श्रावण ७ गते, २०७६

आमाबुबाको प्रेरणाले राना समुदायको पहिलो डाक्टर बन्ने उपलब्धि पाएँ

राना समुदायबाट पहिलो एमबिबिएस डाक्टर बन्दैछिन्, यज्ञवती राना । बंगलादेशबाट एमबिबिएस गरिरहेकी उनी पढाइ सकेर बंगलादेशमै इन्टर्न गर्दैछिन् । नेपालमा बसोबास गर्ने थारू समुदायको एक थर राना थारू पश्चिम नेपालको कैलाली–कञ्चनपुरदेखि भारतको बिभिन्न क्षेत्रमा छरिएर बसोबास गरिएको पाइन्छ । कला, संस्कृति र सभ्यताको धनी यो समुदाय शैक्षिक रुपमा त्यति धेरै अगाडी आउन नसकेको भए पनि पछिल्लो समयमा भने यस क्षेत्रमा पनि अगाडि बढेको देखिन्छ । कैलालीको धनगढी उपमहानगरपालिका–८, मा बसोबास गर्दै आएकी उनी यसको उदाहरण हुन् ।

बंगलादेशको राजधानी ढाकाबाट तीन किलोमिटर दूरीमा पर्ने मिर्जापुर टंगालीस्थित कुमुदीनी महिला मेडिकल कलेजमा इन्र्टन गरिरहेकी रानाको जीवन संघर्ष, चाहनालगायत विषयमा प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

राना थारू समुदायबाट पहिलो एमबिबिएस डाक्टर बन्दै गर्दा कस्तो अनुभूति भइरहेको छ ?
महिलाहरूले पनि केही गर्न सक्छन् भन्ने उदाहरण बन्न पाउँदा खुसी लागिरहेको छ । आमाबुबाले जहिले पनि पढ्न प्रेरणा दिइरहनुभयो । उहाँकै प्रेरणाले आज मैले यो उपलब्धि पाएकी हुँ । यसमा मेरो चाहनाले पनि सहयोग गरेको जस्तो लाग्छ । किनकि ममा बाल्यकालदेखि नै डाक्टर हुने इच्छा थियो ।

वाल्यकालमा डाक्टर हुने सोच पलाउनुको कारण के थियो नि ?
आमालाई हेरेर डाक्टर हुने सोच पलाएको थियो । आमा भेटेरिनरीको काम गर्नुहुन्थ्यो । उहाँले पशुको उपचार गरेको देखेर नै डाक्टर हुने सोच पलाएको हो ।

आमाले पशुको उपचार गर्दा थुप्रैले नयाँ जीवन पाएको देखेकी थिएँ । यसले मलाई निकै खुसी बनाउँथ्यो । त्यसैले सेवा गर्ने भावनाले नैममा अरुको जीवन बचाउने पेशा (डाक्टर) बन्ने चाहना पलाएको हो ।

अहिलेसम्म राना थारू समुदायबाट डाक्टर नहुनुको कारण के रहेछ ?
पुरानो पुस्तामा छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच छैन । सम्पत्ति भएपछि किन पढ्नुपर्याे भन्ने मानसिकता छ । हाम्रो समुदायमा अधिकांश किसान छन् । त्यसैले पनि होला उनीहरूमा पनि कृषि गरेर खान पुग्छ भन्ने सोच भएको ।

हाम्रो समुदायमा कक्षा १/२ सम्म बालबालिका स्कुल जान्छन्, त्यसपछि उनीहरू स्कुल जान मान्दैनन् । परिवारले पनि बालबालिकालाई पढ्नुपर्छ भनेर उत्प्रेरित गर्दैनन्, जसका कारण उनीहरू बीचमै स्कुल छाड्छन् ।

आर्थिक अवस्था कमजोर भएर पढ्न नसकेका त होइनन् नि ?
आर्थिक अवस्था मात्रै होइन, इच्छाशक्ति पनि हो । आर्थिक अवस्था राम्रो भएकाहरूको पनि पढाउनुपर्छ भन्ने सोच छैन । त्यसमा पनि छोरालाई बढी प्राथमिकता हुन्छ । छोरी बिहे गरेर अर्काको घर जाने त हो भनेर कम प्राथमिकता दिइन्छ । मलाई पढाउँदा पनि आमाबुबाले धेरै सुन्नुपर्याे । छिमेकीले पढ्न–लेख्न जान्ने भइहाली, धेरै किन पढाउनुपर्याे भन्थे ।

भाषा नबुझेकै कारण तथा समयमै उपचार हुन नसकेर ज्यान गुमाउनु परेको कुनै घटना छ ?
पहिले मेरो ठूलोबुबाको पेट दुखेपछि सेती अञ्चल अस्पताल ल्याउनुभएको थियो । उहाँलाई अस्पताल ल्याउँदा डाक्टर हुनुहुँदैनथ्यो । सिएमए/एचएहरू मात्रै हुनुहुन्थ्यो । इन्जेक्सन लाएपछि ठूलोबुबा सुतेकोसुतेई हुनुभयो रे । त्यतिबेला त आमा पनि कुनै स्ट्याटसमा हुनुहुन्थेन, त्यसकारण एक्सप्लानेसन पनि पाउनुभएन ।

यसलाई यत्तिकै ढाकछोप गरियो । ठूली  आमा त्यो पीडा सहन नसकेर छ महिनापछि बित्नुभयो । उहाँको एक छोरी (दिदी)लाई आमाले पढाउँदै हुनुहुन्छ । ऊ पनि एचए गर्दैछ ।

राना थारू समुदायमा राज्यको ध्यान पुगेको ठान्नुहुन्छ, के लाग्छ ?
चौधरी समुदायको बसोबास मेचीदेखि महाकालीसम्म नै छ । तर, राना थारू कैलाली र कञ्चनपुरमा मात्रै सीमित छन् । काठमाडौंमा पढ्दा सुरुमा साथीहरूले मलाई मगर राना हो भन्ठानेछन् । तर, पछि मैले आफू राना थारू रहेको बताएकी थिएँ । त्यो भनेपछि उनीहरूले अचम्म मानेका थिए । उनीहरू राना थारू पनि हुन्छ भन्थे ।

तर, मलाई आफ्नै देशका जातजातिबारे साथीहरूले थाहा नपाउँदा अचम्म लाग्यो । राना थारु समुदायप्रति राज्यको खासै ध्यान पुगेको जस्तो लाग्दैन ।

आफ्नै देशका मानिसले समुदाय नचिन्ने कुराले कस्तो महसुस भयो ?
कस्तो सोसाइटी होला ? समाजले त उल्टै झन् प्रेरणा दिनुपर्नेमा यस्तो किन गर्छ लाग्थ्यो ।

राज्यबाट पछाडि पारिएका समुदायलाई मूल धारमा ल्याउन के गर्नुपर्छ जस्तो लाग्छ ?
त्यो भनेको त धेरै नै रुलर सेक्टर भयो । त्यस्तो क्षेत्रमा एकैचोटी गर्भरमेन्टको मेम्बर गएर म गर्छु भन्ने हुँदैन । त्यहाँ सोसल वोकर्सहरूले नै गर्नुपर्याे । त्यसपछि विस्तारै अन्यसम्म ल्याउनुपर्छ भन्ने लाग्छ ।

अवसर पाउन पनि कुनै पोजिसन नै चाहिँदो रहेछ । पहिला हाम्रो समुदायका कसैले अवसर पाएका थिएनन् । अहिले छन् ।

तपाईँले डाक्टर पढ्नका लागि खर्च कसरी जुटाउनु भयो ?
बुबाले जग्गा बेचेर पढाउनुभयो । त्यो कुरा मलाई थाहा थिएन, आमाले भनेर थाहा पाएको हुँ । त्यो कुराले मलाई साह्रै नराम्रो लागेको थियो ।

हाम्रो पुख्र्यौली सम्पत्ति थिएन । हजुरबुका बुबा कक्षा ७/८ पढ्दा नै बित्नुभएको थियो । त्यो बेलादेखि नै बुबाले संघर्ष गर्नुभयो । उहाँलाई निकै पढ्ने इच्छा थियो । उहाँ सधैं कक्षामा सेकेन्ड हुनुहुन्थ्यो । तर, हजुरबुबा बितेपछि उहाँले पढ्न पाउनुभएन । तर, पनि उहाँ छोरीहरूलाई जसरी पनि पढाउँछु भन्नुहुन्थ्यो ।

तपार्इँले एमबिबिएस गर्दै गरेको देश बंगलादेश र नेपालको समाजमा के फरक पाउनुभयो ?
म बंगलादेशको उमेश मेडिकल कलेजमा पढेको हुँ । बंगलादेशले महिला शिक्षाका लागि राम्रो गरिरहेको छ ।

त्यहाँ ८० प्रतिशत जति बंगाली विद्यार्थी नै थिए । जब हामी कमिटी मेडिसिनबाट सर्भेको लागि जान्थ्यौं, केटी नै बढी पढेको भेटायौं । बंगलादेशले शिक्षामा धेरै प्रोग्रेस गरेको छ ।

छोरीलाई हेर्ने दृष्टिकोण कस्तो रहेछ ?
त्यो मुस्लिम कन्ट्री भएर पनि आफूलाई कन्जरभेटिभ नै फिल हुन्थ्यो । मैले सानैबाट कुर्ता सुरुवाल लगाइनँ । बुबाले हामीलाई छोरा मान्छे जस्तै गरी पाल्नुभयो । मेरो स्कुल हुँदाखेरि ब्याइज कट थियो, कक्षा ८ सम्मै । बुबाले भन्नुहुन्थ्यो – जबसम्म आफूले आफ्नो हेरचाह गर्न सक्दैन, तबसम्म कपाल ठूलो गर्ने होइन । हामी ६ दिदी बहिनी, एक भाई । मचाहिँ काइँली हुँ ।

यता आएपछि काम पाइन्छ लाग्छ ?
पाइन्छ होला । आफू सर्टिफाइड छु भने अवसर त पाइन्छ ।

सरकारी, निजी वा आफै केही गर्ने विचार छ कि, के छ योजना ?
अवसरलाई हेरेर कस्तो एक्प्रेन्स हुन्छु । पनि त्यसलाई हेरेर आफ्नै गर्न सक्छु कि त्यो त एभलेटीलाई हेरेर गर्ने निर्णय हो । लोकसेवा दिएर सरकारीतिर पनि जान सक्छु ।

सरकारी सेवामा कतिको रुचि छ नि ?
छ, अवसर पाए जाने हो । अवसर गेन गर्नुपर्यो ।

बुबाआमाको प्रतिक्रिया के छ ?
खुसी हुनुहुन्छ । सबै दिदी शिक्षित हुनुहुन्छ । उहाँहरूले सबैलाई आ–आफ्नो रुचिअनुसार पढाउनुभयो ।

तपाईँको आगामी योजना के हो ?
अध्ययन पूरा गरेपछि गाउँमै गएर सेवा गर्ने योजना छ । मैले बाल्यकालदेखि नै पिछडिएको समुदायमा काम गर्ने इच्छा राखेकी थिएँ ।

हाम्रो समुदायमा धेरैलाई नेपाली बोल्न आउँदैन, जसका कारण बिरामीले आफ्नो रोगबारे डाक्टरसँग भन्न सक्दैनन् । र, डाइग्नोसिस गलत हुने सम्भावना हुन्छ । त्यसकारण पनि आफ्नै समुदायमा काम गर्ने चाहना छ । अहिले इन्टर्न गरिरहेकी छु । यो सकिएपछि आफ्नै ठाउँमा काम गर्ने योजना छ ।

अन्त्यमा केही भन्न चाहनुहन्छ ?
बुबाआमाले छोराछोरीमा भेदभाव गर्नुभएको भए मैले यो उपलब्धि हासिल गर्ने थिइनँ होला । त्यसकारण म सबै अभिभावकलाई आग्रह गर्छु– सन्तानलाई समान व्यवहार गर्नुस् । अरुको कुरा सुन्नुहुँदैन । के गर्दा राम्रो हुन्छ, त्यही गर्नुपर्छ ।

हाम्रा पुर्खाहरू जसरी पछाडि पर्नुभयो, हामी त्यसो नगरौं । अहिलेका युवाहरूले केही गर्न सक्छन् भन्ने लाग्न सक्छ । युवाहरूले शिक्षामा अगाडि बढ्नुपर्याे । पुख्र्याैली सम्पत्ति हेरेर अब नबसौं । पैसा सकिन्छ, क्षमता कहिल्यै सकिँदैन ।

असार ३१ गते, २०७५ - १०ः५८ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg