मेरो अवकाश, मेरो देश, मेरो कृतज्ञता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेरो अवकाश, मेरो देश, मेरो कृतज्ञता


१७ भाद्र २०७४, शनिबार


साढे तीन दशकपछि,
अनवरत अविरल
प्रवाहमा विराम लाग्दा
अनायास अर्धचेतनामा
पछाडि फर्केर यात्रा गर्दै,
बागेश्वरीको आँगनमा दर्शनार्थी बन्दा
‘नोकरी खतम होइगवा साहेव ? अच्छा राम राम’
बिदाइका हात उठे
नयाँ मुलुक छोडी

पूर्व दिशामा जाँदा–जाँदै
भालुवांग, देवीस्थानमा रमाएँ
बाङ्गेसाल, बाग्दुला र मच्छिमा सुस्ताएँ,
स्वर्गद्वारी, अम्बिकेश्वरी, खैरावाङ्गमा
‘कल्याण होस्’ आशीर्वाद पाएँ
यात्रा गर्दै हापुर बिजौरीको चौरमा पुग्दा,
परिचित बूढो आम्र वृक्ष रोयो,
‘बाबु तिमी पूर्व गयौ, राप्तीमा भयानक भयो
हेर्दा हेर्दै नेपाली आमाका सन्तानको कत्लेआम भयो’
यति सुनी शोकाकुल हुँदै घोराही पुग्दा विक्षिप्त भएँ
होलेरी पुग्दा तिघ्रा गले खारा पुग्दा पछारिएँ
भेरीको किनारै किनार जाँदा बिलौना गरिन्
‘अनाहक ममा रक्तपात भयो,
एक्लै रुन्छु बज्रपात भयो,
आऊ हातमुख धोएर जाऊ,
दुई थोपा आँशु बगाएर जाऊ
अब यस्तो नहोस् सन्देश सुनाऊ’
यायाबर सुर्खेत पुगेँ, हृदयमा रसाएँ,
नेवारे शिविरको बीरेन्द्रमा रोएँ
‘मै सोझो अनिष्ट गरे, मैलाई बली चढाए
के अनाचार गरेँ खै क्न्टक झैं पन्छाए
माथि आऊ सबै भन्छु’ परेली भिजाएँ
उकाली लाग्दा गुराँसे भेटें गाइबान्ना भेटाएँ
दैलेख मेरो बागबानीमा तिर्खा मेटाएँ
पन्चकोशी, शीरस्थान, ज्वालामा गाएँ
‘सबैको मंगल होस्स्’ आशीर्वाद मन पराएँ
यात्री मुक्तिक्षेत्र पुग्दा हिमाल हासें,
धौलागिरी, नीलगिरी रमणीय मुस्काएं
पवित्र मुक्तिनाथमा आल्हादित भएँ,
सनातन र तथागतको संगममा रमाएँ
प्रारब्ध बलियो येही देशमा जन्में,
अध्यात्मको आधारभूमि दिव्य शीर उठाएँ
‘स्थितप्रज्ञ भव’ नारायणलाई सुनेँ,
‘आर्यसत्य नबिर्सू तथागतलाई चिनेँ
कागबेनी, जोमसोम, मार्फा खादा ओढायो,
धवल हिमशिखरले शीतल पवन पठायो
अलि पर टुकुचेमा प्रमदा थाकलनी लजायो,
‘फेरी पनि आउनुस है दाइ’ लावण्य सजायो
झझल्कोमै सिंहदरवार पुग्दा भावुक भएँ,
अब मेरो बेला भयो बिदा देउ यशगान गरेँ

‘जाँदा जाँदै भग्न प्रांगणमा माथा टेकेर जाऊ
मेरो आँगनमा फूल फुल्दैन आँशु लिएर जाऊ
लुटिएको सुन्दरता मेरो फर्काएर जाऊ
सक्तैनौ यदि फर्काउन बरु भत्काएर जाऊ,
नया अर्को जन्म लिन्छु सन्देश पुर्याएर जाऊ
बिदेशीको पैसा चाहिन्न आफ्नै धनले बनाऊ,
परित्यक्त मेरो एउटा फोटो खिचेर जाऊ’
अलि पर शिक्षा देखें मायाको हात हल्लाएँ
अझै पर भौतिक देखें भाबुक नजर लगाएँ
‘त्यतैबाट सरक्क जाऊ, यता नआऊ,
यता तिर बिर्सिसके फेरी नआऊ
तिम्रो हस्ताक्षरको मसी सुक्यो इतिहास नसुनाऊ’
झनै पर दक्षिण गेटमा द्वारपाल मुस्काए
‘अन्तिम सलाम छ हजुर’ दुख मनाए
‘यसैगरी सबै जान्छन समय सकिन्छ
छोडेर जाने त कीर्ति मात्र हो ढीलो बुझिन्छ’
थोरै दिएँ धेरै लिएँ कृतज्ञ भएर आएँ
गुनासो छैन नेपाल सरकार साधुवाद दिएर आएँ
पहिचानको नीलो कोट किलामा सिउरेर आएँ
अब रहेन अभिमान आफ्नै औकातमा आएँ
अब रहिन पराधीन स्वतन्त्र संसारमा आएँ
अर्को जन्म लिएँ आमाको बिशाल काखमा आएँ

करीब तीन दशक लामो जागिर जीबनका क्रममा देखे, भोगेका अनुभवहरुलाई कविता मार्फत अभिव्यक्त गरेका भागवत खनालले केही दिन अघि मात्रै नेपाल सरकारको सह सचिवबाट अवकास लिएका छन् ।

२०७४ भदौ ४ गते

Tags :
प्रतिक्रिया दिनुहोस