भर्ना अभियानमा परिचालित हुन युवाविद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भर्ना अभियानमा परिचालित हुन युवाविद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह


प्रशासन संवाददाता

४ बैशाख २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान सफल बनाउन विभिन्न युवा विद्यार्थी सङ्गठनलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित अन्तरक्रियामा उनले गत वर्षदेखि विशेष रुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवालाई आग्रह गरे ।

युवा र विद्यार्थीले अब सिर्जनशील समाज सुधारका काममा लाग्नका लागि कुनै अवरोध नरहेको उनले स्पष्ट पारे । ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’, प्रधानमन्त्रीले भने,’अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादनजस्ता कुरामा ध्यान दिनुपर्छ ।

नेपाललाई विद्वानहरुको देशका रुपमा पहिचान बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘हाम्रा विद्वान् पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्छ ।

विद्वान् पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौँ तर अब यो अवस्था रहिरहन सक्दैन ।’ प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए । ‘यस वर्षदेखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुँदैन’, प्रधानमन्त्री ओलीले भने ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले यही वैशाख २ देखि १६ गतेसम्म राष्ट्रिय भर्ना अभियान सञ्चालन गरेको बताउँदै यसमा सबैको सहयोगको अपेक्षा व्यक्त गरे । सरकारले हरेक वर्ष वैशाख २ लाई राष्ट्रिय भर्ना दिवसका रुपमा मनाउने घोषणा पनि गरेको छ । गत वर्ष प्रधानमन्त्रीलगायत धेरै पदाधिकारी, नेता र अभिनेताले विद्यार्थीलाई भर्ना गराएर तिनको अभिभावकत्व ग्रहण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस