प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दर्ता, आज सार्वजनिक गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दर्ता, आज सार्वजनिक गरिने


३ बैशाख २०७६, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविद्ध उजुरी दर्ता भएका छन् । प्रस्तावित पाँच जना न्यायाधीशमध्ये दुई जना विरुद्ध किटानी उजुरी दर्ता भएका छन् ।

संसदीय सुनुवाइ समितिले तोकेको समयमा पाँच उजुरी दर्ता भएका हुन् । पाँच उजुरी मध्ये तीन उजुरी दुई न्यायाधीश विरुद्ध दर्ता भएका छन् भने अन्य दुई उजुरी सैद्धान्तिक विषयमा केन्द्रित छन् ।

प्रस्तावित न्यायाधीश हरिप्रसाद फुँयालविरुद्ध एक र प्रकाश ढुङ्गाना विरुद्ध दुई उजुरी दर्ता भएका छन् ।

उजुरी दर्ताको समय सोमबार सकिएको हो । समितिले दर्ता भएका उजुरी आज सार्वजनिक गर्ने छ । उजुरी सार्वजनिक गर्नका लागि दिउँसो २ बजे बैठक बोलाइएको छ ।

न्यायाधीशसँगै प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्धका उजुरी पनि आजै खोलिने जनाइएको छ ।

न्याय परिषद्ले चैत १९ गते पाँच न्यायाधीश सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये सुष्मलता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्मा विरुद्ध उजुरी परेका छैनन् । यस्तै, राष्ट्रिय समावेशी आयोगको सदस्यमा प्रस्तावित विष्णुमाया ओझा विरुद्ध पनि उजुरी परेको छैन ।

समितिले अब उजुरीकर्तासँग प्रारम्भिक छलफल गर्नेछ ।

उजुरीकर्तासँगको छलफलपछि सम्बन्धित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ । गम्भीर उजुरी भएमा उपसमिति बनाइ छलफल गर्न सक्नेछ ।

समितिले सुनुवाइ प्रारम्भ भएको ४५ दिनभित्र सुनुवाइ प्रक्रिया सम्पन्न गर्नुपर्नेछ । सो समयमा निर्णय हुन नसके नियुक्तिका लागि स्वतः योग्य हुने व्यवस्था छ । समितिको दुई तिहाइ बहुमतले कुनै पनि पदाधिकारीलाई अस्वीकृत गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस