मंसिर २७ गते, २०७५

सेवा शर्तको सुरक्षाले सुसज्जित सार्वजनिक प्रशासन

जनता संगको स्थायी सम्बन्ध सेतु

सार्वजनिक प्रशासकहरू सेवा प्रवाहका प्रभावकारी मध्यस्थकर्ता हुन् । सरकार सार्वजनिक सेवाको आपूर्तिकर्ता हो भने जनता सार्वजनिक सेवाको मागकर्ता हुन् । सरकार र जनताको सम्बन्ध सेवाको वितरक र प्रापकको रूपमा रहेको हुन्छ ।
असल सरकार, प्रभावकारी सरकार र जनमैत्री सरकार सधैं जनसरोकारको शीघ्र सम्बोधन गर्ने कार्यमा तल्लीन रहेको हुन्छ । सरकार र जनताको बीचमा सेवा प्रवाहको जिम्मा लिएर बसेको प्रशासन यन्त्र वा सार्वजनिक प्रशासन जति प्रभावकारी भयो त्यति नै जनताको सरकारप्रति सन्तुष्टि र अपनत्वबोध हुन जान्छ । यसरी सार्वजनिक प्रशासनको प्रभावकारितामा समग्र सरकारको प्रभावकारिता निर्भर गर्दछ ।

जनताको प्रतिनिधित्व गर्दै निर्वाचनको माध्यामद्वारा कार्यपालिकामा प्रतिनिधित्व गर्ने बैधानिक अधिकार प्राप्त जनप्रतिनिधिहरु एउटा निश्चित समयको लागि सरकारको भूमिकामा रहने गर्दछन् । निर्वाचित जनप्रतिनिधिहरुको कार्यमा सरलता, सहजता र जनता सँगको स्थायी सम्बन्ध सेतुको रुपमा अथवा सरकारको स्थायी प्रतिनिधिको रुपमा प्रशासन संयन्त्र रहेको हुन्छ जो कर्मचारीतन्त्रको नामले चिनिने गर्दछ । कर्मचारीतन्त्रका आफ्नै विशिष्ट विशेषता, विज्ञता र कार्यप्रणाली हुन्छन् यसै कारणले यिनको क्षमताको उपयोग लामो निश्चित समयाबधीसम्म गरिनु पर्दछ भन्ने मान्यता रहेको छ ।

कर्मचारीतन्त्रका विशेषता

• योग्यतामा आधारित प्रतिस्पर्धात्मक छनौट प्रणाली
• कानूनमा आधारित कार्य सम्पादन प्रणाली
• उद्देश्य प्राप्ति वा परिणाम उन्मुख
• स्पष्टरपारदर्शी वृत्तिमार्ग
• पद सोपानमा आधारित आदेश र नियन्त्रणको श्रृङ्खला
• वैधानिक सेवा शर्तको व्यवस्था
• सेवा शर्तको सुरक्षा

कर्मचारीहरुको सेवा सुरक्षित हुनुको कारण

• संवैधानिक आधार
◊ कतिपय देशमा निजामती वा अन्य प्रकारका सार्वजनिक सेवाको संविधानमा व्यवस्था हुनु ।
• कानूनी आधार
◊ कर्मचारीहरुको सेवा शर्त सम्वन्धित ऐन कानूनले व्यवस्था गरेको हुन्छ र ती कानूनहरुले कर्मचारीहरुको सुरक्षाको अधिकारको प्रत्याभूति गरेको हुन्छ ।
• सैद्धान्तिक आधार
◊ कर्मचारीतन्त्र वा सार्वजनिक प्रशासकहरुको सेवा कानूनद्वारा सुरक्षित हुनुपर्ने सैद्धान्तिक मान्यता ।
• ऐतिहासिक सन्दर्भ
◊ संयुक्त राज्य अमेरिकाको पेन्डेल्टन एक्टर संयुक्त अधिराज्यको नर्थकोटट्रेभेलियन रिपोर्टले लोकसेवा आयोग र निजामती सेवा ऐन जस्ता प्रावधानले कर्मचारीहरुको सेवा शर्तको सुरक्षाको प्रत्याभुति ।
• श्रमिक अधिकार
◊ श्रमिकको अधिकारको अवधारणाले सेवा अवधि र अन्य सुविधाको प्रत्याभूति हुनुपर्ने विषयलाई प्राथमिकता दिएको
• अन्य मान्यता
◊ कार्यपालिकाको स्थायी सहयोगी संयन्त्र वा स्थायी सरकार
◊ स्थायी संयन्त्र सधै उत्पे्ररित हुनु पर्ने
◊ प्रवेश र वहिर्गमन योग्यता र पदावधि वा उमेरमा आधारित हुनु पर्ने
◊ सेवाको सुरक्षा र सेवा शर्तको सुरक्षा आधारभूत विषय
◊ सुरक्षित पेशागत भविष्यको कारणले भविष्यका चिन्ता हुनु नहुने
◊ कर्मचारीतन्त्रको मूलभूत मान्यता
◊ कार्यक्षेत्रमा जुनसुकै वेला डटिरहनु पर्ने योध्दा सदा उत्प्रेरित रहिरहनु पर्ने
◊ सेवा, सुविधा र सुरक्षाले सुसज्जित गराइराख्नु पर्ने स्थायी संयन्त्र

स्व–वचाउ सहितको आकस्मिक वहिर्गमन

सार्वजनिक प्रशासकहरुको प्रवेश कानूनी प्रक्रिया र प्रतिस्पर्धाको माध्यमबाट हुने गर्दछ । यिनीहरु कानूनले तोकेको अवधी पश्चात मात्र आफ्नो सेवावाट वहिर्गमन हुन सक्दछन् । तर सेवा प्रवेश पश्चात पेशागत मर्यादाको परिपालनावाट विमूख भएमा वा आकर्षित हुने कानूनी लक्ष्मण रेखाको सीमा भित्र बाँधिन नसकेमा कर्मचारीहरुलाई आकस्मिक वहिर्गमन गराउन सकिन्छ । तथापि कर्मचारीको सेवा शर्त यति सुरक्षित छ कि यसरी आकस्मिक वहिर्गमन गराउन वा तोकिएको सेवा सुविधामा कमी गराउनु परे पनि उसलाई पर्याप्त मात्रामा आफ्नो बचाउ गर्ने अवसर दिनुपर्ने व्यवस्था सम्बन्धित सेवा शर्त सम्बन्धी कानूनले सुरक्षित गरेको हुन्छ ।

सुरक्षाका क्षेत्रहरु

• निजको अनुमति बिना सेवा शर्त सुविधा कम गर्न नपाईने ।
• तोकिएको पदावधि वा उमेर अगाडी वहिर्गमन गराउन नपाईने ।
• आकस्मिक वहिर्गमन गराउनु परे निज सेवा प्रवेश गर्दाको अवस्था वा आकस्मिक वहिर्गमन गराउनु पूर्वको सेवा सुविधा उपलब्धताको सुनिश्चितता हुनुपर्ने ।
• कर्मचारीले कानूनले तोकेको कार्यको परिपालना नगरेको खण्डमा सजाय गर्नुपूर्व वा वहिर्गमन गर्नुपूर्व सफाई पेश गर्ने (स्पष्टिकरण) मौका दिनु पर्ने ।
• स्पष्टिकरण चित्त नबुझेमा कारवाही गर्नुपूर्व लोकसेवा आयोगको सहमति आवश्यक पर्ने ।
• विभागीय सजायको आदेश उपर प्रशासकीय अदालतवाट थप उपचार लिन सक्ने ।

निजामती सेवामा भएका व्यवस्थाहरु

सजाय गर्न सक्ने आधार
निजामती सेवा ऐनले केही नकारात्मक अवस्थाको परिकल्पना गरेको छ र यदि कर्मचारीले त्यस्ता नकारात्मक कार्य गरेमा कर्मचारीलाई देहाय बमोजिमको विभागीय सजाय गर्न सकिने उपचारात्मक व्यवस्था गरेको छ ः

(क) सामान्य सजायः
• नसिहत दिने,
• दुई वर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा दुई तलब वृद्धि रोक्का गर्ने,
• दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुईदेखि पाँच तलब वृद्धिसम्म रोक्का गर्न सक्ने

सामान्य सजाय अन्तरगतको सामान्य उपचार

• नसिहत दिने वा बढीमा दुई तलब वृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्न सक्ने अवस्था
◊ सम्पादन गरेको काम सन्तोषजनक नभएमा,
◊ प्रचलित कानुनबमोजिम बरबुझारथ नगरेमा,
◊ एक वर्षमा दुई पटकसम्म लिखित चेतावनी पाएमा,
◊ निजामती सेवा ऐन वा प्रचलित कानुनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा,
◊ सेवाग्राहीको पीरमर्का र उजुरी पटक–पटक बेवास्ता गरेको सम्बन्धमा आफूभन्दा माथिल्लो अधिकारीले दिएको निर्देशन पालना नगरेमा,
◊ कार्य विवरण लागू गर्ने गराउने दायित्व भएको पदाधिकारीले सो कार्य नगरेमा ।

सामान्य सजाय अन्तरगतको विशेष उपचार

• दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुईदेखि पाँच तलब वृद्धिसम्म रोक्का गर्न सक्ने अवस्था ः
◊ अनुशासनहीन काम गरेमा,
◊ निजामती सेवा ऐन र सो अन्तर्गत बनेका नियमहरूमा उल्लिखित आचरणसम्बन्धी कुराहरू उल्लंघन गरेमा,
◊ प्रचलित कानुनबमोजिम पेस्की फछ्र्यौट नगरेमा,
◊ व्यवस्थापन परीक्षणबाट देखिएका अनियमितता सम्बन्धमा दिएको निर्देशन पालना नगरेमा,
◊ पूर्व स्वीकृति नलिई बरावर कार्यालयमा अनुपस्थित रहेमा
◊ ऐन नियमले तोकेको अवस्था वाहेक अन्यत्र कुनै प्रकारको नोकरी गर्ने वा आर्थिक लाभ लिने कार्य गरेमा

(ख) विशेष सजायः
(१) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सक्ने ।
(२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गर्न सक्ने ।

विशेष सजाय अन्तरगतको सामान्य उपचार

• भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सक्ने अवस्थाः
◊ निजामती कर्मचारीले अयोग्यताको कारणले आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेमा ।
◊ आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेमा ।
◊ कार्यालयको समयमा बराबर मादक पदार्थको सेवन गरेमा ।
◊ बराबर अनुशासनहीन काम गरेमा ।
◊ राजनीतिमा भाग लिएमा ।
◊ आफ्नो पदको जिम्मेवारीको बराबर बेवास्ता गरेमा ।
◊ बिदा स्वीकृत नगराई लगातार नब्बे दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा ।
◊ मनासिव कारण भई बिदा स्वीकृत गराएकोमा वाहेक वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको निजामती कर्मचारी त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेको मितिले तीस दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर नभएमा ।

विशेष सजाय अन्तरगतको विशेष उपचार

• भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गर्न सक्ने ।
◊ नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा ।
◊ भ्रष्टाचार गरेमा ।
◊ स्थायी आवासीय अनुमति लिएमा वा सोको लागि आवेदन दिएमा ।
◊ निजामती सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा ।

सेवा शर्तको सुरक्षा

निजामती सेवा ऐन, २०४९ को दफा ५८ ले देहाय बमोजिम सेवा शर्तको सुरक्षाको व्यवस्था गरेको छः

• कुनै पनि निजामती कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागु रहेको तलव उपदान, निवृत्तिभरण र अन्य सुविधा सम्वन्धी सेवाका शर्तहरुमा निजको स्वीकृति वेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गर्न नपाइने ।
• पछि हुने संशोधनले त्यस्तो संशोधन हुनु अगावै वहाल रहेको कुनै निजामती कर्मचारीको उपर्युक्त सेवाका शर्तहरूमा कुनै प्रकारले प्रतिकूल असर पर्ने भएमा त्यस्तो संशोधित व्यवस्था वमोजिम गर्न मञ्जुर गरेको लिखित स्वीकृति नभै त्यस्तो व्यवस्था निजको हकमा लागू नहुने ।

निजामती कर्मचारीको बचाउ

निजामती कर्मचारीले आफ्नो ओहोदाको कर्तव्य पालन सम्झी गरेको कुनै सरकारी कामको सम्बन्धमा निज उपर रीत नपुर्याइ मुद्दा चल्न नसक्ने दफा ५७ को प्राबधानले निजामती कर्मचारीको बचाउ गरेको छ ।

सफाइको अवसर नदिइने क्षेत्र

निजामती सेवा ऐन, २०४९ को दफा ५६ ले देहायका निजामति कर्मचारीवाहेक अन्य कुनैपनि निजामति कर्मचारीलाई सफाईको सबुत दिने मनासिव माफिकको मौका नदिई निजामती सेवाबाट हटाउन नसक्ने व्यवस्था गरेको छ :

• नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको
• म्यादी पदमा वहाल रहेको
• भागी पत्ता नलागेको वा सम्पर्क गर्न सम्भव नभएको पर्याप्त आधार नभएको
• भ्रष्टाचारको आरोपमा अदालतवाट कसुरदार ठहरिएको

अन्य सार्वजनिक निकाय

अन्य सरकारी सेवा, सार्वजनिक निकाय, संस्थानहरुका कर्मचारीहरुको लागि सेवाको सुरक्षा, सेवा शर्तको सुरक्षा निजामती सेवाका कर्मचारीहरुको लागि भएकै प्राबधान अनुरुप रहेका छन् ।

सेवा शर्तको सुरक्षाको सकारात्मक प्रभाव

• सार्वजनिक सेवा आकर्षणको क्षेत्र बनेको
• उत्प्रेरणाको सवल आधार
• सेवा प्रवाह वा आफ्नो कार्यमा दत्तचित्त भएर लाग्ने अवस्थाको सिर्जना
• अपनत्वबोधमा बृद्धि

सेवा शर्तको सुरक्षाको नकारात्मक प्रभाव

• सेवा सुरक्षित भएपनि सेवा प्रवाहको स्तर प्रभावकारी हुन नसकेको
• अनुशासनको स्तरमा बढोत्तरी हुन नसकेको
• सेवा प्रवेश र वृत्ति मार्गमा योग्यता तथा प्रतिस्पर्धात्मक प्रणालीको अवलम्बन तथा सुरक्षित वहिर्गमनका प्रावधानले सेवा प्रवाहको गुणात्मक क्षमतामा बृद्धि हुन नसकेको

सरकारको स्थायी संयन्त्र कर्मचारीतन्त्र स्वभावैले सेवाशर्तको सुरक्षाले सुसज्जित शासकीय प्रणालीका प्रभावकारी औजार हुन् । सेवाशर्तको सुरक्षाले उत्प्रेरणामा अभिवृद्धि, संस्थाप्रतिको अपनत्वबोधमा अभिवृद्धि र प्रभावकारी सेवा प्रवाह को माध्यमले समग्र शासकीय प्रणालीप्रति जनस्तरवाट अपनत्वबोध सिर्जना गर्नमामहत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

सुरक्षित सेवाले कार्यसम्पादनस्तरमा बढोत्तरी ल्याउँदछ र असुरक्षित सेवाले कार्यसम्पादनस्तरमा कमी ल्याउँदछ भन्ने स्वीकार्य मान्यता हो । सुरक्षित सेवाले कार्यसम्पादनस्तरमा वढोत्तरी ल्याउनै पर्दछ । सुरक्षा र कार्यसम्पादनस्तरको यो सकारात्मक सम्बन्ध कायम राख्न थप प्रयासको आवश्यकता देखिन्छ किनकी हाम्रा सेवा प्रवाह अझै प्रभावकारी बन्न नसकेको, कमजोर कार्यसम्पादनस्तरको कारणले अपेक्षित उत्पादकत्व अभिवृद्धि हुन नसकेको, अनुशासनको स्तरमा बढोत्तरी हुन नसकेको जस्ता कमजोरीहरु विद्यमान रहेका छन् ।

आफ्ना सेवा शर्त सम्बन्धी कानूनले प्रत्याभूति गरेका सकारात्मक पक्षको उपयोगवाट आफू आबद्ध संस्थाको प्रभावकारीता अभिवृद्धिमा अझै बढी कर्मशील बन्नु सम्बद्ध सवैको साझा दायित्व हो ।

फाल्गुन २३ गते, २०७४ - ०७ः१५ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg