वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल उचित कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल उचित कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव


९ मंसिर २०८०, शनिबार


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक सङ्घको ४९औँ स्थापना दिवस र २९ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले वन क्षेत्रका प्रमुख चुनौती दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु रहेको बताए। पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको बताए।

उनले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेको पनि बताए। उनले चुरे क्षेत्रको वन तराई, मधेश समुदायका लागि जीवन रेखा भएको बताए। उनले मानव वन्यजन्तु द्वन्द्वले जनमानसमा वन्यजन्तु तथा वन क्षेत्रप्रति नकारात्मक प्रभाव बढ्न जाने हुँदा दिगो समाधानका लागि अध्ययन तथा अनुसन्धान र तत्काल व्यवस्थापनको खाँचो रहेको पनि बताए।

उनले भने, ‘वन क्षेत्रका प्रमुख चुनौती भनेको यसको दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु हो। पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको छ।

जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा विभिन्न प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा छन्। सुदूरमा रहेका जनताले अझै वनको प्रयोग राम्रोसँग गर्न पाएका छैनन्। चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन सकेको छैन। तसर्थ चुरे क्षेत्रको वन तराई, मधेश समुदायका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस