बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी


प्रशासन संवाददाता

२८ चैत्र २०७५, बिहिबार


परासी । पश्चिम नवलपरासीको धनेवाका किसानले बैमौसमी ‘हाइब्रिड’ जातको मकै खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । हिउँदे मौसममा लगाइने हाइब्रिड मकैबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश किसान हिउँदे मकै खेतीतर्फ आकर्षित भएका हुन् ।

बर्दघाट नगरपालिका–१३ धनेवाका मकै किसान यतिबेला मकै बिक्री गर्न व्यस्त देखिन्छन् । बर्खाको बेला लगाइने स्थानीय जातको मकैभन्दा अहिलेको समयमा लगाइएको बेमौसमी मकै बढी उत्पादन हुने र सजिलै बजार पाउने भएकाले यहाँका किसानले राम्रो आम्दानी गरिरहेका जयनगर कृषि समूह धनेवाका अध्यक्ष खुमानन्द पन्थले बताए ।

सो समूहमा २१ किसान आबद्ध छन् । उनीहरुले दश हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएका छन् । अध्यक्ष पन्थले ३५ कट्ठामा मकै खेती गरेका छन् । बाह्र वर्षअघि उनले नै त्यहाँ मकै खेती भित्र्याएका थिए । उनले मकै खेतीबाट मात्रै वार्षिक रु छ लाख आम्दानी गर्छन् ।

वडास्तरीय कृषक सञ्जालका अध्यक्ष पनि रहेका पन्थ मकैखेतीतर्फ उत्कृष्ट किसान घोषित हुँदै गत वर्ष विश्व खाद्य दिवसको अवसरमा नेपालमै दोस्रो पुरस्कार प्राप्त गर्न सफल भएका थिए । साविक जहदा गाविसले पनि उनीलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको थियो ।

सोही गाउँका नीलकण्ठ भट्टराईले पनि दुई बिघामा मकै खेती गरेका थिए । खेतमा तयार भएको मकै देखाउँदै उनले भने,’मकैखेतीबाट मात्रै वार्षिक रु ७ लाख बढी आम्दानी हुन्छ, हामी निकै खुशी छौँ, राज्यले किसानका लागि सबै सुविधा व्यवस्था गर्ने हो भने यो क्षेत्रलाई मकैमय बनाउन सकिन्छ ।’

खुमानन्द र नीलकण्ठजस्तै उक्त वडामा २४ कृषि समूहमा आबद्ध भएर करीब २०० किसानले मकैखेती गरिरहेका छन् । उक्त वडामा ४५ हेक्टर क्षेत्रफलमा अहिले हाइब्रिड जातको मकैखेती गरिएको पन्थले बताए । उनले भने, ‘हिउँदे सिजनमा धान, गहुँ लगाएपछि हामीले हाइब्रिड जातको मकै खेती गर्दै आएका छौँ, अन्य हिउँदे बालीको तुलनामा यसबाट तीन गुणासम्म फाइदा हुन्छ ।’ यहाँका किसानले मकैको हरियो घोगा रु आठदेखि १० सम्ममा बिक्री गर्दै आएका छन् ।

गाउँका किसानले दैनिक रु डेढ लाखसम्मको कारोवार यसैबाट गरिरहेका छन् । उक्त गाउँमा मकैखेतीबाट मात्रै वार्षिक रु एक करोड आम्दानी हुने गरेको स्थानीय किसान बताउँछन् । हरियो मकै किन्न व्यापारी किसानको खेतबारीसम्मै पुग्ने गरेका छन् । खेतसम्मै पुग्ने व्यापारीले सस्तोमा किन्ने भएकाले किसान आफैँ बजार पुगेर मकै बेच्ने गरेका छन् ।

यहाँ उत्पादित मकै स्थानीयस्तरमा सदरमुकाम परासी, बर्दघाट बजारलगायत बुटवल, पाल्पा, गुल्मी र भारतसम्म निर्यात हुने गरेको बताइएको छ । जहदा क्षेत्रलाई मकै खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि सञ्चालन गरेको छ ।

यस वडाका किसान मकैखेती आकर्षित हुँदै गएको र माटोसमेत सुहाउँदो भएकाले १३ नम्बर वडालाई मकै पकेट क्षेत्र घोषणा गरी नगरले समेत लगानी गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बताए । उनले भने, ‘कृषकको रुचि, हावापानी सुहाउँदो रहेको यस जहदा क्षेत्रमा नगरपालिकाले अनुदान दिने, प्राविधिक रुपमा सहयोग गर्ने, सिँचाइको लागि डिपवेल निर्माण र आवश्यक अन्य सहयोगसमेत गरेर कृषकलाई प्रोत्साहन गर्दै आएको छ ।’

नगरपालिकाको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन पकेट क्षेत्र घोषित क्षेत्रलाई विशेष प्राथमिकताका साथ समावेश गरेर सोहीअनुसार योजना सञ्चालन गरिएको उनले बताए । गत वर्ष नगरपालिकाले पकेट क्षेत्रका कृषकका लागि चार क्विन्टल मकैको बीउ अनुदान दिएको र आगामी वर्ष निरन्तरता दिँदै जानेसमेत उनले जानकारी दिए । त्यस क्षेत्रका किसानलाई श्रेष्ठा जात र पायोनियर ३२९६ जातका मकैको बीउ नगरपालिकाले अनुदानमा उपलब्ध गराएको नगरपालिकाका कृषि अधिकृत अब्दुल जलिलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस