको त घरमा रडाको मच्चियो । छोरो आएर ‘बा पनि किन बोल्नुहुन्छ बेकारमा । अनामिकाले ठिकै त भनी । अब यो उमेरमा झगडा गरेर बस्न उचित छैन है बा । सचिव भएको मान्छे पनि कस्तो, बुहारीलाई देखी सहँदैन भन्ला है समाजले । अहिले, निस्केर हिँडी र डेरामा बस्न थाली भने कसको बेइज्जती हुन्छ ? लौ भन्नुस् त ! आफ्नो हुर्मत जोगाउनुस् है बा यो बुढेसकालमा’ भनेर फन्किदै गयो ।

मलाई लाग्दछ, सायद उनीहरू बा समय-समयमा आइरहुन्, तर छिटै नेपाल फर्कुन् भन्ने चाहन्छन् ।

शुक्रबारको दिन । छोराको साथी बिभोरजङ्ग आएको छ । उसको बाबु मसङ्गै काम गर्थ्यो । कार दुर्घटनामा मर्‍यो । बिभोरजङ्गको आफ्नै बिजनेस छ । प्रशस्त कमाएको छ, तर मातेको छैन । मलाई हेलो अंकल भन्दै बेलाबेलामा फोन गरिरहन्छ । उनीहरूको खाने बेला भएछ क्यारे छोराले मलाई कोठातिर जाने इसारा गर्‍यो । म गएँ । उनीहरू खान थाले । विभोरको ठुलो ठुलो स्वरले बोल्ने बानी छ । ‘तैँले अङ्कललाई किन भित्र पठाएको ?’ छोराले भन्यो ‘पठाएको हैन, आफै जानु भाको हो । बुढो मान्छे किन बस्नु पर्‍यो ? बाले पनि त मसँग खानुहुन्थेन ।’ विभोरले भनेको थियो ‘’हेर साथी ! यसरी बालाई पन्छाएको मलाई त मन परेन । बालाई थाहा छ छोरो रक्सी खान्छ । बालाई मन नपरे आफै पन्छिनुहुन्थ्यो । यहाँ त तैँले पन्छाइस् । स-साना र किशोर छोराछोरीसँग बाबुआमा सङ्गै बसेर नखानुमा हृदयमा बसेको माया, करुणा र पढाइ बिग्रेला भन्ने डरले हो । तर तैँले बालाई पाखा राख्नुमा कुनै तर्क छैन । बाबुसँग मीठो बोल्दा, सङ्गै बसेर खाँद र उत्साह दिँदा तेरो के जान्छ ? एक दिन सबैले बुढो हुनुपर्छ ।’ विभोर मेरो कोठामा आयो । आउनुस् अङ्कल भन्दै बैठकमा लिएर गयो । म चुपचाप बसेँ । विभोरले ठुलो प्याग बनाएर मलाई दियो । मलाई होसै भएन , मैले यन्त्रवत पिउन थालेछु ।

विभोरले भन्यो ‘’कति समयपछि ड्रिंक गर्नुभयो अङ्कल ?’

मैले भनेको थिएँ ‘बाह्र वर्ष भयो । मैले आज पनि नखानु पर्ने हो, तर होसै भएन । पहिले आफ्नो समयमा खाइयो, तर लिमिटमा । खान त वीरेन्द्र सरकारको समीपमा बसेर पनि दुई प्याग खाएको हो । खाएर लाएर कहाँ पुग्दो रहेछ र बाबु । यो मानव चोला नै आकाङ्क्षा र लोभको पोको रहेछ । म जान्दछु वृद्ध र बालक उस्तै हुन्छन् । दुवैले आफ्नो केयर खोज्छन्, अरूले आफूलाई महत्त्व दिउन् र वास्ता गरुन् भन्ने चाहन्छन् । तर बालकको भविष्य हुन्छ, वृद्धको भविष्य हुँदैन । यही नबुझेर हो हामी वृद्धहरूले मार खाने । उमेर हुँदासम्म आफै पनि बुढो हुनुपर्ला, आफ्नो पनि यस्तै दुर्दिन आउला भन्ने होस राख्ने थोरै मात्र हुन्छन् । जवानीमा त सधैँ यस्तै रहिन्छ, सधैँ सन्तान, समाज र कुटुम्बको माया पाइन्छ, आज मान्नेले चिरकालसम्म मानिरहने छन् जस्तो लाग्छ । सायद जीवनको कटु वास्तविकता पनि यही हो । बुद्ध भगवानको जीवन दुखी छ, दुखको कारण छ र दुःख निवारणको उपाय छ भन्ने वचन सत्य हो । तर यो पनि सायद ! वृद्धावस्थाको लागि काम लाग्दैन, बलियाको लागी मात्र हो ।’

प्याग थप्दै जाँदा म बहकिँदै गएँ । छोराले चुपचाप सुनिरह्यो । म भन्दै गएँ ‘मेरो संसार यिनै दुइटा छोरा हुन, यिनै नातिहरू हुन । यिनीहरू मलाई माया गर्छन्, सम्मान गर्छन्, मेरो ख्याल पनि गर्छन् । किन्तु एउटा पीडा छ, एउटा खाडल छ, एउटा ग्याप छ यिनीहरू र मेरो बिचमा, जो यी नाङ्गा आँखाले देखिँदैन । यो खाडल देख्न आँखा चिम्लेर गम्नु पर्छ, तर यिनीहरूलाई फुर्सद छैन । म सङ्गै बस्न खोज्छु, कुरा सुन्न खोज्छु, सुनाउन खोज्छु, म पनि केही हुँ भन्ने लाग्छ मलाई । यिनीहरू मलाई एउटा वृद्ध बा को रूपमा मात्र हेर्न चाहन्छन् । यिनीहरू मलाई एकातिर एउटा अनुशासित र आज्ञाकारी बाको रूपमा देख्न चाहन्छन् भने अर्कोतर्फ शिशु जस्तो निर्दोष होस भन्ने पनि चाहन्छन् । यिनीहरू आफ्नो चाहनाको मात्र ख्याल गर्छन्, किन्तु मेरो चाहनाबारे जानकारी नै लिन चाहन्नन् । सायद यिनीहरू सोच्दछन्, वृद्धहरूले कुनै चाहना नै हुँदैन । मलाई युवा मन थाहा छ, किन्तु यिनीहरूलाई वृद्ध मन थाहा छैन ।

ठुलो छोरो अमेरिकामा बस्छ । यताको संसारले उताको संसारलाई भव्य देख्छ । तर त्यो संसार भौतिक रूपमा मात्र भव्य छ, मानसिक र सामाजिक रूपमा कति निम्छरो छ भन्ने यताकालाई थाहा छैन । मलाई उसले बोलाउँछ । म जान्छु पनि । तर छोरा बुहारी भन्छन् ‘बालाई यता रमाइलो लाग्दैन ।’ उनीहरू के गरे बालाई रमाइलो हुन्छ भनेर सोध्दै नसोधी आफ्नो धारणा बनाउँछन् । मलाई लाग्दछ, सायद उनीहरू बा समय समयमा आइरहुन्, तर छिटै नेपाल फर्कुन् भन्ने चाहन्छन् । यो वास्तविकता हो । यो प्रायः सबैको मनमा छ, तर भन्नु हुँदैन । आवरण सुन्दर र सुरक्षित राख्नु पर्छ । आवरण च्यात्नु हुँदैन । च्याते पोल खुल्छ।’

मैले चार प्याग खाएछु । तर केही पनि भएन ।

‘राजधानी सुब्बा’ ले चारै पाना पढेर भ्याए । आजसम्म उनले सचिव साम्बनाथलाई दुनियाँको भाग्यमानी मध्य एक सम्झन्थे । उनलाई लाग्दथ्यो, ठूलाबडा, धनी र ठुला घर हुनेहरू पो सुखी ! उनी सोच्दथे यो सानो चार कोठाको घर के घर, यो सोसाइटी नजान्ने ‘घरपालुवा’ बुढी के बुढी ! सुब्बाको जागिर के जागिर ! उनी सोच्दथे अमेरिका, अस्ट्रेलिया, युरोपमा मोज गर्ने पो छोराछोरी ! जाबो सिमन्टी फ्याक्ट्रीमा काम गर्ने ‘लोकल’ छोरो के छोरो ! सिँगारिएर जागिर खान सहरतिर जाने बुहारी पो बुहारी, टेलर पसलमा टाला सिलाउने बुहारी के बुहारी !

तर आज जोगमान सुब्बाले आफूलाई संसारकै भाग्यमानी ठाने ।

Tags :
प्रतिक्रिया दिनुहोस