नतिजामुखी प्रशासन, समृद्धि र सुशासनको सूत्र : पाँच ‘का’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नतिजामुखी प्रशासन, समृद्धि र सुशासनको सूत्र : पाँच ‘का’


२९ भाद्र २०७५, शुक्रबार


सुशासन

भर्खरै १५ औं निजामती सेवा दिवस मनाइएको छ । २०६१ सालदेखि मनाउन सुरु गरिएको निजामती सेवा दिवसमा हरेक वर्ष नयाँ–नयाँ नाराहरू ल्याउने गरिन्छ । यस पटक २०७५ सालको निजामती सेवा दिवसको नारा ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने रहेको छ । भावार्थलाई नियाल्दा साह्रै नै राम्रा र कार्यान्वयन योग्य नाराहरू देखिए । छोटो लाइनमा समेटिएका बृहत् अर्थवाचक शब्दहरू ओझपूर्ण भएता पनि भनाई अनुसार कार्यसम्पादन सन्तोषजनक हुन सकेको देखिँदैन । उद्देश्य लिएर प्राप्ति नहुनुमा दुई कारण हुन सक्छन् । पहिलो कारण कि त प्राप्त गर्नै नसक्नै गरी हौसिएर अत्याधिक महत्वाकांक्षी नारा भयो । दोस्रो कारण कि त एक वर्षसम्म सोचेर नारा तयार गर्‍यौं । अनि नारालाई बेवास्ता गरी निदायौं । यसरी नारामा मात्र सीमित हरेक निजामती सेवा दिवसको मुख्य एजेण्डा आगामी दिवसको नारा तय गर्नु नै हो कि जस्तो देखिएको छ । मुलुक संघीय शासन प्रणालीमा प्रवेश गरिसकेपछि जुन गतिमा कार्यसम्पादन हुनुपर्ने हो, त्यो अनुसार हुन सकिरहेको देखिँदैन । यसको प्रमुख कारण प्रशासनिक पुनर्संरचनामा भएको ढिलाई नै हुन सक्छ । नीति कार्यान्वयनको मुख्य संयन्त्र कर्मचारीतन्त्रको रिक्तता र अन्योलताले संघीयताको उद्देश्य प्राप्तिमा उल्टो भूमिका खेलेको छ । प्रथमतः यस अवस्थाको समाधान गर्नु नै समृद्धिको प्रथम पाइला हो ।

संविधानसभाबाट नयाँ संविधान निर्माण भई जारी भइसकेपश्चात् निजामती सेवा दिवसका नाराहरू संघीयताको कार्यान्वयनसँग सम्बन्धित नै छन् । २०७२ सालको निजामती सेवा दिवसको नारा ‘निजामती सेवाको सपना, समृद्ध नेपालको रचना’ रहेको थियो । त्यसबेला देखिएको सपना अहिले पनि सपनामै छ । त्यसैगरी २०७३ सालमा ‘सेवामैत्री प्रशासन संघीयतामा सुशासन’ विषयको अर्को सपना देख्यौं । पहिलो सपनाबाट बिउँझिएर अर्को सपना देखिरहेका छौं । त्यसैगरी २०७४ सालमा ‘निजामती सेवाको प्रतिवद्धता पारदर्शीता र चुस्तता’ विषयको घनिभुत सपना देखियो । यो सपना पनि यदाकदा छलफलको विषय शिवाय केही भएन । अहिले आएर प्रशासनलाई नतिजामुखी तुल्याउँदै सुशासन कायम गर्ने र मुलुकलाई समृद्धितर्फ दौडाउने सपना देखिरहेका छौँ । सपना सदैव सपना मात्रै नहोस् । यसपटकको सपना साँच्चै नै पूरा होस् र पूरा गर्न सकुँ/सकौं । सम्पूर्ण निजामतीहरूमा शुभकामना ।

अब यो/त्यो गरौं भन्दा पनि काम सुरू नै गर्नुपर्ने समय आएको छ । यसका लागि निश्चित वर्षमा प्राप्त गर्ने गरी लक्ष्य निर्धारण गर्ने र सो लक्ष्यलाई आवधिक मूल्यांकन सहितको कार्यसम्पादन गर्ने हो भने सुधार गर्न धेरै समय नै लाग्दैन । निजामती सेवामा हालसम्म देखिएका नकरात्मक अवस्थाहरूलाई सुधार गर्दै देहायबमोजिमका उपायहरू अवलम्बन गरियो भने निजामती सेवा दिवसमा तय भएका नाराहरूमा जस्तै नतिजामुखी प्रशासन, समृद्धि र सुशासन प्राप्त गर्न धेरै समय कुर्नै पर्दैन ।

कार्यसंस्कारमा सुधार
विगतमा रहिआएको कार्यसंस्कारमा पूर्णतः परिवर्तन गर्न आवश्यक छ । हामी सदैव प्रक्रियामुखी कार्यसम्पादन भयो भन्दै यसको आलोचना गर्छौं । तर, वास्तविक प्रक्रियाको अनुशरण गर्दैनौं । नेपालको निजामती सेवाको पहिलो कमजोरी यही नै छ, जुन मुलुकको कर्मचारीतन्त्रले प्रक्रियाको अक्षरशः पालना गर्छ, त्यो सबल र सफल मानिएको छ । काम नगर्ने मनसायले प्रक्रियागत झमेलामा फसाउन नियतवस कार्यसम्पादन गरिनुले प्रक्रियामुखी कार्यसम्पादन गलत हो कि भन्ने भ्रम सबैमा आएको छ । यसर्थ, प्रक्रियागत सरलीकरण गर्दै यसको सबल कार्यान्वयन तथा कार्य संस्कारगत सवलीकरण गर्नु अपरिहार्य छ ।

प्रक्रियाले नतिजालाई सम्भव तुल्याउँछ । नतिजामुखी र प्रक्रियामुखी कार्यसम्पादनलाई दुई फरक दृष्टिकोणबाट मात्रै अध्ययन हुनु न्याय होइन । आम नागरिकले बुझ्ने र बुझाउन सक्ने गरी कार्य चरणको निर्माण र हरेक चरणमा वैतनिक सहजीकरण गर्ने हो भने यसले नतिजालाई छरितो र निश्चत तुल्याउँछ ।

काम र कर्मीको मूल्यांकन
निजामती सेवामा प्रचलनमा रहेको मूल्यांकन पद्धतिलाई तत्काल परिवर्तन गर्नु आवश्यक छ । अहिलेसम्मको विधिमा काम गर्नेको भन्दा काम देखाउनेको मूल्यांकन हुने गरेको छ । विज्ञताका साथ काम गर्ने र फाइल ओसार्ने (हाकिमसँग दुई–चार कुरा थपिथपाई गर्ने) कर्मचारीबीच सकरात्मक विभेद हुनै पर्छ । यसले काम गर्ने कर्मचारीको मनोबल र सिर्जनात्मकतालाई बढवा दिन्छ । कर्मचारीको मूल्यांकन उसले सम्पादन गरेको काम र यसबाट प्राप्त गरेको नतिजाको आधारमा गरिनुपर्छ, जसले समग्र प्रशासनलाई नतिजामुखी बनाउँछ ।

अर्को कुरा ‘राइट म्यान इन राइट प्लेस’को नीति कहिल्यै पनि कार्यान्वयन गरिएको देखिँदैन । सरकारी खर्चमा विदेशमा उच्च शिक्षा हासिल गरी फर्केको व्यक्ति उपयुक्त स्थानमा पदस्थापनाको त कुरै छाडौँ आफ्नो दरबन्दी कहाँ छ भन्ने थाहा पाउन पनि महिनौँ लाग्छ । अनि एउटा उच्च शिक्षा, विकासको अभिलाषा र उत्साह वोकेर स्वदेश फर्केको कर्मचारीको मनोवृत्ति कस्तो होला, जो कोहीले पनि विचार गर्न सक्छ । यि र यस्तै प्रकारकमा समस्या जो निजामती सेवाका अ‍ैझेरु जस्तै बनेका छन् । यिनीहरूको सफाई गर्दै गएमा मात्र समृद्धि र सुशासन प्राप्त हुन सक्छ ।

कानुनको सबल कार्यान्वयन
कानुनी प्रावधानहरू कार्यान्वयनका लागि तयार गरिएका हुन् । हर हालतमा यस्ता प्रावधानको अक्षरशः पालना हुनु आवश्यक हुन्छ । निजामती सेवालाई व्यवस्थित तुल्याउन तय भएका कानुन हुन् वा सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन तय भएका कानु्नी व्यवस्थाहरू हुन्, सबैको उचित परिपालना हुनुपर्छ । निमुखालाई मात्र कानुन देखाउने टाठावाठा भनाउँदालाई झ्यालबाट सेवा दिने परम्पराले कानुनको उपहास गरिरहेको छ । यस्ता प्रथालाई आत्मसाची राखेर तत्कालै हटाउनु आवश्यक छ ।

कानुन र राजनीतिको लठ्ठी टेकेर भ्रष्टाचार गर्ने प्रवृत्ति पनि मौलाएको छ । यस प्रवृत्तिको कारणले प्रक्रियालाई अनुशरण गर्नेहरूले धेरै हण्डर ठक्कर खेप्नुपरेका उदहारणहरू बग्रेल्ती पाइन्छन् । कानुनी समानता र सर्वोच्चता कायम राख्दै सबैका लागि कानुनको पालना अनिवार्य गरेको खण्डमा मात्र सुशासनको विजारोपण हुन सक्छ । होइन भने यि सबै नारामा मात्रै सीमित रहने निश्चित छ ।

कार्यक्षेत्रको न्याय र उत्प्रेरणा
नेपालको निजामती कर्मचारीको कार्यक्षमता उच्च रहेको छ । यद्यपि सेवाभित्र गरिने अन्यायपूर्ण व्यवहार, ट्रेड युनियनका नाममा गरिने भेदभाव (एकप्रकारको लुटतन्त्र) र अव्यवस्थित मूल्यांकन प्रणालीले नर्मल क्यापासिटीमा पनि कर्मचारीतन्त्रले कार्यसम्पादन गर्न सकेको छैन । कर्मचारी पनि सामाजिक प्राणी हो, उसले आफ्नो अस्तित्व खोजिरहेको हुन्छ । यस अवस्थामा उमाथि गरिएको व्यवहार न्यायपूर्ण हुन सकेन भने कार्यसम्पादनमा नकारात्मक असर देखापर्छ । यसकारण न्यायपूर्ण व्यवहारसहितको उत्प्रेरणाले मात्र प्रभावकारी कार्यसम्पादन गर्नमा सहयोग पुर्‍याउँछ ।

कामको पहिचान र बाँडफाँड
संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्दा वैज्ञानिक र अनुसन्धानमा आधारित गर्नुपर्छ । जसले गर्दा हरेक कार्यालय र व्यक्तिको हरेक दिनको कार्यविवरण स्पष्ट हुन्छ । हाल अधिकांश कर्मचारीहरूले काम केही त छैन ? भन्ने गुनासो गरिरहेका पाइन्छन् । यसो भन्नुको अर्थ राज्यले हरेक कर्मचारीको कामको पहिचान वास्तविक रूपमा गर्नै सकेको छैन भन्ने बुझिन्छ । त्यसैगरी कतिपय कर्मचारीहरू अधिकबोझ भएर दिनरात खटिइरहेको पाइन्छ भने कतिपय दिनभरी एउटै मात्र काम नगरी पनि दिन कटाइरहेको पाइन्छ । यस्तो किन हुन्छ त ? यसको समाधान कामको पहिचान गर्ने र काममा लगाउनेले सहजै गर्न सक्छ । यसका लागि स्पष्ट व्यक्तिगत कार्यविवरण चाहिन्छ ।

कार्यविवरण र संगठनको लक्ष्यबीच समायोजन गर्दै दैनिक लक्ष्य एवं परिलक्ष्य तयार गर्ने कार्य सम्बन्धित शाखा प्रमुखले गर्नुपर्छ । यसकै आधारमा कार्यसम्पादन भएमा कामको पहिचान तथा बाँडफाँडमा कुनै समस्या आउँदैन र लक्षित प्रतिफल पनि समयमै प्राप्त गर्न सकिन्छ ।

अन्त्यमा
निजामती सेवा स्थायी सरकार हो । सार्वजनिक नीति निर्माणमा राजनीतिलाई प्राज्ञिक सल्लाह प्रदान गर्ने र निर्माण भएको नीति कार्यान्वयनका लागि कार्ययोजना तयार गरी सोहीबमोजिम कार्यान्वयन गर्ने जिम्मेवारी निजामती सेवाको हो । सरकारका नीति कार्यान्वयनमा प्रतिवद्ध हुँदै राजनीतिक दलप्रति तटस्थ हुनु नै निजामती सेवाको सिद्धान्त हो । सरकारको ऐनाको रूपमा रहेको निजामती सेवा (प्रशासन) प्रभावकारी भएमा मात्र राज्यको लक्षित उद्देश्य प्राप्त हुन्छ ।

विगतमा देखिएका कमी कमजोरीहरुको आत्मालोचना गर्दै एउटा सिंगो पुस्ताले सेवा निर्मलीकणका लागि व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिँदै समग्र राष्ट्रिय हितका लागि समर्पण गरेमा मात्रै निजामती सेवा दिवसको नारामा देखिएका सपना साकार हुने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस