‘निजामतीका सिनियर्समाथी होसियारी’ सट-अप साइको सिनियर्स « प्रशासन

‘निजामतीका सिनियर्समाथी होसियारी’ सट-अप साइको सिनियर्स


प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार १०:०६

एक दिन एउटा सहायक कर्मचारी अफिसमा आउँदा ढिला गरेछन् । हाकिम सा’बले उसको हाजिर रजिष्टरमा रातो लगाइदिएछन् । कडा हाकिम । त्यसको दुई दिनपछि हाकिम सा’व अफिस आउन ढिला गरेछन् । तिनै सहायक कर्मचारीले हाकिमको हाजिरी रजिस्टरमा पनि रातो लगाइदिएछन् । सक्किगो नि अब । हाकिमको अहंकारमा आगो बल्यो, अब उनलाई कसले छुन सक्ने ! बिचरा ती सहायकलाई हाकिम सा’व ले यति टर्चर दिए की नचाहँदा नचाहँदै उ जागिर छाडेर विदेश जान बाध्य भयो । समानताको कुरा गर्दा यस्तै हो नेपालमा । भलै अहिले ती साबिकका सहायक कर्मचारी संयुक्त राष्ट्रसङ्घको प्रतिष्ठित ओहदामा कार्यरत छन् । त्यो सत्य घटनाबाट पंके अनजान थिएन तथापि अझै पनि बढे हाकिमको अगाडि असल नियतबाट मुकाबिला गर्न सक्ने सहायक भेटिन गाह्रो छ । भइहाल्यो भने पनि अनुमान लगाए हुन्छ या त उसको पछाडि ट्रेड युनियनको जन्ती खडा छ या पार्टी हेडक्वार्टरको ब्याक अप प्लान छ । नत्र असम्भव ।

“भाइ तिमीले कुरो बुझेकै छैनौँ । नेपालको प्रशासन, नीतिगत व्यवस्था र विकासको जेनेसिस मलाई राम्ररी थाहा छ तिमी अहिले चुप लाग । अरू कसैको केही छ भने भन्नुहोस् ।” एउटा महत्त्वपूर्ण नीति उत्पादनको क्रममा छलफल चलिरहँदा पंकेका प्रश्नहरूको सटिक जवाफ दिन नसकेपछि एक जना वरिष्ठ अधिकारीले भनेको वाक्य थियो त्यो । अझ भन्दै थिए २४/२५ वर्ष भई सक्यो सेवामा रहेको, देशको आवश्यकता र सरकारको क्षमता मलाई राम्ररी थाहा छ भनी गफ छाँट्दै थिए । बेफ्वाँकमा चुप लाग भनेपछि पंकेलाई झनक्क रिस उठ्यो, अनि कुर्लियो ।

“फुलेका दारी र सुकेका गाला लिई अनुभवका तुषारोहरु नफड्फडाउनुस महोदय । श्रीमतीको खाँचो टार्न र बालबच्चालाई विलासिता थोपर्ने बाहेकको कामै के लछार्नु भा’छ र त्यो २४/२५ वर्षमा ? जहाज दुर्घटना भएर खस्नुमा पृथ्वीको गुरुत्वबललाई कारण देखाए जस्तै जिन्दगीभर राजनीतिलाई दोषारोपण गर्दै कम्मल ओढेर घ्यू खाने तपाईंहरुनै होइन ? वैधानिकताको ढाडमा टेकेर सरकारको लोगो ठोक्दै जाबो खोस्टा कागज छपाएर हुन्छ । तपाईँले अहिलेसम्म उत्पादन गरेका नीतिहरूका नतिजा खोइ ? तपाईँको भण्डारमा छ ? नीति कस्तो र कसरी बनाउनु पर्छ हामीलाई पनि थाहा छ । तपाईँको पटर पटर बढी भो । अहिलेसम्म खासै केही गर्न नसकेकोमा प्रायश्चित गर्दै राजीनामा दिएर घरमा नातिनी खेलाउन गए हुन्छ ।” बिचारा पंके सत्य बोलेको भए तापनि उसको अनुहार रातो भएको थियो र सास फुलेको जस्तो देखिन्थ्यो । अरू सबै सहभागीहरू अवाक् पंकेलाई एकटक हेरिरहेका थिए ।

यसै बिचमा अर्का एक जना वरिष्ठले भने ए भाइ अलिकति मर्यादाको पनि ख्याल राखेर बोल, के बोलेको ?, वहाँजस्तो सिनियर मान्छेलाई तिमीले त्यसरी भन्न हुन्छ ? पंकेको अकाम्य क्रिया चल्यो अनि थपी हाल्यो, मर्यादा मलाई मात्र लागु हुन्छ सिनियरलाई लागू हुँदैन ? पद र उमेर ठुलो भयो भन्दैमा जे पनि बोल्न पाइन्छ ? जे पनि गर्न पाइन्छ ? मेरो सरोकार सरोकार होइन । उहाँले भर्खर पस्किएको नीतिका मस्यौदा पुन: कागजमै सीमित रहने एउटा अविरल नीति श्रृंखलाको निरन्तरता मात्र हो । उहाँको कमजोरीमा मैले प्रश्न गर्दा उहाँले आफ्नो कमजोरी स्विकार्नु पर्दैन ? कोही बोलेन ।

निजामतीमा एस म्यान र नो म्यानको संस्कार चलिरहेको बेला सरले भनेपछि भइहाल्छ नि भन्दै जयजयकार गर्नुपर्नेमा ठाडो नकारात्मक टिप्पणी थियो त्यो पनि नीति छलफलको बैठकमा । ओप्पन च्यालेन्ज गरेको थियो पंकेले । अरूलाई पच्नै सक्ने अवस्था थिएन । हल सुनसान भो । पंकेले बिचैमा छोडेर हिँड्यो चिया खान चमेनागृहतिर ।

चिया कुर्दै थियो, आडैको टेबलमा उमेरले ४० नाघेका तर हाकिमले पर्सिएको कासमु नथापिकनै प्रतिस्पर्धाबाट उपसचिव भएका एक जना पात्रलाई ६४ वाला सिनियर अफिसरले धम्कीपूर्ण लवजमा जिस्काएर भनिरहेका थिए । ल त नि ल उपसचिव भईस, सहसचिव होलास्, कमसेकम प्रदेशकै सही सचिव होइजा, ल संघकै सचिव हवोस, मुख्यसचिव नै पड्का तनी मेरो आशीर्वाद । तर तैँले के नाप्छस्, जागिर खान्छन् अनि जान्छस् । हेर मलाई म कहाँ छु अनि के के गर्न सक्छु । तँलाई कर्णाली पठाउने की काँकडभिट्टा पठाउने की घुम्नलाई कोलोराडो पठाउने, मेरो एक फोनको भरमा डिसिजन हुन सक्छ । जागिर खान त खाने कसरी खाने मलाई सोध, बडो काम गर्ने पल्टिँदो रै’छ ।

अझ हतार छ रे खुब । हाकिमले बोलाएको भए चाकडी गर्न जा, नत्र एक्लै धुम्धुम्ती कोठामा गएर काम गर्छु भन्ने हो भने कहिल्यै हतार नमाने हुन्छ । देश बनाउने ठेक्का तेरो मात्रै हो र ? काम गरेर ठुलो मान्छे हुन्छु भन्ठानेको ? गफ लगाउन सिक, नेटवर्क बढा अनि कुनै एउटा प्यानल (अर्ध घोषित दलगत गुट) रोजेर त्यतै तिर लाग। यहाँका धेरै अफिसहरू प्यानलबाटनै चल्छन् । त्यही प्यानल नै हो साथी कसलाई हाकिम बनाउने भन्ने सिफारिस कर्ता, चाहे त्यो स्थानीय कार्यालय होस या विभाग या मन्त्रालय । सिधा साधा कर्मचारी भएर ठुलो मान्छे बन्छु, पावरमा पुग्छु भन्ठान्या होलास्, सपना नदेख । बस यहाँ चिया खाम । ए साहुनी दुई कप चिया बनाउनु त ।

बिचरा चालिस कटेसी रमाउलावाला उपसचिवलाई किन हतार छ भनेछु जस्तो बनाइदिए ती ६४ बालाले । पंकेले चुपचाप सुनिरह्यो मनमनै खिस्सी परेको हाँसो फर्मायो । ती उपसचिवको अवस्था देखेपछि होला सायद, अघि रातो परेको अनुहार फेरिँदै अब सामान्य स्थितिमा आई पुग्यो । निजामतीमा  समस्या पनि कता कता छ कति ठाउँमा हेरिसक्नु ? कति ठाउँमा गुनासो पोख्नु कति ठाउँबाट निराश हुनु । अपरम्पार प्रवृत्ति, बयान गरी साध्य छ र !

अफिस सकेर घर फर्कने बेला साँझ पख पुरानो साथीसँग पंकेको जम्काभेट भो । पंकेले सोध्यो, मिल्छ भने आज सँगै खाजा खाऊँ न कतै, होटेलतिर नखाको पनि बर्षौ भइसक्यो यार । पैसा बोक्या छ’स ? साथीले सोध्यो । तैँले त्यही एउटा भोट्का खाने त होलास् हिँड आज म ख्वाउँछु । तँ पनि के याद गर्लास् । खरले छाएको एउटा खाजाघरमा छिरेपछि।

साथी: के छ यार हिजो आज तेरो खबर ?

पंके: के हुनु ताल न बेताल छ नि । आज एउटा सिनियरले हेभ्भी टेन्सन दियो भन्या । सितनमा के खाने ?

साथी: सुकुटी भन्न ।

पंके: मान्छे पनि सुकुटी जस्तो भइसक्यो अझै सुकुटी खान छोड्या छैन ।

ए साहु, दुई प्लेट सुकुटी, साँधेको बदाम र एक प्लेट ग्रिन सलाद । अनि एक हाफ त्यै आफ्नै ब्रान्ड, बुझ्नुभयो नि !

साथी: तँलाई टेन्सन चाहिँ किन भा’को नि ?

पंके: यो मूला अफिस, जागिरको ताल, मान्छेहरूको मति सबै देख्दा बिजोग लागेर आउँछ यार । कसरी उँभो लाग्छ देश ? अझ सिनियर्सहरूको पारा देखेर त के भन्ने ? आज एउटा वरिष्ठले मासमै थर्कायो नि मलाई । बढी नबोल भन्छ यार !

साथी: के भन्याथिस् र त्यस्तो ?

पंके: एउटा नीति छलफल रैछ, हुन त मलाई बोलाएका थिएनन् त्यै पनि एस्सो केही बुझिन्छ की भनेर गा’को । प्रिजेन्टेसन देखेर दया लागेर आयो । केही केही कुरा मिलेन, सच्याउनुस् भन्दा खै उसको अहंकारी सम्मानमा ठेस लाग्यो की कुन्नि । चुप लाग भन्याथ्यो । मैले पनि दह्रो दिए । अनि बल्ल उल्टै आफै चुप भयो ।

साथी: यस्तै हो सुड्डाहरुको ताल । यिनीहरूले जान्दैनन् पनि के । यिनीहरूको कला भनेको नै टिप टप बन्न खोज्ने तर नसुहाउने । फुर्ती महाराजाको जस्तो । अनि व्यस्त पनि कति हुन, नमस्ते फर्काउन पनि भ्याउन्नन् । दौड्या दौडेयी गर्छन् तर केही लछार्न सक्या होइनन् । खै के को हो भन्छन् नि काम पनि छैन फुर्सद पनि हुन्न (पंके: कुकुरको) । हा. हा. । मैले पनि भेट्या छु त्यस्ता सिनियर्सहरु धेरै नै ।

पंके: त्यही त । अनि हाम्रो कुरा त सुन्नुपर्छ नि ।

साथी: त्यस्तै हो पार्टनर । तिनले कि आफ्ना हाकिमको सुन्छन् की डोनर(एनजिओ आइएनजिओ)का कुरा सुन्छन् । हाकिमको चाकडी नगरी तिनीहरूको जागिरे जीवन सफल हुँदैन भन्ने ठान्छन् । अनि एनजिओ आइएनजिओलाई फकाएन भने आमोद प्रमोदका लागि वर्षको कम्तीमा आधा दर्जन थान विदेश भ्रमण कसले गराइदिने ? ओली अंकलले सरकारी ढुकुटी खर्चेर घुम्न नजाओ है भन्दै कसिदिएका छन् ।

पंके: अनि नमिलेको कुरालाई मिलाउन खोज्दा ठिकै भन्नुभयो भन्नुपर्छ नि । नजानेको कुरा जान्दिन भन्दा के जान्छ र ?

साथी: हा.हा. । जान्दिन भन्ने त डिक्सनरीमै छैन तिनीहरूको । त्यस्तो संस्कार सिक्या भए निजामतीको यो ताल हुन्थ्यो र ! गफैले खाने हो साथी, काम कसैले चुड्याउना होइनन् ।

पंके: अरु त अरू, कोही पञ्चायतबाट सिके, कोही हुकुमी प्रथाबाट । कम्तीमा पिएचडीधारी डाक्टरहरूले त ट्रयाक चेन्ज गर्नुपर्छ नि यार । ती पनि त्यस्तै, डिग्री पनि अनुदान मै थापेर ल्याएका हुन् कि जस्तो ।

साथी: ब्रदर ! सबभन्दा ड्यान्जर त तिनै पिएचडीधारी डाक्टर साहेब हरू हुन । इतिहास पढ्छन् अनि विकास प्रशासनको विज्ञ हुँ भन्छन् । , ग्रामीण संस्कृतिमा पिएचडी गर्छन् राष्ट्रिय अर्थतन्त्र मै हाँक्छु भन्छन्, फलेदोमा पिएचडी गर्छन् अनि प्राकृतिक स्रोत व्यवस्थापनको विज्ञ हुँ भनी फलाक्छन् । ती त झन् छुनै नसकिने वरिष्ठहरू पो परे त होऊ ।

साथीले भन्यो ए साहुजी, दुई खिल्ली सिगरेट ल्याउनु त (धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ) । पंकेले छोडिसकेको रहेछ ।

पंके: अरू यस्तै हो यार, अनि सुना न त तेरो अफिसको हालचाल ।

साथी: तेरो त बरु आफ्नै लाइनका सिनियर परे । मेरोमा त सिनियर सिटिजन त्यो पनि प्राविधिक कार्यालयमा गजमक्क परेका प्रशासन र लेखा ।

पंके: के ग-या छन् र ?

साथी: प्रशासनका सुड्डाहरुले त दाई हाल्या छन् । प्राविधिकहरूलाई गोरु-जुधाई गराउँछन् । दुई तिन वर्ष एउटा कार्यालयमा बस्छन्, प्राविधिकहरूलाई नाङ्गो नाच नचाउँछन् । अल्लि बढी हुन लागेपछि अर्को अफिसमा सरुवा अनि त्यहाँ पनि त्यही । कुनै दीर्घकालीन दायित्वबिना नै क्या पावर सेन्टरमा थेप्चीएका छन् । जिन्दगीभरि त्यही मन्त्रालय अन्तर्गत काम गर्ने प्राविधिकहरू पनि भेडा जस्तै, सधैँ सँगै बस्ने साथीहरूसँग पैठेजोरी खेल्छन्, जुँगाको लडाई लड्छन् अनि २ दिनको पाहुना प्रशासनका सामु धनुष्टंकार का धनुष्टंकार ।

पंके: त्यस्तालाई त विभागीय प्रमुखहरूले कन्ट्रोल गर्नुपर्‍यो नि यार । प्रशासनका कर्मचारीलाई मात्र के दोष । फाइनल डिसिजन त प्रमुखको होइन त नि ।

साथी: भो ती प्रमुखहरूको कुरा नगरम, त्यो पनि प्राविधिक पृष्ठभूमिका । हाकिमलाई त लेखासँग टर्म मिले भई गो । अझ मेरोमा त लेखाको पनि यति साइको सिनियर परेको छ की के भन्ने । चेक पोस्टमा च्यांखे थापेर बस्या जस्तै ढोँगी छ । कुनै फ्यासिलिटेसन छैन, अल्टर नै परेर बसेको छ नि । सरकारको पुँजीगत खर्च कम हुनुमा सबभन्दा दोषी तिनै हुन जस्तो लाग्छ । सरकारी ढुकुटी त तिनका ससुराले बिहेमा दिएको दाइजो जस्तो ठान्छन् भन्या । के भन्ने ।

पंके: भो भो केही नभन । बुझे मैले । मेरोमा पनि एउटा हल्कट छ त्यस्तै । तर फेरी लेखाले हल्का रूपमा लियो भने प्राविधिकले पनि कहाँ गन्छन् र, झोलुङ्गे पुल बनाउनको लागी मोटरेवल पुल बनाउँदा लाग्ने जतिको विल तेर्स्याउछन ।

साथी: खैर, यस्ता सिनियर सिटिजनको सङ्गतमा बसेर जिन्दगीमा के कस्तो आचरण र व्यवहार सिकिएला यार । उदेक लाग्छ ।

पंके: मैले एउटा फोरम पाए भने यस्तरी दिन्छु नि ती साइको सिनियर्सलाई । भैगो हजुर, तपाईँले निजामतीको कुटिल संस्कारको विरासत पुस्तान्तरण गर्नु पर्दैन । कर्मचारीको मर्यादा, आचरण, ईथिक्स र भ्यालु माथि गफ नछाट्नुस् । डिजीटल डाइरेक्टर डेमोक्रेसीको जमाना छ । जनताले राम्रोसँग थाहा पाएका छन् र जानेका पनि छन् । नपत्याए झुक्किएर पनि कुनै दिनको छापाका पाना पल्टाउनुस्, कर्मचारीको बारेमा कस्ता समाचार छन् जग जाहेर छ । यदि सक्नुहुन्छ भने काम गर्न सिकाउनुस् (त्यो पनि पहिला आफुले गरेर) । ड्युटी फ्रष्टको नारा जप्न लगाउनुस् सरकारी कर्मचारीलाई । कम्तीमा पनि आफुले पाउने सार्वजनिक पारिश्रमिक रकम बराबरको काम नगरेसम्म तलबको घण्टी बज्दा पनि खिन्न हुन सिकाउनुस् । तलबको दाँजो गर्दा डलर र युरोको खेतीका अभियान्ता भन्दा पनि नेपाली बजारका साधारण श्रमिकहरूको ज्यालाको अवस्थालाई ख्याल राख्न सिकाउनुस् । अनि तपाईँका अधिकांश कर्मचारीले चपाएको हाजिर वाफतको ज्यालासँग दाज्न पठाउनुस् । पहिला तपाई दाँज्नुहोस् अनि बल्ल अरूलाई भन्नुस् । पौने एक करोडको गाडी चढेर सरकारी सम्पत्तिमा हालिमुहालि गर्दै दिनको एउटा टिप्पणीमा दस्तखत गरेर पुरुषार्थ नछाटनुस् (त्यो पनि आधा दर्जन कर्मचारीहरूको राय लिएर मात्र – डरपोक मानसिकताको उपज) । देश तपाई जस्ता कुनै व्यक्तिले बन्ने चिज होइन । सक्षम ईन्स्टिच्युसन चाहिन्छ । तपाईँको एटिच्युड आफुसँगै लगेर गंगामा बहाउनुस् ।

साथी: सुन्नेवाला कोही छैनन् साथी । काग कराउँदै गर्छ अनि पिना सुक्दै । कोही कोही ‌सिनियर्स त बरु राम्रै पनि छन्, कम्तीमा अहिलेसम्म धान्या त छन् देश । फ्रेसर्सहरुपनि कम कहाँ छन् र हिजो आजका । जागिर खा’को ५ वर्ष भा’छैन घडेरी चाहियो, १० वर्षमा घर । आकर्षक कार्यालयमा सरुवा हुनको लागी २/४ थान सांसद त सजिलै बोक्ने भा’छन् । कसरी सुध्रिन्छ र देशको प्रशासन  ? लथालिङ्ग देशको भताभुङ्ग चाला, जो जसले लुट्ला उसै उसैले खाला भने जस्तै भएको छ । के गर्ने त, सधैँ भरी गुनासो नै गुनासो गरेर मात्र जागिर बिताउने त ?

पंके: होइन साथी, गुनासो नगर्ने । कसैबाट सुधार हेर्न पाइयोस् भन्ने आशा राख्यो भने सधैँ निराशा मात्रै छाउँछ । त्यसैले जति सकिन्छ आफूलाई परिवर्तन गर्ने अरू कोही बाट परिवर्तनको आस नगर्ने । जिरो एक्स्पेक्टेसन, ह्याप्पी जेनेरेशन । सुन्या छैनस्, संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ । सुड्डाहरुको जागिर दर्शनलाई पिण्ड चढाएर नयाँ माहौल कसरी बनाउन सकिन्छ त्यो पनि आफ्नो लेभलबाट, त्यता फोकस गर्ने । निजामतीमा जागिर खाने होइन, काम गर्ने माहौल बनाउने त्यो पनि आफ्नो लेभलबाट । बोल्ने होइन केही गरेर देखाउने, त्यो पनि आफ्नो लेभलबाट । निजामती सेवाको करिअरलाई एउटा दर्शनमा टेकेर सेवा गर्ने त्यो पनि आफ्नो लेभलबाट । जसका पानाहरूले रिटायर्ड भएपछि पनि छाती गमक्क फुलोस् । दुई दिनको चाकडी र चार दिनको कमाइको भरमा निजामतीको सम्भाव्य गौरवलाई पहिरो झैँ नबगाँउ । समयले एक दिन कोल्टे फेर्ने छ ।

साथी: चढेछ ब्रदर तँलाई । मस्त साहित्य फुर्न थाल्यो त।

त्यही बेलामा यस पङ्क्तिकारको आफ्नै शब्द, सङ्गीत र आवाजमा रहेको गीत “दिलको हिरा (https://www.youtube.com/watch?v=EaGSVX1CEiA)” पृष्ठभूमिमा गुञ्जियो । पाकेले आफ्नो जवानी सम्झियो । अनि त्यस गीतका शब्द संघर्षहरुले एक क्वार्टर थप माग गर्‍यो । साथीहरू टिल्ल ।

प्रतिक्रिया दिनुहोस