नेपाल र भारत स्वतन्त्र छिमेकी मुलुक हुन् । खुल्ला सिमानाका कारण यताका नागरिक उता र उताका नागरिक यता निर्धक्क आवत गर्छन् । भाषा, संस्कृति, रहनसहन लगाएत रोटीबेटीको सम्बन्धले यी दुइ देशको सम्बन्ध अन्य मुलुकहरुको भन्दा नजिक हुनु स्वभाविकै हो । तर साँध जोडिएका छिमेकीवीच हुने साना ठूला बिबादहरुमा जहिल्यै हेप्ने भारतीय प्रवृतिले निश्चय पनि दुइ देशको सम्बन्धलाई चिस्याउने काम गर्दै आएको छ ।
विहिवार भारतीय सुरक्षाकर्मीले एक निर्दोश नेपालीमाथि गोली हानी हत्या गरेको घटना भारतीय हेपाहा प्रवृतिकै उपज हो भन्दा अत्युक्ति नहोला । अन्तराष्टिय सीमा क्षेत्रमा दुइ देशका अधिकारी वीच पूर्व सहमति अनुशार नै निर्मित कल्भर्टको विषयमा भएको विवादमा भारतीय सुरक्षाकर्मीबाट स्थानीय गोबिन्द प्रसाद गौतमलाई गोली हानि हत्या गरिएको विषयलाई लिएर यतिबेला भारतको सर्वत्र आलोचना भइ रहेको छ ।
भारतले जे गर्दा पनि चुप लागेर बस्ने सरकारी लाचारीपनको परिणाम हो भन्न संकुच मान्नु पर्ने अवस्था छैन । सिमा स्तम्भ नै गायव पार्दा होस् या नेपाली भूमिमा आएर लुटपाट, कुटपिट र मौका परे गोली ठोक्दा नै किन नहोस् भारतीयले जे गरेपनि दुम दवाउने सरकारी लाचारीपनले भारतीय सुरक्षा बललाई सानोतिनो विवादमा पनि सिधै गोली ठोक्ने आँट गरेका हुन् ।
एक देशका सुरक्षाकर्मी अनुमतिवेगर अर्को देशभित्र प्रवेश गर्नु गैरकानूनी हो । यसअघि पनि यस्ता घटना नभएका र यो नै पहिलो घटना भने होइन तर राजनीतिक नेतृत्व लाचार भएकै कारण जे गरेपनि हुन्छ भन्ने भारतीय सुरक्षाकर्मीको मनोवलले भोली अरु निहत्था नेपालीले गोली खानु नपर्ला भन्न सकिन्न । तसर्थ बेलैमा सरकारी तवरबाट यस घटनाको प्रतिवाद सहित छानविन गर्न आँट गरोस् । आन्तरिक मामलामा वाह्य हस्तक्षेप गराएर सत्ता हत्याउन गरिएको कु राजनीतिक खेल जस्तो होइन, एक देशका सुरक्षाकर्मिले अर्को देशका नागरिकलाई गोली हानी मार्ने काम । यस्ता घटनाहरुमा देश र जनताको स्वाभिमान जोडिएको हुन्छ । तसर्थ एक स्वतन्त्र र सार्वभौम राज्यले निभाउनु पर्ने भूमिकाबाट सरकार पछि हट्ने छैन भन्ने आम नेपाली जनताको विश्वासमाथि कुठाराघात नहोस् र घटनाको सत्यतथ्य छानविन गरी जनजनलाई जानकारी गराओस् ।
जनता जान्न चाहन्छन् कि दुइ देशका अधिकारी वीच पूर्व सहमति अनुशार भए/गरेको काममा एकाएक गोली हान्ने भारतीय पक्षसंग नेपाल सरकारले कसरी प्रतिवाद गर्छ र कुटनीतिक माध्यमबाट स्पष्टिकरण माग्छ, त्यो हेर्न बाँकी छ ।