गएको हप्तादिनदेखि म काइँला बा को साथी भएको छु, अथवा भनौं उहाँ मेरो साथी हुनुभएको छ । मेरै कोठामा छ उहाँको झोला र सुत्ने बन्दोबस्त ।
केटाकेटीमा “लाहुर” जानुभएको काइँला बा कहाँ हुनुहुन्छ वा हुनुहुन्न भन्ने बारेमा खुटखबरै थिएन । बाईस बर्षपछि अकस्मात उहाँ टुप्लुक्क गाउँमा झुल्किनु भएछ । हाम्रो परिवारै यता शहरमा बसाइँ सरेको थाहा पाएपछि फोन गर्नु भयो र आउनु भयो । बृद्ध बा–आमा भेट्ने चाहना त पूरा भएन उहाँको, तर हामीलाई भने काइँलाबासंग भेट हुँदा बहुत खुसी लागेको छ ।
केही दिनदेखि म हैरान थिएँ । नगरपालिकाको एउटा सामान्य काम गर्न बाले अह्राउनु भएको, त्यही पनि फत्ते गर्न सकेको थिइन । घरि यो ले, घरि त्यो ले, फलानो छैन, तिलानो छैन भन्दै आलटाल गरेर हैरान ।
आजभने काइँला बा पनि जानुभयो मसंग । सम्बन्धित फाँटमा गएँ । उही ताल दोहोरियो, आलटाल लर्याङ्लुरुङ् ।
“ए केटा एता आइज त !” काइँलाबाले बोलाएको सुने र म ढोका बाहिर निस्कें । उहाँ मलाई नियालिरहनुभएको रहेछ ।
“अरे यार ! तिमेरू हराकच्चा छौ । यस्तो तमिजले कहाँहुन्छ ?” भन्दै मलाई खुसुक्क कानमा तमिज सिकाउनु भयो र “यो देऊ” भनेर चिट्ठी दिनुभो ।
मैले उहाँले सिकाउनु भएजस्तै गरें । उसैगरी बोलें, गुट्मुट्याएर दिनुभएको पत्र बुझाएँ, उसैगरी कुरें र छाप लागेको पत्र बुझिलिएँ । म मक्ख परें ।
बाहिर आएर बाइक घुइँक्याएपछि मैले कृतज्ञताकासाथ काइँलाबालाई सोधें– “तपाइँले त्यो फाँटवालालाई कसरी चिन्नुभयो अंकल ?”
“अरे यार, थोडै तेरो काका अमेरिका बसेर आएको छ, बाईस बर्ष पट्नाको अनुभव हो बौवा ! घर पुगेर हिसाब गरौंला ।”