सात तरकारी बजारको मूल्यसूची सरकारी प्रणालीमा सार्वजनिक « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सात तरकारी बजारको मूल्यसूची सरकारी प्रणालीमा सार्वजनिक


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ। कोशीको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले मुख्य तरकारी बजारहरूको मूल्यसूची सार्वजनिक गर्न थालेको छ ।

मन्त्रालयले वेबसाइट र मोबाइल एपबाट हरेक दिन कृषि उपजको बजारमूल्य सार्वजनिक गर्नेछ । बुधबार कृषि मूल्य सूचना प्रणालीको उद्घाटन कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 

कृषि क्षेत्रको सवलीकरण र व्यवसायीकरणसँगै कृषक, व्यवसायी तथा उपभोक्ताको सहजताका लागि सूचना प्रणाली सञ्चालनमा ल्याइएको मन्त्रालयको भनाई छ । 

प्रणालीमा धरान, बिर्तामोड र इनरुवाको कृषि बजार व्यवस्थापन समिति, गाईघाटको सगरमाथा कृषि थोक बजार, दुहबीको कृषि तथा पशुपंक्षी बजार, दमकको नयाँ सब्जी बजार र धनकुटाको जाल्पादेवी कृषि उपज संकलन केन्द्र जोडिएका छन् । मन्त्रालयले हरेक दिन ती बजारको मूल्यसूची अपडेट गर्नेछ ।

विराटनगरको ठूलो गुद्री बजारको भने मूल्य सूचना प्रणाली समावेश छैन । बजार अव्यवस्थित रहेको र व्यवस्थापन समिति नभएका कारण गुद्रीबजार प्रणालीमा समावेश नभएको बताइएको छ ।

बुटवल, पोखरा र काठमाडौँका कृषि थोक बजारको मूल्यसूची पनि मन्त्रालयले वेबसाइटमा राखेको छ ।

प्रणालीमा जोडिएका बजारको कृषि उपजको मूल्य बिहान ७ देखि ११ बजेभित्र अद्यावधिक हुनेछ । बजारको मुल्यसूची सङ्कलनका लागि हरेक बजारमा तथ्याङ्क सङ्कलक तोकिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस