बजेटले कसैलाई विभेद गरेको छैन : अर्थमन्त्री खतिवडा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बजेटले कसैलाई विभेद गरेको छैन : अर्थमन्त्री खतिवडा


२० असार २०७६, शुक्रबार


काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित बजेटले कोही कसैलाई पनि विभेद नगरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा अर्थ मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेटले कुनैपनि प्रदेश वा खास क्षेत्रलाई भेदभाव नगरेको बताए ।

‘यो समाजवाद उन्मुख बजेट हो, त्यसआधारमा बजेट आएको छ, वादप्रति विश्वास छैन भने छलफल गरौँ हैन भने बजेटले प्रदेशलाई विभेद गरेको छैन, सबै नागरिकको मौलिक अधिकार हो । त्यसैले एकले अर्कोपक्षलाई आरोपलगाउने भन्दा पनि राष्ट्रिय एजेण्डमा मिलेर जाने हो तब मात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ’, अर्थमन्त्री खतिवडाले भने । बजेट नेता केन्द्रित नभएको स्पष्ट पार्दै उनले आलोचनाका लागि मात्रै आलोचना नगर्न आग्रह गरे ।

भूगोल र जनसङ्ख्याको मापदण्डका आधारबाट सन्तुलित रुपमा बजेट विनियोजन भएको मन्त्री खतिवडाले बताए। प्रदेशगत र स्थानीयतहगत रुपमा पनि मानव विकास सूचकाङ्कको आधारमा बजेट जाने भएकाले शिक्षा, स्वास्थयलगायत विषयलाई प्राथमिकता दिएर विनियोजन भएको उनले स्पष्ट पारे । क्रमागत आयोजनालाई छाडेर जान नसकिने भएकाले केही जिल्लामा बढी आयोजना परेको जस्तो देखिएको उनले स्पष्ट पारे ।

‘प्राथमिकताका आधारमा सबै क्षेत्रमा समानुपातिक रुपमानै बजेट विनियोजन गरिएको छ’, मन्त्री खतिवडाले भने । उनले प्रदेश र स्थानीय तहको मागका आधारमा विधि र प्रक्रियासम्मत नयाँ आयोजना अघि बढाइएको जानकारी दिए । आगामी साउनदेखि नयाँ आर्थिक वर्षको परियोजना माग्न शुरु गरिने हुँदा आगामी आवको बजेट तथा योजना कार्यान्वयनमा समस्या नआउने मन्त्री खतिवडाले विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस