गाउँ भनेपछि हुरुक्कै हुने मान्छे म । तर के गर्नु, एसएलसी पास गरेर सहर छिरेको, चुम्बकले समाए झैं समायो यसले । पढाइ, जागिर, घरजम……त्यतिमै पो सिमित भयो जिन्दगी त !
लोकतन्त्र र गणतन्त्र प्राप्तिसँगै देश संघीय संरचनामा गयो । गाउँ विकास समितिहरू गाउँपालिका भए । अलि ठुलाजस्ता गाउँहरू नगरपालिका भए । महानगरहरू पनि थपिए ।
“म त ssss गाउँ फर्केर गाउँपालिकाको प्रमुखमा चुनाव लडौं क्यारे ! जति नै गाउँगाउँ भनेर जपे पनि आखिर फर्किन सकिएन । अब त के छ र, “राजाको राँगो फुक्का !” जागिरबाट अवकाश प्राप्त गरेपछिको सहजता सहित कुरो राखेंं मैले श्रीमतीसँग ।
“काम कुरो एकातिर ! कुम्लो बोकी…, केके जाति भन्या जस्तो, पर्या छैन उठ्नु । म सक्दिन कसैलाई भत्याउन । सक्दिन पुङ् न पुच्छरकालाई बैठकमा हुल्न । सक्दिन म…..सक्दिन ।…. हुँदै हुँदैन ।” तातेको तेलमा पानी परेझैं पड्किइन् उनी ।
आज बिहान बिछ्यौनामै मलाई चिया दिंदै गर्दा उनले प्रश्न गरिन “अस्ति हजुरले भनिस्सिन्थ्यो नि….! उठ्ने हो त गाउँपालिकाको प्रमुखमा ?”
अचम्मित भएँ म उनका कुरा सुनेर ।
“हन, अस्ति त तिमी नै भन्दै थियौ कि…! अनि फेरि ?” मैले जान्न चाहें उनको बदलिँदो सोचका बारेमा ।
“हेर्नू न, मैले यसो बिचार गरें …” अलि प्रभावशाली तबरमा उनी मलाई आफ्नो बिचार सुनाउन लागिन् । यसै वीचमा मेरा आँखा उनले भरखरै बोकेर ल्याएको आजको पत्रिकाको हेडलाईनमा पर्याे । कभर पेजमै घनटाउके अक्षरमा छापिएको थियो–
“प्रत्येक गाउँपालिकामा केन्द्रबाट सिधै दस करोड बजेट उपलब्ध हुने ।”