कुशल सिडिओ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुशल सिडिओ


५ आश्विन २०७४, बिहिबार


जताततै चुनावको चहलपहल थियो । सबैमा २० वर्षपछि आफूले चाहेको प्रतिनिधि छान्न पाउने उत्साह थियो । बाटो अनि चोकमा चुनाव प्रचारप्रसारमा उर्लिएको मानव लस्कर थियो । बिहानैदेखि भिड हुने सरकारी कार्यालयमा बिरलै सेवाग्राही आउँछन् । कर्मचारी पनि फुर्सदमा जस्तै देखिन्छन् । त्यस्तै छ, मलंगवास्थित जिल्ला प्रशासन कार्यालय, सर्लाहीको अवस्था पनि । तर, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई पानी पिउनसम्म फुर्सद छैन । उनी सुरक्षा व्यवस्थापन, सेवाग्राहीको पृष्ठपोषण र आइपर्ने आकस्मिक चुनौतीको व्यवस्थापन गर्नमै व्यस्त छन् । काम गर्ने शैली र सेवाग्राहीप्रति गर्ने व्यवहार निकै सह्रानीय छ । उहाँको व्यवहारबाट म तीन वर्षअघि नै प्रभावित भएको थिएँ ।

सहज अनि सरल
जिल्लाको प्रमुख व्यक्ति, साथमा हतियार सहितको सुरक्षा गार्ड । उनीसँग सामान्य व्यक्ति गुनासो राख्ने त के, कुरा गर्नसम्म हिच्किचाउँछन् । तर, मातहतका अरू कर्मचारीसँग आफ्ना कुरा राख्न धक मान्ने सेवाग्राही पनि सजिलै आफ्ना कुरा उनीसँग राख्ने गर्छन् । व्यस्त भएपछि आफै फोन गरेर समस्या बुझ्छन्, अनि उपयुक्त सल्लाह सुझाव दिएर समस्या समाधान गर्छन् ।

उनले गरेको व्यवहारले एक जना बुढी आमाले निकै प्रशंसा गरेकी थिइन् । उनी सुनाउँछन्, ‘मानिसहरू ठूलो अपेक्षा गरेर सरकारी कार्यालयमा आउँछन् । तपार्इं कुन काम लिएर आउनुभयो ? तपाईंको काम भयो कि भएन भनेर सोधे मात्र पनि सेवाग्राहीले सेवानुभूति गर्छन् । हामीले आफ्नो जिम्मेवारी मात्र पूरा गर्यौ भने उनीहरू खुसी भएर घर फर्कन्छन् । उनीहरूले अनुभूत गर्ने खुसीले हामीलाई अझै थप जिम्मेवार भएर सेवामा समर्पित हुने प्रेरणा दिइरहन्छ ।

सृजनात्मक
आम नागरिकको बुझाइमा सरकारी कर्मचारी सिर्जनात्मक हुनु त परको कुरा, सरकारले तय गरिदिएको जिम्मेवारी पनि पूरा गर्दैनन् भन्ने छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई हेर्ने हो भने यो भनाइ गलत सावित हुन्छ । उनी हरबखत सेवाग्राहीलाई कसरी सरल र सहज सेवाप्रवाह गर्न सकिन्छ भनेर चिन्तन गरिरहन्छन् अनि व्यवहारिक रूपमा लागू गर्न आफै खटिएर लागिपर्छन् । उनले पाँचथरबाट सुरु गरेको ‘ध्वनि वडापत्र’ र हरेक एक जना शिक्षित व्यक्तिले एक जना निरक्षर व्यक्तिलाई साक्षर बनाउने अभियान ‘टिच वन इच वन’ होस् वा सोलुखुम्बुमा कार्यरत रहँदा खोजेको कागजात तुरून्तै भेटिने गरी व्यवस्थापनलाई चुस्त दुरूस्त बनाउन सुरु गरेको ‘टच टु फाइन्ड’, इलामका युवाले थालनी गरेको ‘क्लोथ बैंक’को अवधारणालाई आत्मसाथ गरी आर्थिक रूपमा कमजोर जनतालाई नागरिकतासँगै लुगाफाटो बाँड्ने अभ्यास होस् वा हालै इन्ट्याग्रिटी फेलोबाट सुरु गरेको तेस्रो पक्षीय सामुदायिक लेखा परीक्षण । उनी सरकारी सेवालाई जनताले अनुभूति गर्ने गरी कसरी सहज र सरल तरिकाले सेवाप्रवाह गर्न सकिन्छ भनेर केही न केही सोचिरहेका हुन्छन् ।

मृदुभाषी
एक जना सेवाग्राही आफूले सेवा पाउने झिनो आशा बोकेर सरकारी कार्यालयमा आउँछ अनि प्रभावित भएर भन्छ, ‘सरको सुगन्ध मलाई सापट दिनुस्’ छेवैमा बसेर यो सब नियाल्दै सुन्दै गर्दा मलाई अचम्म लागेन, किनभने उनले सेवाग्राहीप्रति दर्शाउने मिजासिलो स्वभावसँग म अभ्यस्त थिएँ । तैपनि सोधेको थिएँ, सुशासनमा व्यक्तिगत व्यवहारको के भूमिका रहन्छ ? मेरो प्रश्न नसकिँदै उनले आफ्नो अनुभव सुनाए, ‘मै सिडिओ भएर कतिपय ठाउँमा पुग्छु, फर्केर आउँदा मैले नै दस्तखत गर्नुपर्ने केही कागजात रहेछन् भने सबैभन्दा पहिले माफी माग्छु । म यो काममा गएको थिएँ, तपाईलाई धेरै बेर कुराएँ, माफ गर्नुस् है । अब तपाईंहरूको काम हुन्छ भन्यो भने, दुई घण्टादेखि आफूले सेवा पाउने प्रतीक्षामा बसेको मान्छे पनि बडो खुसी हुँदोरहेछ ।”

सादा जीवन
उनीसँग पर्याप्त पैतृक सम्पत्ति छ । उनका बाबु रौतहट जुडीबेलाका जमिन्दार थिए । उनको जीवनशैली सामान्य छ । अतिरिक्त लोभ लालच भन्ने नै छैन । उनी सुनाउँछन्, चुनाव त सामान्य कर्मचारीलाई पनि पैसा कमाउने मौसम रहेछ । अप्रत्यक्ष रूपमा तपाई हामीलाई सहयोग गर्नुस्, हामी तपाईंलाई सहयोग गर्छौं भन्ने कति आउँछन कति तर, खराब मनसाय लियर आउने निराश भएर फर्कनुको विकल्प रहँदैन । उनी विशुद्ध सेवाभन्दा बाहेकको कुरामा न त विश्वास गर्छन् न त समर्थन नै ।

दूरगामी
थिति बसायो भने भोलि त्यही ठाउँमा आउने जोसुकै व्यक्तिलाई पहिलो कुरा, जिम्मेवारी बोध हुन्छ । दोस्रो, उसले त्यही कामलाई नियमितता दिए मात्र पनि सेवाग्राहीले सरल अनि सहज सुविधा पाउँछन् । उनी मुस्ताङमा कार्यरत रहँदा नेपाल र चीनबीच ३० किलोमिटर भित्रका वासिन्दालाई आवतजावत गर्न दिने भन्ने सुविधा भएर पनि कार्यान्वयन भएको थिएन । सन् २००६ जनवरी १ मा द्विपक्षीय वार्ताका माध्यमबाट सीमावर्ति मुस्ताङीलाई आवत–जावत अनि व्यापार व्यवसाय गर्न सहज वातावरण निर्माण गरी उनीहरूकै भाषामा भन्ने हो भने प्राकृतिक जेलबाट मुक्त गराउने अहम भूमिका निर्वाह गर्नुभएको थियो ।

आत्मविश्वासी
सबैले यातायात व्यवस्थानलाई चुनौतीका रूपमा हेरिरहेको अवस्थामा, उनी भन्छन्, यातायात कार्यालयको डिजी हुन पायो भने ३ महिनामा परिवर्तन गरेर देखाइदिन्छु । चुनौतीलाई अवसरका रूपमा लिने कणेलले जस्तोसुकै परिस्थितिमा पनि फकाएर काम लिने प्रवृतिलाई निरुत्साहित गर्दै नागरिक अधिकार संरक्षण गर्ने कुरामा कहिले पनि सम्झौता गर्नुहुँदैन ।

उनी भन्छन्, ‘हामीले गर्ने व्यवहार नै सुशासनको बलियो आधार हो ।’ जिम्मेवार पदमा बसेको व्यक्तिले अलिकता मात्र सकारात्मक कामको सुरुवात गर्यो भने, त्यसको सकारात्मक नतिजा देखिन्छ भनेर सर्लाहीलाई उदाहरणका रूपमा हेर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस