पौष २ गते, २०७५

इन्जिनियरका दुःख, एसोसिएसनको चुनाव र उठाइनुपर्ने मुद्दाहरू

पछिल्लो समयमा बहुसंख्यक मध्यम वर्गीय आर्थिक पृष्टभूमि भएका हजारौं विद्यार्थीको रोजाईमा परेको विषय हो– इन्जिनियरिङ । समाजमा प्रतिष्ठित पेशाको रूपमा लिइने इन्जिनियर बन्न एसइईपछि डिप्लोमा (ओभरसियर) वा प्लस टुमा विज्ञान विषय लिई उत्तीर्ण गरी विश्वविद्यालयहरूले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ । अनि मात्र चार वर्षीय इन्जिनियरिङ कोर्षमा भर्ना हुन पाइन्छ । चार वर्ष अध्ययन पूरा गरी बिई उत्तीर्ण भएपश्चात नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भई आफ्नो इन्जिनियरिङ पेशालाई अगाडि बढाउन सकिन्छ ।

तर, इन्जिनियर बन्न र इन्जिनियरिङ पेशामा अगाडि बढी सफलता हासिल गर्न त्यति सजिलो कहाँ छ र ! इन्जिनियर बन्ने उद्घोषका साथ जुन दिनदेखि अगाडि बढिन्छ, त्यस दिनदेखि दुःखका दिनहरू सुरु हुन्छन् । अध्ययनका क्रममा स्रोत साधन जुटाउन होस् वा अध्ययनपश्चात जागिरको खोजीमा भौतारिँदा होस्, जागिरका क्रममा प्राविधिक कार्यमा संलग्न हुँदा होस् वा कुनै परियोजनाको व्यवस्थापकीय जिम्मेवारीमा रहँदा होस् सफल इन्जिनियरका रूपमा स्थापित हुनका लागि निरन्तर कडा मिहिनेत, परिश्रम, लगाव र धैर्यता चाहिन्छ ।

पछिल्ला दिनहरूमा फेसबुक लगायतका सामजिक सञ्जालमा इन्जिनियर साथीहरुका वाल नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावका प्रचार सामग्रीले भरिएका छन् । त्यतिमात्र होइन, इन्जिनियर साथीहरूलाई फोन र एसएमएसमार्फत् नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा फलानो प्यानलको फलानो व्यक्तिलाई भोट गर्नु भन्दै सन्देशहरू आउन थालेका छन् ।

अरुबेला सिन्को नभाँच्ने इन्जिनियरहरूका त्यस्ता समूह चुनावको बेला निकै सक्रिय हुने गर्छन् । पेशागत हक हितको लागि भनेर स्थापना गरिएका त्यस्ता संगठनहरू फोहोरी राजनीतिको चंगुलमा चुर्लुम्म डुबेका छन् । जसले गर्दा इन्जिनियर्स एसोसिएसनको गरिमा खस्किएको त छँदैछ यसले गर्न सक्ने आधारभूत कार्यहरू पनि गर्न सकिरहेको छैन । इन्जिनियरिङ अध्ययन गर्दादेखि पेशागत यात्रामा अगाडि बढ्दै गर्दा आइपर्ने समस्याका विषयमा कानमा तेल हालेर बसेको भान हुने एसोसिएसनले मुलुकमा वार्षिक कुन विषयमा कति इन्जिनियर उत्पादन हुन्छन्, कतिले स्वदेशमा रोजगारी पाउँछन्, कति विदेशीन्छन्, मुलुकमा कुन–कुन क्षेत्रमा कति इन्जिनियरहरूको माग हुन्छ, कतिले न्यून पारिश्रमिकमा काम गरिरहेका छन् आदिको बारेमा यकिन तथ्यांक राख्न समेत सकेको छैन ।

लाखौं खर्च गरेर मेहेनतका साथ अध्ययन गरेपछि रोजगारीको कुनै ग्यारेन्टी नहुने पेशाको रूपमा इन्जिनियरिङ पेशा चित्रित हुँदै जानु दुर्भाग्यपूर्ण छ । अध्ययनपश्चात् उचित रोजगारीको ग्यारेन्टी नहुँदा कि विदेशीनुपर्छ कि त स्वदेशमै शोषण खपेर काम गर्नुपर्छ । इन्जिनियरिङ विषय अध्ययन गरे तापनि गैर–इन्जिनियरिङ पेशामा आवद्ध हुनुपर्ने बाध्यता एकातिर छ भने इन्जिनियरिङ पेशामै आफ्नो करिअर अगाडि बढाउन खोज्दा श्रम शोषणमा परिने भय अर्काेतिर छ । पेशागत हकहितका लागि डटेर काम गर्नुपर्ने एसोसिएसनले टेलिकम, सडक, पुल, हाइड्रोपावर, भवन निर्माण आदि क्षेत्रमा हुने इन्जिनियरहरूको श्रम शोषणप्रति खासै चासो दिएको पाइँदैन । यस्तो समस्या निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूमा बढी छ । ‘काम सिकाउने बहानामा’ जोखिमपूर्ण तवरले काम गर्ने इन्जिनियरको न बिमाको कुरा गरिन्छ न त उसको पारिवारको लागि राहत र सेवा–सुविधाको बारेमा सोचिन्छ ।

सरकारी सेवामा पनि नियुक्ति हुँदादेखि सरुवा, बढुवा र वृत्ति विकासका अवसरमा प्राविधिक र अप्राविधिक कर्मचारीका बीचमा व्यापक असमानता छ । तल्लो तहमा माथिल्लो योग्यता भएका कर्मचारी नियुक्त गर्ने, सोही तह र श्रेणीमा कार्यरत अप्राविधिक कर्मचारीलाई प्राविधिक कर्मचारीलाई निरुत्साहित गर्नेगरी सेवा सुविधा र अख्तियारी दिने, प्राविधिकका समस्या र मागलाई बेवास्ता गर्ने आदि समस्या हुँदा इन्जिनियर्स एसोसिएसनले खासै उल्लेख्य भूमिका खेल्न सकिरहेको छैन । तसर्थ, पेशागत हकहितका लागि काम गर्नुपर्ने एसोसिएसनले केवल राजनीतिक दल र तिनका झोलेहरूको पछाडि लागी आफ्ना साथीहरूका पीरमर्का, समस्यालाई बेवास्ता गर्नु कत्ति पनि जायज हुँदैन ।

वि.सं. २०१९ सालमा स्थापित नेपाल इन्जिनियर्स एसोसिएसन प्राविधिक क्षेत्रको मुलुककै अग्रणी संस्था हो । हजारौं इन्जिनियरहरुको साझा संस्थाको रूपमा रहेको एसोसिएसन मूलतः नेपाली इन्जिनियरहरूको हकहित र अधिकारका बारेमा आवाज बुलन्द पार्ने एउटा सशक्त संस्था हो । मुलुकलाई प्राविधिक उन्नतितर्फ डो¥याउन यस संस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

अहिले एसोसिएसन ३२ औँ कार्यकारिणी समितिको चयनका लागि चुनावको संघारमा छ । झन्डै ५० प्रतिशत नेपाली इन्जिनियरहरू विदेशी भूमिमा रहेको अवस्थामा हुन लागिरहेको चुनावमा देशभित्रकै इन्जिनियरहरू पनि विविध कारणले गर्दा आफ्नो मताधिकारबाट वञ्चित हुने अवस्था छ । प्राविधिकहरूको अग्रणी संस्था हुनुको नाताले पनि सम्पूर्ण नेपाली इन्जिनियरहरूलाई समेट्न अनलाइन भोटिङ प्रणालीमार्फत् आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाइनुपथ्र्याे । पुरानै प्रणालीमा चुनाव गर्नुपर्ने बाध्यता हो भने पनि निर्वाचनमा सहभागी हुनका लागि कम्तिमा एक दिन बिदा दिने व्यवस्था मिलाइनुपथ्र्याे । आफ्नो प्रतिनिधि आफै चुन्न पाउने यो अवसरलाई इन्जिनियरहरूले उत्सवकै रुपमा लिने वातावरण बनाइनुपथ्र्याे ।

मुलुक संघीयतामा गएपछि हुन लागिरहेको आसन्न निर्वाचनका लागि विभिन्न प्यानल घोषणा गरी संघ तथा प्रदेश स्तरमा उम्मेदवारहरूले आफ्नो पक्षमा भोट मागिरहेका छन् । चुनावी दौरानका क्रममा आम नेपाली इन्जिनियरका समस्या तथा मागहरू सम्बोधन हुने गरी मुद्दाहरूमा जोड दिनुपर्नेमा केवल उम्मेदवारहरूको व्यक्तिगत पाश्र्वचित्र (प्रोफाइल)मा मात्र केन्द्रित भई चुनावी प्रचारप्रसार गरिनु त्यति उचित होइन । विभिन्न समस्याबाट गुज्रिरहेका नेपाली इन्जिनियरहरूका लागि निम्न मुद्दाहरू उठाउन आवश्यक छ ।

इन्टर्नसिप तथा तालिम
इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई चौथो सेमेस्टरमा नन्पेड र आठौँ सेमेस्टरमा पेड इन्टर्नसिपको व्यवस्था गर्ने । साथै वृत्ति विकासका लागि विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरूलाई लक्षित गरी तालिमको व्यवस्था गर्ने ।

न्यूनतम पारिश्रमिक
इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र निजी क्षेत्रले कम्तिमा सरकारी स्केलभन्दा कम पारिश्रमिकमा इन्जिनियरलाई काममा लगाउन नपाउने व्यवस्था गर्ने ।

बिमा
रोजगारदाता कम्पनीको समेत योगदान हुने गरी हरेक इन्जिनियरहरूको जीवन बिमा गर्ने । जीवन बिमाका अलावा इन्जिनियरहरूको दुर्घटना बिमा, औषधोपचार बिमा आदि गर्ने ।

कल्याणकारी कोष
रोजगारदाता कम्पनी, सम्पूर्ण इन्जिनियरहरू र सरकारको योगदान रहने गरी इन्जिनियर कल्याणकारी कोष स्थापना गर्ने र आवश्यक परेका बखत इन्जिनियर तथा उनीहरूका आश्रित परिवारलाई सहयोग र राहत उपलब्ध गराउने ।

रोजगारीको सुनिश्चितता
फ्रेस इन्जिनियरहरूलाई स्वदेशभित्र तथा बाहिर जहाँ भए पनि उचित रोजगारीको सुनिश्चितता गर्ने । इन्जिनियरहरूले जागिर खोज्ने मात्रै नभई जागिर सिर्जना गर्ने हुँदा इन्जिनियरहरूका लागि व्यवसायमा कर–छुट र सर्टिफिकेट धितोमा सहुलियत दरमा ऋणसहित ‘इन्जिनियर स्वरोजगार कार्यक्रम’ ल्याउने ।

इन्जिनियर्स प्रोफाइल एप
विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरूको पेशागत पाश्र्वचित्र समावेश हुने गरी इन्जिनियर्स प्रोफाइल एप निर्माण गर्ने जसले गर्दा इन्जिनियरहरू बीचमा आपसी चिनजान र भाइचारा बढाउनुका साथै प्राविधिक कार्यमा आपसी सहयोग अभिवृद्धि गर्न सहयोग मिल्छ ।

व्यवस्थित वैदेशिक रोजगारी
अन्तर्राष्ट्रिय बजारमा नेपाली इन्जिनियरहरूको मागलाई बढाउन सरकारी स्तरबाट वैदेशिक रोजगारीमा जान चाहने इन्जिनियरहरूका लागि विभिन्न देशहरूसँग आकर्षक सेवा–सुविधासहित श्रम सम्झौता गर्न कुटनीतिक तवरले पहल गर्ने ।

असमान नीति नियम खारेजी
विभिन्न सरकारी सेवा तथा सरकार नियन्त्रित कतिपय संस्थान वा कार्यालयमा प्राविधिक कर्मचारीलाई निरुत्साहित पार्ने खालका व्यवस्था विद्यमान रहेको अवस्थामा त्यस्ता असमान नीति नियमलाई तत्काल संसोधन वा खारेजी गरिनुपर्छ ।

अस्थायी इन्जिनियरलाई विशेष व्यवस्था
स्थानीय तह र सरकारका विभिन्न परियोजना तथा नियोगहरूमा अस्थायी नियुक्ति लिई कार्यरत रहेका इन्जिनियरहरूका लागि विशेष व्यवस्था मिलाइनुपर्छ ।

संस्थागत सबलीकरण तथा सक्रियता
नेपाल इन्जिनियर्स एसोसिएसन संस्थागत रूपमा सबल हुनुपर्छ र यसका लागि आवश्यक पूर्वाधारहरूको विकास गरिनुपर्छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा, सेमिनार र गोष्ठी आयोजना गर्नुका साथै बहुसंख्यक इन्जिनियरहरूको सहभागिता हुने गरी ग्रामीण एवं दूरदराजका जनताको हित हुने समाजसेवा मुलक कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ ।

जबसम्म प्राविधिक जनशक्तिलाई मुलुकभित्रै यथेष्ट सेवा सुविधा तथा अवसर दिएर राख्न सकिँदैन, तबसम्म मुलुकको विकासले गति लिन सक्दैन । उपरोक्त मुद्दाहरू कार्यान्वयन गर्न नेपाल इन्जिनियर्स एसोसिएसनको महत्वपूर्ण भूमिका हुन्छ, जसका लागि एसोसिएसन परम्परागत शैलीबाट नभई नवीनतम एवं आधुनिक शैलीबाट अगाडी बढ्नुपर्ने देखिन्छ । यसो हुन सकेमा सम्पूर्ण नेपाली इन्जिनियरहरूले ‘समस्या परेका बेलामा सहयोग गर्ने एसोसिएसन छँदैछ नि’ भन्ने महसुस गर्नुका साथै इन्जिनियर्स एसोसिएसनमा आवद्ध भएकोमा गौरवान्वित हुने अवस्था आउँथ्यो ।

मंसिर १४ गते, २०७५ - ०७ः३० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg