किन निभ्दैन आगो समयमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

किन निभ्दैन आगो समयमा


१४ मंसिर २०७६, शनिबार


आगलागी नियन्त्रण तथा उद्धारको सम्बन्धमा विश्व व्यापिरुपमा स्वीकार गरिएको तथ्य आगलागी नियन्त्रण तथा उद्धार विशेष प्रकारको मानवीय सेवा हो । यसको मुख्य उद्देश्य जनधनको रक्षा गरी आगलागीबाट हुने क्षतिलाई सके सम्म न्यूनीकरण गर्नु हो । नेपालको सन्दर्भमा यो तथ्यलाई स्वीकार मात्र नभई अङ्गीकार गरेको देखिन्छ । तर अन्तर्राष्ट्रियरुपमा स्वीकार गरिएका यस्ता तथ्यहरूलाई स्वीकार गर्नु पूर्व यससँग सम्बन्धित निकाय, यसको लागि आवश्यक पर्ने पूर्वाधारको स्थापना र विकास बिस्तार गर्न सकेमा मात्र हामीले स्वीकार गरिएको तथ्यलाई कार्यान्वयन गर्न सकिन्छ । कतै यो तथ्यलाई हामीले भुलेका त छैनौँ यस तर्फ सोच्न जरुरी भइसकेको छ ।

दमकल सञ्चालन विशुद्ध मानवीय सेवाको साथसाथै यो प्राविधिक विषय पनि हो । यो सेवाको प्रभावकारी सञ्चालनको लागि पूर्वाधार, औजार उपकरण र जनशक्तिमा समुचित लगानी तथा जबाफदेही विपद् प्रतिकार्य ढाँचाले मात्र सकारात्मक प्रतिफल दिन सक्छ । अन्यथा यसको लगानी बालुवामा पानी सरह हुन्छ । दमकल सेवा प्रवाह गर्नको लागि केही आधारभूत पूर्वाधारहरूको विकास गरी यसलाई नियमित गर्नु पर्दछ । आधारभूत विषयमा नीतिगत र संरचनागत व्यवस्था पर्दछ । नेपालको दमकल सेवामा कुनै पनि कुरा तयारी बिना नै दमकल सञ्चालनको र सो सँग सम्बन्धित घोषणा गर्ने तर त्यसको निरन्तरता र जिम्मेवारी नलिने प्रचलन देखिन्छ । कुनै पनि कुरा तयारी सहित सुरु गर्नु भनेको आधा काम हुनु हो भन्ने भनाई छ । कुनै पनि काम सुरुवात भन्दा पनि त्यसको निरन्तरता महत्त्वपूर्ण हुन्छ । तर यहाँ एक दिनको हिरो हुने गरी कामको घोषणा गर्ने पवृत्ति हाबी छ ।

आपत्कालीन मानवीय दमकल सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि आवश्यक नीतिगत तथा संरचनागत पूर्वाधारहरूको जरुरी हुन्छ । नीतिगत कुरामा दमकल र दमकलकर्मी सम्बन्धी ऐन नियम तथा सहरमा भएका भवन संरचनाले पालना गर्नुपर्ने सुरक्षा मापदण्ड पर्दछन् भने संरचनागत व्यवस्थामा दमकल राख्न र फायर फाईटरको आवासको लागि भूकम्प मैत्री संरचनामा र न्यूनतम आधारभूत सेवा उपलब्ध भएको आवास गृह हुनु पर्दछ । अग्नि नियन्त्रणको लागि पानीको सहज उपलब्धता सोको लागि सहरमा हाईडेण्ट पोस्ट तथा दमकलको पानी फाल्ने क्षमता भन्दा कम उचाईको भवन हुनु पर्दछ । सहरका ठुला व्यावसायिक भवनहरूले कर नतिर्ने आफ्नो सम्पत्तिको बिमा नगर्ने । भवनमा आवश्यक अग्नि नियन्त्रणको सामाग्रीहरू राखी अग्नि सुरक्षाको उपाय अवलम्बन नगर्ने अनि घटना पछि राज्यसँग राहतको अपेक्षा गर्ने पवृत्तिलाई निरुसाहीत गर्न जरुरी भइसकेको छ । यसको अभावमा प्रभावकारी दमकल सेवा कोरा कल्पना मात्र हुन जान्छ । रातो रङ्गको दमकल ट्रक खरिद गरी दुई चार जना कर्मचारी भर्ना गर्दैमा दमकल सेवा हुँदैन । अग्नि विपद्को बेलामा समयमा परिचालित भई जनधनको रक्षा गर्नु साँचो अर्थमा दमकल सेवा हो ।

सहरमा भरपर्दो दमकल सेवा हुनु पर्दछ त्यसको लागि सहरको अग्नि जोखिम, भवन संरचनाको सङ्ख्या, उचाइ र जनसङ्ख्या आदिको मूल्याङ्कन गरी सम्भावित विपद्लाई समयमा नै प्रतिकार्य गर्न सक्ने गरी दमकल स्टेसनहरू सहरभित्र समदूरीमा स्थापना गरिनु पर्दछ । जसले गर्दा आपत्कालीन घटना घट्दा नजिकको दमकललाई परिचालन गर्न सकिन्छ । आगलागीको घट्नामा समयमा नै दमकलले प्रतिकार्य गर्दा क्षति कम हुन्छ । आम नागरिकमा दमकल सेवाप्रति सकारात्मक धारणाको विकास हुन्छ । नेपालको दमकल सेवाले यस तर्फ कहिले पनि सोचेको देखिएन ।

विपदबाट हामीले पाठ सिक्नु पर्दछ संसारको विपद् व्यवस्थापनको उत्कृष्ट व्यवस्था भएको देश जापान हो । जापानमा घटेका प्रत्येक साना ठुला विपद्को घट्नाबाट पाठ सिकी त्यसैको आधारमा विपदबाट बच्ने उपाय, प्रतिकार्य योजना निर्माण तथा पुनर्स्थापनाको व्यवस्थापन गर्ने गर्दछन् । सन १९९५ जनवरी १७ बिहान ५ः४६ बजे ७.३ रेक्टर स्केलमा जापानको कोबे सहरमा गएको विनाशकारी हानसीन आवाजी नामक भूकम्प पछि सहरभरि आगलागीको घट्नाहरु भए उक्त आगलागीलाई हप्तौँसम्म पनि दमकलले नियन्त्रणमा लिन सकेनन् । कतिपय आगलागीहरू नियन्त्रणको लागि फायरफाईटरहरुलाई विशेष प्रकारको तालिमको आवश्यकता पर्‍यो । कयौँ स्थानमा एकै पटक अग्नि नियन्त्रण गर्न दमकल, फायर फाइटर र औजार उपकरणको अभाव भयो । बिना तालिम र औजार उपकरणबिनाका समुदायका मानिसहरूले बकेट ब्रिगेडको प्रयोग गरी आगो निभाउने र भूकम्पमा परेकाहरूलाई उद्धार गर्ने कार्य गरेका थिए । त्यस विपदबाट पाठ सिकी जापानले दमकल सेवालाई विकास बिस्तार गर्‍यो । ठुला विपद् पछि हुने आगलागीका घट्नाहरुमा नियमित फायर फाईटरले मात्र सम्भव नहुने देखिएकोले स्वयंसेवक फायर फाईटरको संस्थागत संरचना गठन गरियो । स्थानीय स्तरमा हुने आगलागी प्रतिकार्य समूह गठन गरी तालिम दिन सुरु गरेको पाइन्छ । विपद् व्यवस्थापनको लागि स्थानीय तहलाई अधिकार सहित साधन श्रोत सम्पन्न गर्नु पर्छ भन्ने अवधारणाको विकास पनि जापानमा नै भएको हो ।

नेपालमा सामान्य लापरबाहीको कारण आगलागीको घट्नाहरु हुने गरेका छन् । प्रभावकारी दमकल सेवा उपर्युक्त अग्नि नियन्त्रणका साधन तालिम प्राप्त जनशक्तिको अभावमा एकै पटक बिसौँ घरहरू जलेर खरानी हुने गरेका छन् । जिल्लाको सबै स्थानमा दमकल सेवा नहुँदा कतिपय घट्नामा दमकलहरू खरानीमा पानी हाल्न र आगलागीको साक्षी बस्न मात्र पुग्ने गरेको तितो यथार्थ हामीले देख्ने गरेका छौँ ।
देशको राजधानी र मुख्य प्रशासनिक केन्द्र भएको काठमाडौँमा नै आवासीय घरमा पेट्रोलियम पदार्थ भण्डारण गरी आगलागीका घट्नाहरु भएका छन् । यस्ता घट्नालाई हामीले समयमा उपर्युक्त औजार उपकरणले प्रतिकार्य गर्न नसकेको उदाहरण हामीसँग ताजै छ । पेट्रोलियम पदार्थको आगलागीमा हामी सिधै पानीको प्रयोग गरिरहेका छौँ । जुन अग्नि विज्ञानको सिद्धान्त अनुसार गर्नु हुँदैन । यस्ता घट्ना पश्चात् हामीले पाठ सिकी आगामी दिनमा यस्ता घट्ना पुनः दोहरीन नदिने तर्फ सरोकारवाला निकायहरू बिच छलफल गरी यस्ता घट्नाहरुको लागि आवश्यक औजार उपकरणको व्यवस्था तथा प्रतिकार्य योजना बनाएको देखिँदैन । काठमाडौँ भित्र नै कतिपय आगलागीको घट्नाहरुमा चार पाँच घण्टाको प्रयास पछि आगलागी नियन्त्रण भएको खबरहरू हामीले समाचारमा देखेका सुनेका छौँ ।

वास्तवमा यस्ता ठुला घट्नाहरुमा समयमा आगलागी नियन्त्रण हुन नसक्नु, लामो समयसम्म आगो ननिभ्नुको मुख्य कारण ट्राफिक जामको कारण वा समयमा सूचना प्राप्त नहुँदा घटनास्थलमा समयमा दमकल नपुग्नु हो । घटनास्थलमा दमकल पुगे पछि घट्नाको बारेमा बुझेर दमकललाई सही तरिकाबाट स्टेजीङ्ग गर्न नसक्नु र अग्नि प्रतिकार्य युनिटहरू बिचमा उचित समन्वयको नहुनु हो ।

अग्नि नियन्त्रण गर्ने फायर फाई टर आम मानिस नै हुन तालिम, औजार उपकरण र अग्नि नियन्त्रण को आवश्यक केमिकलले उसको कार्य दक्षता अभिवृद्धि गर्ने हो । तालिम प्राप्त दक्ष ऊर्जाशील जनशक्ति छैनन् । भएका फायर फाईटरहरुलाई नियमित तालिमको व्यवस्था नगरिनु । फायर फाईटरहरु अग्नि नियन्त्रणका सवारी तथा उपकरणहरूमा नियमितरुपमा अभ्यस्त नरहनुको कारण समयमा आगलागी नियन्त्रण नभई ठुलो मात्रामा जनधनको क्षति व्यहोर्नु परिरहेको छ । समग्रमा आगलागी प्रतिकार्यमा हाम्रो पूर्व तयारी कमजोर छ । आगलागीबाट जसको क्षति भए पनि यो राष्ट्रको क्षति हो । सबै आगो पानीले निभ्दैन यो वैज्ञानिक तथ्य हो तर हामी केमिकल उत्पन्न आगोलाई पनि पानीले निभाउने प्रयत्न गरिरहेका छौँ । केमिकलजन्य आगो नियन्त्रण गर्ने केमिकल केही दमकलमा सीमित मात्रामा छ अन्य दमकलसँग छैन । यस्तो आगोमा पानीको प्रयोगले रासायनिक प्रतिक्रिया भई आगो निभ्ने भन्दा झन् बढन गई आगोले उग्ररुप लिन्छ । आगलागी नियन्त्रण प्राविधिक विषय हो । अग्नि नियन्त्रण खाली हात र खाली दिमागले व्यक्तिले गर्ने नभई दक्ष फायर फाईटरले औजार उपकरण तथा तालिमबाट प्राप्त ज्ञान सीपको आधारमा गर्ने हो । नेपालको अधिकांश दमकलकर्मीहरु करारमा नियुक्त कार्यालय सहयोगी, सुरक्षा गार्ड, चालक आदि जोगाड कर्मचारीको भरमा धानिएको छ । जसले दमकल सञ्चालन गर्छन् उनीहरूलाई सेवासँग सम्बन्धित न्यूनतम आधारभूत तालिम पनि उपलब्ध छैन । कोरा मानिसलाई दमकल जिम्मा लगाइएको अवस्था छ । आगलागी जस्तो आपतकालिन मानवीय सेवामा सिकेको मानिस जानेकी काम गर्दै सिक्ने भन्ने कुरा खुटयाउन जरुरी छ । जासँग आफूले प्रवाह गर्ने सेवाको महत्त्व तथा सो सेवासँग सम्बन्धित आधारभूत ज्ञान सीप छैन । आफ्नो नोकरीको स्थायित्वको कुनै ग्यारेन्टी छैन । ती कर्मचारीले प्रवाह गर्ने सेवाको स्तर कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

नेपालको दमकल सेवा प्रदायक संस्थामा अग्नि नियन्त्रणका औजार उपकरणलाई नियमित गर्ने दमकलकर्मीहरुलाई नियमितरुपमा तालिम दिने कार्यको अभाव छ । त्यसले आगलागीको घट्नालाई हामीले समयमा नियन्त्रणमा लिन सकिरहेका छैनौँ । फायर फाईटरको तालिम, औजार उपकरणमा हामीले कति लगानी गरेका छौँ । दमकल कार्यालयहरूलाई हामीले कुन प्राथमिकतामा राखेका छौँ । त्यसै अनुसार दमकलले कार्य सम्पादन गर्ने हो । आवश्यक तालिम औजार उपकरण बिना नै उच्चस्तरीय अग्नि नियन्त्रण तथा उद्धार सेवाको अपेक्षा कतिको उचित होला । यस तर्फ सम्बन्धित निकायले सोच्न जरुरी छ । चुस्त व्यवस्थापन नभएको ठाउँमा घटना पश्चात् एकले अर्कालाई दोषारोपण गर्ने र जिम्मेवारीबाट पन्छिने वृत्तिको विकास हुन्छ । जुन दमकल र दमकल कर्मी दुवैको लागि हितकर हुँदैन ।

किशोरकुमार भट्टराई
(लेखक : काठमाडौँ दमकलका पूर्व प्रमुख हुन् )

प्रतिक्रिया दिनुहोस