टुटल र पठाओलाई सरकारको चेतावनी–भाडा लिएर यात्रु बोके कारबाही गर्छौं « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टुटल र पठाओलाई सरकारको चेतावनी–भाडा लिएर यात्रु बोके कारबाही गर्छौं


४ मंसिर २०७६, बुधबार


काठमाडौं । सरकारले निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग नगर्न चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।

‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन र दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था भएको छ’, व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ।

निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनले यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारवाही गर्नेसमेत उक्त सूचनामा उल्लेख छ। ‘कानूनको उलङ्घन गरी निजी सवारी साधनलाई सार्वजनिक यातायात सेवाको रुपमा प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरासमेत जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

विभागले जारी गरेको यो सूचनाले निजी सवारीलाई सार्वजनिक रुपमा प्रयोग गरिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस