ट्रमा सेन्टरका प्रमुख डा. रिजालविरुद्ध उजुरी : भन्छन्– खुट्टा तान्नेले दुष्प्रचार गरे « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

ट्रमा सेन्टरका प्रमुख डा. रिजालविरुद्ध उजुरी : भन्छन्– खुट्टा तान्नेले दुष्प्रचार गरे


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टरमा अनियमितता र भ्रष्टाचार गाँजिएको छ । 

सेन्टर चिकिसा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत स्थापित भए पनि हाल मेडिकल माफिया र निजी अस्पताल सञ्चालकको कब्जामा छ । यसमा ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालको भूमिका रहेको भन्दै प्रधानमन्त्री कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी परेको छ । 

उनको मिलेमतोमा भएका ल्याब किट/रिएजेन्टको टेन्डर छानबिन गरी सो टेन्डर लगायतका टेन्डर खारेज गरी पुनः आव्हान गर्न र डा. रिजाललाई कारबाही गर्न माग गर्दै विभिन्न निकायमा उजुरी परेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसदको शिक्षा, स्वास्थ्य तथा सूचना समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सरकारका मुख्यसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, अख्तियार दुरुपयोग आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतमा डा. रिजालविरुद्ध उजुरी परेको हो । 

बिरामीलाई आफ्नो निजी अस्पतालमा पठाउने गरेको, कार्यालय समयमा निजी अस्पतालमा बिरामी जाँच्ने गरेको, व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिष्ठान रजिस्ट्रार र उपकुलपतिलाई थाहै नदिई कर्मचारी नियुक्ति गरेको, मोडुलर ओटी निर्माण र भुक्तानीमा अनियमितता गरेको डा. रिजालमाथि आरोप लागेको छ । डा. रिजाल निजी अस्पतालका सञ्चालक हुन् ।

अस्पतालको फार्मेसीमा औषधिको व्यवस्था नगरेको, बेडको अभाव देखाई बिरामीलाई बाहिर पठाउने गरेको, कर्मचारीलाई धम्की दिने गरेको आरोप डा. रिजालमाथि लागेको छ । तर, डा. रिजालले आफूमाथि लागेका आरोपहरू निराधार रहेको बताएका छन् । बिरामीलाई बाहिर नपठाउनका लागि निर्देशन दिएको उनको भनाई छ । अस्पतालमा उपचार हुन नसकेमा र आइसियु प्याक भएर रिफर गर्नु परेमा शिक्षण, पाटन र सिभिल अस्पतालमा रिफर गर्ने गरिएको उनको दाबी छ ।

उनले भने, ‘शङ्काकै भरमा आरोप लगाउन पाइँदैन । कसले बाध्य पार्‍यो, को बिरामी यहाँबाट अन्यत्र पठाइयो ? त्यो सूचना पाएमा मैले आफैँ छानबिन गर्थेँ ।’ रिस उठेकै भरमा चरित्र हत्या गर्ने काम भएको उनको गुनासो छ । 

तपाईँ विरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी परेको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘उजुरी कसले हाल्छ । किन हाल्छ ? के स्वार्थ छ ? त्यो मलाई थाहा छैन । तर, मैले जुन काम गरिरहेको छु, त्यो गलत छैन । र, सर्वसाधारणलाई उपचार जतिसक्दो चाँडो र राम्रो गुणस्तरको दिनका लागि प्रयास गरिरहेको छु । 

बिरामीको चाप बढेपछि दुई सय बेडको अस्पताललाई १८ बेड थप गरेर २ सय १८ बेड पुर्‍याइएको उनको भनाइ छ । उनले भने, ‘आइसियु थप भएको छ । १० वटा आइसियु रहेकोमा १ थप गरेर ११ पुर्‍याएका छौँ । ८ वटा एचडियु बेडको व्यवस्था गरिएको छ । सकारात्मक कुराको प्रचार हुँदैन ।’

काम नगर्ने काम चोर कर्मचारीहरूले नै खुट्टा तान्ने गरेको उनको आरोप छ । ‘नेपाल सरकारले तोकेको काम गर्नैपर्छ । अस्पतालमा नियमित काम नगर्ने कर्मचारीहरूले नै दुष्प्रचार गरेका छन्,’ डा. रिजालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस