कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती


१३ माघ २०७९, शुक्रबार


ढोरपाटन । बागलुङस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र तीन जिल्ला हो ।

यहाँ कर्मचारी दरबन्दी पनि तीन जना नै छ । विसं २०७४ मा स्थापना भएको उक्त कार्यालयमा केही महिना आगाडिसम्म दुई कर्मचारीले मात्रै काम गर्दै आएका थिए । डेढ महिनाअघि एक जना थपिएका छन् ।

कार्यालय स्थापना हुँदा एक खाद्य अनुसन्धान अधिकृत र दुई प्राविधिक सहायकको दरबन्दी स्वीकृत थियो । पाँच वर्षपछि मात्रै यहाँ दरबन्दी परिपूर्ति भएको छ । तर यो दरबन्दी तीन जिल्ला कार्यक्षेत्र भएको कार्यालयका लागि न्यून हो । डेढ महिना अघिसम्म एक अधिकृत र एक प्राविधिक सहायकको भरमा सञ्चालन भएको सो कार्यालयमा हाल तीन कर्मचारी छन् ।

एक जना थपिएपछि केही सहज भए पनि तीन जिल्लामा काम गर्न समस्या भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठ बताउछन् । ‘कर्मचारी न्यून हुँदा सेवा प्रवाहमा समस्या भएको छ’, उनले भने । साबिक धवलागिरि अञ्चलको बागलुङ, म्याग्दी र मुस्ताङ गरी तीन जिल्ला यसको कार्यक्षेत्र हो ।

श्रेष्ठ भन्छन्, ‘सबै ठाउँमा पुग्नुपर्छ, अनुगमन र अन्य कार्यक्रम गर्नुपर्‍यो, कार्यालयमा तीन जना छौँ, सबै जना फिल्डमा जाँदा कार्यालय रित्तै हुन्छ, सेवाग्राहीलाई समस्या भएको छ ।’

भौगोलिक हिसाबले दुर्गम बागलुङ, म्याग्दी र मुस्ताङमा अनुगमन गर्न जटिल हुने गरेको श्रेष्ठको भनाइ छ । खाद्यवस्तुको गुणस्तर, बजार अनुगमन तथा अखाद्य वस्तुलाई बिक्री वितरणमा रोक्ने काम आफूहरूले गर्नुपर्ने हुँदा कर्मचारी थप हुन जरुरी रहेको उनी बताउछन् ।

‘थारै जनशक्ति हुँदा धेरै ठाउँमा पुग्न समस्या भएको छ’, श्रेष्ठले भने । कर्मचारी कम हुँदा अनुज्ञा पत्र जारी तथा नवीकरणमा समस्या भएको छ । प्रत्येक जिल्लामा कम्तीमा दुई कर्मचारी अनिवार्य भएको उनी बताउछन् ।

मालपोतमा १२ दरबन्दी, चार जना मात्रै कार्यरत

मालपोत कार्यालय बुर्तिबाङमा पनि कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । बाह्र स्थायी कर्मचारी दरबन्दी रहे पनि हाल चार जनामात्रै कार्यरत छन् । मालपोत अधिकृत कार्यालय प्रमुख हुने व्यवस्था भए पनि सुब्बाका भरमा कार्यालय सञ्चालनमा छ ।

मालपोत एक अधिकृत, तीन नायब सुब्बा, तीन खरिदार, एक लेखापाल, एक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगीको दरबन्दी रहेकामा हाल दुई नायब सुब्बा, एक कम्प्युटर अपरेट र एक लेखापाल मात्र कार्यरत छन् । नायब सुब्बा सूर्यप्रसाद शर्मा कार्यालय प्रमुख छन् । यहाँ वर्षौँदेखि मालपोत अधिकृत पद रिक्त छ ।

कर्मचारी न्यून हुँदा सेवाग्राहीलाई चाहेर पनि छिटो सेवा प्रदान गर्न नसकेको शर्मा बताउछन् । उनी एक वर्षदेखि यहाँ कार्यरत छन् । दैनिक सयौँका सङ्ख्यामा सेवाग्राही आउने गरेको र उनीहरूलाई घण्टौँ लाइनमा कुराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सम्बन्धित निकायमा पटक-पटक कर्मचारी पठाउन माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको शर्मा बताउछन् ।

निसीखोला-६ बाट घरजग्गा नामसारीका लागि मालपोत आएका भोजबहादुर घर्तीले दुई दिन कुर्दा पनि काम बन्न नसकेको गुनासो पोखे । कामका लागि लाइनमा पालो कुर्दाकुर्दै घण्टौँ बित्ने तर साँझसम्म पनि काम बन्ने उनी बताउछन्। घर्तीमगर भन्छन्, ‘सरकारलाई सधैँ खुरुखुरु कर तिर्छौँ, सेवा लिन जाँदा दुई-तीन दिन लगाइदिने, हामीले सधैँ दुःख मात्रै पाउँछौँ, पहिले–पहिले बागलुङ पुग्दा उस्तै दुःख हुन्थ्यो, अहिले बुर्तिबाङबाट सेवा सुरु भएपछि केही राहत मिल्ला भनेको उस्तै छ ।’ वन डिभिजन कार्यालय, मालपोत कार्यालय बागलुङलगायत जिल्लाका विभिन्न पालिकामा पर्याप्त जनशक्ति छैन । कर्मचारी तोकिएको कार्यक्षेत्रमा नजाँदा समस्या भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस