सडकमा अलपत्र परेकालाई सेवा « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

सडकमा अलपत्र परेकालाई सेवा


१८ चैत्र २०७४, आइतबार


काठमाडौं । मानवसेवा आश्रमले स्थापनाको छ वर्षमा सडकमा अलपत्र परेका करीब एक हजार मानवलाई सेवा गरेको छ ।

विसं २०६९ मा स्थापित आश्रमले काठमाडौ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, पर्सा, बागलुङ, कास्की र रुपन्देहीमा रहेका मगन्ते, सडकमा अलपत्र परेका, घरवारविहीन, बेवारिसे र मनोरोगीलाई आवासीय तथा गैर आवासीय रुपमा व्यवस्थापन गरेको छ ।

पशुपति क्षेत्र विकास कोषको समन्वयमा आश्रमले केही दिनदेखि पशुपति क्षेत्रमा माग्दै जीवनयापन गर्ने विभिन्न उमेरका मानिसलाई उचित व्यवस्थापन गरिरहेको छ । विश्वका हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल पशुपतिनाथ मन्दिर तथा त्यस आसपास क्षेत्रमा अब कसैले पनि भोकै र नाङ्गै रहनु नपर्ने आश्रमले जनाएको छ ।

आश्रमले आगामी वर्षभित्र मकवानपुर, गोरखा, लमजुङ र बागलुङ जिल्ला एवं भरतपुर, वीरगञ्ज, बुटवल, र ललितपुर नगरलाई सडकमा सहयोगापेक्षी मानवरहित महानगर घोषणा गर्ने लक्ष्य राखेको आश्रमका काठमाडौँ संयोजक सुमन बर्तौलाले जानकारी दिए । केही समयदेखि पशुपति क्षेत्रका सडकमा बेवारिसे बनेका, भौतारिएका र दीनदुःखीको व्यवस्थापनका लागि सक्रिय भएको र यसमा पशुपति क्षेत्र विकास कोषले सहयोग गरेको छ ।

मानवसेवा आश्रमले शनिबार पशुपति क्षेत्रबाट सबै सहयोगापेक्षी मानिसलाई संरक्षण दिएको छ । यसरी पाइएका बेवारिसे मानिसलाई नुहाउने र सरसफाइ गरिदिने गरिएको छ । घरपरिवार नभएका र पेशागत रुपमा मगन्ते जीवनयापन गरिरहेकालाई घर पठाउने वा आश्रममा राखेर सेवा दिनेगरी काम अगाडि बढाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।रासस

प्रतिक्रिया दिनुहोस