प्रतिज्ञा सही तर अनुपयुक्त टाँस्ने ठाउँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिज्ञा सही तर अनुपयुक्त टाँस्ने ठाउँ


केदार कोइराला

२५ आश्विन २०७५, बिहिबार


भ्रष्टाचार

पृष्ठभूमि
नेपालको संविधानको धारा ४८ ले नागरिकको दायित्वसम्बन्धी व्यवस्था गरेको छ । दायित्व बहन गर्नु भनेको प्रतिज्ञा पूरा गर्नु हो । प्रत्येक नेपाली नागरिकको प्रतिज्ञा भनेको राष्ट्रप्रति निष्ठावान हुनु, नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु तथा सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु हो ।

संविधानको धारा ७१ मा राष्ट्रपति तथा उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि, धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरूले आफ्नो कार्यभार सम्हाल्नुअघि पद तथा गोपनियताको शपथ खानुपर्ने व्यवस्था छ । धारा ८० ले संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ खानुपर्ने व्यवस्था गरेको छ । धारा १६७ ले प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि र धारा १७२ ले प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले आफ्नो कार्यभार सम्हाल्नुअघि पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ । धारा १७९ ले प्रदेश सभाका सदस्यहरूले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने व्यवस्था छ । संविधानले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको शपथसम्बन्धी व्यवस्था नगरे पनि कानुनबमोजिम पद तथा गोपनियताको शपथ खानुपर्ने व्यवस्था छ ।

सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ ले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको शपथसम्बन्धी स्पष्ट व्यवस्था गरेको छ । संवैधानिक निकायमा नियुक्त हुने सबै पदाधिकारीहरूले शपथ लिनुपर्ने कानुनी व्यवस्था छ ।

निजामती सेवा नियमावली, २०५० को नियम २० ले शपथसम्बन्धी व्यवस्था छ । नेपाल सरकारका सबै निजामती कर्मचारीहरूले सेवा प्रवेशसँगै शपथ लिएका छन् । सार्वजनिक प्रशासन सञ्चालनका अन्य क्षेत्रगत ऐन बमोजिमका राष्ट्र सेवकहरूको समेत शपथको व्यवस्था छ ।

सार्वभौमसत्ता सम्पन्न नागरिक, त्यस्ता नागरिकहरूको प्रतिनिधित्व गर्ने म्याण्डेट लिएर निर्वाचित भई उनीहरूमाथि नै शासन गर्ने अधिकार पाएका जनप्रतिनिधहरू, राष्ट्र प्रमुख तथा सरकार प्रमुख र नेपाल सरकारका मन्त्रीहरू, न्यायपालिका प्रमुख तथा न्यायाधीशहरू, सार्वजनिक प्रशासन सञ्चालनमा संलग्न सबै राष्ट्र सेवकहरूले प्रतिज्ञा गर्नुपर्ने व्यवस्था छ । नेपालमा प्रतिज्ञाको व्यवस्थाको कमी छैन । प्रतिज्ञाबमोजिम काम भएको अनुभूति हुन नसकेको अवस्थाचाहिँ विद्यमान छ ।

आलेखको मूल विषय
यो आलेख प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल सरकार(मुख्य सचिवस्तर) मिति २०७५ असोज १६ मा गरेको प्रतिज्ञासम्बन्धी निर्णय कार्यान्वयनको लागि सबै मन्त्रालय, आयोग र सचिवालयमा पठाएको सेरोफेरोमा रहनेछ । निर्णयमा लेखिएको छ -नेपाल सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको व्यहोरा स्मरण गराउँदै सुशासन र सदाचारको प्रवद्र्धन गर्न कामप्रति इमान्दार भई प्रत्येक राष्ट्र सेवक कर्मचारीले प्रत्येक दिन कार्य प्रारम्भ गर्नुअघि ‘म भ्रष्टाचार गर्दिनँ । म भ्रष्टाचार हुन दिन्न । म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने प्रतिज्ञा वाचनपश्चात कार्य प्रारम्भ गर्ने÷गराउने साथै उक्त वाक्य लिखित स्टिकर वा ब्यानर बनाई कार्यालयको देखिने स्थानमा टाँस्ने व्यवस्था हुन् ।

निजामती सेवामा शपथ (प्रतिज्ञा)
निजामती कर्मचारीको हैसियतले मलाई तोकिएको काम मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्झी देश र सरकारप्रति बफादार रही भय, पक्षपात वा द्वेष नराखी लोभ, लालच, मोलहिजा नगरी अनुशासनमा रही निजामती सेवा नियमावली, २०५० तथा प्रचलित कानुनको व्यवस्थाको अधीनमा रही आफ्नो कर्तव्यको पालना गर्नेछु । मलाई ज्ञात हुन आएको कुनै सरकारी गोप्य कुरा अधिकृत व्यक्तिलाई बाहेक अरू कसैलाई म सेवामा बहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्षरूपले भन्ने वा संकेत गर्ने छैन ।’ निजामती सेवा ऐन, २०४९ बमोजिम प्रत्येक निजामती कर्मचारीले लिने शपथ हो यो । यो जारी भएपश्चात् नियुक्ति भएका मजस्ता सबै कर्मचारीले यो शपथ लिएका छन् । तर, यो ऐन जारी हुनुभन्दा अघि निजामती सेवामा नियुक्त भएका राष्ट्र सेवक कर्मचारीहरूले यस्तो शपथ लिए वा लिएनन्, उनै जानुन् तर शपथ बमोजिमको व्यवहार दुवै राजनीतिक प्रणालीका पुस्ताले प्रदर्शन गर्न नसकेको कुरा लुकाउनु जरुरी छैन । मैले र मजस्ता सबै कर्मचारीहरुले लिएको शपथको मनसाय ‘म भ्रष्टाचार गर्दिनँ । म भ्रष्टाचार हुन दिन्न । म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु’ जति मात्रै होइन । यसको अर्थ व्यापक छ । मनसाय वेदको व्याख्या जत्तिकै गहिरो छ ।

भ्रष्टाचारको आधार विन्दु भनेको सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले गर्ने अनुचित कार्य हो । यसका अवयवहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ मा उल्लेख गरिएका छन् । यस्ता अनुचित कार्य पनि म गर्ने छैन भन्ने प्रतिज्ञा मैले खाएको शपथमा झल्किन्छ । भ्रष्टाचारको बीउ नै रोप्ने छैन भन्ने प्रतिज्ञा गरेका व्यक्तिहरूले भ्रष्टाचार गर्दिनँ र हुन दिन्न भदै हिँड्नु जरुरी छैन । व्यवहारमा उतारे पुग्छ । राष्ट्रहित र जनहितप्रति समर्पित प्रतिज्ञा गरेका व्यक्तिहरूलाई क्यान्सरको रूपमा विश्वभर फैलिएको भ्रष्टाचार निर्मुल गर्नु ठूलो कुरा होइन । यसका लागि नेतृत्व चाहिन्छ । राजनीतिक तथा सामाजिक वातावरण अनुकूल चाहिन्छ । वातावरण तयार गर्नुपर्छ । नेतृत्वले सही बाटो हिँड्न र अरुलाई सोही बाटोमा हिँडाउनचाहिँ सक्नुपर्छ । इच्छाशक्ति चाहिन्छ । मन, वचन र कर्मले कार्यान्वयन गर्नुपर्छ । कार्यान्वयनका लागि उदाहरणीय बन्नुपर्छ । ऐन तथा कानुनको सही कार्यान्वयन गर्नुपर्छ । कानुन कार्यान्वयनमा कुनै बाधा पु¥याउन हुँदैन । अधिकार पन्छाउन हुँदैन । अरुको अधिकारमा हस्तक्षेप गर्नुहुँदैन । सरकारी सूचना बेच्नु हुँदैन । विवेक र क्षमताको दुरुपयोग गर्नुहुँदैन । अनुचित कार्य गरिएन भने भ्रष्टाचार हुँदैन । बोलेर, लेखेर, टाँसेर भ्रष्टाचार निर्मुल हुँदैन । व्यवहारमा उतार्न खरोरूपमा प्रस्तुत हुनुपर्छ ।

कार्यालयको देखिने स्थानमा के टाँस्ने ?
कार्यालय परिसरमा सबैले देख्ने गरी टाँस्ने भनेको नागरिक वडापत्र हो । नागरिक वडापत्र हृदयमा टाँस्न सके सुनमा सुगन्ध हुन्छ । सेवा प्रवाहसम्बन्धी सूचनाहरू टाँस्नुपर्छ । नागरिकलाई सेवामा सरल र सहज पहुँच स्थापित गर्ने व्यवहारहरू टाँस्नुपर्छ । नागरिकले निर्वाह गर्नुपर्ने कर्तव्य र प्रयोग गर्न पाउने अधिकारहरू टाँस्नुपर्छ । हृदयको भित्तामा सुझाव पेटीका टाँस्नुपर्छ । सुझाव कार्यान्वयन हुन्छन् भन्ने प्रत्याभूति टाँसिनुपर्छ । सेवाग्राहीले कर्मचारीलाई होइन कार्यालयलाई पत्याउने विश्वास टाँसिनुपर्छ । सेवाग्राही नठगिने व्यवस्थाको अनुभूति टाँसिनुपर्छ । सार्वजनिक जीवनका सिद्धान्तहरू टाँस्नुपर्छ । नारामा सीमित हुने स्टिकर र ब्यानर टाँसेर कार्यालय परिसर जस्तो सार्वजनिक सेवा प्रवाह गर्ने पवित्र मन्दिर प्रदूषित बनाउन हुँदैन ।

प्रतिज्ञा टाँस्ने कहाँ र किन ?
आफ्नो सुत्ने कोठाको सिलिङमा टाँस्नुपर्छ, कुकर्म गरेको रहेछ भने सुतेको बेला चसक्क हुन्छ । चार वटै भित्तामा टाँस्नुपर्छ, कोल्टे फिर्दा देखेर बिज्छ । आफूले प्रयोग गर्ने ऐनमा टाँस्नुपर्छ, भ्रष्टाचारीको अनुहार प्रत्यक्ष देखिन्छ । बाथरुममा टाँस्नुपर्छ, नांगो रूप देखिन्छ । छटपटी सिर्जना गर्छ । छटपटीले ज्ञान र विवेकको विर्को खुलाउने दिशातर्फ लैजान सहयोग गर्छ । ज्ञान र विवेकको ज्योतिले जीवन सार्थक हुने सुनिश्चिततातर्फ डोया¥उँछ ।

खाना खाने झर्का थालमा टाँस्नुपर्छ । कुकर्म गरेको भए खाना खाँदा अपराधको गन्ध आउँछ । किरा खाएको अनुभव हुन्छ । ग्लानी हुन्छ । निल्न सकिँदैन । अड्किन्छ । सकस हुन्छ । नरम तथा मिलनसार वातावरणको खोजी गर्न सिकाउँछ । खानका लागि बाँचेको हो वा बाच्नका लागि खाएको हो, मनन गर्न बाध्य तुल्याउँछ । जीवन दर्शन सिकाउँछ ।

सोकेसमा राखेको ब्रान्डेड रक्सीको बोतलमा टाँस्नुपर्छ । त्यो रक्सी खाने महँगो गिलासमा टाँस्नुपर्छ । सूचना, इमान तथा इज्जत रक्सीमा बेचिएको महसुस हुन्छ । प्रत्येक चुस्कीमा जनताको पसिनाको नमिठो गन्ध तथा तितो स्वाद आउँछ । अरुको पसिना खाँदा पीडा बोध भएको अनुभूति हुन्छ । चुस्की समेत अड्किन्छ । आत्मग्लानी हुन्छ । अड्किएको चुस्कीले इमान्दारिता तथा राष्ट्र भावना खोज्न सहयोग गर्छ । असल भावनाले राष्ट्रिय स्वार्थलाई उचाईमा पुया¥उँछ ।

सरकारी सवारीसाधनको साइड मिररमा टाँस्नुपर्छ । खुराफात गरेको भए सक्कली अनुहार तथा व्यवहार देखिन्छ । दुरुपयोग भएको सम्झिन सहयोग हुन्छ । सक्कली रूप झल्काउन सहयोग हुन्छ । कुकर्म सहन नसक्ने अवस्था सिर्जना गर्छ । सार्वजनिक सवारीसाधनमा जनताले पाएको सास्ती अनुभूत गर्ने अवसर मिल्छ । अवसरलाई व्यवहारमा ल्याउन सके शुभ हुन्छ । जनहितमा निर्णय हुन्छन् ।

कार्यालयमा प्रयोग हुने फायलको गातामा टाँस्नुपर्छ÷ छाप्नुपर्छ । हरेक पटक फायल समाउँदा देखिन्छ । टिप्पणी लेख्दा विवेक छर्न र भर्न ऊर्जा मिल्छ । व्यक्तिगत सर्त र स्वार्थको गन्ध हटाउन सहयोग गर्छ । राष्ट्रहित र जनहितबाट ओतप्रोत हुने निर्णय गर्न सहयोग हुन्छ । निर्णयमा पारदर्शिता झल्किन्छ । सहभागितामूलक निर्णय गर्न प्रेरित गर्छ । तथ्यलाई नलुकाउने बानीको विकास हुन्छ । सबै राम्रो हुन्छ ।

निष्कर्ष
प्रतिज्ञा भन्नेबित्तिकै समाजका लागि सकारात्मक व्यवहार हुन् । हैसियत अनुसार सबैले प्रतिज्ञा गरेका हुन्छन् । प्रतिज्ञाहरू कार्यालयका भित्तामा होइन, हृदयको भित्तामा टाँस्नुपर्छ । हृदयको भित्तामा टाँसेको चिजको कार्यान्वयन प्रभावकारी हुन्छ । हृदय जति पवित्र ठाउँ अर्को छैन । पवित्र ठाउँमा राष्ट्रहित र जनहित मात्रै हुन्छ । कार्यालयको भित्तामा स्टिकर तथा ब्यानर टाँस्यो भन्दैमा भ्रष्टाचार हुँदैन भन्न सकिँदैन । मनमा टाँस्ने व्यवस्था गरौं । जीवन दर्शन, संगठन तथा प्रविधिबीच सन्तुलन गरौं । भ्रष्टाचारको आधार विन्दु उखलेर फालौं । शुभ होस्, जय होस् ।

Tags :
प्रतिक्रिया दिनुहोस