एक पुर्वलडाकुको कथा, राइफल बोक्ने हातले कलम समाउँदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एक पुर्वलडाकुको कथा, राइफल बोक्ने हातले कलम समाउँदा


१५ माघ २०७३, शनिबार


एउटा बच्चा जसले सानै उमेरमा मातृ्वात्सल्य गुमायो । आमाको काखमा खितखिताउनु पर्ने, लडिबुडी गर्नुपर्ने कलिलो चार बर्षको केही थाहा नपाउने उमेरमा कहिले नभेट्ने गरी छोडर गइन उनकी आमा । उनलाई अहिले आफ्नी आमाको धुमिल अनुहार पनि याद छैन । घरको भित्तामा टाँसेको फोटोलाई हेरेर आमालाई सम्झने लाख कोसिस गर्छन् तर, अहँ सक्दैनन् जति कोसिस गरेपनि सम्झन । हो विवश कुमार सेजुवाल उनी जन्मे नेपालकै दुर्गम जिल्ला कालिकोटमा । कालिकोटको बिकट मानिने राम्नाकोट गाविसको पलाता गाउँमा । हाम्रो समाज त्यसमा पनि बालटुहुरो । त्यसमा पनि देशकै विकट क्षेत्रमा जन्म । सेजुवालको वाल्यकाल कम संघर्षपूर्ण रहेन । जब कुनै वालक आमाको ममताबाट बन्चित हुन पुग्छ । उसको जीवन निकै कष्टकर वित्ने गर्दछ । त्यसै कष्टकर रह्यो सेजुवाको जीवन पनि ।

पूर्व लडाकु सेजुवाल

समय एकनाश कहाँ चल्दोरहेछ र ? दुःख पर्दा मान्छेको जीवनमा दुःख माथी दुःख थपिंदै जाँदोरहेछ । पछि सेजुवालका पिताले दोस्रो विवाह गरे । फेरि उनको जीवनमा अर्को दुःख थपियो । सेजुवाल पाँच कक्षामा अध्ययन गर्थे । सोही समयमा २०५६ साल चैत १२ गते उनका पिताको पनि निधन हुन पुग्यो । उनले पिता हुनसम्म सौतेनी आमाको ममता राम्रै पाएका थिए । तर पिताको निधनपछि सौतेनी आमाबाट मुटुमै विझ्ने गरी प्रहार गरिने बचनबाण उनले खानु पर्यो । सौतेनी आमाका बचन र दाइहरुको रुखो व्यवहारले उनको मन निकै कँुडिन्थ्यो । एक्लै लुकीलुकी न्थे र मन हल्का पार्थे । आखिर बुवा आमा नभएपछि को नै थियो र ? उनको रुवाई सुन्ने, नरोउ बावु भन्दै ममताले भरिएका हातले आँशु पुछिदिने । आफै रुन्थे, आफै आफ्ना आँशु पुच्थे । उनले बुवाको निधनपछि धेरै दिन भोकै बस्नु पर्यो र धेरै रात पेट भरी खानै नपाई सुत्नुप¥यो । पेटभरी खान पाउनु भन्दा बरु मुटुमै बिझ्ने गरी बचन बाण पाउँथे । सौतेनी आमाले आफ्ना दुई छोरालाई पेटभरी भात खान दिने तर, उनलाई फाफरको रोटी दिने जसले उनको मन निकै कँुडिदो रहेछ । उनको पेटले त्यसैगरी भात खान खोज्दोरहेछ । तर, खोजेर मात्र के गर्नु दैवको नियतिले नै धोका र चोट दिए पछि ।

कक्षा पाँचमा अध्ययन गर्दै गर्दा बुवाको निधनपछि उनको पढाइ पनि विग्रियो । सानैदेखि पढेर शिक्षण गर्ने उनको धोको धोकोमै मात्र सीमित हुन पुग्यो । घरका अनेकन मानसिक पीडा सहन नसकी उनी बुवाको निधन पश्चात भारतमा गएर ३५ रुपैयाँ दैनिक पाउने गरी ज्याला मजदुरी गर्न थाले । उनले केही समय त्यहाँ काम गरे र फेरि पढ्ने अभिलासा बोकेर घर फर्किए । घरका लागि कपडा र अन्य सामानसहित ८०० सय भारु ल्याए । त्यो पैसा घरमा दाइलाई आफ्नो विद्यालयमा शुल्क तिर्न चाहिन्छ भनेर राख्न दिएका थिए । २०५९ सालमा विद्यालय जान्छु भन्दा उनले सौतेनी आमा र भाइहरुबाट घरबाटै लखेटिनु पर्यो ।

यस्ता पीडा खेप्दा खेप्दा उनी जीवनबाट आजित भइसकेका थिए । उनलाई एकान्तमा टोलाउने बानी परेको थियो । तर मनलाई सम्हाल्दै अगाडि बढिरहेका थिए । उनी सानैदेखि प्रतिभावान थिए गाउँमा भएको कबिता बाचन कार्यक्रमा कविता बाचन गरेर उनले १०० रुपैया पुरुस्कार पनि जिते जुन उनको जीवनको साहित्य क्षेत्रमा लाग्न प्रेरणा थप्ने एउटा कोशेढुंगो बनिदियो । त्यही पुरस्कारबाट पाएको पैसाले उनले जुत्ताचप्पल लाउन सुरु गरे । सोही समयमा गाउँकै उनका दाइ नाता पर्ने मानबहादुर सेजुवालले लेखेको गीत गाएर प्रथम पनि भए ।

जीवन एकनाशले कहाँ चल्दो रहेछर ? पढेर शिक्षक भइ समाजमा शिक्षाको ज्योति फैलाउने सपना बाकेको एउटा बालक किशोरावस्थासम्म पुग्दा अर्कै भइसकेको थियो । उसको मनमा खिन्नता थियो । आत्मग्लानी थियो । अनी थियो जीवनप्रतिको निराशा मात्र । त्यो समयमा माओवादी आन्दोलनको प्रभाव पनि बढ्दै गएको थियो । आफ्नो चाहनाको चाँद चुम्न नसकेपछि सेजुवाल पनि २०५८ मा माओवादीमा प्रवेश गरे । उनको सानैदेखि कला साहित्यमा रुचि थियो, त्यसैले पनि होला पार्टीले उनलाई कला साहित्यको जिम्मा दियो । उनको जीवनको कलिलो स्वार्णिम उमेर सेती महाकालीको कुना कुनासम्म पुगेर बितेको छ ।

सेजुवालको स्मरणसङ्ग्रह म रोएको त्यो दिन

बन्दुक बोकेको हातले जब पार्टीभित्र कलम बोक्न पायो । त्यसपछि उनको जीवनमा अर्को टर्निङ प्वाइन्ट आयो । अब उनका हात कहिले बन्दुक त कहिले कलम समाउन थाले । बन्दुक र कलमको वीचबाट निस्केको सृजना कहाँ कमको हुन्थ्यो र । ती शब्दरुपी बम बारुदको बर्षाले गाउँगाउँमा सयौं युवालाई माओवादी पार्टीमा आवद्ध हुन प्रेरणा गर्न थाल्यो । सोही दौरानमा उनले २०६५ सालमा अमरद्वीप कबिता संग्रह प्रकाशन गरे । २०६८ सालमा दोस्रो संस्मरण सङग्रह ‘म रोएको त्यो दिन’ बजारमा ल्याए ।

तर उनी अहिले आफु जुन सपना बोकेर माओवादी पार्टीमा प्रवेश गर्नुका साथै युद्धमा होमिएका थिए आज त्यो सबै बेकार लागिरहेको महसुस गरिरहेका छन् । उनी अहिले भन्छन् जीवनमा धोका दिने प्रचण्ड र बाबुराम हुन्, मेरो बुझाइ यस्तो छ । हामीलाई सडकमा मिल्काएर आफू आलिसान मलहरुमा बसेका छन् । मलाई पीडा यहिंनेर लाग्छ । तर म हिजो जस्तै गरि यात्रामा हिडिरहेको छु ।

उनी भन्छन्, युद्धमा जीवन समर्पित गर्नुमा मैले कहिल्यै पछुतो मानेको छैन । मेरो मनमा अझै पनि सुदूर र मध्यपश्चिको निम्ति केही गरेर मरुँ भन्ने ठूलो चाहना छ । पछिल्लो समय मलाई धेरै चुनौति थपिएकोछ । सबैले साहित्यकार, साहित्यकार भन्छन् । म अझै सिकिरहेको छु । कहिले पाठकको अपेक्षा पूरा गरिरहन सक्छु कि सक्दैन चुनौति त्यही छ । मलाई साहित्यकार भन्नु भन्दा जनकलाकार भन्दा आनन्द आउँछ । किन कि मेरो जीवन साँस्कृतिक आन्दोलनमै बितेको छ ।

वि.सं. २०५७ विद्यार्थी संगठनमा आवद्ध भएर २०५८ जेठमा पुर्णरुपमा भुमिगत भएका सेजुवाल २०५९ सालमा जनसाँस्कृतिक परिवारको सहसंयोजक भएका थिए । २०५९ फाल्गुनमा चुली साँस्कृतिक कम्पनी सेक्सन कमाण्डर भएर काम गरेका थिए भने २०६० मा बाजुरा जिल्लाको भूकम्प सास्कृतिक प्लाटुन सस्थापक संयोजक भएर काम गरेका थिए २०६१ प्लाटुन कमान्डर चुली साँस्कृतिक प्लाटुन क्षेत्रीय कम्पनीमा जिम्मेवारी सम्हालेका सेजुवाल पछि जनमुक्ति सेनामा सरुवा भए र प्लाटुन कमान्डरको पदमा रहेर काम गरे । २०६३ मा कम्पनी भिसी भए जनमुक्ति सेनामै काम गरे । २०६८ केन्द्रिय सदस्य भए अखिल नेपाल जनसाँस्कृक माहासंघ थारुवानको । अखिल नेपाल लेखक संघ २०६८ केन्द्रिय सचिवालय सदस्य भइसकेका सेजुवालले अमरद्वीप कबिता सङग्रह प्रकाशन गर्नुका साथै म रोएको त्यो दिन सस्मरण सङग्रह प्रकाशन गरेका छन् भने यात्रा एलबम नामक एल्वम पनि २०७३ सालमा बजारमा ल्याएका छन् । उनका थुप्रै अन्य लेख रचनाहरु प्रकाशन भएका छन् ।

उनका सबै रचना उत्कृष्ट छन् । उनले समाजका साना भन्दा साना समस्या केलाएर आफ्ना शब्दहारमा उनेका छन् । उनका रचनामा क्रान्तिको आभास हुन्छ । बन्दुक उठाउँदा जेजस्ता बिषय बस्तु देखे तिनलाई शब्दहारमा उनेका छन् । उनले सुदूर र मध्यपश्चिमका कुना कन्दराका पीडा आफ्नो रचनामा समेटेका छन् । उनका रचना पढ्दा सिंगो त्यो क्षेत्रको समुदायका बारेमा सोच्न, घोल्तिन बाध्य तुल्याउँछ । जनतामा उर्जा थप्ने खालका रचना लेख्न पोख्त साहित्यकार सेजुवालको जीवन यो समाजका पूर्वलडाकुहरुका लागि पनि प्रेरणाको स्रोत हुन सक्छ । उनी जीवनमा हिम्मत हार्नु हँुदैन, केही न केही गर्नुपर्छ भन्ने प्रेरणाको स्रोतको गतिलो प्रमाण हुन् । आज माओवादीबाट धोका आएका धेरै माओवादी पूर्वलडाकुहरु जीवनमरणको दोसाँधमा छन्, त्यस्ता व्यक्तिहरुले पनि उनीबाट पाठ सिक्नुपर्छ र आफ्नो जीवनको भावी यात्रालाई सत्मार्गमा मार्ग निर्दिष्ट गर्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस