पौष २ गते, २०७५

वैदेशिक रोजगारीको प्रभाव र थप प्रभावकारी बनाउने उपाय

वैदेशिक रोजगार
कुनै श्रमिक वा कामदारले विदेशमा गएर प्राप्त गर्ने रोजगारीलाई वैदेशिक रोजगारी भनिन्छ । वैदेशिक रोजगारमा गएका व्यक्ति वा कामदारले कमाएर आफ्नो देशमा पठाएको रकमलाई विप्रेषण (रेमिटेन्स) भनिन्छ । विश्वमा काम गर्नको लागि देशबाहिर जाने प्रचलन ऐतिहासिक कालदेखि चलिआएको भए तापनि केही दशक यता संसारभरी नै वैदेशिक रोजगारीमा जाने प्रचलन निकै बढेको सन्दर्भमा नेपालमा वैदेशिक रोजगारी अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको छ ।

वैदेशिक रोजगारी सम्बन्धी केही तथ्यांक एवं जानकारीहरू

  • नेपालले वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा ११० मुलुक खुला गरेको छ । (हाल इराक, लिविया र अफगानिस्तानमा भने अनुमति रोक्का गरिएको छ) । व्यक्तिगत रूपमा भने १६७ भन्दा बढी देशहरू खुला गरिएको छ ।
  • हाल औपचारिक एवं अनौपचारिक माध्यमबाट गरी ४५ लाखभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकहरूमा गएका छन् ।
  • वैदेशिक रोजगारीको लागि ११० मुलुक संस्थागत रूपमै खुला गरिए पनि हालसम्म कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, जापान, इजरायल, दक्षिण कोरिया, जोर्डन र मलेसियासँग मात्र श्रम सम्झौता हुन सकेको छ ।
  • आ.व. २०७४/७५ मा प्राप्त भएको विप्रेषण आप्रवाह ७५५.०६ अर्ब रुपैया रहेको छ । (अघिल्लो आ.व. ६९५.४५ अर्ब रहेकोमा सोभन्दा ८.६ प्रतिशतले बढेको देखिन्छ)। स्मरण रहोस् आ.व. २०५७/५८ मा ४७.५६ अर्ब रुपैया मात्र विप्रेषण प्राप्त भएकोमा त्यसमा निरन्तर वृद्धि हुँदै यो अवस्थासम्म आइपुगेको हो ।
  • आ.व. २०७४/७५ मा प्राप्त भएको विप्रेषणको कूल ग्राहस्थ उत्पादन (जिडिपी)सँगको अनुपात २५.१ प्रतिशत रहेको छ । (अघिल्लो आ.व.मा २६.८ प्रतिशत रहेको थियो )।
  • विश्व वैंकको सन् २०१७ को एक प्रतिवेदन अनुसार विश्वमा सबभन्दा बढी विप्रेषण भित्र्याउने तीन मुलुकहरू क्रमशः भारत (६९ विलियन अमेरिकी डलर), चीन (६४ विलियन अमेरिकी डलर) र फिलिपिन्स (३३ विलियन अमेरिकी डलर ) हुन् । यसैगरी सबैभन्दा बढी विप्रेषण पठाउने देशहरूमा क्रमशः संयुक्त राज्य अमेरिका (४८ विलियन अमेरिकी डलर), साउदी अरव (२६ विलियन अमेरिकी डलर) र स्वीजरल्याण्ड (२० विलियन अमेरिकी डलर) हुन् ।
  • जिडिपीसँगको अनुपातमा बढी विप्रेषण भित्र्याउने मुलुकहरूमा गणतन्त्र क्रिज, टोंगा, ताजाकिस्तान, हैटी र नेपाल हुन् । स्मरण रहोस् सन् २०१३ मा नेपाल जिडिपीको आधारमा बढी बिप्रेषण भित्र्याउने तेस्रो मुलुकको रुपमा रहेको थियो ।
  • आ.व. २०७४÷७५ मा वैदेशिक रोजगारीको लागि नयाँ श्रम स्वीकृति लिएका कामदार संख्या ः तीन लाख ५८ हजार आठ सय १५ र पुनः श्रम स्वकृति लिएका कामदार संख्या दुई लाख ५८ हजार ६ सय दुई गरी कुल ६ लाख १७ हजार चार सय १७ रहेका । अघिल्लो आ.व.मा यो संख्या क्रमशः तीन लाख ९८ हजार ९ सय ७८ र दुई लाख ६० हजार दुई सय ५२ गरी कुल ६ लाख ५९ हजार दुई सय ३० रहेको । अघिल्लो आ.व.मा भन्दा आ.व. २०७४/७५ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४१ हजार ८ सय १३ अर्थात् ६.३४ प्रतिशत कमी भएको देखिन्छ ।

पछिल्ला तीन वर्षमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या र प्राप्त विप्रेषण रकम

कामदार संख्या आ.व.०७२७३ आ.व.०७३/७४ आ.व.०७४/७५
नयाँ श्रम स्वीकृति ४१८७१३ ३९८९७८ ३५८८१५
पुन श्रम स्वीकृति २३८०९८ २६०२५२ २५८६०२
कुल जम्मा ६५८८११ ६५९२३० ६१७४१७
प्राप्त भएको बिप्रेषण(रु. अर्बमा) ६६५.०६ ६९५.४५ ७५५.०६
  • नेपालीहरूको लागि ११० मुलुक वैदेशिक रोजगारीको लागि खुला गरिएको भए तापनि अधिकांश कामदारहरू खाडी देशहरू एवं मलेसिया नै गएको देखिन्छन् । पछिल्ला तीन वर्षमा विभिन्न मुलुक गएका नेपाली श्रमिकको विवरण
देश आ.व. २०७२/७३ आ.व.२०७३/७४ आ.व.२०७४/७५
संख्या प्रतिशत संख्या प्रतिशत संख्या प्रतिशत
मलेसिया ६०९७९ १४.६ ९८४३७ २४.७ १०४२०७ २९.०
कतार १२९०३८ ३०.८ १२५८९२ ३१.६ १०३१७४ २८.८
संयुक्त अरब इमिरेट्स ५२७९३ १२.६ ५६५२६ १४.२ ६०२४३ १६.८
साउदी अरब १३८५२९ ३३.१ ७६८८४ १९.३ ४०९६३ ११.४
कुवेत १००४९ २.४ १३५७६ ३.४ १७५५५ ४.९
बहराइन ३१४६ ०.८ ४००७ १.० ४८६२ १.४
दक्षिण कोरिया ७४३२ १.८ ५८०४ १.५ ४८३२ १.३
ओमान ७४३२ ०.७ ३१८६ ०.८ ३०५९ ०.९
अफगानिस्तान १४१९ ०.३ १३८१ ०.३ १४४२ ०.४
जापान ३८४४ ०.९ २२५१ ०.६ ७६१ ०.२
इजरायल १८९ ०.० १३० ०.० १२२ ०.०
लेवनान १६७ ०.० १४० ०.० २२ ०.०
अन्य ८०६९ १.९ १०७६४ २.७ १७५७३ ४.९
कुल ४१८७१३  १०० ३९८९७८ १०० ३५८८१५ १००
सबैभन्दा धेरै गएका मुलुक साउदी अरव कतार मलेसिया
श्रोत : नेपाल राष्ट्र वैंक वार्षिक आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनको तथ्यांकमा आधारित
  • २०६६/६७ मा लिइएको ‘नेपाल जीवनस्तर सर्भेक्षण ३’ अनुसार नेपालमा एक वर्षमा ५६ प्रतिशत परिवाले विप्रेषण प्राप्त गर्छन् ।
  • सर्भेक्षण अनुसार नेपालमा विप्रेषण आयको उपयोग निम्न अनुसार हुन्छ : (१) उपभोगमा : ७८.९ प्रतिशत (२) ऋण तिर्न : ७.१ प्रतिशत (३) शिक्षामा : ४.५ प्रतिशत (४) घर जग्गा, सम्पति खरिदमा ४.५ प्रतिशत (५) पूँजी निर्माणमा : २.४ प्रतिशत र (६) स्वास्थ्यलगायत अन्य क्षेत्रमा : २.६ प्रतिशत ।
  • नेपालमा हाल जनसांख्यिक लाभांशको अवस्थामा रहेको छ । हाल नेपालमा आर्थिक रूपले सक्रिय जनसंख्या अर्थात् १५ वर्षदेखि ५९ वर्ष उमेर समूहको जनसंख्या ५६.९६ प्रतिशत रहेको छ ।
  • पछिल्लो श्रमशक्ति सर्भेक्षण अनुसार नेपालमा बेराजगारी दर २.३ प्रतिशत र अर्धबेरोजगारी दर ३० प्रतिशत रहेको अनुमान छ । त्यस्तै युवा अर्धबेरोजगारी दर ३५.८ प्रतिशत रहेको अनुमान छ ।
  • वर्तमान अवस्थामा वार्षिक ५ लाखभन्दा बढी व्यक्ति श्रम बजारमा प्रवेश गर्दछन् ।

वैदेशिक रोजगारीसम्बन्धी मौजुदा संवैधानिक, नीतिगत र कानुनी व्यवस्था
नेपालको संविधान
नेपालको वर्तमान संविधानमा प्रत्येक नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम रोजगारीको हक हुने कुरा मौलिक हकमा नै उल्लेख गरिएको भए तापनि संविधानमा स्वदेशमै रोजगारी उपलब्ध गराउने कुरा उल्लेख नगरिएकाले वैदेशिक रोजगारीलाई समेत रोजगारीको अवसरको रूपमा लिनुपर्ने देखिन्छ ।

चालू आवाधिक योजना
हाल कार्यान्वयमा रहेको चौधौं योजनामा अन्तरसम्बन्धित विकास नीतिअन्तर्गत श्रम तथा रोजगार नीति शीर्षकमा दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति उल्लेख गरिएको छ जुन यसप्रकार छन् ः

सोच
दक्ष, सीपयुक्त र उत्पादनमूलक मानव संसाधनको विकासद्वारा पर्याप्त रोजगारी एवम् स्वरोजगारका अवसरहरू सृजना ।

लक्ष्य
मुलुकभित्रै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना गर्ने ।

उद्देश्य
१. स्वदेशमा मर्यादित रोजगारीका अवसरहरू सृजना गरी बेरोजगारी तथा अर्धबेरोजगारी न्यूनीकरण गर्दै रोजगारीको हकलाई सुनिश्चित गर्नु ।
२. रोजगारीका लागि सीप तथा तालिमका अवसरहरू वृद्धि गरी प्रतिस्पर्धा गर्नसक्ने श्रमशक्तिको विकास गर्नु ।
३. वैदेशिक रोजगारीलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै जानु ।

रणनीति
१. लगानीमैत्री वातावरण सृजना गरी स्वदेशमै पर्याप्त र मर्यादित रोजगारी एवम् स्व–रोजगारीका अवसर सिर्जना गर्ने ।
२. सीप तथा व्यावसायिक तालिमका अवसरहरूको विकास एवम् विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने श्रम शक्तिको उत्पादन गर्ने ।
३. श्रमिकको हक अधिकारको संरक्षण तथा असल श्रम सम्बन्ध स्थापना गर्ने ।
४. वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने ।

अन्य कानुनी व्यवस्था
वैदेशिक रोजगारीलाई व्यवस्थित, भरपर्दो, सुरक्षित बनाउन वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४, वैदेशिक रोजगार न्यायाधीकरण नियमावली, २०६८ लगायतका थुप्रै ऐन, नियम, निर्देशिका, कार्यविधिहरू रहेका छन् ।

संस्थागत व्यवस्था

  • वैदेशिक रोजगारीलाई व्यवस्थापन र नियमन गर्नको लागि श्रम तथा रोजगार मन्त्रालय र त्यसअन्तर्गत वैदेशिक रोजगार विभाग तथा अन्य विभिन्न निकायहरू रहेका छन् ।
  • वैदेशिक रोजगारीको प्रवद्र्धन, कल्याणकारी कार्य र सचेतना अभिवृद्धि सम्बन्धी कार्य सम्पादनको लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड क्रियाशील छ ।
  • वैदेशिक रोजगारसम्बन्धी विभागबाट भएका अनुसन्धान र अभियोजनको न्यायिक अभियोजनको लागि विशेषज्ञ अदालतको रूपमा वैदेशिक रोजगार न्यायाधीकरण रहेको छ ।
  • वैदेशिक रोजगारमा गएका कामदारसहित विदेशमा नेपाल र नेपालीको हित संरक्षणको लागि नेपाली दूतावासहरू रहेका छन् ।
  • वैदेशिक रोजगार व्यवसाय संचालनको लागि इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायीहरू रहेका छन् ।
  • कामदारको स्वास्थ्य परीक्षणको लागि वैदेशिक रोजगार स्वास्थ्य परीक्षण संस्थाहरू रहेका छन् ।
  • कामदारको बीमाको लागि बिमा कम्पनीहरू रहेका छन् ।

वैदेशिक रोजगारीबाट परेको प्रभाव :
नेपालमा वैदेशिक रोजगारीबाट सकारात्मक र नकारात्मक दुवै किसीमको प्रभाव परेको देखिन्छ । प्रमुख सकारात्मक र नकारात्मक प्रभावहरुलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

नेपालमा वैदेशिक रोजगारबाट परेको सकारात्मक प्रभाव :
१. ठुलो परिमाणमा विप्रेषण आप्रवाह
अघिल्लो वर्ष मात्र ७५५ अर्ब ६ करोड रुपैया विप्रेषणको रूपमा भित्रिएको छ जसले उच्च व्यापार घाटा भएको अवस्थामा पनि विदेशी मुद्राको कमी हुन नदिएको मात्र होइन, आर्थिक वृद्धि निराशाजनक भएको अवस्थामा पनि अर्थतन्त्रलाई चलायमान बनाएको छ ।

२. श्रम व्यवस्थापन एवं बेराजगारी समस्या समाधानमा योगदान
वैदेशिक रोजगारको कारण श्रमशक्तिलाई व्यवस्थापन गर्न सहज भएको छ । चौधौं योजनामा उल्लेख भए अनुसार नै पनि नेपालमा प्रतिवर्ष पाँच लाखभन्दा बढी व्यक्ति श्रम बजारमा प्रवेश गर्छन् भने करिव ४५ लाख भन्दाबढी जनशक्ति पहिले नै रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । यो सबै जनशक्ति देशभित्रै रहने हो भने विप्रेषण आय मात्र बन्द हुने होइन, यति ठूलो श्रम शक्ति बेरोजगार हुन पुग्दा अनेकौं आर्थिक, सामाजिक अराजकता एवं अपराध बढ्न जाने देखिन्छ, जसलाई व्यवस्थापन गर्न कठिन एवं चुनौतीपूर्ण छ ।

३. उन्नत प्रविधि, उद्यमशीलता एवं सीप र दक्षता भित्रिएको
वैदेशिक रोजगारीको कारण देशमा ठूलो परिमाणमा पूँजीको उतिरिक्त उन्नत प्रविधि, उद्यमशीलता, सीप एवं दक्षता भित्रिएको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरूले एकातिर सीप, दक्षता एवं उद्यमशीलता सीकेका छन् भने अर्कोतिर विदेशी भूमि (खासगरी खाडी मुलुक, मलेसिया आदि)मा गरिएको परिश्रम नेपालभित्र गर्न सके स्वदेशमै धेरै गर्न सकिने रहेछ भन्ने आत्मज्ञान प्राप्त गरेका छन् । वास्तवमा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका हजारौं व्यक्तिहरूले अहिले विभिन्न व्यवसाय संचालन गरी कैयौंलाई देशभित्रै रोजगार समेत दिएका छन् । भनिन्छ– गैर आवाशीय नेपालीको नाममा जतिसुकै अधिकारका कुरा गरे तापनि यो देशको विकास अमेरिका, अस्ट्रेलिया गएका नेपालीहरूबाट हुँदैन, हुन्छ त केवल वैदेशिक रोजगारीका लागि खाडी मुलुक र अन्य यस्तै प्रतिकूल हावापानी र जटिलता भएका मुलुकमा श्रम बेच्न गएका नेपालीहरूलाई आवश्यक वातावरण निर्माण गरी स्वेदश फर्काउन सकियो भने ।

४. आर्थिक, सामाजिक, सांस्कृतिक संरचनामा परिवर्तन
पछिल्लो समय नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक संरचनामा देखिएको ठूलो परिवर्तनको प्रमुख कारण वैदेशिक रोजगारी नै हो । पुरुषहरु वैदेशिक रोजगारीमा गएकोले नेपालमा धेरै परिवारहरूको नेतृत्व महिलाले गर्न पुगेका छन् । आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधिहरूमा जवर्जस्त ढंगले महिलाको सहभागिता बढ्दै गएको छ । महिला घरमुली २५.७ प्रतिशत, सम्पतिमाथि महिलाको स्वामित्व २६ प्रतिशत, महिलाको श्रम सहभागिता दर ५४ प्रतिशत पुग्नुमा प्रमुख योगदान वैदेशिक रोजगारीको नै रहेको छ भन्दा अत्युक्ति हुदैन ।

५. आयको फैलावट र आर्थिक असमानता घटाउन सहयोग
वैदेशिक रोजगारीको लागि कामदारहरू देशको विभिन्न भू भागबाट र अझ त्यसमा पनि अधिकांश कामदारहरु निम्न मध्यम र विपन्न परिवारबाट जाने भएकोले विप्रेषण आय पनि त्यसरी नै देशैभरी सबैतिर फैलन्छ । यसले आर्थिक असमानता घटाउन समेत महत्वपूर्ण योगदान गरिरहेको छ ।

६. अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार
वैदेशिक रोजगारीको सिलसिलामा विश्वका विभिन्न देशहरूसँग देशगत तथा व्यक्तिगत सम्बन्धमा व्यापक विस्तार भएको छ ।

७. अर्थतन्त्रलाई गतिशील बनाएको
शिक्षा, स्वास्थ्य, आवास तथा उपभोगका क्षेत्रमा ठूलो योगदान गरेको छ । विप्रेषणले अर्थतन्त्रको गतिशीलता (लुब्रिकेन्ट)को कार्य गरेको छ । यसले अर्थतन्त्रलाई पर्याप्त लुब्रिकेटिङ गरेको कारणले नै आर्थिक वृद्धि न्यून भएको तथा मुलुकमा द्वन्द्व र अशान्ति भएको अवस्थामा पनि अर्थतन्त्र चलायमान हुन सक्यो । उपभोगमा वृद्धि भएको छ र लगानी तथा आर्थिक गतिविधि सुचारू भएका÷हुँदै आएका छन् ।

नेपालमा वैदेशिक रोजगारीले पारेको नकारात्मक प्रभाव :

१. स्वदेशमा जनशक्ति अभाव
वैदेशिक रोजगारीको सिलसिलामा लाखौं जनशक्ति विदेशी भूमिमा रहँदा देशभित्र श्रमशक्तिको अभाव भएको छ । विगतमा प्रतिभा पलायन (ब्रेन ड्रेन) हुने गरेकोमा अहिले श्रम पलायन (मसल ड्रेन) समेत हुन गएको छ । यसबाट आर्थिक विकासको लागि स्वदेशमा भएका आधारभूत श्रोत साधनको समेत परिचालन गर्न नसकिने अवस्थाको सृजना भएको छ ।

२. विप्रेषण आम्दानीको अनुत्पादक क्षेत्रमा प्रयोग
एकातिर विप्रेषणबाट प्राप्त रकम विदेशी विलाशिताको सामानको खरिदमा प्रयोग हुने गरेको छ भने अर्कोतिर स्वदेशमै पनि घरजग्गा खरिद तथा अन्य उपभोग्य सामानको खरिदमा सकिने गरेको छ । यसको कारण एकातिर दिनप्रतिदिन व्यापार घाटा डरलाग्दो ढंगले बढिरहेको छ भने अर्कोतिर स्वदेशको उर्वरभूमि घडेरीकरण भइरहेको छ ।

३. बढ्दो पारीवारिक विखण्डन तथा सामाजिक अपराध
वैदेशिक रोजगारीको सिलसिलामा श्रीमानहरू विदेशी भूमिमा कठिन परिश्रम गरी नेपालमा पैसा पठाइरहेका तर नेपालमा कतिपय श्रीमतीहरूले उक्त पैसाको दुरुपयोग गर्ने गरेका छन् र धेरैले विदेशमा कमाउन गएका जीवन साथीलाई विचल्लीमा पारी अर्कैसँग विवाह गरी गएका अत्यन्त दुःखद घटना घटेका छन् । अन्य सानातिना अपराधिक घटनाहरू समेत डरलाग्दो ढंगले बढिरहेका छन् ।

४. विदेशी गलत संस्कृति भित्रिएको छ
विदेशी गलत संस्कृति, मूल्य, मान्यता भित्रिएको छ । यसले नेपालको मौलिक संस्कृति, व्यावहार र चालचलनमा नकारात्मक असर गरेको छ ।

५. बालबालिका तथा चेलीबेटीको बेचविखन र ओसारप्रसार
वैदेशिक रोजगारका नाममा बालबालिका तथा चेलीबेटीको बेचविखन र ओसारप्रसार व्यापक भइरहेको छ ।

६. ठगी-छलीका घटनामा बढोत्तरी
वैदेशिक रोजगारीका नाममा ठगी, छलीका घटनामा वृद्धि भइरहेको छ । कैयौ कामदार विदेशमा करार सम्झौता बमोजिम काम तथा सुविधा नपाई मर्कामा परेका , विदेशी भूमिमा पिडित बन्न पुगेका, स्वदेश फर्कन समेत कठिनाई हुने अवस्थामा रहेका छन् । यता स्वदेशमा पनि ग्रामीण तथा विपन्न क्षेत्रका सयौं व्यक्तिहरू ठगीमा परेर विचल्ली भइरहेको उदाहरणहरू सार्वजनिक भइरहेका छन् ।

७. ठूलो संख्यामा मृत्यु एवं अंगभंग भएका
वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरुमध्ये औसतमा दैनिक तीन जनाको लास वाकसमा आउने तथ्यांक सुन्दै हामी सबैको शरीर जिरिङ्ग हुने अवस्था छ । बिरामी र अंगभंग भई आउनेको संख्या त झन् यो भन्दा निकै ठुलो छ ।

वैदेशिक रोजगारीबाट अपेक्षित लाभ लिन नसक्नुका कारणहरू
१. वैदेशिक रोजगारमा जाने अधिकांश कामदारहरू अदक्ष तथा सीपविहिन हुने गरेकाले नेपाली कामदारहरु निम्न स्तरका, कम ज्याला भएका र जोखिमपूर्ण काम गर्न बाध्य भएका छन् । आर्थिक सर्भेक्षण २०७४/७५ मा उल्लेख भए अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत, अर्धदक्ष कामदार २४ प्रतिशत र अदक्ष ७४.५ प्रतिशत रहेका छन् । यसरी अधिकांश अदक्ष कामदार वैदेशिक रोजगारीमा जाने गरेकोले समस्यामा पर्ने गरेका छन् ।

२. विप्रेषणबाट ठूलो रकम आएको भए तापनि उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने वातावरण नहुँदा त्यसले अर्थतन्त्रमा धेरै नकारात्मक असर पारेको छ ।

३. अधिकांश मुलुकहरूसँग श्रम सम्झौता हुन नसक्दा नेपालीहरूले आधारभूत सेवा सुविधा समेत नपाउने र ठगी भएको अवस्थामा सजिलै न्याय समेत पाउन नसक्ने अवस्था विद्यमान छ । हालसम्म वैदेशिक रोजगारीको लागि ११० मुलुक खुला गरिएको भए तापनि ८ वटा देशहरूसँग मात्र श्रम सम्झौता भएकोले वैदेशिक रोजगारीमा गएका कामदारको हक हित संरक्षण गर्ने कार्य निकै चुनौतिपूर्ण छ ।

४. वैदेशिक रोजगारीमा कमाएको रकमको ठूलो हिस्सा अझै पनि गैर कानुनी एवं अनौपचारिक माध्यमबाट आउने गरेको छ । यसले गर्दा ठगीको घटनामा बृद्धि हुनुका साथै यसरी प्राप्त रकमले अर्थतन्त्रमा समेत नकारात्मक असर गरेको देखिन्छ ।

५. वैदेशिक रोजगारीसम्बन्धी नागरिक सचेतनाको अभाव रहेको छ । यसले पनि ठगीमात्र भएको छैन विदेशी भूमिमा गएर नेपाली कामदारले दुःख पाइरहेका छन् ।

६. देशभित्र बढ्दो दण्डहिनता । यहाँ वैदेशिक रोजगारीको नाउँमा ठगी गर्ने जिम्मेवार व्यक्तिहरूलाई कानुन बमोजिम दण्ड गर्न नसक्दा बारम्बार यस्ता घटनाहरू भइरहेका छन् ।

७. वैदेशिक रोजगारमा जान चाहने कामदारहरुलाई सहुलियतपूर्ण कर्जा सुविधाको अभावले साहुको चर्को ब्याज दरमा पर्न बाध्य भएका छन् । एकातिर पूँजी अभावमा अति विपन्न परिवारका मानिसहरू वैदेशिक रोजगारमा जानबाट वञ्चित हुने अवस्था छ भने अर्कोतिर ऋण सापट गरेर गएकाहरूको लागि पनि कठिन जोखिम मोलेर कमाएको पैसा साहुको चर्को साँवा÷ब्याज तिर्नमै सकिने अवस्था विद्यमान छ ।

८. वैदेशिक रोजगारी सम्बन्धि एकातिर अभिलेख राम्रो छैन भने अर्कोतिर काठमाडौं केन्द्रित संगठन संरचनाले कामदारलाई समस्यामा पारेको छ, खर्च समेत बढाएको छ ।

९. विदेशमा रहेका नेपाली नियोगहरूले प्रभावकारीरूपमा श्रम कूटनीति अपनाउन नसकेको ।

१०. रोजगार व्यवस्थापन सूचना प्रणाली कमजोर रहेको छ ।

वैदेशिक रोजगारीबाट अधिकतम लाभ लिन चाल्नुपर्ने कदमहरू : 
१. व्यापक ढंगले तालिम प्रशिक्षण दिने र सीप भएको प्रमाणपत्र भएकालाई मात्र वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्ने ।

२. विप्रेषणबाट प्राप्त आम्दानी उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने वातावरण सृजना गर्ने । जस्तो : वैदेशिक रोजगारीमा गएका श्रमिकको लगानीमा जलविद्युत आयोजना संचालन गर्ने ।

३. नेपाली श्रमिकहरू ठुलो संख्यामा जाने सबैजसो देशहरूसँग श्रम सम्झौता गरी त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।

४. श्रमिकहरू वैदेशिक रोजगारीमा जानुअघि नेपालमा बैंक खाता खोल्नै पर्ने व्यवस्था गर्ने र वैदेशिक रोजगारीको सिलसिलामा कमाएको रकम वैंकिंग प्रणालीबाट भित्र्याई त्यस्तो रकम उत्पादनमूलक लघु तथा साना उद्योग र रोजगारीमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने ।

५. दण्डहिनताको अन्त्य गर्ने र जनताले अनुभूति हुने गरी विधिको शासन कायम गर्ने ।

६. वैदेशिक रोजगारमा जान चाहने कामदारलाई वैंक तथा वित्तीय संस्थाबाट बिना धितो सहुलियतपूर्ण कर्जाको व्यवस्था गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।

७. रोजगारसम्बन्धी काम गर्ने सरकारी संयन्त्रलाई कम्तिमा प्रदेशस्तरसम्म विस्तार गर्ने ।

८. रोजगार व्यवस्थापन सूचना प्रणालीलाई प्रभावकारी बनाउने ।

९. श्रम कूटनीतिलाई प्रभावकारी बनाउने । रोजगारीको लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हक हित संरक्षण र सम्वद्र्धनको लागि विशेष पहल गर्ने ।

निष्कर्ष
अहिले नै ४५ लाखभन्दा बढी नेपालीहरू रोजगारीको सिलसिलामा विदेशमा रहेका र वार्षिक पाँच लाखभन्दा बढी व्यक्तिहरु श्रम बजारमा प्रवेश गरिरहेको परिप्रेक्ष्यमा विविध कारणले स्वदेशमा रोजगारीको पर्याप्त अवसर तथा छनौट नभएकोले अल्पकालीन रणनीतिको रुपमा आगामी केही दशकसम्म नेपालमा वैदेशिक रोजगारीको विकल्प देखिँदैन । तसर्थ, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै आजको समयको माग र देशको आवश्यकता हो । यसको लागि माथि उल्लेख गरिएका लगायतका सुझावहरूलाई ग्रहण गर्दै यसतर्फ तत्काल आवश्यक कदम चाल्न जरुरी छ ।

मंसिर १७ गते, २०७५ - ०७ः३० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg