निर्वाचन तयारीबारे काँग्रेस पदाधिकारीको छलफल « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

निर्वाचन तयारीबारे काँग्रेस पदाधिकारीको छलफल


७ बैशाख २०७४, बिहिबार


काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका सम्बन्धमा नेपाली काँग्रेसका पदाधिकारी तथा वरिष्ठ केन्द्रीय सम्मिलित बैठकले छलफल गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहिवार भएको बैठकमा मुलुकभर पार्टीको निर्वाचन तयारी र अवस्थाका बारेमा छलफल भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीको निर्वाचन तयारी, निर्वाचनमा सर्वसम्मतरुपमा पार्टीको उम्मेदवार चयन गर्नुपर्ने विषयदेखि निर्वाचनमा सहभागी नहुने निर्णय गरेका मधेसकेन्द्रित दललाई कसरी सहमति ल्याउने भन्नेबारेमा समेत छलफल भएको बताइएको छ ।

काँग्रेसले निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन पार्टीका स्थानीय संरचनालाई जिम्मा दिईसकेको छ । पार्टीले निर्वाचन तयारीका लागि सबै जिल्लामा पदाधिकारी तथा केन्द्रीय सदस्य खटाउनुका साथै घोषणापत्र तयार भइसकेको र यही वैशाख १० गते सार्वजनिक गर्ने जनाएको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पार्टी नेता तथा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलगायत सहभागी थिए । बैठक भोलि शुक्रवार पुनः बस्ने सो पार्टीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस