कविता मेरो एकहोरो प्रेम हो « प्रशासन
prasaLogo
१५ पुष २०७४, शनिबार

कविता मेरो एकहोरो प्रेम हो


प्रकाशित मिति : 30 December, 2017 7:10 am

गीत र कविताका धाराले लाखौं नागरिकका हृदयमा न्यानो बास पाएका पुराना र नयाँ पुस्ता बीचका सेतु दिनेश अधिकारी सक्षम कवि हुन् । कवितालाई एकोहोरो प्रेम ठान्ने कवि तथा गीतकार दिनेश अधिकारी कवितालाई परिभाषामा बाध्न चाहँदैनन् । ‘अत्तिरिक्त अभिलेख’ कविता संग्रहका लागि मदन पुरस्कार समेत प्राप्त गरेका अधिकारी नेपाली युवा साहित्यकारहरुको भीडमा धेरै पुरस्कार पाउने श्रष्टा पनि हुन् । के हो कविता ? कसरी लेखिन्छ ? अनि कविता यात्रामा उनको अनुभव लगायतका विषयमा उनै अधिकारीसंग प्रशासन डटकमका एसराज उपाध्याययज्ञराज जोशीले गरेको लामो कुराकानीको पहिलो खण्ड ।

कविता के हो जस्तो लाग्छ यहाँलाई ?
मेरा लागि कविता एकहोरो प्रेम हो । एकहोरो प्रेम यस अर्थमा की यो मेरो पेसा होइन, व्यवसाय होइन । पेसामा कहीँ कहीँ सम्झौता हुन सक्छ । यसमा सम्झौता हुँदैन । त्यसैले, मेरा मनका पखेटाहरू पनि हुन् कविता ।

म परिभाषामा कवितालाई बाँध्ने पक्षमा छैन । परिभाषा बिज्ञानको विषय हो । कविता नदीजस्तो बग्ने स्वभावको हुन्छ । यसलाई कुनै परिभाषामा बाँध्यो भने यसले फेरी अर्को नयाँ आयाम भेटाउँदैन । हामी जहाँको त्यहीं हुन्छौं । खोलाको स्वभाव किन भनेको भने पानी त पोखरीमा पनि हुन्छ नी ! खोलामा पनि पानी नै हो । पानीकै पर्याय हो खोला र पोखरी । तर पोखरीमा लेउ लाग्छ । झ्याउ लाग्छ । किरा फट्याङ्ग्रा जन्मिन्छन् । त्यो किन जन्मिन्छ भन्दा प्रवाह नभएको कारणले । त्यसैले प्रवाह हो कविता ।

कस्तो व्यक्ति कवि बन्न सक्छ ?
कविता त भावना हो । संवेदना हो । त्यो हरेक मान्छेसँग छ । त्यसैले हरेक मान्छे आफैंमा कवि हो । तर, हामी त्यसलाई मात्रै कवि भनिरहेका हुन्छौं जसको अभिव्यक्ति कलात्मक र प्रभावकारी हुन्छ र समाजका अरू सदस्यहरूले त्यसलाई ग्रहण गर्दै जान्छन् । स्विकार गर्दै जान्छन् । त्यसैले कस्तो मान्छे कवि हुन सक्छ भन्दा सबै मान्छेमा कवि हुने संभावना छ । जोसँग भावना, संवेदना छ र जसले आफु भित्रको भावना र संवेदनालाई प्रभावकारी र इमान्दारी पूर्ण ढंगबाट अभिव्यक्ति दिन सक्छ ।

यहाँको धारणामा कविता लेखनको आधारभूमि के हो ?
संवेदना, भावना र अभिव्यक्ति कौसल । मलाई लाग्छ अभिव्यक्ति कौसल भन्ने वित्तिकै भाषाका कुरा आउँछन्, मिथकका कुरा आउँछन्, प्रतिकका कुरा आउँछन् । कहिले काहीँ दृष्टिकोणका कुरा आउँलान् । ती सबै कुरा अभिव्यक्ति कौसल भित्रै पर्छन् ।

‘अतिरिक्त अभिलेख’ले २०५६ सालमा ‘मदन पुरस्कार’ पनि जित्यो, पूर्व आभास अर्थात् पूर्वभान केही थियो कि ?
त्यो पटक ठ्याम्मै थिएन । बरू २०५१ सालमा मेरो ‘इन्द्रजात्रा’ शिर्षकको काव्य, जो मेरो पहिलो काव्य हो, साझा प्रकासनबाट प्रकाशित थियो र त्यसको चर्चा भने मदन पुरस्कारका सन्दर्भमा सुनेको थिएँ ।

मैले मेरो ‘तस्विरको कथा’ शिर्षकको कितावमा यो बारेमा लेखेको पनि छु । त्यतिखेर जगदिश समशेर राणा पनि मूल्याङ्कन समितिमा हुनुहुँदो रहेछ । पछि उहाँले भन्नु भए अनुसार त्यही बेलामा क्यानेडियन मूलका एकजना विदेशीले ‘सही शब्द’ भन्ने शब्दकोष लेख्नु भएको थियो । मदन पुरस्कारलाई अन्तराष्ट्रियकरण गर्ने यो राम्रो मौका हो भनेर उहाँलाई दिने निर्णय भएछ ।

‘अतिरिक्त अभिलेख’को बेलामा मैले मदन पुरस्कार पाउने चर्चा सुनिँन । गते त अहिले भन्न सकिँन तर गुठीका विष्णुप्रसाद धितालज्यूले साँझतिर मेरो घरको टेलिफोन नम्बरमा फोन गरेर यो बर्षको मदन पुरस्कार ‘अतिरिक्त अभिलेख’लाई प्रदान गर्ने निर्णय भएको छ । तपाइलाई बधाइ छ । तपाइले स्विकार गरिदिनु होला भन्नुभयो । संगसँगै अहिले साँझ सात बजे रेडियो नेपालको समाचारमा आउँछ सुन्नुहोला भनेपछि मैले श्रीमतिलाई भनेँ र सात बजे रेडियो नेपालको समाचार सुनेपछि ढुक्क भएँ ।

लेखिएका जति सबै उत्कृष्ट हुँदैनन् न त सबै लेखक नै चिरपरिचित हुन्छन् । तपाई आफैंलाई चाहीँ आफ्नो लेखन कस्तो लाग्छ ? लेख्दा लेख्दैको अवस्था यो चाँही राम्रो लेखें भन्ने लाग्छ कि लाग्दैन ?
अहिले फर्केर हेर्दा मलाई चालिसको दशकमा लेखेका कवितामा फ्लो राम्रो छ जस्तो लाग्छ । तर ती लामा पो भएछन् की भन्ने पनि यदाकदा मनमा लाग्छ । पछाडीकोमा परिमार्जन छ । तर प्रवाह कम भयो की जस्तो पनि लाग्छ कहिलेकाहीँ ।

लेखिरहँदा कसैले पनि नराम्रो लेखुँ भनेर लेख्दैन । सबैले राम्रो लेख्न खोज्छन् । म पनि राम्रो लेख्न खोज्छु । नराम्रो भए त त्यो त्यत्तिकै फालिन्छ । जब प्रकाशनमा ल्याउने अर्थमा आफुलाई चित्त बुझ्छ, त्यतिखेर पाथीभात खाएजस्तो आनन्द लाग्छ । तर त्यो कस्तो आनन्द हो भने बिहान टन्न मिठो खाएको भएपनि बेलुका त भोक लागि हाल्छ । एक चोटी टन्न खाएर सधैलाई अघाइँदैन । लेखन पनि त्यस्तै हो । समयलाई समात्न खोज्दा वा भनूँ खास मनोदशालाई पक्रिन खोज्दा कुनैमा अभिव्यक्ति अलिबढी प्रभावकारी भयो होला । कुनैमा अलि कम भयो होला । तर चित्त नबुझिकन छापिएन ।

२०३७ सालमा पहिलो कवितासङ्ग्रह छापिएको हो मेरो । २०४४/०४५ सालमा दुई वटा निस्कियो । ०५६ सालमा ‘अतिरिक्त अभिलेख’ निस्कियो । ०६७ सालमा ‘सिमान्त सपना’ निस्कियो । अब सोच्दैछु ०७७/७८ सम्म एउटा कवितासङ्ग्रह अर्को बन्ला । लामो ग्यापमा निस्किरहेछन् मेरा कवितासङ्ग्रहहरु । सरदरमा दश वर्षमा एउटा सङ्ग्रह निस्कँदो रहेछ मेरो ।

कविता मेरो पेसा होइन मैले अघि पनि भनेँ मेरो सौख हो । मेरो प्रेम हो । जतिखेर कविताले मलाई कुत्तकुत्याउँछ, हुट्हुट्याउँछ त्यतिखेर लेख्ने हो । त्यसैले त्यो लेखेको बेलामा त्यही राम्रो लाग्छ ।

‘अतिरिक्त अभिलेख’को जन्मबारे केही वताइदिनुहोस् न ?
‘अतिरिक्त अभिलेख’ कवितासङ्ग्रहको शीर्षक मात्रै हो । त्यो कुन अर्थमा राखेँ भने ‘अतिरिक्त’ भनेको ‘एडिसनल’ हो । मुल ईतिहास एउटा हुन्छ । तर ईतिहास नभनिएका धेरै समानान्तर ईतिहासहरू (फोटोग्राफि, मूतिकला, काष्टकला, साहित्य, संगीत आदि) मनग्गे छन् । मैले भोगेको समय, मैले भोगेको जीवन एउटा ईतिहास हो । त्यसैले ‘अतिरिक्त अभिलेख’ ईतिहासको संज्ञा नदिइएका ईतिहासहरू हुन् भन्ने अर्थमा राखिएको शीर्षक हो । ‘एक्स्ट्रा’को अर्थमा नभएर ‘एडिसनल’ अर्थमा यसलाई मैले सोचेको हुँ ।

यहाँ त १०/१२ वर्षकै उमेरदेखि कविता लेख्नुहुन्थ्यो रे । हामीलाई पारिवारिक वातावरण र तपाइको लेखन यात्राको प्रारम्भिक चरणका बारेमा केही वताइदिनुस् न ?
मेरो पिताजी नन्दनहरि उपाध्याय ‘ओखलढुंगे’ भनेर लेख्नु हुन्थ्यो । तपाईहरूले ख्याल गर्नु भएको छ भने गोरखापत्रमा सम्पादकलाई चिट्ठी स्तम्भमा २००४ सालदेखि उहाँका चिठ्ठीहरू प्रकाशित हुँदै आएका हुन् ।

कुनै समय परराष्ट्र मन्त्रालयमा काम गर्ने मेरो जेठो दाजु ऋषभहरि अधिकारी २०२७/०२८ सालतिर ओखलढुंगाबाट निस्किने दैलो भन्ने पत्रिकासँग आवद्ध हुनुहुन्थ्यो । घटराज भट्टराई, प्रेमनारायण प्रेमीसँग उहाँको संगत थियो र साहित्यमा रूची थियो ।

मेरो अर्को दाजु ध्रुवहरि अधिकारी अहिले पनि पत्रकारीताको क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ शंकरदेव कलेज पढ्नु भएको हो । शंकरदेव पन्तको निधन पछि त्यहाँबाट निस्किने ‘जमरा’ भन्ने पत्रिकाको सम्पादन गर्नुहुन्थ्यो । उहाँ आफु पनि साहित्यमा रूची राख्नुहुन्छ ।

मेरो अर्को दाजु उद्धवहरि उहाँले सस्कृत अध्ययन गर्नुभयो । संस्कृत अध्ययन गर्नेहरूलाई साहित्यमा रूची हुने कुरा स्वभाविक हो । त्यसैले मेरो घरको वातावरण साहित्यिक आनन्दमा रमाउने किसिमको थियो ।

म काठमाडौंमै जन्मे । काठमाडौंमा घर थियो । २०२० साल पछि सर्लाहीको हरिवन भन्ने ठाउँमा पनि घरवास जोडियो । आमाले त्यतै बस्न मन पराउनु भयो । त्यसकारण आमासँगै म त्यतै बस्न पुगेँ ।

अहिलेको महादेव उच्च माध्यामिक विद्यालयमा पढ्थेँ । त्यतिखेरको परिवेस कस्तो थियो भने बार्षिक परीक्षा सकिएपछि रिजल्ट हुनेदिन विभिन्न खेलकुद हुन्थ्यो । कविता प्रतियोगिता हुन्थ्यो । यही सिलसिलामा पहिलो पटक कविता लेखेँ र प्रतियोगिता सुनाएँ । के लेखे मलाई थाहा छैन । के मात्रै सम्झना छ भने म कवितामा प्रथम भएँ । सोह्र पानाको एउटा कापी र एउटा पेन्सिल मैले पुरस्कार स्वरूप पाएँ । त्यो म चार क्लासमा पढ्दाको कुरा हो । उमेरका हिसावले सम्भवतः बाह्र वर्षजति थिए होला ।

मलाई सम्झना भएको त्यसपछिको पुरस्कार भनेको २०३१ सालमा जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा मैले पाएको प्रथम पुरस्कार हो । त्यतिखेर म चतुरभुजेस्वर जनता मा वि हरिवनमै दश क्लासमा पढ्थेँ । सर्लाही जिल्लामा रहेका आठ वटा हाइस्कुलमध्ये सबै हाइस्कुलबाट एक एक जना प्रतियोगितामा थियौं । प्रतियोगितामा भागलिन जिल्लाको सदरमुकाम मलंगवा जानु पथ्र्यो । अर्काको साइकिलको पछाडी क्यारियरमा बसेर आलीको बाटो लड्दैपड्दै प्रतियोगितामा पुगेँ । आठ कोष बाटो पथ्र्योे । प्रतियोगितामा म पहिलो भएँ । त्यो प्रमाण मसँग अहिले पनि छ । मैले अजन्ता भन्ने सानो डिक्सनरी पुरस्कार स्वरूप पाएको थिएँ । घरको साहित्यिक पठन–पाठनको बातावरणले मेरो रूची बिस्तारै यसमा गयो ।

अर्को रमाइलो प्रसंग के हो भने हरिवनमा त्यतिखेर एउटा पुस्तकालय थियो । हामी युवाहरू पुस्तकालय चलाउथ्यौं । पूर्णबहादुर स्याङ्ताङ् स्या नामका प्रधानपञ्च हुनुहुन्थ्यो त्यसवेला । उहाँ एकदमै योङ (युवा) हुनुहुन्थ्यो । म एकदमै एक्टिभ थिए । मेरा केही साथीहरू महोत्तरीको मटियानीमा भएको संस्कृत विद्यालयमा पढ्थे । त्यहाँबाट साहित्यीक पत्रिका निस्किन्थ्यो । मलाई पनि साहित्यिक पत्रिका निकाल्न मन लाग्यो । त्यसपछि मैले स्कुलमा कुरा गरेँ, पैसा उठाएँ । गाउँ सभाले पारित गर्नुपर्थ्यो त्यतिखेर गाउँपञ्चायतबाट पैसा पाउन । गाउँ सभामा प्रस्ताव लिएर गएपछि प्रधानपञ्चले हामीलाई पाँच सय रूपयाँ दिनुभयो । त्यो पाँच सय रूपैयाँ र अरू बटुल बाटुल गरेर ‘जीवन ज्योति’ पत्रिका प्रकाशनमा ल्यायौं । पत्रिका छापिएर आउँदा २०३३ साल लागिसकेको थियो । त्यसको प्रकाशनको लागि हामी २०३१ सालदेखि लागेका थियौं । त्यतिखेर भारतको सितामणि गएर पत्रिका छपाइ गर्नु पर्ने परिस्थिति थियो । म, त्यस पत्रिकाको सम्पादक मण्डलमा पनि थिए । एसएलसी दिए पछि म काठमाडौं आएँ ।

काठमाडौं आएपछि म घट्टेकुलो बस्थे । दाजु ध्रुवहरी र म बस्थ्यौं । दाजुले कहीँ पनि लेखहरू पठाउनु पर्यो भने हुलाकबाट पठाउनु हुन्थ्यो । मलाई पनि हुलाकबाट पठाउने बानी बस्यो । त्यही सिलसिलामा मैले ‘रत्नश्री’ भन्ने त्यतिखेरको एकदमै राम्रो पत्रिकामा कविता पठाएँ । डिल्लिबजारमा ‘रत्नश्री’को कार्यालय थियो । मदनदेब भट्टराई त्यसको सम्पादक हुनुहुन्थ्यो । म घट्टेकुलोमा बस्थेँ । पाँच सात मिनेटको दूरी थियो हामी बीच । फेरिपनि मैले हुलाकबाटै कविता पठाएँ । त्यो २०३२ सालको चैत अंकमा ‘दुई कविता’ शिर्षकमा छापियो । त्यसमा ‘इच्छा’ र ‘सम्झे पुग्छ’ भन्ने दुईटा शिर्षकमा कविता छन् र मूल शिर्षक चाहिँ ‘दुई कविता’ भन्ने छ । छापिएको त्यो मेरो पहिलो रचना हो ।

तपाई नयाँ र पुराना पुस्ताको मनमा बस्न उत्तिकै सफल हुनुहुन्छ भनिन्छ । यो सौभाग्य एक सर्जकलाई कसरी प्राप्त हुन्छ ?
को सफल छ भनेर भन्न बडा गाह्रो छ । मेरो कुरा गर्नुहुन्छ भने, मलाई अनुज पुस्ताले कसरी हेर्नुहुन्छ थाहा छैन । अग्रजहरूले भने अत्यन्तै मायाँ गर्नुहुन्थ्यो । मलाई मायाँ गर्ने थुप्रै अग्रजहरू हुनुहुन्छ ।

म चाहिँ के दृष्टिकोण राख्छु भने हामी सुन्यबाट शुरू भएका होइनौं । कसै न कसैले गोरेटो खनिदिएको थियो । त्यो बाटो हामी हिड्न थाल्यौं । त्यो बाटोलाई हामीले अलिकति फराकिलो बनायौं होला । एक पाइला भए पनि कुनै न कुनै अर्थमा अलिकति अगाडी बढायौं होला । त्यसैले अग्रजप्रति उहाँहरूको योगदानप्रति सधै हामी कृतज्ञ छौं र रहनु पनि पर्छ ।

अनुज पुस्ताप्रति मेरो दृष्टिकोण के हो भने तपाइ हामी हिडेको बाटो भोलि पनि हिडिरहियो भने मूल बाटोको रूपमा परिणत हुन्छ । हिड्न छोडियो भने केही वर्ष पछि त्यहाँ बाटो थियो जस्तो लाग्दैन । घाँस पात पतिङगरले पुरिएको हुन्छ त्यो ठाउँ । म के चाहन्न भने मैले हिँडेको बाटो यसरी पुरियोस् । म त के चाहन्छु भने– ‘मैले हिडेको बाटो फराकिलो होस् । अनुज पुस्ताले कालोपत्रे गरोस् र त्यो राजमार्गको रूपमा परिणत होस् । म हिँडेको बाटो राजमार्ग भयो भन्दा मलाई असाध्यै आनन्द लाग्ने छ । अनुज पुस्ताबाट म त्यो आनन्द प्राप्तिको अपेक्षा गर्छु । अनुज पुस्ताले जति फराकिलो पार्नुहुन्छ नी त्यो बाटो, हामी त्यति नै बढी पुरस्कृत हुँदै गएका हुन्छौं । त्यसैले अनुज पुस्तासँग मेरो त्यो मोह छ । जब जब अनुज पुस्ताका भाइ–बहिनीले राम्रो कविता लेख्नुहुन्छ, गर्वले मेरो छाति ढक्क फुल्छ ।

राम्रो कविता पढ्न वा सुन्न पाएको छु र सम्पर्क हुने ठाउँ भेटें भने, मेरो स्वभाव छ म टेलिफोन गर्छु । तपाइले लेखेको कविता राम्रो छ भन्छु । त्यो बानी मेरो छ । फेरी पनि नदीको कुरा ल्याउँ । नदी भनेको निरन्तरता हो । निरन्तरता भएन भने कवि हुनुको मेरो अस्तित्व पनि भोलि संकटमा पर्छ ।

‘भरियाको भूगोल’ र ‘तस्वीरको कथा’ले निकै चर्चा पाए, यिनको जन्मबारेको भित्रि कथा के हो ?
‘भरियाको भूगोल’ मैले लेख्दा वास्तवमै भारी बोकेर जीवनयापन गर्नेको पक्षमा लेखेको हुँ यद्यपि हामी सबै भरिया हौं । जिम्मेवारीका आ–आफ्ना भारी बोकेका छौं । राजनीतिज्ञ, विद्यार्थी, समाजसेवी, कर्मचारी चाहे पत्रकार होस् सबैका आ–आफ्ना जिम्मेवारी छन् ।

‘भरियाको भूगोल’को जन्म कथा कसरी भयो भन्नुहुन्छ भने मेरो पूख्यौंली घर ओखलढुंगा हो । म जन्मे काठमाडौंमा । हुर्कें सर्लाहीमा । तर पूख्यौली ओखलढुंगा जान मन थियो । हजुरबुवा हुनुहुन्थ्यो । हजुरआमा हुनुहुन्थ्यो । जाने इच्छा गर्दै गर्दा किशोर अवस्थामा एक चोटी भारी बोकेर जाने दाइहरूका साथमा मैले पनि हिड्ने मौका पाएँ । भारी बोक्नेहरूको एउटा प्रवृति मलाई गजब लाग्यो । सामल सकिए फरक पर्दैन । पानी तिर्खा बरू एक घण्टा पछिनै मेटुँला तर कुरा सकिनु हुँदैन भन्ने हुँदो रहेछ उहाँहरूलाई । यसलाई यसरी पनि बुझौं तपाई हामीले गर्दा कुरा तल्लो गाउँको मास्टर बा बितेछन् नी भन्छौं । सिद्धियो । भरियाले कुरा गर्दा ए मास्टर बा बितेछन् । बिचरा दुई वर्षदेखि दमको रोगी थिए । उमेरमा यसो गर्थे । छोरालाई यसरी पढाए । छोरी यसरी हुर्काए । उनको घरमा सप्ताह लगाउँदा मैले यस्तो गरेको थिएँ भन्ने ढंगबाट जीवनका केस्रा केस्रा केलायर कुरा गर्ने जुन पन मैले उहाँहरुमा देखेँ त्यसले मलाई साह्रै छोएको थियो ।

लाग्यो, भरियाहरू दुई थरी लठ्ठी टेक्छन् । देख्ने लौरो त लौरो भै हाल्यो नदेखिने लठ्ठि भनेको चाहिँ कुरा हो । कुराले थकान बिर्साउँछ । भोक बिर्साउँछ । भिरको कहाँली बिर्साउछ । भरियाको त्यो पन मेरो मस्तिष्कमा त्यो बेलादेखि बसेको थियो र त्यसैलाई केन्द्रविन्दुमा राखेर मैले ‘भरियाको भुगोल’को स्वरूप सोचें ।

पछि गएर लाग्यो भरियासँग गाँसिएको एउटा अर्को नियती पनि छ । बिकासले सधै उसलाई बिस्थापित गर्छ । त्यो परिश्रमी मान्छे, त्यो इमान्दार मान्छे । त्यो सधै बिस्थापित हुँदै गइरहेको छ । यो मानवीय समवेदनाको पक्षलाई पनि मैले ‘भरियाको भूगोल’ मा कोट्याउने कोशिस गरेको छु ।

‘तस्वीरको कथा’को जन्म रमाइलो छ । फेसवुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा सबैले अकाउन्ट खोल्थे । जागीरमा रहुन्जेल मैले खोलिन । समय बर्बाद गर्छ भन्ने नै लागि रह्यो ।

एक जना कवि एवम् मलाई मन पर्ने गीतकार भाइ हुनुहुन्छ भावेश भुमरी । म जागीरबाट सेवा निवृत्त भएपछि पटक–पटक उहाँले मलाई फेसबुक खोलौं । सदुपयोग गर्यो भने यो राम्रो छ । तपाइले पिर मान्नु पर्दैन । खोलौं भन्नुभयो । यति जिद्धि गर्नुभयो की मैले फेसबुक एकाउन्ट खोलेँ ।

फेसबुक एकाउन्ट त खोलेँ । अब फोटो राख्ने मन पनि भयो । हेर्छु कसैले आज किनेको गहना राखेका छन् । कसैले आज ल्याएको कुकुर भनेका छन् । कसैले यो डिजाइन भनेका छन् । कसैले दशै, तिहार, साथी भेटेँ भनेको छ । कसैले आज मेरो भान्सा यस्सो बनाएँ भनेको छ । आज मेरो घरमा यो पाक्यो भनेको छ त्यो पनि राखेको छ । तर, मलाई त्यसरी फोटो राख्ने रहर भएन । फोटो त राख्ने तर के त राख्ने भन्दा एउटा उपाय मेरो दिमाकमा आयो । म सानै देखि फोटोको सौखिन मान्छे ।

सर्लाही हरिवनको हाम्रो गाउँमा एकजना फोटोग्राफर उपलब्ध थिए चन्द्रमान श्रेष्ठ । स्कुलको कार्यक्रममा उनले फोटो खिचिदिन्थे । चार क्लासमा खिचेको फोटो मसँग अहिले पनि सुरक्षीत छ । त्यो फोटोमा मैले पछि आफैलाई नचिनौला कि भनेर आफ्नो फोटोमा रातोले घेरेर राखेको रहेछु । पछि अलिकति पैसा भएपछि क्यामेरा किनेर फोटो खिच्न थालें । साथी भाइहरू तँ धेरै नै फोटो खिच्छस् भन्थे । अनि म भन्थे जब म बुढो हुन्छु मेरो वरीपरि कोही हुँदैनन् । छोरा छोरी अन्तै हुन्छन् । म एक्लो हुन्छु । त्यतिखेर यो एल्बम् हेरेर म समय बिताउन पाउँछु । त्यो कुरा झल्यास्स दिमागमा आयो अनि मैले पुराना फोटाहरू हेरेँ ।

म फोटो खिच्दा सकेसम्म फोटो खिचेको मिति राख्थें । नभएकोमा पछाडीपट्टि लेख्थें । व्यवस्थित रहन मनपर्छ मलाई । फोटाहरू एल्वममा व्यवस्थित गरेर राख्थें । करीब तीन चार दर्जन होलान् त्यस्ता एलबमहरु मसंग अहिलेपनि । मैले त्यहीँबाट साहित्य र संगीतसँग सम्बन्धित मान्छे भएका तस्वीरहरू छनोट गर्न थालेँ र फेसबुकमा फोटो राख्दा यो फोटो यति सालमा यहाँ यो सन्दर्भमा खिचेको हुँ भनेर छोटोमा उल्लेख गर्थे । फोटो राख्न थालेको छ आठ महिना भएको थिएन । नजानिदो ढंगले मैले राखेको फोटो मनपराउने मान्छेको जमात बढ्दै गएछ । म लगातार राख्दै गएँ । दुइ हप्ता, महिना दिनमा एउटा फोटो राख्थेँ । भेट हुँदाखेरी भाइबहिनीहरूले दाई अर्को फोटो कहिले राख्ने भनेर सोध्न थाल्नु भयो । धेरै मान्छेहरूले हैन दाइ किताव लेख्नु पर्यो । संस्मरण लेख्नु पर्यो भन्न थाल्नुभयो ।

फोटोकै कुरा गर्दा पनि मैले यी व्यक्तिगत कुरा हुन् भन्दै गएँ । उहाँहरूले दाइलाई व्यक्तिगत लाग्न सक्छ तर त्यो व्यक्तिगत होइन दाइ । तपाइले भोगेको समय हो । तपाइले गरेको संगत हो । तपाइले खपेको दुःख हो । त्यो बेलाको साहित्यिक परिस्थिति हामीले पनि त थाहा पाउनु पर्छ । तपाइबाट थाहा पाउने यो अधिकार त हामीलाई छ नी दाइ भन्दै मेरा प्रिय कवि भाइ भुपिन समेतले एकदमै जोड गरेपछि मैले हुन्छ लेख्छु भनेँ । लेख्छु त भनेँ, तर मन लागेको होइन । पछिपछि अरुले पनि जोड दिँदै जानु भयो । त्यही सिलशिलामा लेख्नुको औचित्य सोच्न थालेँ । अन्ततः मलाई के लाग्यो भने मैले अघि नै भने जस्तै इतिहास एउटा हुन्छ । समानान्तर इतिहास थुप्रै हुन्छन् । एउटा समानान्तर इतिहास त तस्वीर पनि हो नि । हामी बायोग्राफि किन पढ्छौं कसैका ? यो समानान्तर इतिहास हो । यहीँ कोणबाट तस्वीरको कथा लेख्न थालें ।

बुक आर्ट नेपालसँग कुरा भयो । रंगीन फोटा सहितको मल्टिकलरमा छाप्न महंगो देखियो । एकदमै महंगो हुने भयो भनेर ब्ल्याक एण्ड ह्वाइटमा छाप्ने कुरा प्रकाशकबाट आयो । त्यहाँ केही तस्विरहरू छन् जुन ब्ल्याक एण्ड ह्वाइटमा छाप्यो भने केही देखिँदै देखिदैन । सस्मरणको हिसावले त जे छ त्यो देखिनु पर्यो । सस्मरण लेख्ने उमेर खाइसकेको मान्छे होइन म । तर हो के भने फोटोमा तिथिमिति टिपेर राख्ने मेरो स्वभावले गर्दा मलाई अलिकती सजिलो भएकोले लेख्न थालेको चाँहि हुँ ।

‘तस्वीरको कथा’मा एक सय तीस वटा तस्विरहरू समावेश छन् । २०१५ साल देखिका तस्विरहरू त्यसमा छन् । ती मध्ये एउटा महाकवि देवकोटा तास्कन्द सम्मेलनमा भाग लिएपछि उपचारको क्रममा मस्को जानु भएको बेला खिचिएको तस्वीर पनि छ । त्यो तस्वीर मैले फेसबुकमा दुई तीन वर्ष अगाडी राखेको रहेछु अहिले दुई तीन दिनको बीचमा धेरैले सेयर गरिसक्नु भएको छ त्यो तस्विर । त्यसको आफ्नै महत्व छ । त्यो फोटोमा आधारित संस्मरण पनि हो ।

यसलाई अर्को ढंगबाट कसरी विकास गर्न खोजेका पनि हुँ भने मान्छेहरूलाई लामो कुरा पढ्ने जाँगर छैन अचेल । सानो फुर्सदमा यसो पढि हालौ न त भन्दा हुने खालको किताव होस् भन्ने पनि मेरो सोच रह्यो ।

तपाइले तस्विरको कथा जताबाट पल्टाउनु भयो भने पनि अगाडी पढेको छैन भनेर पिर मान्नुपर्दैन । जहाँ पल्टाउनु हुन्छ त्यहीबाट नयाँ सुरूवात हुन्छ । त्यो पनि होस् र इन्फर्मेसन पनि होस् । एकदमै गम्भिर भएर बिचार गर्नुपर्ने कुराहरू कम हुन् त्यो सोच राखेर किताव तयार गरेँ । राम्रो प्रतिक्रिया पाएको छु । तपाइले अघि भनेजस्तै फोटोमा आधारित संस्मरण यस अगाडी सम्भवतः छापिएका रहेनछन् भन्नुपर्छ हाम्रो सन्दर्भमा । त्यसले पनि थप खुसी लागेको छ ।

किन यहाँका रचना कालजयी लाग्छन्, कहिलेकाँहि आफुले आफैलाई मूल्याङ्कन गर्नुभएको छ ?
यो पाठक अधिकार क्षेत्रभित्रको प्रश्न हो । फेरि पनि मैले भन्नै पर्दा हामी जहाँ सुकै पुगौं जतिसुकै कुरा गरौं । मानवीय समवेदना भन्दा बाहिर जान सक्तैनौं । त्यो मानवीय समवेदनालाई इमान्दारीपूर्वक कलात्मक ढङ्गबाट कुनै रचनाले टिप्यो भने त्यसको आयु लामो हुन्छ जस्तो मलाई लाग्दछ ।

कालजयी कसरी हुन्छन् म त्यसको परिभाषा गरिरहेको छैन । म मेरा कुरा मात्रै भनिरहेको छु । मैले यसरी लेख्छु ।

अर्को कुरा म सकेसम्म सरल भाषामा लेख्न खोज्छु । तर सरलताको सिमा के ? त्यो त छैन । तपाई हामी बीचमा कुरा गर्यौं भने रामायण सरल छ । रामायण नबुझ्ने दिदी बहिनी वा दाजुभाइ पनि त हुनुहुन्छ यो देशमा । सरलताको त्यो हदसम्म पुग्ने हिम्मत भने ममा छैन । म कतिसम्म हिम्मत गर्छु भने मेरो समयमा बाँचेको सामान्य लेखपढ गर्न जान्ने मान्छेले मेरो कविता बुझ्ने हुनुपर्छ । पञ्चायत कालमा प्रतिकात्मक/बिम्वात्मक कविताहरू लेखियो । किनभने त्यतिबेला अभिव्यक्ति स्वतन्त्रताको अवस्था थिएन र हामीसँग त्यही मात्र विकल्प थियो । त्यसले गर्दा चाहेर पनि चाहेजति सरल लेख्न सकिएन ।

अर्को कुरा तपाई पहिले भात खानुहुन्न । पहिले भात आँखाले खान्छ । सिनित्त छ । सफा छ । सजायर राखेको छ भने आँखा लाग्छ । तपाइको आँखाले खाएपछि हात अगाडी सर्छ । अनि मुछेर दाल, भात, तरकारी खानुहुन्छ । तर कसैले मुछेर दियो भने खानु हुन्न । घिन लाग्छ । त्यस्तै हो लेखन । तपाइको प्रस्तुती कत्तिको प्रभावकारी छ ? तपाइले प्रस्तुतीमा प्रभावकारीता दिन सक्नुभयो भने त्यो पाठकका लागि रूचीकर हुन्छ । त्यो प्रभावकारी प्रस्तुतीलाई अरू कसैले मौलिकता भन्लान् । बिषयबस्तु त नयाँ कसैले लेखेकै छैन । प्रस्तुतीको ढंग मात्रै फरक हो नी । प्रस्तुतीको ढंग सफा भएर आयो भने सधै भरी पढौं पढौं लाग्छ ।

भन्दाखेरी परिवेस र परिस्थितिले जन्माउने रचना नै बढी कालजयी हुन्छ हैन त ?
त्यो परिस्थिति र परिवेशलाई मानवीय सम्वेदनासँग जोड्नु पर्छ । मानवीय भावनासँग जोड्नुपर्छ । मैले के लेखेँ भनेर सोच्दा मलाई के लाग्छ भने मैले जीवनभर मान्छेलाई उदिन्ने कोसिस गरेँ । चिमोठ्ने कोसिस गरेँ । निफन्ने कोसिस गरेँ । तर मान्छेभन्दा टाढा कहिले पनि गइन । त्यसैले संसारमा जतिपनि कुराहरू छन् तीनलाई मान्छेसँग अलग गरेर हेर्नुभयो भने ईश्वर ईश्वर रहँदैन । फूल फूल रहँदैन । पानी पानी रहँदैन । घाम घाम रहँदैन । मान्छेसँग जोड्नुहोस् । मान्छेसँग नजोडिएर आएको भए ताजमहलको अर्थ हुने थिएन ।

तपाइलाई भूपी पछिकै लोकप्रिय कविका रूपमा पनि भन्ने गरिएको छ, भूपीसँग मिल्दा तपाइका अरू आनीवानी पनि छन् कि ?
मेरो स्थान कहाँ छ त्यो आफ्नो ठाउँमा छ । यो अरुले मुल्याँकन गर्ने विषय हो । मैले भन्ने कुरा हैन । म लेखिरहेको छु त्यत्ति मात्रै भन्छु । समग्र साहित्यको कुरा नगरेर कविता विधाको मात्रै कुरा गर्ने हो भने मेरो दृष्टिमा भूपी शेरचन सर्वाधिक लोकप्रिय कवि हुन् ।

अग्रजहरूमा मेरा प्रिय कविहरू मध्येका पनि हुन् भूपी शेरचन । भूपी दाइसँग मेरो मिल्दो आनीबानी त भूपी दाइलाई धेरै सोधिन । संगत गर्दा के चाहिँ हो भने एउटा बानी सम्झेँ । भूपी दाइले कहिले पनि आफ्ना अनुजहरूलाई ‘तँ’ को भाषामा कुरा गर्नु भएन । म पनि सम्वन्धको प्रगाढताले मागेको बाहेक अरु अवस्थामा कसैलाई पनि ‘तँ’ भन्न सक्तिन ।

जागिर खाँदा मलाई कार्यालय सहयोगी वा अन्य सहयोगी साथीहरूले नमस्ते गर्दै गर्दा कहिले नमस्ते फर्काउँथें । कहिले हात मिलाउँथें । मैले यसो गर्दा कतिले टिका टिप्पणी गरेको सुन्थे पनि, हाम्रो सचिव त पदको मर्यादा नै राख्दैन । कार्यालय सहयोगीसँग हात मिलायर हिड्छ । मेरो दृष्टिकोणमा म अहिले पनि स्पष्ट छु हरेक मान्छे आफ्नो घरमा ‘राजा’ वा ‘रानी’ हो । ‘राजा’ वा ‘रानी’ शब्दलाई राजतन्त्रसँग लगेर जोड्न जरूरी छैन । त्यो प्रेमसँग जोडिन्छ । मेरो राजा भनेर हामी भन्छौं नि अहिले पनि, तर राजतन्त्र त छैन यो मुलुकमा । राजा भन्न त छोडेनौं त हामीले । त्यसैले मैले काम लगाउने कार्यालय सहयोगी पनि उसको आमाको लागि राजा हो । उसको पति वा पत्नीको लागि राजा वा रानी हो भने, मानवीय मूल्यलाई ध्यानमा राख्दा उ र ममा के फरक छ त ? कसैसँग केही पनि फरक छैन । पेसा भनेको आफ्नो योग्यता क्षमताले कसैले एक किसिमको पेसा गरेको होला कसैले अर्को किसिमको पेसा गरेको होला । त्यसैले मैले एकदमै सामान्य ढंगले भन्नुपर्दा भूपी दाइसँग मेरो अलि–अलि मिल्ने बानी एउटा यो हो ।

भूपी दाई साह्रै ठट्यौलो स्वभावको मान्छे । तुकबन्दीमा माहिर मानिनुहुन्थ्यो । मोहन हिमांशु थापा र भूपी शेरचनलाई उहाँहरूको समयमा साह्रै तुकबन्दी गर्नु हुन्थ्यो रे । मोहन दाइसँग मेरो त्यत्रो बिधि संगत भएन । भूपी दाइसँग संगत भयो । बडो तुकबन्दी गर्नुपर्ने । ठट्यौली गर्नुपर्ने । कहिले काही त्यस्तो ठट्टा म पनि गर्छु । कविता त हामी दुवै जना लेख्छौ । त्यो बानी त झण्डै भन्न बिर्सेको ! यो पनि त उहाँसंग मिल्ने मेरो बानी नै हो नि, कि कसो ?

Tags :
प्रतिक्रिया दिनुहोस