कथा खोजीरहेको मेरो मष्तिस्कले एकाएक बादी बस्ती याद गर्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कथा खोजीरहेको मेरो मष्तिस्कले एकाएक बादी बस्ती याद गर्यो


१ पुस २०७४, शनिबार


पछिल्लो समय उपन्यास लेखनमा युवाहरुको आकर्षण बढ्दो छ । समाजका बिबिध पाटाहरुलाई उपन्यासका माध्यमबाट देश दुनियाँसम्म पुर्याउने अभिलासा बोकेको हुन्छ लेखकले । सुदूरको पिछडिएको समाज ‘बादी’ को आवाज बोकेर आएका छन् टीकापुरका विवेक विसालु । शुक्रबार मात्रै बिमोचन भएको उनको उपन्यास ऐलानीबारे प्रशासन डटकमका बरिष्ट सम्बाददाता यज्ञराज जोशीले गरेको कुराकानी

ऐलानी बजारमा ल्याउनु भएको छ, ऐलानीको जन्म कसरी भयो ?
म जहिल्यै दबिएको स्वर, लुकेको दृश्य उजागर गर्न चाहिरहन्थेँ । धेरै समय त विषय खोज्दैमा बित्यो । अनि दिमागमा क्लिक भयो मैले सुदूर गाउँको एकदमै पिछडिएको समाजको आवाज बन्ने कोशिस गर्नुपर्छ । फलस्वरुप ऐलानीको जन्म भयो ।

पाठकले किन पढ्ने ऐलानी ? कस्तो कथा छ ऐलानी भित्र ?
समाजको संवेदनशील कथा छ यसमा । कसरी बादी समुदायका महिलाहरू शरीर बेचेर जिविकोपार्जन गर्छन्, त्यसको भूत र वर्तमान अवस्था केलाइएको छ । प्रेम माथिको दृष्टिकोण, सामाजिक मूल्य र मान्यता एवम् जीवनदर्शन औल्याउने कोशिस गरेको छु । यति मात्र होइन, समाजको चित्र कोर्ने र मनोविज्ञान दर्शाउने प्रयास गरेको छु । समग्रमा यो एक समाजको कुरूप चित्र हो । जसलाई राज्य व्यवस्थाले पनि छाम्न जरुरी छ । र, हरेक समाजप्रति उत्तरदायी मान्छेले बुझ्न जरुरी छ ।

बादी समुदायकै परिवेसमा उपन्यास लेख्नुपर्छ भन्ने सोच कसरी आयो ?
काठमाडौंमा खुबै बरालियो, ठमेल घुमियो, डिस्को धाइयो । साहित्यगिरी आफ्नो हिसाबले चल्दै थियो । लेख्ने मेसोमा लाखौँ शब्दहरू शहिद बनाईसकेको थिएँ । अर्कोतर्फ साहित्यमा पहिचानको आवाज बहुतै जोरले बजिरहेको थियो । त्यो स्वर अझैँ पनि कायमै छ । कथा खोजीरहेको मेरो मष्तिस्कले एकाएक बादी बस्ती याद गर्यो । लाग्यो, यो जस्तो पहिचान गुमाएको समाज अरू छैन । जो आफ्नै आवाज उठाउन सक्दैनन् । मैले उनीहरूको स्वर बन्ने दृढता लिएँ ।

ऐलानी लेख्दाको कुनै रोचक अनुभव छ ?
ऐलानी एक दुखदायी अनुभूतिले भरिएको उपन्यास हो । यो उपन्यास लेखिरहँदाका क्षण उपन्यास भन्दा कम दुखदायी भएन । रोचक यो अर्थमा हुन सक्छ, एक कृति जन्मियो । तर, पूरै यात्रा सकसपूर्ण रह्यो । मैले पात्रहरूको संगतमा एक्लो अनुभूत त गर्नु परेन । तर पात्रहरू दुःखी भएका कारणले सुखको अनुभूति पनि खासै भएन ।

केहि मेरा ब्यक्तिगत आचरणका कारण रोचक प्रसंग जन्मिएका छन् । ती कुरा अहिले भन्नु युक्त नहोला ।

ऐलानीको शुक्रबार मात्रै विमोचन भएको छ, कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
प्रतिक्रिया विमोचन हुनु भन्दा अगाडिदेखि राम्रो छ । अहिले त्यसले अझ बढी गति समातेको छ । यो गति बढ्दै जाला भन्नेमा विश्वास पनि लिएको छु । यससँगै चुनौती र जिम्मेवारी थपिएको महशुस गरेको छु ।

तपाईको गजल स्रग्रह ‘एक पाउला आकाशमा’को दोस्रो संस्करण पनि बजारमा आइसकेको छ, उक्त गजलले गजलकारको रुपमा राम्रै पहिचान बनायो, उपन्यासले लोकप्रियता पाउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हरेक मान्छेसँग केही धड्किरहेको हुन्छ भने सायदै त्यो विश्वास हो । यसले जीउने उर्जा थपिरहन्छ । यसैगरी साहित्यको बाटोमा अलि बढी जिउने उर्जा यो उपन्यासले थपेको जरूर छ । म मेरोतर्फ विश्वस्त थिईन भने सायद यो पुस्तक आउने थिएन ।

गजल र कविता हुँदै उपन्यास लेखनीमा आउनु भएको छ, गजल, कविता लेख्न सजिलो कि उपन्यास ?
मलाई लाग्छ, राम्रो सृजना कोर्न बहुतै गाह्रो छ । चाहे त्यो उपन्यास, गजल, मुक्तक वा कविता नै सही । मलाई मन पर्ने धेरै गजलकार, कवि र उपन्यासकार छन् । यद्यपी उपन्यास लामो विधा भएकाले बढी साधना आवश्यक हुनु स्वाभाविक हो ।

बढी आत्मसन्तुष्टि के लेख्दा प्राप्त हुँदो रहेछ ?
मेरो सन्दर्भमा कुनै सुन्दर रचना सृजित हुँदा आत्मसन्तुष्टि मिल्छ । लेखक स्वयम् पहिलो पाठक हो । लेखकभित्रको पाठक अधिक सन्तुष्टि हुँदा लेखक सन्तुष्ट हुने हो । विधाहरू त केबल प्रस्फुटन हुने बाटाहरू हुन् । उही गुदिलाई जस्तोसुकै संरचनामा ढाल्न सकिन्छ ।

अबको भावी योजना के छ ?
आजसम्म त लेखन नै मेरो भावी योजनाको रूपमा अडिक छ । अरूथोक केही गरेको पनि छैन । यसैलाई निरन्तरता दिने सोच राखेको छु । हेरौं समय मेरो पक्षमा हुन्छ कि हुँदैन ?

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
समाजको यथार्थ र कुरुपता बोध गर्नकालागि पनि ऐलानी पढ्न म आग्रह गर्दछु । पढेर रचनात्मक सुझाव दिन पनि सबैमा अनुरोध गर्दछु । साथै ऐलानीलाई जन्म दिन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जतिले साथ दिनुभयो उहाँहरुप्रति ऋणि छु ।

Tags :
प्रतिक्रिया दिनुहोस