कर्मचारीलाई पेशाप्रति होइन दलप्रति निष्ठावान होउ भन्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीलाई पेशाप्रति होइन दलप्रति निष्ठावान होउ भन्यो


२० बैशाख २०७४, बुधबार


भ्रष्टाचार नियन्त्रण र सुशासनको दृष्टिकोणबाट हेर्ने हो भने नेपालको अवस्था खस्किदो छ । राजनीतिक भ्रष्टाचार र सार्वजनिक सेवामा हुने घुसखोरीका कारण दिनानुदिन बढ्दो गतिमा रहेको भ्रष्टाचारले संस्थागत रुप लिन थालेको छ जुन अत्यन्तै डरलाग्दो अवस्था हो । नीति, नियम बनाउने देखि कार्यान्वयन गर्नेहरुसम्म भ्रष्टाचारमा यसरी लिप्त छन् कि अब सहजै उनिहरुलाई मुक्त गर्न सकिने अवस्था देखिदैन । पछिल्लो समय जनतासंग प्रत्यक्ष सरोकार राख्ने अर्थात डे टु डे जनतासंग ठोक्किने कर्मचारीहरु बढी बदनामित छन् । नहुन् पो कसरी नयाँ पुस्ताका युवा कर्मचारीहरुमा जति धेरै आशा थियो उनिहरु नै आलटाल, ढिलासुस्ती, मोलमोलाईमा पुराना भन्दा अगाडि भै दिए पछि सोचनिय विषय बनेको छ । यसो भनिरहँदा अन्य क्षेत्र दुधले नुहाएका छन् भन्न मिल्दैन, कर्मचारीलाई भ्रष्ट बनाउनुमा समाजका सबै वर्ग, तह, तप्काका मानिसहरुको हात छ ।

चरम राजनीति र अर्थमा डुब्दै गरेको कर्मचारीतन्त्रबाट कसरी देशको विकास हुनसक्छ भन्ने गाइगुइ चलिरहँदा, के सबै कर्मचारी भ्रष्ट नै भइ सकेछन् त ? पैशा नलिइकन वरको फाइल पर नसार्ने कर्मचारी मात्रै छन् त ब्यूरोक्रेसिमा ? किन यति सारो बदनामित बन्यो कर्मचारीतन्त्र ?, यसका लागि जिम्मेवार निकाय को हुन् ? र यसको निराकरण कसरी हुन्छ ? लगाएत यी र यस्तै सवालहरुको खोजी गर्ने क्रममा भ्रष्टाचार विरुद्धका अभियन्ता भनिएर समेत चिनिएका नेपाल सरकारका एक जना उपसचिव डा. भीष्मकुमार भूसालसंग प्रशासन डट कमका लागि सिद्धराज उपाध्यायले लामो कुराकानी गर्नुभएको छ, प्रस्तुत त सम्बादको सम्पादित अंश:

 

भ्रष्टाचार बढ्नुमा स्वयं व्यक्ति, परिवार, समाज र राज्य कसको दोष कति प्रतिशत ठान्नुहुन्छ ?

पहिलो –समाजः समान तहको जागिर गर्ने व्यक्तिहरु एउटै समाजमा छन् । एउटाले जसरी पनि कमायो, ठूलो घर बनायो र गाडी चढ्यो अनि अर्कोले केही गर्न सकेन भने हामीले त्यो नकमाउनेलाई हुतिहारा भन्छौं । सानैदेखि परिवारमा नैतिक शिक्षा, आचरण तथा मूल्यमान्यताका कुराहरु सिकाईरहेका छैनौं । यसले भ्रष्टाचार बढाउन सहयोग पुर्याएको छ ।

दोस्रो –संस्कृतिः जिन्दगीभरी पाप गर बुढेसकालमा गएर गंगामा नुहाउ, पाप पखाल भन्ने जुन संस्कार छ त्यसले भ्रष्टाचार बढाउन मद्दत गरेको छ । जिन्दगीभर मज्जाले भ्रष्टाचार गर्यो त्यसपछि चारधाम गइरहेका थुप्रो साथीहरु देख्छु । संस्कृतिसित जोडिएका, धर्म अथवा दर्शनसँग जोडिएका कुराहरुले जुन दिएको फ्लेक्जिविलिटि छ त्यसले पनि भ्रष्टाचार गर्न सहयोग गर्छ जस्तो लाग्छ ।

तेस्रो –राज्यः राजनीतिमा अपराधिकरण (क्रिमिनलाइजेसन अफ पोलिटिक्स, पोलिटिसाइजेसन अफ क्रिमिनल) भन्छ । अहिले आएर हामीले हेर्दा खेरी भ्रष्टहरुलाई न त ओभरसाइट एजेन्सीहरुले राम्ररी नियन्त्रण गर्न सकेको छ, न राज्यको जुन संरचना छ उसले नै दुरुत्साहित गरिरहेको छ, किनकी राजनीतिमा अपराधीहरुको कमाण्ड बढ्दै जाने हो भनेदेखि भ्रष्ट, अपराधीहरुले त्यसमा पहुँच बढाउने वित्तिकै जो सोच्छ छविले काम गर्न खोजिरहेका छन् ति पछाडि धकेलिन्छन् ।

चौथो –परिवारः राज्यले पर्याप्त खान पुग्ने दिने वित्तिकै परिवारले जसरी पनि कमाएर ल्या भन्छ जस्तो मलाई लाग्दैन । काम गर्नेहरुलाई पुग्ने गरी माम खान दिनुपर्छ । परिवारलाई मैले किनपनि अन्तिममा राख्छु भने समाजले सही संस्कारमा उसलाई घुलमिल पारोस्, राज्यले उसलाई पुग्ने जति तलब देओस् । त्यसपछि पनि अझै लोभ गर्यो भनेदेखि निश्चय त्यो परिवारको पनि दोष हो भन्छु म ।

यहाँको नजरमा हालको कर्मचारी प्रशासन किन कामकाजी प्रमाणित हुन सकेन ?

कुनै पनि परिवर्तनको कुरा गर्दाखेरी त्यसको स्थायित्वको कुरा आउँछ । बहुदलीय व्यवस्थाको पुनःस्थापना पछिको कुरा गर्ने हो भने राजनीति प्रशासनमा यति बढी हावी भयो त्यसले दुईटा कुरा गर्यो । एउटा पाटो कर्मचारीलाई पेशाप्रति होइन, दलप्रति निष्ठावान होउ भन्यो, अर्को कुरा कुनै पनि रिफर्म एजेन्डालाई क्यारी अन गरेन । सुधारको स्थायित्व नहुनु र पेशाप्रति होइन राजनीतिक दलप्रति निष्ठा बन्ने अवस्थाले गर्दाखेरी धेरै कर्मचारीहरु जसरी शक्तिमा पुगिन्छ, जसरी लाभका ठाउँमा पुगिन्छ, जसलाई समातेर पदमा पुगिन्छ, त्यतापट्टि ध्यान दिएको अवस्था हो ।

सरकारी सेवामा प्रवेश गर्ने वित्तिकै शासकीय सोच जुन छ, म त फरक हो (आइएम अ डिफ्रेन्ट ह्यूमन विइङ्) भन्ने किसिमको जुन सोच पलाइरहेको हुन्छ त्यसमा सुधार गर्न सकिरहेका छैनौं । मैले जोसुकैलाई पनि भन्ने गरेको छु कि (अल यू ह्याभ टु अन्डरस्टान्ड अबाउट सिभिल सर्भिस इज यु आर एज इक्वील एज अर्डिनरी सिटिजन बट यू ह्याभ एडिसनल लायविलिटिज टु आवर द सोसाइटी) । छ महिना उसलाई त्यस्तो किसिमको तालिम नदिने हो भनेदेखि यो सोचमा परिवर्तन पनि आउँदैन ।

तपाइँले हालको तलवको तीन गुण बढाउने र त्यसपछि भ्रष्टाचार गर्नेलाई सर्वस्वसहित जन्मकैदको कुरा निकाल्नु भएको थियो, साच्चिकै त्यसो भयो भने भ्रष्टाचार घट्ला त ?

‘व्युटिफुल माइन्ड’ यहाँ बस्नै सकिरहेका छैनन् । जो सित छुट्टै किसिमको विचार छ, जोसँग इनभेसन छ अनि केही गरौन त भन्ने भावना छ, ती मान्छेहरु विद्यमान तलव संरचनाबाट यो हस्तक्षेप बातावरणमा काम गरेर उत्साही हुँदैनन् तर तलव स्केल राम्रो बनाउने वित्तिकै निश्चय पनि प्रतिस्पर्धा बढी हुन्छ । बौद्धिक हिसावले क्षमतावान् मान्छे आउन इच्छा गर्छन् । तिनीहरुले प्रविधिको प्रयोग गर्छन् ।

नवपरिवर्तन र प्रविधिको प्रयोग गर्ने वित्तिकै भ्रष्टाचारका जुन विभिन्न पर्दाहरु हुन्छन् ति बिभिन्न पर्दाहरु त्यसै च्यातिदै जान्छन् । इनोभेटिव मान्छेलाई काम गर्ने अवसर हुने र विहान वेलुका कसरी छाक टार्छु भन्ने अवस्थाको अन्त्य हुने वित्तिकै धेरै परिवर्तन ल्याउन सकिन्छ भन्ने मलाई लाग्छ ।

जुन मैले दण्डात्मक उपायहरु भने त्यसमा त सम्झौता गर्नै हुँदैन । अहिले त के छ भने अख्तियारको प्रतिवेदन हेर्नुभयो भने यहाँले पछिल्लो अकुत सम्पतिको अनुसन्धान गर्दाखेरी रिकोभरी रेट चाहिं ३८ प्रतिशत मात्रै छ रे ! एउटा केस टुङ्ग्याउनलाई औषतमा साढे नौ बर्ष लाग्छ रे ! भनेपछि यस किसिमको दण्डात्मक विधानले मान्छे जागिर खाइरहेको हुन्छ, कमाइरहेको हुन्छ, नौ वर्ष पछि के हुन्छ ? राजनीतिले कस्लाई कहाँबाट कहाँ पुर्याउछ ? हामीसँग कानून प्रसस्त छन् तर जुन प्रक्रिया चाहिं छ यसले पुग्दैन । यसभन्दा कडा किसिमको दण्ड विधान हुनुपर्छ भन्ने लाग्छ ।

भ्रष्टाचारीलाई कानुन भएन भन्ने जनगुनासाकाबीच तपाई त कानूनको पर्याप्तता छ भन्दै आउनु भएको छ, उसो भए दिन प्रतिदिन भ्रष्टाचार किन बढी रहेको त ?

मैले यहाँलाई अघि पनि भने कानून भनेको मान्नेहरुका लागि हो । नमान्नेहरुका लागि त कानून होइन । कानूनको संरचनाको कुरा गर्दाखेरी त त्यहाँ दुरुपयोग छ । सतर्कता केन्द्रदेखि लिएर यति धेरै ‘ओभरसाइट बडी’ छन् । संसदको संसदीय लेखा समितिदेखि लिएर अरु विभिन्न छन् अदालत । प्रभावकारी कानून कम भएको छ भन्छु म । हामीलाई यति धेरै कानून नै चाहिंदैन सीमित प्रभावकारी कानून भए पुग्छ ।

तपाइँ त भ्रष्टाचारविरुद्धको अभियन्ता पनि, पैसा नदिइकन कर्मचारीले वरको फाइल पर सार्दैनन् भन्ने आरोप लागिरहेका बेला भ्रष्टचार विरोधी अभियन्ता भएर हिंडिरहँदा त्यति सजिलो छ र ?

सजिलो चाहिं छैन, तर त्यसरी हिड्दा भित्र जुन किसिमका आत्मबल प्राप्त हुन्छ त्यो अतुलनिय हुँदोरहेछ । भलै असहयोग होला, विभिन्न कुराहरु होलान् तर असाध्यै बलियो आत्मवल प्राप्त हुन्छ । जुन किसिमको संरचनामा संस्कारमा हामी हुर्किराखेका छौँ त्यो संस्कारलाई चिरेर निस्किन सजिलो चाहिं छैन । आमनागरिकबाट पाउने जुन किसिमको आत्मबल छ, समर्थन छ, त्यो उर्जाले गर्दा खेरी अगाडि बढी राख्नलाई थप उत्प्रेरणा मिलिरहेको हुन्छ ।

भनिन्छ नि, या त पुगरे भ्रष्टाचार गर्दैैनन्, या त मौका नपाएर भ्रष्टाचार गरिंदैन, तपाइँको परिवेश के हो ?

अरु सबैको जस्तो मेरो पनि एउटा परिवार छ, तीन छोरा छोरी छन्, म काठमाडौंमा बस्छु तर अलिकति गाउँमा बस्छु परै उता टौदह भन्दा पर एउटा कुनामा । तपार्इँले भन्नभएको यो भनाई धेरै हदसम्म चाहिं सत्य हो । मेरो हकमा भन्दाखेरी हाम्रा आवश्यकता नै धेरै छैनन् । स्वामी रामकृष्ण परम्हंशको भनाइबाट म सानैदेखि प्रेरित रहें–(म्याक्सिमाइज् युअर सेटिस्फ्याक्सन बाई मिनिमाइजिङ् कन्जम्सन् ।)

रक्सी खाइँदैन, माछा मासु खाइँदैन, श्रीमतीलाई गहना लाउन पाए हुन्थ्यो भन्ने छैन, छोराछोरीलाई नयाँ कपडा लाउन पाए हुन्थ्यो भन्ने छैन । त्यहीं नजिकैको स्कुलमा पढाइरहेको छु । विहान वेलुका एक दुई घण्टा समय मिल्यो भनेदेखि पढाउन पनि हिंड्छु । मेरा भौतिक सुख सुविधाका त्यस्ता ठूला आवश्यकता नै छैनन् । जुन किसिमको दर्शनबाट म प्रभावित भएँ, जसबाट म निर्देशित छु, त्यसले मलाई भौतिक सुख सुविधाको आवश्यकतातिरै लगेन । त्यसले पनि होला अहिले म रामकृष्ण परमहंशप्रति म एकदमै नतमस्तक छु । परिवारमा पनि मलाई पिताजीले त्यसै किसिमको शिक्षा दिनुभयो, पुगेन भन्नुभन्दा पनि जे उपलब्ध छ त्यसैमा सन्तुष्टि मान्दै, त्यसैमा गर्व गरेर आवश्यकताहरुलाई न्यूनीकरण गरेर पुर्याएको छु मैले ।

चौतर्फी भ्रष्टाचारले गाँजेको बेला, भीष्मकुमार कसरी भ्रष्टाचार विरोधी हुन सके त ? प्रसाइँ यसको कालो छायाँबाट साच्चिकै परै छ त ?

मलाई सानैदेखि एउटा भूत के सवार भयो भने अरुभन्दा पृथक हुनुपर्छ । चाहे स्वास्थ्यमा काम गर्दा होस्, चाहे जहाँ काम गर्दाखेरी होस्, परम्परागत ट्रयाक भन्दा अलिकता फराकिलो बाटोमा हिड्नुपर्छ अथवा अरु नहिंडेको बाटोमा हिड्नु पर्छ भन्ने भावनाले नै मैले काम गरें ।

त्यसले गर्दाखेरी म जहाँ जहाँ गएँ, जुन संस्थामा गएपनि केही न केही देखिने परिवर्तन गरेर ल्याएर आएको छु । एउटा अनुभव सुनाउछु म यहाँलाई । म स्नातकोत्तर गर्न जापान गएँ । पढाइमा अब्बलै थिएँ, अन्तर्राष्ट्रिय कार्यक्रम थियो । एउटा प्रस्तुतीमा सहभागी एक जनाले तिम्रो प्रस्तुती राम्रो थियो भने र अन्तिममा चाहिं तिमी कहाँबाट आएको भनेर सोध्यो । नेपालबाट भनें । एकछिन अगाडि त्यस्तो प्रभावित भएको मान्छे एक्कासी निधार खुम्च्याउन थाल्यो । उसले के भन्यो भने म यति सालमा त्यहाँ गएको थिएँ, भ्रष्टाचारमा नेपाल निकै खत्तम रहेछ भनेर जोड्यो । यसको मतलव तपार्इं जति सक्षम हुनुहोस्, जति धनी हुनुहोस्, जति योग्यतावान हुनुहोस्, जबसम्म तपाइँको देशको इज्जत रहँदैन तवसम्म तपाइँको इज्जत रहँदैन । म खासगरी अभियानमै लागेको त त्यतिखेरदेखि हो ।

त्यो कुराले मलाई यति ‘पिन्च’ गर्यो कि म जति राम्रो हुँ त्यसले के फरक पार्छ, जबसम्म संसारको कुनै पनि कुनामा देशको छवि सुध्रिदैन, तबसम्म हाम्रो इज्जतै रहँदैन भनेर म अभियानमै लागें ।

अर्थ मन्त्रालयमा पनि बस्नुभयो त्यहाँ त टन्नै पैसा आउछ रे नि त ? आउने ठाउँमा नभएर की आउँदै नआएको, नलिनु भा’को ?

अर्थमा पैसा आउने होइन, अर्थले पैसा परिचालित गर्ने हो । जहाँसम्म मैले जिम्मेवारी निभाएको कुराहरु छ, यो निजामती सेवाको कुन चाहिं कुना होला जहाँ तपाई भ्रष्टाचार गर्न चाहानुभयो भने नपाउनुहोस् । धेरै पाउने कि थोरै पाउने भन्ने मात्रै कुरा हो । त्यसैले अर्थमा भएर मात्र नआउने भन्ने होइन । मैले एउटा हुलाकमा कुनै एउटा कर्मचारी देखिरहेको थिएँ । अहिले त सबै इमेलको चलन आयो अलि अगाडिसम्म टिकटकै चलन थियो । उसले त्यहाँ आएका डेलीभरी गर्ने चिठीबाट टिकट उप्काएर अर्कोलाई बेचिरहेको हुन्थ्यो त्यसैले यो तपाइँको मनोवृति हो । तपाई कहाँ कुन संस्थामा हुनुहुन्छ, तपाइले कति श्रोत खेलाउनु हुन्छ भन्ने भन्दा पनि तपाई कुन मनोवृतिको हुनुहुन्छ भन्ने कुराले महत्व राख्छ । त्यहाँ पैसा आउँछ आउँदैन भन्ने भन्दा पनि तपाई त्यसलाई कसरी परिचालित गर्नु हुन्छ भन्ने कुरा हो ।

तपाइले रगतमै भ्रष्टाचार छ भन्नु भएको थियो के आधारले ? के साच्चिकै नेपालीको रगतमै भ्रष्टाचार छ त ?

जन्मिदा सबै निस्कलङ्क भएर आउँछन् । त्यो जन्मिदाको रगतमा होइन, जब तपाई बातावरणमा ‘एक्सपोज’ हुनुहुन्छ, त्यो ‘एक्सपोज’ हुने वित्तिकै तपाइँको रगत ‘कन्टामिनेटेड’ हुन्छ । अघि मैले समाजको कुरा गरें, संस्कारको कुरा गरे । हामी अहिले कमाउ, अहिले पाप गरौ, पछि पखालौला भन्ने किसिमको संस्कृति जुन छ, ती कुराले हामीमा भ्रष्टाचारको बीउहरु रोपिरहेका छन् । जबसम्म हामीले भ्रष्ट मान्छेलाई प्रसंसा गरिरहेका हुन्छौ, उसलाई सामथ्र्यवान, जान्ने अर्थात् बहादुर सम्झिरहेका हुन्छौं त्यसको कारण के भन्दा किनकी हामी हाम्रो रगतमै भ्रष्टाचारप्रति स्वीकार गर्ने संस्कार छ, त्यही हो ।

भ्रष्टाचार मौलाउँदै जानुका पाँच कारण के हुन सक्छन् ?

पहिलो कुरा त के हो भन्दा अवश्यकताहरु यसरी बढिरहेका छन्, संसारका प्रत्येक वस्तु, सेवाप्रति हाम्रो पहुँच बढिरहेको छ । त्यसको जानकारी पनि हामीलाई बढिरहेको छ । जानकारी बढेपछि त्यो पनि मैले उपभोग गर्न पा हुन्थ्यो भनेर तृष्णा बढिरहेको छ । बस्तु, सेवाहरु धेरै उपलब्धहरु छन् हामीसँग स्रोत साधन सीमित छ । त्यसैले तृष्णा पहिलो नम्बरमा आउँछ ।

दोस्रो कुरा म फेरि संस्कारकै कुरामा गएँ । विश्वव्यापीकरण पछि बजारको महत्वको चर्चा आयो, मानवीय महत्व सिकाएन । हाम्रो शिक्षा प्रणालीकै कुरा गर्दाखेरी हामीले जहिले पनि कसरी उपभोग बढाउने, आयाआर्जन कसरी बढाउने कुरा सिकायौं तर मानवीय महत्व कसरी बढाउने भन्ने सिकाइएन अर्थात् बजारको महत्वबाट हामी मानवीय महत्वतिर जान सकेनौं । त्यसैले दोस्रो पाटो भन्नुपर्दा महत्व ।

तेस्रो कुरा भ्रष्टहरुलाई राजनीतिले दिने संरक्षण र राजनीतिमा तिनीहरुको घुस पैठ ।

चौथो कुरा गर्नु पर्दाखेरी कानूनी पाटो । जुन दण्ड विधानको कुरा छ । त्यो चाहिं अपर्याप्त हुने भयो ।

पाँचौ पहिलो बुँदा सितै जोडेर आउँछ । कसैलाई चाहिं आधारभुत आवश्यकता नपुग्ने अवस्था पनि छ । काठमाडौंकै कुरा गर्नु भयो एउटा फ्ल्याट लिनु भयो भनेदेखि १६/१७ हजार लिन्छ । एउटा खरिदार होस् वा ड्राइभर होस् या एउटा अधिकृत होस्, जो सुकैलाई एउटा छानो चाहिन्छ । बिहान वेलुकीको मानो चाहिन्छ । छोराछोरीलाई पनि सकेसम्म विद्यालय पढाउन पनि प्रतिस्पर्धी नै किन नबनाउने भन्ने हुन्छ । त्यसले आयस्तर नै कम हुनु एउटा कारण हो ।

यी सबै कुराका बाबजुत पनि स्वच्छ समाज निर्माणको विकल्प छैन, अब भ्रष्टाचार नियन्त्रणका पाँच उपाय बताइदिनुहोस् न ?

नम्वर एक विद्यमान तलव संरचनामा सोच्नै पर्छ । माम खान पुग्ने गरीदिउँ, सरकारी कर्मचारीले पनि डिग्नीफाइट लाइफ बिताउन सकोस् । सँगै अरु क्षेत्रमा काम गर्नेको तडक भडकका सामुन्ने आफुलाई कमजोर सावित गर्न चाहिं नपरोस् । उदाहरणका लागि विदेशमा अन्तर्राष्ट्रिय मञ्चमा जहाँसुकै जादाखेरी पनि नेपालको कर्मचारी प्रशासनका मान्छेहरु स–सानो एउटा ल्यापटप, एउटा के, एउटा के पाउँदा पनि प्रभावित हुन्छन् । अरु धनी सम्पन्न देशहरुको सरकारले उनीहरुलाई तयार गरेर पठाएको छ । त्यै भुटानकै कुरा गरौंः हाम्रो भन्दा उनीहरुको चार गुणा तलब छ । कुनै ठुलो देश होइन । कुनै ठूलो प्रतिव्यक्ति आय भएको देश पनि होइन । त्यसैले जहिले पनि लघुताभास हुन्छ । त्यसैले नम्वर एक पुग्ने जति तलव दिने ।

नम्वर दुई भ्रटाचार गर्नेलाई कठोर दण्ड विधानको व्यवस्था गर्ने ।

नम्वर तीन हाम्रो जुन शिक्षा प्रणाली छ त्यसमा परिवर्तन गर्ने । त्यो शिक्षा प्रणाली भनेको पारिवारीक शिक्षाबाट सुरु गर्ने । पारिवारीक शिक्षा दिंदाखेरी नै मुल्यमान्यताका कुराहरु सिकाउने । हाम्रो राजनीति पश्चिमा दर्शनबाट बढी निर्देशित छ । हाम्रो पूर्वीय दर्शनले जुन आचारका कुराहरु गरेको छ, जुन एउटा मान्छे भएर समाजप्रतिको जिम्मेवारीका कुरा गरिरहेको छ, मैले यहाँलाई २५ सय बर्ष अगाडि बुद्धले भनेका कुरा ल्याए । ती कुराहरु हामीले सानैदेखि सिकाउनु पर्ने हुन्छ ।

नम्वर चार कार्यगत वातावरण चाहियो । हाम्रो नेपाली व्युरोक्रेसीमा राम्रो ठाउँमा सरुवा भयो भन्छन् । राम्रोको मापदण्ड के हो भन्दाखेरी घुस खाने ठाउँ । कसैले यो भन्दैन की राम्रो भनेको ‘यु क्यान प्रोभाइड दि सर्भिसेज टु  सो मेनी पिपुल एण्ड ब्रिङ्ग दि चिअरनेश अन देअर फेस’ भनेर कहिल्यै भन्दैनौं । राम्रो ठाउँमा सरुवा भएछ भनेर सरकारी राम्रो पत्रपत्रिकादेखि लिएर राम्रो भनेको घुस खाने ठाउँ भन्ने हुन्छ । त्यसले यसको परिभाषा बदल्नु पर्छ ।

पाँचौं कुरा के छ भन्दा हस्तक्षेप हुनु भएन । व्युरोक्रेसीमा सरुवा, बढुवा हुँदाखेरी कुनै पनि पदमा अथवा कुनै जिम्मेवारीमा पुग्नका लागि पैसा खुवाउनु पर्ने जुन प्रवृत्ति छ त्यसको अन्त्य हुनुपर्छ यसको मतलब त्यसलाई पूरै पेशागत हुन दिनु पर्यो । पेशाको विकास गरौं ।

भन्ने वित्तिकै छुमन्तर त केही पनि हुँदैन यी, अभाव, तनाव र समस्याका बाबजुत पनि राम्रो कर्मचारीलाई काममा मन लगाउने र आफ्नो जिम्मेवारीबाट आनन्द लिने चार टिप्स ?

पहिलो कुरा तपाइँको कामले कति मान्छेहरुमा मुस्कान ल्याउन सक्नुहुन्छ भन्ने कुरा सोच्नुहोस् । काम सुरु गर्नुभन्दा पहिले मैले यो काम सुरु गर्छु यो काम सुरु गर्दाखेरी मैले यति जना मानिसलाई खुसी बनाउँछु भन्ने सोचेर काम गर्नुभयो भनेदेखि आफ्नो कामबाट आनन्द लिन सकिन्छ ।

दोस्रो कुरा त्यो प्राप्त गर्नका लागि पनि कसैले जस दिंदैन तपाइँलाई आएर कसैले स्यावास पनि भन्दैन भने पनि काममा लागि राख्नुपर्छ । सुपरभाइजरको व्यवहार गर्नुपर्छ ।

तेस्रो व्यूरोक्रेसी जहिले पनि ‘म्यान्डेड इन पावर’मा रमाउँछ । जुन म्यान्डेड छ, त्यो म्यान्डेड सँगसँगै तपाइँलाई अधिकार दिनुपर्छ ।

चौथो नम्वरमा तपाइँको समर्पण भाव नै हो । जिम्मेवारी बोध हो । राष्ट्रप्रतिको कर्तव्य बोध हो । त्यसलाई त एक नम्वरमा ल्याउन पर्छ भन्छु म ।

पैसा भनेपछि महादेवका त्रिनेत्र भनिन्छ नि, भगवानलाई उदाहरण मानेका कुरामा तपाई मनुष्यले त्यो भनेर हुन्छ ?

यो भगवानलाई बदनाम गर्ने विषय हो । महादेव आफैंको कुरा गर्ने हो भनेदेखि उहाँले त कुनै राम्रो पोशाक पनि लाउनु हुँदैन । बाघको छाला ओड्ने, मसानमा बस्ने, खरानी घस्ने, हाम्रो मिथक जुन छ नी यो नै गलत छ । तर पनि पैसा नै सवैथोक हो भन्ने चाहिं कुरै होइन, ‘म्याक्सिमाइजेसन अफ योर स्याटिस्फ्याक्सन विथ मिनीमाइजेसन अफ कन्जम्सन द फिलोसोफी द्याट युआर गाइडेड बाइ इज इम्पोरटेन्ट’ भन्ने कुरालाई बुझौं ।

मनै त हो कामचोर प्रवृतिका बाबजुत पनि कसरी थाम्नुहुन्छ, कहिले काहिं त मन लोभी बन्न पनि त खोज्दो हो नी ?

लोभी चाहिं बन्छ । एउटा लोभ चाहिं म मा छ । त्यो लोभ के हो भन्नुहुन्छ भन्दाखेरी धेरै मान्छेले व्यूरोक्रेसी हामीले सोचेजस्तो रद्दी चाहिं होइन है, त्यस्ता मान्छे पनि छन् भन्ने किसिमको भनुन् भन्ने लोभ चाहिं लागि हाल्छ है । त्यही लोभले निर्देशित भएको छु म ।

मन, बचन र कर्मलाई कुन डोरीले बाँध्यो भने यहाँको जस्तो लगनशीलता प्राप्त गर्न सकिएला ?

यि सबै समानान्तर तरिकाले लैजानु पर्ने विषय हुन् । जुन कुरा मनले गलत सोचिरहेको हुन्छ तपाइँको कर्मले सही गर्नै सक्नु हुन्न । अझ गीताको कुरा गर्ने हो भनेदेखि त तपाइँले के खानु हुन्छ, त्यसले तपाइँको बिचारलाई बनाउँछ । बिचार निर्देशित गर्छ । के सोच्नु हुन्छ भन्ने कुराले तपाई के बोल्नु हुन्छ भन्ने कुरा निर्देशित गर्छ । तपाई के बोल्नु हुन्छ भन्ने कुरालाई तपाई के गर्नु हुन्छ भन्ने कुराले सीमाबन्धन गरिरहेको हुन्छ । त्यसैले यी कुरा समानान्तर कुरा हुन् । यति हुँदा हुँदै पनि विचारमा चाहिं ‘प्युरिफिकेसन’ ल्याउनै पर्छ ।

 

र यो पनि,

मेरा अधिकांश कविता तथा कथाहरुको प्लट बाटोमै तयार भइसक्छन्

आँट, प्रतिवद्धता र सर्मपण छ भने सरकारी जागिरमा प्रवेश गरेपछि कहिल्यै पछुताउनु पर्दैन

हजारौं मान्छेलाई जागा बस्नु पर्छ भने तपाई सुत्नुको कुनै अर्थ छैन

 

Tags :
प्रतिक्रिया दिनुहोस