पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन


प्रशासन संवाददाता

२ मंसिर २०७५, आइतबार


ओखलढुङ्गा । ओखलढुङ्गामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा रु ४ करोड बजेट विनियोजन भएको छ ।

प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा रहेको निर्देशक समितिले माग भएका योजनालाई प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको हो । सदरमुकाममा सम्पन्न सांसद र स्थानीय सरकारका प्रमुखको भेलामा प्राप्त मागका विषयमा छलफल भएको थियो ।

निर्देशक समितिको छलफल र परामर्श समितिको सुझावका आधारमा प्रदेश र स्थानीय सरकारले अघि बढाउने योजनामा नदोहोरिने गरी पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु ४ करोड बजेट विनियोजन गरेको सांसद सुनुवारले जानकारी दिनुभयो । उनका अनुसार अहिलेको बजेटले सम्बोधन नभएका माग र आवश्यकता पहिचान गरेर प्रदेश र स्थानीय तहको बजेटबाट सम्बोधन गर्ने विषयमा निर्देशक समितिका सदस्यबीच सहमति भएको छ ।

सङ्घीय संसद्का लागि एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा २०० भन्दा बढी साना ठूला योजनाको माग आएका थिए । त्यसमध्ये २० योजना छनोट गरेर बजेट छुट्याइएको छ । ‘माग असीमित छन्, तर २० योजना मात्रै छान्नुपर्ने हाम्रो नीतिगत बाध्यता थियो’, सांसद सुनुवारले भने, ‘आएका माग र देखिएका आवश्यकतालाई हामी तीनवटै सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि मिलेर सम्बोधन गर्छौैँ ।’

चालु आर्थिक वर्ष बजेट सडकमा बढी छुट्याइएको छ भने केही रकम विद्यालयको पूर्वाधार निर्माण र सदरमुकाममा निर्माणाधीन श्रष्टापार्कलाई पनि सम्बोधन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस