माननीय सांसद ज्यूहरु,
व्यवस्थापिका संसद, नयाँ बानेश्वर, काठमाण्डौं ।
पछिल्लो खबर तपाईहरुको तलब भत्ता र सुविधा वृद्धिको खबर सुनेसंगै माननीय ज्यूहरुलाई यो पत्रगत भेटघाटका लागि खडा भएकी छु । एक आम प्रवासी युवा अभिमत संझेर यो पत्र नजर गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु । धेरै भुमिका नबाधी सिधै विषय प्रवेश गर्न चाहन्छु ।
माननीय सांसद ज्यूहरु, तपाईहरु कसका मान्छे ?
भन्न त आफुलाई जनताका मान्छे भन्नुहुन्छ होइन, तपाईहरुलाई थाहा छैन ती भुकम्पपीडित पनि त तपाइहरुकै जनता होइनन र ? जनताका लागि हामी दिलोज्यानले लाग्छौ भन्नुहुन्छ, तर खै कसरी पत्याउ ? एक्सन स्पीक्स लाउडर देन वर्डस् हैन र माननीय ज्यूहरु ?
तपाईहरुको तलब बढ्न एक हप्ता पनि लागेन, एकमतले बढाउनु भयो आफ्नो तलब । तर ती भुकम्प पीडित १ बर्ष र ९ महिना भयो पालमुनी बसेका । तिनलाई यौटा झुप्रो ठड्याइदिने सहमति तपाईहरुले कहिले गर्न सक्नु भएन है । आखिर किन ?
माननीय ज्यूहरु, यसमा कसलाई दोष दिनुहुन्छ ? ती हजारौं पीडितले देशका ३ वटै ठूूला पार्टीका प्रधानमन्त्री भोगी सके । पहिला कांग्रेसका दादा सुसिल कोइराला अनि एमालेका काका केपी ओली अहिले माओवादी केन्द्रका सुप्रिमो प्रचण्ड, अब ती पीडित जनले कसको सरकार कुर्ने माननीय ज्यूहरु ?
भुकम्प पीडितहरु तपाईहरुमध्ये कसैका पनि जनता होइनन्, हो ? धुर्मुश सुन्तलीले ३ महिनामा ६५ घर बनाउन सफल भए, उनीहरु अझै पनि थप आवाश बनाउने कोसिशमा छन् । तर तपाईहरु त ६०१ हुनुहुन्छ एक जनाको भागमा ५ वोटा मात्र घर बनाउने जिम्मा लिएकै भए पनि १८ सय १० घर बन्थे । ती धुर्मुश सुन्तलीले त न जनताको कर खाएका छन् न राष्ट्रको ढुकुटी नै सिध्याएका छन् । आखिर तपाईहरु त जनताकै करबाट तलबभत्ता खानुहुन्छ अनि बढाई बढाई खाईरहनुहुन्छ नी ?
मात्र इच्छाशक्तिले स्रोत साधन जुटाउदै दिनरात मेहेनत गरेर ६५ घर ३ महिनामा तयार पारेर देखाए ती कलाकार जोडीले । अब तपाईहरुलाई तिनै जनतासँग भोट माग्न जान लाज लाग्छ की लाग्दैन ? मात्र त्यति बताइदिनुस् न । तपाईहरुको बेशरमी कति रहेछ ? त्यो हामी जनताले धेरै दहसम्म जानि सकेका छौं ।
भोकमरीको मारमा रहेका कर्णालीका जनता पनि तपाईहरुका गतिबिधिबारे बेखबर छैनन् । प्राकृतिक विपत्ति जस्तो विपद् आइलाग्दा समेत जनतालाई बेसहारा जस्तै बनाउने तपाई नेताहरुलाई अलिकति पनि जनताको माया छैन ?
आफैले आफ्नो सेवा सुविधा बनाउन मिल्छ कि मिल्दैन ? त्यो पनि यस्तो बेलामा । जतिबेला लाखौं जनता बेघरबार छन् ? जेठ बैसाखको उखर्माउलो गर्मि होस् की पुष माघको कठ्याङ्गी्रने जाडो । केटाकेटी, सुत्केरी, गर्भवती, बालबालिका तथा बृद्धबृद्धाहरुको बास थोत्रो पालमुनि छ । आखिर किन दुख्दैन ती निमुखा जनताको पीडा र दर्द उनीहरुकै भोटमा सांसद बनेका तपाईहरुलाई ?
खास कुरा बताई दिनुहोस् माननीयहरु, के त्यो तलब नबढ्दा तपाईहरुलाई खान पुगेको थिएन ? कति भिखारी मानसिकताको दास हुनुहुन्छ हो माननीय नेताज्यूहरु ? कसलाई खानै पुगेन भने बरु बाटोमा बसेर चन्दा माग्नुहोस् । नेपाली जनता त्यति निर्दयी पनि छैनन् कि तपाईको टोकरी दुइचार पैसा नहाली हिडुन् ।
आँट गरेर तपाईहरुले हात पसारे बरु हामी रगत पसिना बगाएर कमाउने जनता दिन्थ्यौ तपाइहरूको पेट भर्ने पैसा । तर माननीय ज्यूहरुले एउटा कुरा याद राख्नै पर्छ की तपाईहरुको यो अति त सहन्छन् नेपाली जानता तर अत्याचार धेरै नगर्नुस् । फ्रान्समा राजाको टाउको छिनाउने तिनै जनता हुन् । इतिहासमा फेरि नलेखियोस् नेपालमा ६०१ का टाउको काटियो भनेर ।
हामी जनता चाहदैनौ त्यति क्रुर बन्न । त्यसैले अब तपाईहरुले यो सोच्ने दिन आउदैछ । जनताको पेटमा लात्ति हानेर आफ्नो मात्र पेट भर्ने र मोजमस्तीका लागि राज्यको ढुकुटी नरित्याउनुस् । त्यसमा हक अधिकार जनताको पनि उत्तिकै छ नी, छैन र ? हेक्का राख्नुस, जरुर छ ।
बेरोजगारीको यत्रो समस्या छ देशमा, खै त्यसतर्फ ध्यान दिएको ? कति घोटिएर अर्काको देशमा काम गर्नुपर्छ त्यसको कहिल्यै महसुस गर्नु भएको छ तपाईहरुले ? अनि उनिहरुले कसरी गाँस काटेर नेपालमा रहेका परिवार, छोराछोरीलाई पालिरहेका छन् त्यो कुरा बुझ्नु भएको छ तपाईहरुले ?
देशमै रोजगारीका लागि पहल गर । नयाँ नयाँ सम्भावना खोज । युवालाई स्वदेशमै रोक्ने वातावरण सिर्जना गर । देशको अर्थतन्त्र बढाउँ । दुइ छाक पेटभरी खान नसक्ने अवस्थामा रहेका जनतालाई कमसेकम दुई छाक टार्ने मेलोमेसो मिलाउ । अनि हामी जनता आफै भन्ने छौ । सांसदहरुको तलब बढाऊ, उनीहरुले हामीलाई यत्रो योगदान गरे । अब हामी जनताले उनीहरुलाई स सम्मान हरेक सुविधा बढाउनु पर्छ । हैन देश र जनतालाई जर्जर अवस्थामा राखेर मात्र आफ्नो भुँडी भर्ने र तलब भत्ता बढाउनतिर लाग्छौ भने हामीले पनि अब ढिलो गर्नु हुन्न तिम्रो टाउको छिनाउने छौ हामी । के हामीलाई त्यही क्रुरताको बाटो धकेल्ने हो त माननीयहरुले ? जाई कटक नगर्ने झिकी कटक गर्ने ईतिहासको विरासतबाट उठेका जनता सधै निमुखा बनेर बस्ने छैनन् है माननीय ज्यूहरु । हमेशा हेक्का रहिरहोस्, दिल दिमागमा ।