हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र हुनुपर्छ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र हुनुपर्छ


प्रशासन विशेष ब्युरो

८ फाल्गुन २०७३, आइतबार


राजसंस्थासहितको लोकतन्त्र राजनीतिक कार्यदिशा रहेको कमल थापाको राजनीतिक प्रतिवेदन पास गर्दै भृकुटीमण्डपमा चलिरहेको राप्रपा एकता महाधिवेसन आइतबार देखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रियामा जाँदैछ । पदका लागि जुट्ने र फुट्ने कार्यमा लिप्त भएकै कारण पुरानै पार्टि भएर पनि राप्रपा नेपाल प्रमुख राजनीतिक दलमा पर्न सकेको छैन । टुटफुट पछि फेरी जुटेको यस महाधिवेशलाइ विशेष महत्व र चासोका साथ हेरिएको छ । धेरै पुराना र नयाँ नेताहरुबीच पदका लागि प्रतिस्पर्धा हुँदैछ । आफुलाई राष्ट्रवादी शक्ति भन्न रुचाउने राष्ट्रिय प्रजातन्त्र पार्टीले समाजको वहुलतालाई स्वीकार्छ या अस्वीकार गर्छ ? महेन्द्रीय कट्टर राष्ट्रबादमा जान्छ या वहुजातीय राष्ट्रियतालाई अंगाल्छ ? राजसंस्था, हिन्दुधर्म लगाएत महाधिवेसनमा केन्द्रित रहेर एसराज उपाध्यायले पार्टिमा लामो अनुभव सम्हालेकी केन्द्रीय सदस्य दुर्गा श्रेष्ठसंग समसामयिक विषयमा कुरा गर्नुभएको छ । प्रस्तुत त सम्बादको सम्पादित अंशः

एकता पछिको महाधिवेशनको चहल पहल कस्तो हुँदैछ ?
भव्य रुपमा भइरहेको छ । जिल्ला जिल्लाबाट साथिहरु आउनु भएको छ । जित्ने साथीहरु मात्र नभएर चुनावमा पराजय हुने साथीहरु पनि आउनु भएको छ ।

तपाई पनि चुनाव लड्दै हुन्छ, के छन् तपाइका एजेण्डाहरु ?
हो म पनि केन्द्रीय सदस्यमा महिलातर्फबाट उम्मेदवारी दिँदैछु । मेरा एजेन्डाहरु भनेको सबैभन्दा पहिला त हिन्दुराष्ट्र निर्माण गर्नु पर्छ भन्ने छ र दोस्रो संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने नै हो ।

राजतन्त्र फर्काउन सम्भव छ त ?
किन सम्भव नहुने । सबै जनताले राजालाई चाहेका छन् र यो मुलुकमा राजा नै ल्याउनु पर्छ भनेर भनिरहेका छन् । पार्टिहरुले गरेका कामहरु जनताले एकदमै चित्त बुझाइरहेका छैनन् । मुलुकमा राजा फालेपछि यहाँ त सुन फल्छकी क्याहो भनिराखेकोमा अहिलते त ढुंगा पनि खिएर गइसक्यो । अनि राजा नआइकन मुलुकको बिकास हुन सक्दैन । राजालाई त ल्याउनै पर्छ । राजा आएन भने नेपाल नै रहदैन कि भन्ने सबै बौद्धिक वर्गहरुमा मनमा लागि रहेको छ । गाउँ देखि शहरसम्म सबैतिर नेपाली जनताहरु र राष्ट्रबादीहरु अब राजा आउ देश बचाउ । हामीलाई बचाउ । नेपालीलाई बचाउ । यो राष्ट्रलाई बचाउ भनिरहेका छन् यो एकदमै सत्य कुरा हो । मैले आफुले बुझेको र सुनेको सत्य यही हो ।
राजसंस्था आउनु पर्छ । राजसंस्था राजाको लागि होइन, हामी नेपालीको लागि हो । तमाम नेपालीको लागि हो । तमाम राष्ट्रबादीको लागि हो । नेपाल बचाउनको लागि राजसंस्था नआइकन सुखै छैन, कहिले आउने भन्ने मात्रै हो । तर हामी जति सक्यो छिटो ल्याउछौ राजालाई ।

चुनाव जित्नेमा कत्तिको बिश्वस्त हुनुहुन्छ ।
म राष्ट्रिय प्रजातन्त्र पार्टि तनहुको संस्थापक सभापति पनि हुँ । २०३२ साल देखि म निरन्तर राजनीतिमा सक्रिय छु । मैले पञ्चायतकालमा राजनीति गरे । बहुदल आएपछि पार्टिमा आवद्ध भएर राष्ट्रिय प्रजातन्त्र पार्टि तनहुको संस्थापक अध्यक्ष भएर काम गरे । म निरन्तर राजनीतिमा सक्रिय भएर लागि रहेकी छु । म कुनै पनि दिन कुनै पनि बेला निस्क्रिय छैन, सक्रिय छु । देश भरीका साथीहरुले मलाई चिन्नुहुन्छ । मलाई माया गर्नुहुन्छ र आफ्नै किसिमको आत्मामा राख्नु भएको छ । मैले चुनाव लड्दाखेरी मलाई राम्रो मतले चुनाव जिताउनु भएको छ साथीहरुले । तराइका साथीहरुले मलाई त्यत्तिकै समन्वय गर्नुहुन्छ, महिला दिदि बहिनीहरुले मलाई त्यत्तिकै माया गर्नुहुन्छ ।

यो महाधिवेशनबाट पूर्वपञ्चहरुकै पञ्जामा रहेको राप्रपा नयाँ पुस्तामा हस्तान्तरण होला या उनिहरुकै वाहुल्यता रहला ?
त्यो त भोली थाहा हुन्छ तर मेरो आफ्नो धारणा के छ भने अब नयाँ पनि आउनु पर्छ पुरानो पनि आउनु पर्छ । युवालाई मात्र ल्याउदा पनि तिनीहरुमा अनुभवको कमि हुन्छ । बुढाहरुलाई ल्याएर राख्दा मात्रै पनि नयाँ नयाँ सोच र दौडधुप गर्न, खट्न सक्दैनन्, त्यसैले नयाँ र पुरानो मिलाएर नै ल्याउनु पर्छ । पार्टि भनेको एउटा सबैको साझा सम्पति हो । सबै खालका मान्छेहरुलाई यसमा मिलाएर ल्याएर आउनु पर्छ ।

महाधिवेशनबाट राजतन्त्रबारे के निर्णय हुन्छ ?
संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र कायम गराउनु पर्छ । हाम्रो एजेन्डा यही र पार्टिले निर्णय गर्छ ।

यस महाधिवेशनले राप्रपाले आफुलाई कस्तो दलका रुपमा स्थापित हुने छ महेन्द्रीय कट्टर राष्ट्रवाद या वहुजातीय राष्ट्रियता ?
वहुजातीलाई साथमा लिएर कट्टर राष्ट्रबादमा नै जानुपर्छ । राष्ट्र भनेको सबै जातजाति, सबै धर्मको हुन्छ एक जातको मात्र होइन । हामी राष्ट्रबाद, बहुजात, वहुधर्मलाई लिएर नै अगाडी जान्छौ तर हिन्दु राष्ट्र नेपालको पहिचान हो । हाम्रो पहिचान कायम गर्नको लागि हामी कटिबद्ध रहन्छौं ।

सत्तामा जान हतारिने प्रवृतिका वीच राप्रपाको अवको भविश्य कस्तो आँकलन गर्न सकिन्छ ?
राजनीति गर्ने भनेको सत्तमा जानकै लागि हो । तर हामी यति सारै सत्तामा जान हतार गर्नु हुदैन । अब हामीले नै सरकार बनाएर सरकारमा जाने हो हामी । पार्टिलाई हामीले एक नम्वरमा स्थापित गर्छौ ।

पदका लागि पार्टि नफुट्ला भन्ने आधार के ?
अहिले हामी सबै चेत्ति सकेका छौं । पार्टि फुट्दा खेरी कस्तो छिन्नभिन्न हुने रहेछ, कति कमजोर हुने रहेछौं, कति हेला हुने रहेछौं भन्ने कुरा त नेतादेखी लिएर कार्यकर्तासम्मलाई थाहा भइ सकेको छ । अब यस्तो बेलामा पनि पार्टि फुटाउन लाग्ने हो भने कार्यकर्ताको र नेताहरुको के गति हुन्छ ? अब पार्टि फुट्दैन । फुटाउनु हुन्न भन्ने मेरो आफ्नो धारणा छ ।

यति धेरै दलहरुका बिच राप्रपाको स्थान कहाँनेर हुने आँकलन गर्नुहुन्छ ?
आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टि एक नम्बरमा आउँछ तपाई हेरी राख्नुस् । यो निश्चित छ । जनताले सबै पार्टिलाई चाखिसकेका छन् । राजालाई गालि गर्ने बित्तिकै मुलुकमा के के न हुन्छ भनेर यीनिहरुले जुन परिकल्पना गरेको थियो त्यो परिकल्पना गलत सावित भएको छ । अब हिन्दुराष्ट्रको निर्माण गर्दै श्री ५ महाराजधिराज सरकारलाई स्थापित गरेर त्यहि अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टिलाइ एक नम्वरमा ल्याउछौं ।
सबै राष्ट्रबादीहरु आतुर छन्, सबै नेपालीहरु आतुर छन् । अब मुलुक चलाउन सक्ने नेताहरु अनुभवी नेताहरु, जनताको दुःख पिडा बुझ्ने नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टिमा मात्र छन् भन्न थालेका छन् सबैले । त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टि एक नम्वरमा आउँछ ।

समाजको वहुलतालाई अस्वीकार गर्न खोज्नु दुस्साहस मात्रै हैन र ? महेन्द्रीय राष्ट्रवाद बोकेका पूर्वपञ्चहरुको दवदवाका बीच लोकतान्त्रीक मुल्य र विधिका शासनका पक्षमा राप्रपा उभिन सक्छ ?
लोकतन्त्रको पक्षमा त उभिनै प¥यो नी । अहिले लोकतन्त्रको उपहास भएको छ, तपाइले बुझ्नु भएको छ यो कुरा ! प्रजातन्त्रको उपहास भएको छ, दलहरुको उपहास भएको छ । यो उपहास हुनुहुदैन, जुन हामीले प्राप्त गरेका छौं यसलाई पनि हामीले साथमै लिएर जानु पर्छ । लोकतन्त्रको उपहास गर्ने पक्षमा हामी छैनौ । लोकतन्त्रको संरक्षण गर्नको लागि पनि मुलुकमा राजाको आवश्यकता छ । लोकतन्त्र त आफु खुशी तन्त्र भयो । लोकतन्त्र जनताको लागि छैन । कुनै तल्लो निकायको लागि छैन । लोकतन्त्र त खल्तिबाट झिकेर लहै लोकतन्त्र भनेर प्रयोग गर्ने बस्तु मात्रै बनेको छ । लोकतन्त्रको उपहास गर्न पाइदैन नी ।

राजनीतिक दलहरुप्रति जनताको विश्वास गुम्दै गएको छ, के देख्नुहुन्छ राजनीतिक भविश्य ?
राजनीतिक दलहरु देखेर जनताहरु दिकदार भइसकेका छन् । आफ्नै पार्टिभित्रको अन्तरद्वन्द्व, कलह, झकडाले गर्दा जनताहरु धेरै आत्तिइ सकेका छन् । प्रजातान्त्रिक पार्टिहरु त मुलुकमा चल्नु पर्छ तर अहिले जनताले यो पार्टि त कस्तो पार्टि रहेछ भनिरहेका छन् ? मलाइ के अनुभव छ भने राजा हुनुभएको समयमा प्रजातन्त्र थियो । पाँच बिकास क्षेत्र, पचहत्तर जिल्ला यस्तो अवधारणा गरेर सबै जात धर्मका मान्छे ल्याउनु भएको थियो । डाक्टर तुलसी गिरी त क्रिष्चियन हुन् नी होइन र ? उहाँलाई पनि त राजाले आफ्नो सासनकालमा उपाध्यक्ष बनाएर राखेका हुन् । बुद्धलाई त्यत्तिकै मान्नुहुन्थ्यो ।

पाँच बिकास क्षेत्रबाट प्रतिनिधि लिने भनेर क्षेत्रका प्रतिनिधिहरुलाई राष्ट्रिय पञ्चायतमा मनोनित गरिन्थ्यो । महिलाहरुलाई त्यही रुपबाट मनोनित गरेर लैजान्थ्यो भने अहिले दलहरु भनेपछि त जुन पार्टि भित्र जुन नेताको बाहुल्यता छ त्यो कार्यकर्ताले केही नजानेको भए पनि त्यसलाई टुपिमा समातेर ल्याएर आएर आफ्नो पकेटको कार्यकर्ता बनाउने, र आफ्नो स्वास्थ पुरा भएपछि जोकर जस्तै फ्याट्ट निकालेर राखिदिने भनेपछि अहिले कहाँ प्रजातन्त्र छ ?

अहिले कहाँ सबै जात जाति धर्मलाई अंगालेर राखेको छ । अहिले त जे गर्नु प¥यो भने पनि आफु खुशी र आफ्ना कार्यकर्ताहरुलाई र कार्यकर्ताको रुपमा चिनिदै नचिनिएको मान्छेलाई पनि आफ्नो बाहुल्य छ भने त्यसलाई टुपीमा समातेर ल्याउने प्रकृतिले गर्दा उसले जनताको सेवा गर्न सक्दैन । त्यस्तो कार्यकर्ता राष्ट्रबादी हुन सक्दैन । त्यस्ता कार्यकर्ताको मात्रै जमात गर्न लागेका छन् नेताहरु, त्यो एउटा डर लाग्दो अवस्था हो । त्यो अवस्थाको अन्त्य हुनुपर्छ । स्वच्छ प्रतिस्पर्धाले आउनु पर्छ ।

आफुलाई समर्थन गर्ने एउटा जथ्था तयार गर्ने यो प्रजातन्त्र होइन नी त । त्यो भित्र पनि अलिकति सक्षम मान्छेलाई ल्याउने प्रवृति हटेको छ । राजालाई गालि गर्दा मात्रै मुलुक झललल हुन्छ भन्ने त होइन नी । राजा ल्याएर पनि त मुलुक झलल हुन सक्छ । अहिले शान्ति सुरक्षाको कुरा गर्छन् । हिजो राजाले सबैलाई बचाएर राखेको अवस्था त होनी । अहिलेको जस्तो अवस्था हुने हो भने देखि हामी कति मान्छे रहन्थ्यौ । कति मान्छे रहन्नथ्यौं होला । त्यसैले अहिले सबै मुलुक भित्रका जनताले सोच्न थालेका छन् । अहिले बुझेका छन् जनताले । ओहो हामी त गलत बाटोमा लागेका रहेछौं, हामीले गलत काम गरेका रहेछौं, यो मुलुकमा एउटा राम्रो राष्ट्रबादी शक्ति चाहिन्छ । अब यो राष्ट्रबादी पार्टि भनेको राष्ट्रिय प्रजातन्त्र नै हुन सक्छ । प्रजातन्त्रिक पनि हो यो ।

राप्रपा भित्र महिलाहरुको स्थान कहाँनिर छ ? के छ अवस्था ?
छ नै भन्नु पर्छ तर जति हुनुपर्ने हो त्यती छैन । चुनाव लड्न लागियो भने देखि हार्ने ठाउँमा महिलालाई टिकट दिने, राम्रो निर्णयक ठाउँहरुमा महिलालाई जान नदिने, त्यसपछि टाल टुल गर्ने, फकाइ फुलाई गर्ने प्रवृत्ति राप्रपामा छैन भन्न मिल्दैन । अहिले पनि निर्णय गर्ने ठाउँमा महिलाहरु छैनौ । त्यो मानेमा हामी दुखी नै छौं । तर हामीले हुनुपर्छ भनेका छौं । महिलाहरुको हित र अधिकारका लागि हामी लडि राखेका छौं । जति अधिकारको लागि लडे पनि महिलाहरुले निर्णय गर्ने ठाउँमा पुग्न सकेन भने जति अधिकार पाए पनि त्यो अधिकारलाई कार्यान्वयन गर्नलाई कठिन हुन्छ भन्ने कुरा हामीले महशुस गरेका छौं । त्यसैले हामी महिला दिदि बहिनीहरुलाई राजनीतिक क्षेत्रमा आउनु प¥यो । राजनीतिक क्षेत्रमा सक्षम महिलाहरुलाई अगाडी ल्याउनु पर्छ । महिलाहरुको हक र अधिकारको सुनिश्चितता राष्ट्रिय प्रजातन्त्र पार्टिबाट हुनुपर्छ भनेर हामी लडि राखेका छौं ।

अन्त्यमा, भन्न मन लागेको कुरा केही छ ? 
यस महाधिवेशनबाट नेतृत्व गर्न सक्ने साथीहरु छनौट हुनेछन् भन्ने मलाई विश्वास छ । म आफु पनि उम्मेद्वारी दिएको छु । अहिलेसम्म निरन्तर रुपमा पार्टिमा काम गर्दै आइरहेको छु । म राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टि दुइटा पार्टि हुँदाखेरी पनि, राष्ट्रिय प्रजातन्त्र पार्टिको पनि म संस्थापक जिल्ला अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालको पनि संस्थापक केन्द्रिय सदस्य । यो पार्टि हामीले धेरै दुःखले आर्जन गरेका थियौ र धेरै दुःखले फेरी पार्टिलाई एक बनाएका छौं । हामी सबै खुशी छौं । अब यो नफुटाउनको लागि, यो पार्टि एक ढिक्का बनाउनको लागि नेताहरुमा सहि बुद्धि र सहि सोच आओस् र कार्यकर्ताहरुले पनि नेताहरुकै पछाडी लागेर मात्रै पार्टी फुटाउनपट्टि नलागुन र पार्टीलाई मजबुद बनाएर अगाडी लानको लागि हामी सबैको सकरात्मक सोच आओस् भन्न चाहन्छु । सबै साथीहरुसँग यही तपाइहरुको अनलाइन मार्फत निवेदन गर्न चाहन्छु कि मलाई भोट हालेर बिजयी गराइदिन हुनको लागि म सम्पूर्ण प्रतिनिधि साथीहरुमा आर्दिक आवह्वान गर्न चाहन्छु ।

Tags :
प्रतिक्रिया दिनुहोस