काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले ज्यान गुमाउने घटना बढ्दै जाँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा किन मौन भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालबाट दार्चुलाको व्यास गाउँपालिका २ का पवन महराले ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गर्दै घटनाको छानविन गर्न र दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
ओलीले तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म भन्दै प्रश्न गरेका छन् ।
ओलीले लेखेका छन्, ‘नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका-२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’