देशको परिस्थितिले अभियानमा ढिलाइ भएको हो « प्रशासन
Logo २१ मंसिर २०७८, मंगलबार
   

देशको परिस्थितिले अभियानमा ढिलाइ भएको हो


२ मंसिर २०७४, शनिबार


सुदूरपश्चिमको कला, संस्कृति र साहित्यको प्रचारप्रसार गर्न सुदूरपश्चिम साहित्य समाजले २०७१ सालदेखि ‘देश दर्शन’ अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत नेपाल तथा भारतका दार्जिलिङ, आसाम र सिक्किममा गई साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गर्ने आयोजकको लक्ष्य छ । तर, अझै अभियानले पूर्णता पाउन सकेको छैन । अभियानको पछिल्लो कार्यक्रम लामो समयपछि हालै गरिएको छ । अभियानको प्रभावकारिता, यसमा भएको ढिलाइलगायत विषयमा रही अध्यक्ष रामलाल जोशीसँग प्रशासन डट कमका बरिष्ठ संवाददाता यज्ञराज जोशीले गरेको कुराकानी ।

देश दर्शन अभियानको पछिल्लो शृंखला लामो समयपछि आयोजना गरियो, यसले अभियान ओझेलमा परेजस्तो देखिएन र ?
अभियान ओझेलमा परेको होइन, देशमा सिर्जना भएका विभिन्न परिस्थितिले अभियानमा ढिलाइ भएको हो । हामीले यो अभियान सुरू गरेदेखि नै देशमा विभिन्न ठुल्ठूला घटना घटिरहे । यसले गर्दा हाम्रो अभियान पटक-पटक प्रभावित हुन पुग्यो । जस्तो २०७२ मा भूकम्पले कार्यक्रमलाई प्रभावित पार्यो । देश भूकम्पले शोकमा डुबेको समयमा हामीले अभियानअगाडि बढाउनुको कुनै सार्थकता थिएन । त्यसपछि देशले नाकाबन्दी झेल्नुपर्यो । त्यसले गर्दा अभियान प्रभावित भयो । त्यसपछि चुनावमा देश होमियो । चुनावको समयमा यो अभियान लगेर जाँदा प्रभावकारी हुने कुरै भएन, त्यसले गर्दा रोकियो । हामीले यो अभियान नेपाली भाषी रहेका दार्जिलिङ, आसाम, सिक्किमसम्म लैजाने योजना बनाएका छौं । केही समय अगाडिदेखि नेपाली भाषी रहेको दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन चल्यो । त्यस्तो कठिन अवस्थामा अभियान त्यो ठाउँमा लग्न सक्ने कुरै भएन । हामी विभिन्न कारणले पटक-पटक अभियानको मिति सार्नुपर्यो ।

त्यसोभए के अब यो अभियानले तीव्रता पाउँछ त ?
अवश्य नै तीव्रता पाउँछ । आगामी वैशाखमा अभियान पूरा गर्ने तयारी गरिरहेका छौं । हामीले अभियानको तेह्रौं शृंखला पार गरिसकेका छौं । हामीले देशका विभिन्न भू-भाग र भारतको सिंगाइसम्म कार्यक्रम गरिसकेका छौं । भारतको सिंगाइमा नेपालीको बसोबास छ । अन्तिम डोटेली राजाले त्यहाँको खैरीपुर राज्यमा आक्रमण गरी लामो समयसम्म राज्य चलाएर नेपालीको बसोवास गराएको हुँदा अहिले पनि त्यहाँ नेपालीको बाक्लो बसोबास छ । केही समयभित्रै नालापानी किल्लामा कार्यक्रम गर्ने योजना बनाएका छौं । नेपालका विभिन्न भू–भाग हुँदै दार्जलिङ, आसाम र सिक्किम पुग्ने लक्ष्य छ ।

अभियानको आवश्यकता किन महसुस गर्नुभयो ?
यो एउटा सांस्कृतिक र साहित्यिक अभियान हो । काली कर्णालीको कला, संस्कृति, संगीत यसै क्षेत्रमा सीमित रह्यो । यसको प्रचारप्रसार गर्ने उद्देश्य र देशका विभिन्न क्षेत्रमा रहेका साहित्य तथा संस्कृतिकर्मीबीचमा सांस्कृतिक आदानप्रदान गरी शान्ति र सद्भाव जोड्ने लक्ष्य हो । पछिल्लो समय विभिन्न राजनीतिक घटनाक्रमले देशमा खलबलिएको सामाजिक सहिष्णुता साहित्यका माध्यमबाट कायम गराउन टेवा पुगोस भन्ने उद्देश्य पनि हो । यस्तै सुदूरको संस्कृति र पर्यटनको प्रचारप्रसार गरी सुदूरपश्चिममा सबैको ध्यानाकृष्ट गराउने लक्ष्य पनि हो । सुदूरको कला, संस्कृति पूर्वतिर पनि प्रचारप्रसार होस् र अनुकरणीय होस् भन्ने पनि यसको उद्देश्य हो । यहीँ उद्देश्य पूर्ति गर्न यो कार्यक्रमको आवश्यकता महसुस गरिएको हो ।

यसका लागि आर्थिक स्रोत पनि आवश्यकता पर्ला, कसरी व्यवस्था गरिरहनुभएको छ ?
अभियान सफलतापूर्वक सम्पन्न गर्न एकपटक १५ दिने देउसी–भैलो कार्यक्रम चलायौं । त्यसैगरी लोकगायक यज्ञराज उपाध्यायको एकल सांगीतिक साझ गर्यौं । यी कार्यक्रमबाट केही रकम संकलन भएको छ । यसका साथै केही उद्योगी, व्यापारी र सांस्कृतिक संघसंस्थाबाट कार्यक्रमको प्रायोजनका लागि अनुरोध गरेका छौं । यही सहयोगबाट कार्यक्रम सम्पन्न गर्ने लक्ष्य छ ।

सुदूरको साहित्य राज्यको मूलधारमा आउन सकिरहेको छैन, किन ?
पहिलो कुरा, यस क्षेत्रका स्रष्टामा वर्तमान समयको लेखनमा प्रतिस्पर्धा हुन सकेन । लेखनले नै मूलधारमा आउने हो । त्यस्ता कृति आउन सक्नुपर्यो जो प्रतिस्पर्धामा अरूलाई उछिनेर अगाडि आउन सकुन् । यस क्षेत्रबाट बलियो रूपमा कृतिहरू प्रतिस्पर्धामा आउन सकिरहेका छैनन् । अर्को कुरा, यहाँका स्रष्टाको राष्ट्रिय पहुँचको कुरा पनि आउँछ । अवसर, चर्चा परिचर्चा, कृति प्रकाशन गरेर त्यसको प्रचारप्रसार गर्न नसक्नु पनि कमजोरी हो । कमसल कागज प्रयोग, कृतिमा रचनाको परिस्कार नगर्ने, यी विभिन्न कारणले स्रष्टामाथि उठ्न नसकिरहेका हुन् जस्तो लाग्छ । राजधानीको साहित्य सर्कल, मिडिया, समालोचक यी सबैले बाहिरका श्रेष्ठलाई त्यति महत्व नदिने कारणले पनि बाहिरका स्रष्ठा ओझेलमा परेका देखिन्छन् ।

तेस्रो पटक सुदूरपश्चिमाञ्चल साहित्य समाजको नेतृत्व लिइरहनुभएको छ, साहित्यको विकासमा के गर्ने योजना बनाउनुभएको छ ?
नयाँ स्रष्टालाई मञ्च दिने उनीहरूका कृति प्रकाशन गर्ने, कार्यक्रममार्फत नयाँ स्रष्टाको खोजी गर्ने, पुराना स्रष्टाको सम्मान गर्ने कविका जन्मजयन्ति मनाउने कवि गोष्ठी तथा साहित्यिक कार्यक्रम गर्ने जस्ता कार्यक्रम निरन्तर चलिरहेको छ । यसबाहेक यहाँको साहित्य माथि उठाउन सात पुरस्कार स्थापना भएका छन् । पछिल्लो समयमा गतिला कृति प्रतिस्पर्धामा आउन भनेर एक लाखको कृतिगत पुरस्कार स्थापना गरिएको छ । यो पुरस्कार प्रत्येक वर्ष एउटा उत्कृष्ट कृतिलाई प्रदान गरिने छ । उक्त पुरस्कारका लागि समाजसेवी बद्रिनाथ भन्डारीको सहयोगमा ११ लाखको अक्षय कोष स्थापना गरिएको छ । देशका विभिन्न भागका स्रष्टासँग भेटघाट र साहित्यिक कार्यक्रम आदानप्रदानका लागि देशदर्शन अभियान सुरूवात गरिएको छ । यसरी साहित्य साधनामा लागिरहेका पुराना स्रष्टाको सम्मान र नयाँ स्रष्टालाई हौसला प्रदान गर्न साहित्य समाजले निरन्तर कार्यक्रम गरिरहेको छ ।

मदन पुरस्कार पाइसकेपछि प्रायः स्रस्टा काठमाडौं नै केन्द्रित हुन्छन्, तर तपाईँ त धनगढीमै बस्नुभयो नि ?
मैले यो पुरस्कार राजधानीमा बसेर पाएको होइन । यस क्षेत्रमा साधना गरेर पाएको हुँ । राजधानीभन्दा बाहिर बसेर लेख्ने स्रष्टाले पनि मदन पुरस्कार जित्न सक्छन् र राष्ट्रिय मूल धारमा आउन सक्छन् भन्ने यो एक उदाहरण हो ।
यहाँको साहित्यिक विकासका लागि र नयाँ प्रतिभालाई प्रोत्साहन र अभिप्रेरणा जगाउन पनि केही समय यही बसेर साहित्य साधना र गतिविधि गर्ने लक्ष्य छ ।

तपाईंको अर्काे कृति पाठकले कहिले पढ्न पाउँलान् ?
एक वर्षभित्रै पाठकले नयाँ उपन्यास पढ्न पाउँछन् । यो उपन्यास थारू जनजीवनमा आधारित हुनेछ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
आगामी वैशाखमा देश दर्शन अभियान आगामी वैशाखमा सम्पन्न गर्ने लक्ष्यसहित तयारीमा लागेका छौं । केही स्रष्टाहरू देशका विभिन्न भागमा गएर कार्यक्रम गरे पनि यसले धेरै ठूलो महत्व राख्छ । पश्चिम नेपालका संस्कृति, प्रकृति र साहित्यमा यसले एउटा जागरण पैदा गर्नेछ । बहुभाषिक, बहुसास्कृतिक मुलुकका विभिन्न भागका संस्कृतिलाई एउटा जागरण र उत्साह पैदा गर्नेछ । सुदूरपश्चिमबाट साहित्यिक र सांस्कृतिक जागरणको लहर प्रदान गर्ने भएकाले यो एतिहासिक पनि हुने छ । सुदूरपश्चिमको महत्व र गौरव बढाउने भएकाले यसलाई सफल पार्न सहयोगका लागि सबैमा आह्वान गर्छु ।

Tags :
प्रतिक्रिया दिनुहोस