हेरेन सरकारले « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हेरेन सरकारले


२९ पुस २०७३, शुक्रबार


बैतडी । एउटा नेपाली उखान छ ‘माल पाएर के गर्नु चाल नपाएपछि’ भने जस्तै नियतिमा छ यतिवेला अनुपम प्राकृतिक उपहार सिगासधुरा । प्राकृतिक तथा धार्मिक महत्व बोकेको सिगासधुरा ओझेलमा पर्दा यसबाट स्थानीय र राज्यले लिन सक्ने बहुपक्षीय फाइदा पनि त्यसै खेर गैरहेका छन् ।

बैतडीको च्वागढ क्षेत्रको सिगास गाविसमा पर्ने सिगास धुराको संरक्षण र प्रचारप्रसार नहुदाँ ओझेलमा परेको हो । एक औलाको चालमा संसार शयर गर्न सकिने सूचना र संचार प्रविधिको यो जुगमा पनि सिगास धुरा भने प्रचार प्रसारकै अभावमा ओझेल र उपेक्षामा हुनु प्राकृत्तिक तथा सांस्कृतिक धरोहर र सम्पदाको उपयोग गर्न सरकारी निकायहरु कसरी चुकिरहेका छन् भन्ने दुरुह नमुना पनि हो ।

बैतडीको च्वागढ क्षेत्रको सिगास गाविसमा पर्ने सिगासधुराको संरक्षण र प्रचारप्रसार नहुँ ओझेलमा ।

सिगासधुरा सांस्कृतिक, आर्थिक, धार्मिक तथा पर्यटकीय हिसावले विशाल सम्भावनाहरु बोकेको बैतडी जिल्लाकै महत्वपुर्ण ठाउँ हो । धार्मिक रुपमा प्राचीन सभ्यताको महत्व बोकेको सिगासधुराको अग्लो डाँडामा सिगास देवताको मन्दिर छ । शिवको रुपमा रहेको मन्दिरमा कार्तिक, मंसिरमा एक पटक मात्रै मेला लाग्ने गरेको स्थानीय बताउछन् । सो सम्पदाको महत्व बुझेका स्थानीयसंग त्यसको प्रवद्र्धन र विकास गर्ने स्रोत साधन छैन, सरकारले त्यसका लागि नीति, बजेट र स्रोत परिचालन गर्नतिर ध्यान नै दिदैन ।

भौगोलिक रुपले अग्लो डाँडामा रहेकोले मन्दिरमा पुग्न कठिन हुने गरेको छ । मेलाको समय पुजापाठ र दर्शनको लागि टाढा टाढाबाट भक्तजन आउने गरेको स्थानीयवासी जनकसिंह धामीले बताए ।

सिगासधुरा सांस्कृतिक, आर्थिक, धार्मिक तथा पर्यटकीय हिसावले विशाल सम्भावनाहरु बोकेको जिल्लाकै महत्वपुर्ण ठाउँ ।

साउन महिनाभर पुजापाठ र मनोकामना पुरा होस् भन्ने भाकल लिएर छिमेकी जिल्ला तथा भारतबाटसमेत भक्तजन आउने गरेका छन् । मान्छेको परम्परागत श्रद्धाभाव, आस्था र विश्वासलाई अप्ठयारो उकालो यात्रा र प्राकृतिक चुनौति पनि सामान्य लागेकै कारण श्रदालुभक्तजनको भीड भने मेलाका बेला उच्च हुने गरेको छ ।

अग्लो शिखरमा भएकाले यो मन्दिरबाट डोटी, डडेल्धुरा, बझाङ, साथै भारतको पिथौरागढसम्मको दृश्यावलोकन गर्न सकिने स्थानीय तथा त्यहाँ पुगेर फर्कनेहरु बताउँछन । सडक यातायातसँग यो क्षेत्रलाई जोड्न सके आन्तरिक एवं वाह्य पर्यटक भित्राएर यस क्षेत्रको विकासमा टेवापुग्ने संभावना भएपनि यसतर्फ कसैको पनि चासो जान नसकेको गुनासो स्थानीय वीरसिंह धामीको छ ।

सो सम्पदाको विकास तथा विस्तारको पूर्वशर्त नै सडक संजालको विस्तार हुनु हो । केवलकार वा अन्य वैकल्पिक साधन त स्थानीयका लागि सपना नै हुन । मात्रै सडक संजाल सहज र प्रचुर भैदिए मात्रै पनि स्थानीयका लागि भोकालाई खिर हुने थियो । तर सरकारी प्राथमिकतामा त्यो सवाल परेको छैन । सरकार दुरदराजका सम्पदाको विकासमा सरोकार राख्दैन र महत्व दिदैन भन्ने उदाहरण यही हो ।

सडक र यातायातको मुख्य समस्या, डाँडाको शिखरमा रहेको सिगास मन्दिरमा ठाँउको समेत अभाव ।

हलसम्म पनि गाँजरीसम्म ६ किलोमिटर कच्ची सडकमा केही महिना यातायातका साधनचल्ने गरेपनि लामो समय चल्न सकेका छैनन् । डाँडाको शिखरमा रहेको सिगास मन्दिरमा ठाँउको समेत अभाव छ । मन्दिरसम्मपुग्ने बाटो स्थानीयले आफनै पहलमा बनाएपनि भरपर्दो छैन । दर्शन गर्न आउनेहरुलाई अझै बाटोको कठिनाईले मन्दिर पुग्न समस्याहुने गरेको छ ।

अत्यन्त रमणीय जिल्लाकै उच्चशिखर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्व बोकेको सिगासधुरालाई घना जंगलले घेरेको छ । धेरै प्रकारका अमुल्य जडीबुटी, जंगली जनावरले जंगलको शोभा बढाएका छन् । जंगलको रमणीयताले धेरैलाई आकर्षित गर्ने गरेको छ । मन्दिरको आफ्नै लामो कालखण्डदेखिको इतिहास र यसप्रतियसक्षेत्रका स्थानीयको गहिरो बिश्वास रहेपनि यस ठाउँको विकासको लागि केही गरौ भन्ने सोच भएका स्थानीय पहुँचमा पुगेपछि आफनो ठाँउलाई भुल्ने गरेको स्थानीय जसवीर बोहराले बताए ।

धेरै प्रकारमा अमुल्य जडीबुटी, जंगली जनावर, घना जंगलको आकर्षण ।

उनले भर्ने पहुँचमापुगेपछि सबैले भन्ने सकारात्मक सोच भएकाहरुमा एकता छैन ।’सरकारी निकाय यस क्षेत्रका नेता र सकारात्मक सोच भएका स्थानीय मिलेर उचित ध्यान प्रचारप्रसार गर्न सके सीमित क्षेत्रका बासिन्दाले चिन्दै आएको सिगासधुरा धार्मिक पर्यटकीय गन्तब्यबन्ने आशा स्थानीयले गरेका छन् ।

अब कम्तीमा तालुकवाला निकाय मन्त्रालयहरुले सडक विस्तार, पर्यटन प्रवद्र्धन र सम्पदा संरक्षण र विस्तारमा नीतिगत स्पष्टता, बजेट व्यवस्थापन र प्रचार प्रसारमा भोलि होइन आज, आज होईन अहिल्यै ध्यान दिन आवश्यक छ । अन्यथा स्थानीयले विकास देउ भनेर आन्दोलन नै उठाउनु पर्ने वाध्यता आएमा त्यो सबैका लागि दुःखद नियति बन्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस