स्वयम् काम घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वयम् काम घोषणा


७ श्रावण २०७४, शनिबार


अनौठा खालका कर्मचारी उनी । तोरीझैं पेलिने गुण थिएन तर चेपुवाझैं पेल्न सक्ने सीप भने गतिलै थियो उनको । हाटा, अर्थात् हाजिर बजाएर टाप कस्ने, र ढेमिसे अर्थात् ढेवा मिले मात्रै सेवा दिने उनको मूल मन्त्रजस्तै थियो ।

खप्परमा लेखेपछि कसको के लाग्छ ? उनी बढुवा भए र कार्यालय प्रमुखको रुपमा खटाइए थुप्रै कर्मचारी भएको प्रादेशिक अड्डामा । संयोग पनि कस्तो, धेरैजसो कर्मचारीको गुण हाकिमसंग ठ्याक्कै मिल्नेखालको थियो हाटा र ढेमिसेका सम्बन्धमा ।

‘उनी आजित थिए, एघार बजेसम्म उनको कोठामा हाजिरी बजाउने र चाचा (चाकडी–चाप्लुसी) गर्नेको भीड हुन्थ्यो’ भने बाह्र बजेपछि टेबुलकुर्सीले स्वतन्त्रता दिवस मनाउने गर्थे । यसैबीच सोच–बिचार गरेर कर्मचारी नियन्त्रणको नयाँ तरिका निकाले उनले । बिहान आउने बित्तिकै कर्मचारीहरूले सो दिनभरीमा गर्नुपर्ने कामको स्वयं घोषणा गर्नुपर्ने र बेलुका कार्यालय सकिनुअघि गरिएको कामको फेहरिस्त बुझाउनु पर्ने भयो अबदेखि ।

‘ए हर्के कोही देख्दिन त टेबुलमा, कहाँ गए हँ ?’ एकदिन कार्यालय कोठाहरूमा छड्के गर्न निस्किएका हाकिम सापले कुर्सीमा कोही नदेखेपछि जंगिंदै परिचरलाई सोधे ।

‘हजुरले नै काजमा पठाउनु भएको हैन र ?’

उनी चकित भए । आदेश पत्रहरू हेरे, आफ्नै सही छ सबैमा । हतास हुँदै हतारहतार ड्राइभर बोलाए र कर्मचारी खोजी गर्न छड्केमा निस्के ।

‘ए गोपाल, कसरी यस्तो भयो हँ ?’ गाडी चलाउँदै गरेको ड्राइभरलाई सोधे उनले ।

गाडी स्लो गरेर दाहिने हातले स्टेरिङ थेग्दै देब्रे हातले कपाल कन्याउँदै घोसे मुण्टो लाएर ड्राइभरले भन्यो–खै के भनुँ हजुर, हिजो आधा रातमा माइलादाइको सेकुवा कर्नरमा हजुरले भनेको ………..
‘मैले के भनेकोे ?’

‘जस्जस्को जेजेछ ल्याओ, म अरूजस्तो हाकिम हैन भनेको सुनेको थिएँ हजुर, बाहिरबाट त ।’

Tags :
प्रतिक्रिया दिनुहोस