विश्वकप छनोटअघि दक्षिण अफ्रिका भ्रमणमा जाँदै नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वकप छनोटअघि दक्षिण अफ्रिका भ्रमणमा जाँदै नेपाल


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । जिम्बावेमा आगामी जुन-जुलाईमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी नेपालले दक्षिण अफ्रिकामा गर्ने प्रक्रिया अघि बढाएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का एक पदाधिकारीका अनुसार दक्षिण अफ्रिका भ्रमणको तयारी नेपालले सुरु गरिसकेको छ।

उनका अनुसार नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्ने योजनासहित दक्षिण अफ्रिकामा रहँदा नेपालले दुई टिमसँग अभ्यास खेल खेल्न कुराकानी भइरहेको छ ।

नेपाली टिम मे अन्तिम साता दक्षिण अफ्रिका जाने तयारीमा छ। दक्षिण अफ्रिकामा दश दिन बसेपछि नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ।

जिम्बावेमा आगामी जुन १८ देखि सुरु हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन्। दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, पूर्वविजेता श्रीलङ्कासहित आयरल्यान्ड र जिम्बावेले प्रतियोगितामा भाग लिँदैछन्।

नेपालसहित ओमान र स्कटल्यान्डले लिग–२ बाट विश्वकप छनोटमा स्थान पक्का गरेका थिए। यस्तै युएई र अमेरिकाले लिग–२ बाट विश्वकप छनोटमा स्थान बनाउन नसक्दा क्वालिफायर प्लेअफबाट जिम्बावेको टिकट काटेका थिए।

छनोट प्रतियोगिताबाट दुई टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन्।

यसअघि छनोटको तयारीका लागि वेस्ट इन्डिज र युएईबीच तीन खेलको एकदिवसीय सिरिज हुने पक्का भएको थियो।

सिरिजका लागि वेस्ट इन्डिजले युएई भ्रमण गर्नेछ। सबै तीन खेल शारजाह क्रिकेट रङ्गशालामा हुनेछन्, त्यसपछि दुवै टोली जुन १८ बाट सुरु हुने छनोट प्रतियोगितामा भाग लिन जिम्बावे जानेछन्।

वेस्ट इन्डिज, श्रीलङ्का, जिम्बावे (आयोजक), आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई विश्वकप छनोटमा सहभागी हुने टिमहरू हुन् ।

विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ। पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।

सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस