काठमाडौँ । भूमिहीन सुकुमबासीहरूले राजधानीमा विशाल र्याली प्रदर्शन गरेका छन् ।
भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर-टहरा जबरजस्ती हटाउन पटक-पटक प्रयास गरिएको भन्दै विरोधमा खबरदारी र्याली निकालेको र्यालीका सहभागीले जनाएका छन् ।
र्याली काठमाडौँको माइतीघर क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढेको थियो । र्यालीपछि अहिले कोणसभा चलिरहेको छ ।
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपाल सुकुमबासी पार्टी लोकतान्त्रिक, अव्यवस्थित सुकुमबासी सङ्घ, सुकुमबासी व्यवस्थापन सङ्घ, भूमिहीन सुकुमबासी सङ्गठन, नेपाल लोकतान्त्रिक सुकुमबासी सङ्घलगायत भूमिहीन सुकुमबासीका पक्षमा काम गर्ने विभिन्न २४ सङ्घसंस्थाले र्याली निकालेका हुन् । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौला पनि र्यालीको अग्रभागमा देखिएका छन् ।
र्यालीका सहभागीले गरिब मार्न पाइँदैन, डोजरआतंक बन्द गर, उठीबासको त्रास कहिलेसम्म ?, हाम्रो मानव अधिकार खोइ ? जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका छन् ।