भारतमा नेपाली बुलेट सञ्चालन अनिश्चित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतमा नेपाली बुलेट सञ्चालन अनिश्चित


१० भाद्र २०७४, शनिबार


काठमाडौं । आजका पत्रिकाले फरक फरक विषयलाई मुख्य समाचारका रूपमा प्रकाशित गरेका छन् । अन्नपूर्ण पोष्टले प्रधानमन्त्री भारत भ्रमणमा रहँदा नेपाली नम्बर प्लेटका बुलेट भारतमा सञ्चालन गर्ने मुद्दा नउठाएको विषयलाई आजको मुख्य समाचार बनाएको छ । पोष्टले ‘भ्रमणमा उठेन बुलेटको मुद्दा : थन्कियो साढे पाँच अर्बको बुलेट’ शीर्षकमा समाचार लेखेको छ । समाचार अनुसार नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बर बुलेट सञ्चालन ‘अन्योल’ भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयमा छलफल नहुँदा नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्ने काम अनिश्चित बनेको समाचारमा उल्लेख छ ।

पोष्टका अनुसार व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले एक साताअघि नेपाली नम्बर प्लेटको बुलेट एक महिनाभित्र सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको थियो । समितिको बैठकमा परराष्ट्र र आपूर्ति मन्त्रालयका सचिवले प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला बुलेटसम्बन्धी समस्या प्राथमिकतामा राखेर निकास खोज्ने बताएका थिए । तर, भ्रमणमा उक्त विषयले खासै ‘चर्चा’ समेत पाउन नसकेको स्रोतको दाबी रहेको समाचारमा उल्लेख छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा बुलेट सञ्चालनसम्बन्धी विषय प्राथमिकताका साथ उठ्ने आशा थियो, समाचारमा आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले भनेका छन्, ‘तर नेपाली बुलेट सञ्चालनका विषयमा उपलब्धिमूलक प्रतिफल आउन सकेन ।’

नागरिक दैनिकले कोरीयामा नेपाली कामदारको आत्महत्याको समाचारलाई मुख्य बनाएको छ । उसले ‘कोरियामा नेपाली कामदारः डिप्रेसनले गर्छन् आत्महत्या’ समाचार लेखेको छ ।

समाचार अनुसार पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएकोृ कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गएको छ । आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान गर्न थालिएको समाचारमा उल्लेख छ ।

कोरियाको विकास र आर्थिक उन्नतिलाई सरसर्ती हेर्दा त्यहाँको रोजगारीप्रति गुनासो गर्ने अवस्था नदेखिए पनि युवकयुवतीले धमाधम आत्महत्या गर्न थालेपछि त्यसको कारण खोजिनुपर्ने आवाज उठेको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०१७ को आठ महिनामा कोरियामा १७ नेपालीको मृत्यु हुँदा ४ जनाले आत्महत्या गरेका छन् । ‘चर्को प्रतिष्पार्धाबीच कोरियन भाषा सिकेर त्यहाँ पुगेका युवाले किन आत्महत्याको बाटो रोज्छन् त रु इपिएस शाखा प्रमुख बाबुराम खतिवडाले समाचारमा भनेका छन्, ‘कामदारलाई कोरिया लैजाने छनोट प्रक्रिया नै गलत छ ।’ शाखाका अनुसार कोरियामा सन् २०१६ मा ११ जना नेपालीको मृत्यु हुँदा तीनजनाले आत्महत्या गरेका नागरिकले उल्लेख गरेको छ ।

नयाँ पत्रिका दैनिकले ‘नेतृत्वका लागि जुर्मराउँदै कोइराला परिवार’ शीर्षकको समाचार मुख्य बनाएको छ । उसले कोइराला परिवारका वरिपरि कांग्रेस राजनीति घुमेको समाचारमा उल्लेख गरेको छ । समाचार अनुसार कांग्रेसको ७१ वर्ष इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो । १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे । बिपीले २५ वर्ष, मातृकाले ४, गिरिजाप्रसादले १४ र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरेको समाचारमा उल्लेख गरेको छ ।

कान्तिपुरले मेडिकल अभियन्ता डा। गोविन्द केसीको समाचारलाई मुख्य बनाएको छ । उसले ‘जनसेवाका पर्याय डा। गोविन्द केसी’ शीर्षकको समाचार महत्वका साथ प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस