जनप्रतिनिधिलाई मानवाधिकार अभिमुखीकरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनप्रतिनिधिलाई मानवाधिकार अभिमुखीकरण


५ बैशाख २०७६, बिहिबार


दमौली । राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा तनहुँको भानु नगरपालिकामा स्थानीय जनप्रतिनिधिलाई बुधबार मानवाधिकार अभिमुखीकरण सञ्चालन गरिएको छ ।

कार्यक्रममा आयोगका मानवाधिकार अधिकृत टङ्कप्रसाद खनालले स्थानीय तहमा विवाद समाधान र मेलमिलाप तथा मानवाधिकारमैत्री वातावरणका सवालमा सहजीकरण गर्दै स्थानीय तहलाई न्यायिक कार्यविधिअनुरुप विवाद समाधान गर्नका लागि आग्रह गरे । उनले स्थानीय तहबाट मानवाधिकारमैत्री वातावरणमा न्याय सम्पादन गर्दै विकासमा मानवाधिकार पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

आयोगका मानवाधिकार अधिकृत ज्योतिप्रसाद घिमिरेले मानवाधिकार र मानवाधिकार आयोगको काम, कर्तव्य र अधिकारका बारेमा सहजीकरण गरका थिए । नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक आशा थापाले विवाद समाधान गर्ने क्रममा कानुनी जटिलता रहेको बताउँदै लामो समयदेखि कानूनी सल्लाहकारको अभावमा समितिबाट न्याय सम्पादनमा कठिनाइ भएको बताए । उनले मानवाधिकार र कानूनका सवालमा आयोगसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी वडाध्यक्ष तथा सदस्यले मानवाधिकारको सवाललाई स्थानीयस्तरबाटै सम्बोधन गर्नुपर्ने तथा टोल समुदायमा मानवाधिकारसम्बन्धी सचेतना पुर्‍याउनुपर्नेमा जोड दिए । उनीहरुले नगरपालिकाभित्रमा बालविवाह, महिला हिंसा, सम्बन्धविच्छेद, बालश्रमलगायतका समस्या बढ्दै गएको भन्दै सम्पूर्ण सरोकारवाला निकायबाट यसको न्यूनीकरणमा आवश्यक पहल गर्नुपर्ने बताए ।

‘मुख्यमन्त्री नमूना गाउँ’ मा घरबास

मुख्यमन्त्री नमूना कृषिगाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ बाँसखर्कमा घरबास भवन निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको घरबास (होमस्टे) प्रवद्र्धन कार्यक्रमअन्तर्गत बाँसखर्कमा होमस्टेका लागि भवन निर्माण शुरु भएको हो ।

बाँसखर्क सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत पहिलो चरणमा पाँच होमस्टे भवन निर्माण हुनलागेको समितिका अध्यक्ष यम गुरुङले जानकारी दिए । मन्त्रालयले होमस्टे प्रवद्र्धन कार्यक्रमका लागि प्रतिहोमस्टे रु १० लाखका दरले अनुदान दिएको छ । सोही रकममध्येबाट पहिलो चरणमा पाँच होमस्टे भवन निर्माण थालिएको छ । समितिले डिभिजन वन कार्यालय तनहुँसँग अनुदानका लागि सम्झौता गरिसकेको र कार्यालयले पहिलो किस्तावापतको रु तीन लाख समितिलाई उपलब्ध गराइसकेको छ ।

कूल ७२ घरधुरी रहेको बाँसखर्कमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रमसमेत शुरु हुँदैछ । नमूना गाउँको रुपमा विकास गर्ने उद्देश्यसहित होमस्टे निर्माण थालिएको गुरुङले बताए ।

वातावरणमैत्री उद्यान निर्माणका लागि अध्ययन

तनहुँको भिमाद नगरपालिका–९ स्थित मोहोरियामा निर्माण हुने वातावरणमैत्री उद्यानको सम्भाव्यता अध्ययन गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको वन उद्यान निर्माण कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको उद्यानको काठमाडौंस्थित एशियन सेन्टर फर डेभलपमेण्टले सम्भाव्यता अध्ययन गरेको हो ।

सम्भाव्यता अध्ययन प्रतिवेदन डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको छ । उद्यान निर्माणका लागि चालू आर्थिक वर्षमा रु १५ लाख विनियोजन भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

डिभिजन वन कार्यालय तनहुँले समेत उक्त ठाउँको स्थलगत अवलोकन गरी वातावरणमैत्री उद्यान निर्माणका लागि उपयुक्त रहेको ठहर गरेको छ । गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालयका निर्देशक प्रकाश लम्साल, डिभिजन वन कार्यालयका प्रमुख बराल, सहायक वन अधिकृत बाबुराम उप्रेती, वडाध्यक्ष इमान थापालगायतको टोलीले केही दिनअघि उक्त ठाउँको अवलोकन गरेको थियो ।

सोही ठाउँमा सूचना केन्द्रसमेत निर्माण गरिने भएको छ । सूचना केन्द्रमा यस ठाउँ वरपर पाइने जडीबुटी सङ्कलन गरी प्रदर्शनीमा राखिने भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले जानकारी दिए । साथै वन कार्यालयले २०० रोपनी क्षेत्रफलमा जडीबुटीको नर्सरी स्थापना गर्ने तयारी गरेको छ । नर्सरीमा ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस ठाउँमा रहेको चुच्चेढुङ्गाको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्यसहित वातावरणमैत्री उद्यान निर्माण गर्न लागिएको वडाध्यक्ष थापाले बताए । उनले भने, “चुच्चो परेको ढुङ्गा निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सकिए यस ठाउँको विकासमा टेवा मिल्नेछ ।” रासस

प्रतिक्रिया दिनुहोस