लोक सेवाको प्रभावकारी तयारीबारे मेरो अनुभव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवाको प्रभावकारी तयारीबारे मेरो अनुभव


२३ कार्तिक २०७६, शनिबार


वर्तमान समयमा प्रायः देशको सार्वजनिक प्रशासन संयन्त्र संचालन गर्नका खातिर स्थायी, बैतनिक, योग्यता प्रणालीमा आधारित निजामती सेवाको व्यवस्था गरिएका छन् । निजामती कर्मचारी भर्ना प्रयोजनका लागि निस्पक्ष एवं प्रतिस्पर्धामा आधारित परीक्षा संचालनार्थ विभिन्न देशमा छुट्टाछुट्टै किसिमका निकायहरुलाई अधिकार दिईएको पाईन्छ । नेपालमा योग्य आवश्यक कर्मचारी भर्नाको लागि लोक सेवा आयोगलाई संवैधानिक अंगको मान्यता दिईएको छ । मौजुदा संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था रहेको छ । कार्यान्वयनमा आएको नेपालको पहिलो संविधान ‘नेपाल अन्तरिम शासन विधान २००७’ मा पनि कर्मचारी भर्ना प्रयोजनका लागि भाग ५ मा ‘पब्लिक सर्भिस कमिसन’ को व्यवस्था गरिएको थियो भने पद्म सम्सेरद्वारा जारी लागू हुन नसकेको संविधान ‘नेपाल सरकार वैधानिक कानुन, २००४’ मा पनि दरखास्त परिषद्को व्यवस्था गरिएको थियो । यसरी अन्य देशमा झै नेपालमा पनि निजामती सेवामा कर्मचारी भर्ना प्रक्रियालाई निष्पक्ष एवं मर्यादित बनाउने प्रयास विशेष महत्वका साथ संवैधानिक प्रदत्त अधिकारका साथ भएको पाईन्छ ।

हुन त देशमा नागरिकहरुका लागि रोजगारीको ठूलो क्षेत्र सरकारी सेवा नभई नीजि क्षेत्रहरु नै हुन् । तथापि नेपालको निजी क्षेत्रमा सिमित रोजगारीका अवसर एवं देशमा औद्योगीकरण तथा व्यवसायीकरणको अभावले गर्दा सरकारी सेवामा आवेदन चाप दिनप्रतिदिन बढ्दो छ । प्रायः विकसित मुलुकहरुमा अब्बल एवं मेघावी प्रतिभाहरु उध्यमशिलतातर्फ आकर्षित भएको पाईएता पनि नेपालमा भने पुँजी अभाव एवं प्रतिफलको असुनिश्चितताले गर्दा अझैपनि अधिकांश युवाहरु अवसरको खोजिमा विदेश पलायन वा लोक सेवाको तयारीमा जुटेका पाईन्छन् ।

नेपालको लोक सेवाका प्रायः परीक्षाहरुमा रिक्त पद र आवेदक संख्याको अनुपात निकै अविश्वसनीय रहेको पाईन्छ । न्यून रिक्त विज्ञापनमा ठूलो संख्यामा आवेदन पर्नाले निश्चय नै हरेक आवेदकका लागि यी परीक्षाहरु प्रतिस्पर्धात्मक र चुनौतिपूर्ण बन्दै गईराखेका छन् । यो सन्दर्भमा म प्रस्तुत लेखमा कसरी छोटो समयमा लाक सेवाका परीक्षाहरुमा सफलता हासिल गर्न सकिन्छ भनी केही सुझावहरु तयारीमा जुटेका मित्रहरुलाई दिन चाहन्छु । सुझावहरु विशुद्ध मेरो अनुभवमा आधारित छन्, आशा छ तपाईंहरूलाई थोेरै भएपनि उपयोगीसिद्ध हुनेछन् ।

केही सुझावहरु

१. जुनसुकै परीक्षाको तयारी गरेतापनि सर्वप्रथम सोको पाठ्यक्रमबारे अभ्यस्त हुनुहोस् । सुरुमा पाठ्यक्रम गहन रुपमा अध्ययन गर्नुहोस्, सकेसम्म सफ्टकपि र हार्डकपि दुबै आफूसँग राख्नुहोस् ।

२. पाठ्यक्रमबारे जानकार भैसकेपछि अब पाठ्यवस्तु एवं अध्ययन सामाग्री जुटाउन तर्फ लाग्नुहोस् । ध्यान रहोस् पाठ्यक्रम बमोजिम अध्ययन अगाडि बढाउनुछ न कि बजारमा उपलब्ध पुस्तक अनुसार । किनकि बजारमा उपलब्ध पुस्तकमा कुनै विषयमा पूर्ण जानकारी नसमेटिएको हुन सक्छ, यति नै किताबमा छ भनेर सन्तोष मानेर बसेर भएन, अन्य स्रोतबाट खोजेर भएपनि पढ्नु जरुरी हुन्छ ।

३. कुन पुस्तक पढ्ने, कतिवटा पुस्तक पढ्ने भन्ने प्रश्न अधिकांश सुनिने गर्दछ, यो नै पढ्ने, यति नै पढ्ने भन्ने कुनै नियम र दायरा त छैन् तर पुस्तकको चयन गर्दा विश्वसनीय लेखक एवं प्रकाशक छान्ने प्रयास गर्दा उत्तम हुन्छ । त्यसको लागि अग्रजहरुबाट सल्लाह लिन सकिन्छ वा आफै पनि पुस्तक किन्नु अघि सर्सति अध्ययन गर्न सकिन्छ ।

४. आजको समयमा लोकसेवा तयारीका लागि पाठ्यपुस्तक बाहेक इन्टरनेट पनि निकै उपयोगी स्रोत हो, यो पुस्तकको बिकल्प होईन् कि परिपुरक हो । पुस्तकका तथ्यांक पुराना हुन सक्छन् तर इन्टरनेटमा ’रियल टाईम’ डाटा मिल्छन्, यो नै इन्टरनेटको सबैभन्दा सबल पक्ष हो । कुनै विषयमा सामान्य अवधारणा बनाउनका लागि विकिपिडिया पढ्न सक्नुहुन्छ तर ’फ्याक्ट एण्ड फिगर’ को सवालमा चै आधिकारिक साईटमा जानै पर्दछ अनिमात्र विश्वसनीयता कायम रहन्छ ।

५. जहिलेपनि प्रभावकारी तयारीका लागि आफ्नो छुट्टै नोट बनाउने प्रयास गर्नुहोस्, किनकि सर्सर्ति किताबबाट पढेका कुराहरु बिर्सिने संभावना रहन्छ तर लेखेर नोट बनाएका कुराहरु लामो समयसम्म स्मरणमा रहन्छन् । नोट २ किसिमका बनाउनुहोस् । सुरुमा ‘मुख्य नोट’ अलि मोटो नोटकपिमा बनाउनुहोस् र सबै विषयवस्तुलाई सहज भाषामा प्रस्तुत गर्नुहोस्, यो नोट बनाउँदा पाठ्यपुस्तकहरु र इन्टरनेट दुबैको प्रयोग गर्नुहोस् । र अर्काे सानो ‘कि नोट’ बनाउनुहोस् जसमा केबल विषयवस्तु एवं तथ्यहरुलाई बुँदागतरुपमा प्रस्तुत गर्नुहोस् । ‘कि नोट’ जहिलेपनि मुख्य नोटबाट बनाउनुहोस् ।

६. लोक सेवा तयारी गर्दा आफ्नो छुट्टै टाईमलाईन बनाउनुहोस्, र सोही टाईमलाईनलाई पछ्याउँदै अध्ययनको रुटिन बनाउनुहोस् । जस्तो कि म पहिलो १५ दिन यो पेपर पढ्छु, त्यसपछि यो, र ३ महिनामा एकचोटि सारा सेलेबस भ्याउँछु । यसरी टाईमलाईन बनाईसकेपछि दैनिक रुटिन बनाउनुहोस् । तर याद रहोस् रुटिन बनाउँदा खेरि निकै महत्वाकांक्षी रुटिन नबनाउनुहोस् । प्रायः मान्छेहरु दैनिक १०–१२ घण्टा अध्ययन गर्ने रुटिन बनाउछन्, त्यो रुटिन फलो गर्न निकै कठिन हुन्छ र अध्ययन प्रति नै वितृष्णा जाग्दछ तर कतिपय मान्छे ४–५ घण्टाको प्रयाक्टिकल रुटिन बनाउँछन् र फलो पनि गर्छन् जसले अन्ततः प्रभावकारी नतिजा पनि दिईराखेको हुन्छ ।

७. अध्ययनका लागि तपाईंको ‘पिक आवर’ थाहा पाईराख्नुहोस् जतिबेला पढेको तपाईं सबैभन्दा ज्यादा प्रभावकारी ठान्नुहुन्छ, त्यहि पिक आवरमा बढि घण्टा अध्ययन गर्ने बानी बसाल्नुहोस् । पढ्दा खेरि अधिकांशलाई बिल्कुल शान्त वातावरण मन पर्दछ भने कतिपयलाई हल्का संगित । तसर्थ आफुलाई जस्तो सहज लाग्छ त्यहि वातावरणमा अध्ययन गर्ने प्रयास गर्नुहोस् ।

८. पहिलो पटक कुनै पनि विषयवस्तु अध्ययन गर्दा एक्लै पढ्ने र बुझ्ने प्रयास गर्नुहोस्, दोस्रोपटक साथीहरूको सर्कलमा छलफल विधिमा पढ्दा बढि प्रभावकारी हुन्छ ।

९. सामान्य ज्ञान जस्ता बस्तुगत पत्रहरुको तयारी गर्दा लिंकेज विधिको प्रयोग प्रभावकारी हुन्छ, जस्तो तपाईंको दिमागमा सुर्खेत आउँदा, भित्री मधेसका जिल्ला, बुलबुले ताल, काक्रे बिहार, एन्जेडा—२१ लागू भएका जिल्ला जस्ता विविध÷बहुआयामिक तथ्य स्मरणमा आउनु जरुरी हुन्छ । साथै सुत्रात्मक विधि पनि धेरै हदसम्म उपयोगी नै हुन्छ । सुत्रात्मक विधिमा विभिन्न शव्दमा भएका पहिलो अक्षरको संयोजनबाट एउटा नयाँ शब्द निर्माण गरिन्छ जुन पढ्दा संझन छोटो र निकै सहज हुन्छ ।

१०. विषयगत पत्रहरु अध्ययन गर्दा अनिवार्य नोट बनाउनुका साथै नोट बनाउदा अवधारणा, विकासक्रम, मौजुदा व्यवस्था, विशेषता, आवश्यकता, महत्व, सबल पक्ष, दुर्बल पक्ष, संभावना, चुनौति जस्ता विविध आयाममा अध्ययन गर्नुहोस् ।

११. विषयगत पत्रहरुमा लेखनशैलीको पनि ठुलो महत्व हुने हुदा त्यसको सुधारका लागि अरुको पनि लेखनशिप हेर्ने र आवश्यक महसुस भएमा सुधार गर्दै लैजानुहोस् ।

१२. परीक्षामा निकै होसियार हुनु जरुरी हुन्छ किनकि अधिकांशले परीक्षामा उत्तर आउने प्रश्नहरु पनि बिगारिराखेका हुन्छन्, यो प्रायः वस्तुगत परिक्षामा हुन्छ, जसको प्रमुख कारण नर्भस हुनु, समय व्यवस्थापन गर्न नसक्नु आदि हुन् । कहिलेकाही एउटा प्रश्नको उत्तर अर्काेमा कोरिन जान्छ भने कतिपयले ‘कि’ नै छोडिराखेका हुन्छन्, तसर्थ सबै टेक्निकल पाटाहरुमा सजग भै ध्यान दिन आवश्यक हुन्छ ।

१३. विषयगत परीक्षामा कुनै पनि प्रश्नमा ‘तपाईंलाई के आउँछ भन्दा पनि प्रश्नले के मागेको छ’ त्यो बुझ्न निकै जरुरी छ, तसर्थ उत्तर लेख्न सुरु गर्नु अघि निकै गहिरिएर प्रश्न अध्ययन गर्ने, लेखनको आउटलाईन मनमनै सोच्ने र अनि मात्र लेखन प्रारम्भ गर्नुहोस् ।

१४. सधै सबै परीक्षामा सफल भईन्छ भन्ने छैन् तसर्थ नतिजा जस्तोसुकै आएतापनि सहर्ष स्विकार्दै उत्प्रेरित भई अगाडि बढिराख्दा सफल अवश्य भईन्छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, धनगढीका शाखा अधिकृत बोहोरा हाल हिरोसिमा विश्वविद्यालय जापानमा अध्ययनरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस