लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


१९ पुस २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. सन् २०१७ फेब्रुअरी १० देखि मार्च ५ सम्म इरानको राजधानी तहरानमा सम्पन्न महिला विश्व चेस प्रतियोगिताको उपाधि कसले जित्यो ?
– तान झोङ्गी (चीन)

२. वि.सं. २०७४ पुस १३ को मन्त्रिपरिषद् बैठकले मिर्गौला फेल भएका, क्यान्सर, स्पाइनल इन्जुरी र अन्य गम्भीर प्रकृतिका बिरामीलाई जीवनवृत्तिका लागि मासिक कति रकम प्रदान गर्ने निर्णय गर्यो ?
– पाँच हजार रुपियाँ

३. लेखनाथ साहित्य पुरस्कार– २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– संस्कृतिविद् तथा साहित्यकार डा. जगमान गुरुङ (पुरस्कार राशिः रु ५० हजार)

४. सन् २०१७ डिसेम्बरमा लाइबेरियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी बन्ने उम्मेदवार को हुन् ?
– पूर्व स्ट्राइकर जर्ज वेह
– चेल्सी, म्यानचेस्टर सिटी र एसी मिलानबाट खेलिसकेका वेहले डिसेम्बर २८ मा सम्पन्न निर्वाचनमा विजय हासिल गरेका । सन् २००३ मा फुटबलबाट सन्यास लिएर राजनीतिमा पाइला चालेका वेह लाइबेरियाको राष्ट्रपति बन्न सफल भएका ।
– ५१ वर्षीय वेह सन् १९९५ मा बालोन डी जित्ने पहिलो गैर युरोपेली खेलाडी बनेका ।

५. बङ्गलादेशका राष्ट्रपति शेख मुजिवुर रहमानको भाषणलाई युनेस्कोले डकुमेन्ट्री सम्पदा दस्तावेजमा कहिले समावेश गरेको हो ?
– सन् २०१७ अक्टोवर ३०
(बङ्गलादेश स्वतन्त्र हुनु अगाडि सन् १९७१ मार्च ७ मा उनले गरेको भाषणलाई सम्पदा सूचीमा समावेश गरिएको ।)

६. २०७४ सालमा प्रदान गरिएको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
– डा. तारानाथ शर्मा (प्रत्येक चार वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि रु. ४ लाख रहेको ।)
(त्यस्तै प्रत्येक दुई वर्षमा प्रदान गरिने एक लाख रुपियाँ राशिको नेपाल प्रज्ञा पुरस्कार (२०७४) बाट प्रा.डा. रामावतार यादव, प्रत्येक दुई वर्षमा प्रदान गरिने एक लाख रुपियाँ राशिको नेपाल प्रज्ञा संस्कृति पुरस्कारबाट प्रा.डा. विणा पौडेल, प्रत्येक वर्ष प्रदान गरिने एक लाख रुपियाँ राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारबाट ध्रुव सापकोटा एवम् प्रत्येक वर्ष प्रदान गरिने एक लाख रुपियाँ राशिको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट सोमबहादुर धिमाल र धनबहादुर माझी सम्मानित भएका ।

७. प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलको स्थापना कहिले भएको हो ?
– सन् १९२३ सेम्टेम्बर ७
– हाल इन्टरपोलका सदस्य राष्ट्र १९० रहेका ।
– यसको प्रधान कार्यालय फ्रान्सको लियोनमा रहेको ।
– यस वर्ष रोनाल्डोले विश्वकै प्रतिष्ठित बालोन डी ओर पुरस्कार पनि हात पारेका ।

९. नेपालमा हाल पाइने चराका प्रजातिको सङ्ख्या कति रहेको छ ?
– ८८७
(२०७४ वैशाख ८ मा चितवनमा ठूलो धावकेहामा चिल नामक चरा पाइएपछि नेपालमा पाइने चराका प्रजातिको सङ्ख्या ८८७ पुगेको ।)

१०. जीवित देवी मानिने कुमारीको प्रचलन कहिलेदेखि सुरु भएको हो ?
– लिच्छवि काल
– कुमारीको छनोट शाक्य समुदायबाट गरिने ।
– १२ वर्ष उमेर पुगेपछि कुमारी फेर्ने चलन रहेको ।
– गणतन्त्रको स्थापना पश्चात् पहिलो कुमारीका रूपमा मनिता शाक्य (वि.सं. २०६५) र दोस्रो कुमारीका रूपमा तृष्णा शाक्य (१२ असोज २०७४) चयन भएका ।


विषयगत प्रश्नोत्तर

१.  नेपालको संविधान अनुसार प्रतिनिधि सभाको गठन कसरी हुन्छ ? उल्लेख गर्नु होस् ।
नेपालको संविधानको धारा ८४ अनुसार दुई सय ७५ सदस्य रहने प्रतिनिध सभाको गठन देहाय बमोजिम हुने व्यवस्था छः
क) प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ (एक सय ६५)
(जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टतामका आधारमा नेपाललाई एक सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना)
ख) समानुपातिक निर्वाचन प्रणालीबाट ११० (एक सय दस)
(सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने निर्वाचन प्रणाली)
केही थप कुरा
– समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसङ्ख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउनुपर्ने, भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने,
– अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुने,
– प्रतिनिधि सभाका सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न अधिकार पाएको व्यक्ति कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउने तर एउटै व्यक्ति एकभन्दा बढी निर्वाचन क्षेत्रमा एकैपटक उम्मेदवार हुन नपाउने,
– प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि काँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने,
– सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्ने,

२. नगदमा आधारित लेखा र प्रोदभावी लेखा बीचका फरक के–के हुन् ? लेख्नुहोस् ।
आर्थिक कारोबार कुन आधारमा के–कसरी लेखाङ्कन गर्ने भन्ने सम्बन्धमा नगदमा आधारित लेखा र प्रोदभावी लेखा प्रणाली अवलम्बन गरेको पाइन्छ यी दुईबीच देहाय बमोजिमको फरक छः
क. नगदमा आधारित लेखा प्रणाली
– नगद वा बैङ्कको कारोबार भएको अवस्थामा मात्र लेखा राख्ने पद्दति नगदमा आधारित लेखा प्रणाली हो ।
– यस लेखामा लिनुपर्ने र दिनुपर्ने बाँकी रकमको अभिलेख स्रेस्तामा देखाइँदैन ।
– यो लेखा पद्दति सेवामुखी सामाजिक संस्था, सरकारी कार्यालय एवम् ससाना व्यावसायिक संस्थाले प्रयोग गर्दछन् ।
– यो सजिलै बुझ्न सकिने सरल पद्दति हो ।
– यसमा नगद वा बैङ्कको मात्र लेखा राख्ने, बाँकी कारोबारको लेखा नराख्ने हुँदा यसबाट प्राप्त हुने वित्तीय विवरण Fair and Factable नहुन सक्दछन् ।
– यसबाट वस्तु तथा सेवाको वास्तविक लागत पत्ता लगाउन नसकिने हुन्छ ।
– यो अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको लेखा प्रणाली होइन ।

ख. प्रोदभावी लेखा प्रणाली
– नगद वा उधारो जे भए पनि कारोबार भएको समयमा लेखा राख्ने पद्दति प्रोदभावी लेखा प्रणाली हो ।
– यसमा लिनुपर्ने र दिनुपर्ने बाँकी कारोबारको अभिलेख स्रेस्तामा देखाइन्छ ।
– यो लेखा पद्दति नाफामुखी व्यावसायिक संस्थाले प्रयोग गर्दछन् ।
– यो पद्दति केही जटिल छ । सजिलै बुझ्न र बुझाउन सकिँदैन ।
– यसमा नगद वा उधारो बाँकी सबै कारोबारको लेखा राख्नेहुँदा यसबाट प्राप्त हुने वित्तीय विवरण Fair and Factable हुन्छन् ।
– यसबाट वस्तु तथा सेवाको वास्तविक लागत पत्ता लगाउन सकिने हुन्छ ।
– यो अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको लेखा प्रणाली हो ।

३. गरिबी निवारण भनेको के हो ? गरिबी निवारण गर्ने उपाय लेख्नुहोस् ।
आर्थिक, सामाजिक पछौटेपनको अवस्थालाई गरिबी भनिन्छ । यस्तो गरिबीलाई बढ्न नदिने, रोक्ने तथा भएको गरिबीलाई हटाउने कार्यलाई गरिबी निवारण भनिन्छ । गरिबी निवारण मूलतः गरिबी नियन्त्रण गर्ने अथवा गरिबीको व्यवस्थापन गर्ने कार्यसँग सम्बन्धित छ । नेपालमा गरिबीलाई कम गर्न नीतिगत, कानुनी एवम् संस्थागत व्यवस्था गरिएको छ र पनि मुलुकमा २३.८ प्रतिशत जनता अझै गरिबीको रेखामुनि बाँच्न विवश छन् । नेपालमा गरिबी बढ्नुमा आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक, प्रशासनिक, साँस्कृतिक लगायत थुप्रै कारण जिम्मेवार छन् ।

गरिबी निवारण गर्ने उपाय
गरिबी निवारण गर्ने प्रमुख माध्यम रोजगारी हो । त्यसमा पनि स्वयम् रोजगारी । स्वयम् रोजगारीले गरिबीको अन्त्य गर्दछ । यसका लागि गरिबीको प्रकृति हेरी लक्षित कार्यक्रम सञ्चालन गरेर स्वयम् रोजगारीको वातावरण सिर्जना गर्नुपर्दछ । गरिबी निवारणका केही उपाय निम्न छन्ः
– गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कहाँ, कति र कस्तो अवस्थामा छन् यथार्थ विवरण लिने,
– गरिबलाई परिचय पत्र वितरण गर्ने,
– वास्तविक गरिबलाई राज्यले गरिब भत्ता दिने नीति लिने,
– क्षमता अभिवृद्धिका लक्षित कार्यक्रम सञ्चालन गर्ने,
– आयआर्जन र सीप विकासका कार्यक्रम लागू गर्ने,
– वास्तविक सुकुम्बासी गरिबलाई बसोबासको व्यवस्था गर्ने,
– सडक बालबालिका, अशक्त एवम् वृद्धको संरक्षण गर्ने,
– रोजगारीका समान अवसर सिर्जना गर्ने,
– राज्यले गरिबलाई आफ्नो खुट्टामा उभिन सक्ने वातावरण तयार गरिदिने,
– स्वयम् रोजगारी सिर्जना हुने कार्यलाई बढी जोड दिने, यसका लागि कृषिलाई व्यावसायिक र विविधीकरण गर्ने, मल, बीउ, औषधिको व्यवस्था गर्ने,
– मुलुकमा लगानीको वातावरण तयार गर्ने, कृषि, उद्योग, व्यापार, पर्यटन, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा लागनी बढाउने,
– गरिबी निवारणका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारी निकायबीच कार्यगत समन्वय बढाउने,
अन्तमा सामान्य जीव्न निर्वाह गर्न नसक्ने अवस्था गरिबी हो । यो पछौटेपन हो । यो पिछडिएको अवस्था हो । यो मुलुक अविकसित भएको अवस्था जनाउने सूचक पनि हो । अतः यसको निवारण गर्नु जरुरी छ । यसका लागि वास्तविक गरिबको सही पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गरेर उनीहरूको आयआर्जन गर्ने क्षमता र सीप विकासको क्षमता बढाउनुर्दछ । तब मात्र गरिबी निवारण हुनसक्छ ।


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस