फाल्गुन १० गते, २०७४

हेपिएको मनोविज्ञानमा प्राविधिक सेवा

म एक प्राविधिक निजामती कर्मचारी । सर्टिफीकेटहरुमा राम्रो प्रतिशत लेखिएको भएतापनि एस एल सी देखी स्नात्तकोतरसम्मको शैक्षिक यात्रा तय गर्न २५ वर्ष खर्चेको अपहेलित कर्मचारी ।

प्रविधिको विकास, परीक्षण र प्रयोगको सैद्धान्तिक धरातलमा रही कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरेको व्यवसायिक शिक्षा र सरकारी कानुनले परिभाषित गरि दिएको मेरो सेवाको विशिष्ठताले गर्दा नै शायद म प्राविधिक सेवाको कर्मचारी कहलिएको हुँ ।

स्वभाविक रुपमा म पनि अरु सेवाका कर्मचारी झै एउटा मानव हो, चाहे जति सुकै तह र श्रेणी किन नहोस, न्यूनतम मानवीय मुल्य र मान्यता अवलम्वन गरी अबका दिनमा आफुलाई कार्यप्रति थप उत्साहित र लगनशिल बनाउन चाहन्छु तर खोइ किन हो किन म भित्रको अन्तरनिहित उर्जाले पथ निर्देश गर्न चाहि रहेको छैन । मनमनै बाद बिबाद गर्दछु, सह–गोत्री साथी भाईसंग तर्क गर्दछु, सबैमा निराशा र हेपिएको मनोविज्ञान नै देख्दछु । प्राविधक हुन विज्ञानको ज्ञान हुन आवश्यक छ । विज्ञानले कृया प्रतिकृयाको समिकरणलाई पुष्ट्याउँदछ ।

वर्तमान समय विज्ञान र प्रविधिको युग हो । मुलुकको दिगो विकासको लागि भौतिक तथा प्राकृतिक साधन श्रोतको जति मात्रामा भुमिका रहन्छ त्यो भन्दा बढी भुमिका व्यवस्थापकीय क्षमता भएका व्यवसायिक प्राविधिक जनशक्ति वा मानवशक्तिको रहन्छ ।

देश विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने मानवीय पुँजीका लागी प्राविधिक सेवाको पहिचान हुनु अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र उपलब्ध श्रोत र साधनहरुको दिगो व्यस्थापन गरी उपभोग तुल्य बनाई मानवकल्याणका लागि योगदान दिन सक्दछन् । इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहुले हालै आफ्नो नेपाल भ्रमणको क्रममा प्रविधि विकासकै कारण इजरायलले छोटो समयमा प्रगति गरेको बताउनुले पनि प्राविधिक जनशक्तिको भुमिकालाई पुष्टि गर्न सकिन्छ ।

हाम्रो देश नेपाल प्रकृतिको विशाल भण्डार हो । मृत सञ्जिवनी बुटी लगायतका अनेकौं प्राकृतिक सम्पदा एवं जलसम्पदा रहेका छन् । आफ्नै देशमा उपलब्ध हुने बस्तुहरु चिन्न नसकेर बिदेशवाट आयात गर्नु परेको छ । यसले एकातिर आफैसँग भएका महत्वपुर्ण बस्तुहरु मूल्यहीन भएका छन् भने अर्कोतिर ति भन्दा कमसल बस्तुहरु विदेशवाट झिकाउनु परेको छ र स्वदेशी धन बिदेशिएको छ ।

यसको उपयोग गर्न व्यक्तिमा प्राविधिक ज्ञान आवश्यक पर्दछ । आज विश्वका विकसित देशहरुमा त्याहाँको प्राविधिक जनशक्ति नै विकासको कारक बनेको देखिन्छ । त्यसैगरी जुन जुन देशमा प्राविधिक जनशक्तिको कमी छ ती ती देशहरु पछि परेको छन् किनभने एक चोटी बिकास भई सकेको प्रविधीको अनुसरण तव मात्रै सम्भव छ जव ति प्रविधि सबै प्रयोगकर्ताबाट अनुमोदित हुन्छ ।

प्रविधिको विकास र परीक्षणको लागि आत्म अनुशासन, प्रायोरिटीका आधारमा कार्यान्वयन गर्न सक्ने क्षमता, कार्यप्रतिको समर्पण र समस्या समाधानको लागि प्रतिबद्घता, बिस्तार उन्मुख कार्यशैली, आपसी सम्वाद गर्न सक्ने क्षमता र तत्परता, ज्ञानको साझेदारी, ज्ञान सिमितताको लागि नम्र मनोभाव, अनुभव तथा निर्देशनवाट सिक्न सक्ने क्षमता, तार्किक र रचनात्मक सोंच क्षमता, नयाँ परिस्थितीमा ज्ञान लागु गर्न सक्ने क्षमता तथा स्वतन्त्र रुपमा प्रविधीको प्रदर्शन गर्न सक्ने क्षमताले गर्दा नै प्राविधिक सेवालाई अन्य सेवा भन्दा भिन्न बनाएको छ र यही नै प्राविधिक जनशक्तिको विशेषता हो ।

त्यसैले व्यक्तिमा श्रमप्रति सम्मान गर्नुपर्ने भावना जागृत गर्न आवश्यक छ । हरेक व्यक्ति/कर्मचारीमा उसको सीप र दक्षता अनुसार सेवा प्रदान गर्न सक्ने वातावरण तयार गरि दिनु सरकारको प्रयास हुनु जरुरी छ ।

देश रुपान्तरणको घडीमा छ । रुपान्तरण भनेको तिव्र गतिको परिवर्तन हो । रुपान्तरणले सुनौलो भविष्यको लागि नयाँ, सिर्जनात्मक र उत्साहजनक अवस्था निर्माण गर्न निरन्तर प्रेरित गर्दछ । ग्रामी पुरस्कार विजेता प्रसिद्घ अमेरिकी संगितकार माइकल स्मिथका अनुसार जव मानिसले आनन्द महसुस गर्दछन् र एक अर्काको वृति विकासमा लगानी गर्दछन् तव संसार रुपान्तरित हुन्छ । रुपान्तरणका लागि सहकार्य र सिर्जनशिलता अनिवार्य सर्तहरु हुन । यसको लागि मानिसमा नयाँ सोच, नयाँ ज्ञान र नयाँ दक्षता आवश्यक पर्दछ ।

नयाँ ज्ञानले समाज निर्माण हुन्छ । वैज्ञानिक ज्ञान नै रुपान्तरणको मुहान हो । नेपालको सन्दर्भमा कुरा गर्दा यहाँ वैज्ञानिक ज्ञान भन्दा पनि परम्परागत रुढीवादी ज्ञानको दवदवा छ । सिँगो समाज र कतिपय निति निर्माण तहको प्रभावकारी तहमा रहेका उच्च पदस्थहरु पनि वैज्ञानिक ज्ञानलाई भन्दा परम्परागत ज्ञान र शैलीमा आधारित रहेर महत्वपुर्ण निर्णय गर्दछन् । वैज्ञानिक ज्ञानलाई स्वविवेकी विश्लेषण गर्दछन् । यसको ज्वलन्त उदाहरणको रुपमा प्राविधिक कार्यको विशिष्ठता हेरी पञ्चायती व्यवस्थामा समेत रहेको प्राविधिक र अप्राविधिकको फरक तलवमान र प्रजातान्त्रिक शासन व्यवस्थामा २०५६ सालमा तलवमान समायोजन गर्दा कायम रहेको प्राविधिक दुई ग्रेड २०६४ र २०७३ मा आएर गरेको खारेजी प्रकरणलाई लिन सकिन्छ । सायद निर्णयकर्ताको यस्तै एकाँकी र स्वविवेकी प्रवृतिले गर्दा म जस्तो प्राविधिक कर्मचारीमा हिनतावोधको भावना जागृत हुन थालेको हो ।

सँगै नियुक्ति लिई पदस्थापना भएको अप्राविधिक सेवाका साथीले कयौं तह पार गरी सक्दा पनि आफु उही पुरानै मियोमा घुमी राख्नु पर्ने पीडा प्राविधिक कर्मचारी भन्दा बढी कसलाई थाहा छ र !

कर्मचारीतन्त्र भित्रको डर लाग्दो नातावाद, अवसरवाद, अर्थवाद, चाकरी, चाप्लुसीले गर्दा समग्र निजामती सेवाको उत्पादनशिलता दिन प्रतिदिन घट्दै गईरहेको कटु सत्यलाई नकार्न कसले नै सक्छ र !

पद्घतीमा नचलेको सार्वजनिक प्रशासनमा आफु अनुकुल व्यवस्थापकीय परिभाषा परिवर्तन गरिरहने अनि अरुले चाहना राखे गलत अर्थ लगाउने संस्कार कसले नवुझेको हो र ! तर पनि केन्द्रिय शासन व्यवस्थालाई गतिशिल बनाउन भने कर्मचारीको भुमिकालाई मनन गर्नै पर्ने हुन्छ ।

राज्यको उपस्थितिलाई जनता समक्ष पेश गर्नु, राजनैतिक व्यवस्थाले अवलम्वन गरेका सिद्घान्तलाई आफ्नो दायित्व ठानी कार्यान्वयनमा सहयोग गर्नु र जिवनस्तरलाई सहज तुल्याउने सेवा धर्ममा समग्र कर्मचारीतन्त्रले पु¥याउदै आएको योगदानलाई जनताले प्रशंशा गरेकै छन् ।

मुलुकको विकास र समृद्घीमा अवरोध भएको ठम्याईका साथ केन्द्रीकृत शासन प्रणालीको पुरानो मान्यतालाई परिमार्जन गरी देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयको चरणमा अगाडी बढीरहेको छ । यथास्थितिमा रहेका राज्यका सम्पुर्ण संरचनाहरु पुनर्संरचनाको पर्खाईमा रहेका छन् । यसै सन्दर्भमा सार्वजनिक प्रशासनको क्षेत्रमा पुनर्संरचनाको बहसले पनि ब्यापकता पाउन थालेको समचारले सम्पुर्ण कर्मचारीतन्त्रको ध्यानाकर्षण हुँदै छ ।

कतिपय कर्मचारीहरुको स्वाभिमानमा नै आँच पुग्ने प्रकारका भ्रमहरुको डंका पिटिन थालिएको छ । काठमाण्डौको सिंहदरवार स्थानीय पालिकामा सार्ने रणनैतिक कारण देखाई एकातिर एकीकृत सेवा र संरचनामार्फत सेवा प्रवाहको परिकल्पना गरिएको छ भने अर्कोतिर कुनै सेवा समुहलाई मालिक र कुनैलाई दासको रुपमा परिभाषित गर्ने कानुनी प्रयास थालिएको छ । यसै सन्दर्भमा कर्मचारी समायोजनको लागि कर्मचारी समायोजन ऐन २०७४ जारी भई सकेको छ भने कर्मचारी समायोजन नियमावली स्वीकृतीको प्रतिक्षामा रहेको छ ।

उपरोक्त अनुसारका कर्मकाण्डी कानुनहरुले करीव ४० हजारको संख्यामा रहेका प्राविधिक कर्मचारीहरुमा अन्यौलता र निराशा छाएको छ । मनोवल गिर्न थालेको छ । संघीयता कुनै सेवा समूह विशेष र केन्द्रिय मन्त्रालयको लागि मात्र नभएर निजामती सेवाका सबै समुहलाई कानुनी रुपमा समान ठानेर सम्मानजनक व्यवस्थापन गर्नु पर्नेमा कुनै सेवा समुहलाई मात्र नेतृत्वको रुपमा स्थापित गरी प्राविधिक कर्मचारीको भुमीकालाई कमजोर पार्न खोजिएको छ । प्रशासन सेवाका कर्मचारीहरुलाई महत्व दिई समायोजन ऐन तयार भएको अवस्था छ ।

एकातिर जेष्ठता विवादकै कारण विगतमा सरकारका मन्त्रीले कार्य गर्न नसक्ने भनी राजीनामा दिएको इतिहास नेपालमा धेरै पुरानो भएको छैन भने अर्कोतर्फ पद सोपान, जेष्ठता र योग्यतामा आधारित निजामती सेवाको संरचनालाई स्थानीय तहमा समायोजन गर्न मात्र प्रशासन सेवाको नेतृत्व भित्र रहने गरी हुकुमी कानुनको ड्राफ्ट कोरिएको हल्लाले हेपिएको मनोविज्ञान लिएर प्राविधिक सेवाका कर्मचारीले कति गुणस्तरीय सेवा प्रवाह कुन पदीय हैसियतमा गर्ने छ भन्ने गम्भीर प्रश्न रहेको छ ।

आम प्राविधिक तथा प्रशासन सेवा वाहेकका अन्य सेवाका कर्मचारीका भावना विपरीत करीव निश्चित भई सकेको समायोज प्रकृयाले अन्य सेवाका कर्मचारीको पुर्ण परिभाषित योग्यता, योगदान र क्षमतालाई अपमानित गर्न खोजिएको आभास हुन थालेको छ । स्मरण रहोस्, पहिलो पञ्च वर्षिय योजना लागु हुँदा खाधान्न निर्भर रहेको नेपाल १४ औं योजना लागु हुँदा आयात गर्ने अवस्थामा पुगेको छ । जग जाहेर छ, पञ्च वर्षिय योजना योजना आयोगले बनाउँछ ।

यदाकदा मात्र प्राविधिक योजनाकारको उपस्थिति हुने योजना आयोगका अधिकाँश योजनाकार सदस्यहरु गैर प्राविधिक चरित्रका हुने गर्दछन् । अझ योजना आयोग कै विभिन्न शाखाहरुमा अधिकृत देखि सहसचिव सम्ममा पुर्ण रुपले प्रशासन सेवाका जनशक्ति मात्रै हुनुले प्राविधिक क्षेत्रसँग सम्बन्धित विषयहरुको योजनाहरुमा प्रशासनिक जनशक्तिहरुको मात्र राय र सुझाव लिएर कार्यान्वयन गर्नु पर्ने बाध्यता रही आएको छ । सँगै कुनै प्राविधिक टोलीले धेरै पहिले मापन गरेको सगरमाथाको उचाँईको अँकको धाक लगाएर हामीले नेपाललाई विश्वमा चिनाउने गर्दछौ ।

कुनै इन्जिनियरको प्राविधिक अध्ययनको रिर्पोटलाई टेकेर नेपाल जलश्रोतको धनी देश भनेर नाक फुलाउँदछौ । प्राविधिक टोलीकै डिजाइन र लेआउट अनुसार निर्माण गरिएको सडकमा आफ्ना चिल्ला कार चलाएर आफुलाई सभ्य नागरीकको रुपमा स्थापित गराउन कसिएका छौ । वैज्ञानिक वन व्यवस्थापनको परिकल्पना गर्ने वन प्राविधिक, जलाधार व्यवस्थापनमा दक्षता राख्ने प्राविधिकको कार्य कुलशतालाई चित्रण गर्दै आफु प्राकृतिक श्रोत साधनमा धनी रहेको तथ्याँक प्रस्तुत गर्दछौ । कृषी प्रधान देशमा कृषी तथा पशु सेवा एवं सिंचाई सम्बन्धी प्राविधिकहरुको भुमिका र यन्त्र उपकरणका प्राविधिकहरुको सीप प्रयोग गरी आफ्नो दैनिक दिनाचर्यालाई सहजता प्रदान गरेका छौं ।

अन्तमा, आफ्नो स्ट्रेन्थ र आफुमाथी गर्न लागिएको भेदभाव यी दुवै कुरालाई एक साथ खेलाउँदा म लगायत अधिकाँश प्राविधिक सेवाका कर्मचारीहरुको मन बिरक्तिन्छ । हेपिएको मनोविज्ञानले दस्तक दिई रहेको आभास हुन्छ ।

सदैव दिमागमा आउछ कि जुनियर व्यक्तिका मातहतमा सिनियर व्यक्ति कसरी काम काज गर्न सक्लान् ? अतः उपरोक्त अनुसारको धरातलीय यर्थातमा सम्वन्धित पक्षले समयमा नै ध्यान नदिने हो भने स्थानीय निकायमा द्वन्द्व श्रृजना भई भद्रगोलको अवस्था हुने निश्चित छ । मन्त्रालय पिच्छे प्रशासनिक पुनर्संरचना तथा कर्मचारी व्यवस्थापन सम्बन्धी कृयाशील समितिहरुमा सम्बन्धित सेवा समुहका विज्ञहरुको उपस्थिती नगराई एकतर्फी प्रशासनिक निर्णयानुसार बन्ने कानुन अनुसार गरिने समायोजन प्रकृयावाट अन्ततोगत्वा सार्वजनिक सेवाको उत्पादनशीलता घटने निश्चित छ । त्यसैले मुलुकको सार्वजनिक सेवा कसैको वीरता होइन, नेतृत्व गर्ने अवसर सवैलाई दिईनु पर्दछ ।

(लेखक नेपाल मधेशी निजमती कर्मचारी मञ्चका महासचिव तथा वन सेवाका अधिकृत हुनुहुन्छ)

र यो पनि,

प्राविधिक जनशक्तिको सम्भावित पलायन प्रकरण

माघ ८ गते, २०७४ - ११ः३६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg